हिरा भट्टअक्षर रोदन
सुन्छौ ? साल सिसौ शमी सिमलले सन्देश दिन्छन् जुन "फर्की बाफ बनी हिमालतिर आ आहा-चुलीका सुन" के गर्नन् नि मिले चरी र बचरा? भन् भन् नढाँटी रुख हाँस्नन् आँगनका खुला पवनमा हाँस्नै भुलेका मुख ।
हिरा भट्ट ‘बदमास नम्बर दुई’ :
अनेसास कविता महाेत्सवमा तृतीय स्थान प्राप्त कविता
बाढी वा पहिरा सदैव बहिरा भूकम्प झन् क्रूर छ
बस्छन् लोचन आँसुका नजिकमा हाँसो सधैं दूर छ
चौतर्फी जलवायु-आयु रणमा मैना छ आतङ्कित
जस्तो चोट मयूरको छ मुटुमा उस्तै छ डाँफेसित ।१।
उड्छन् सन्तति दूरदेश, गुँडमा आमा रहिन् एकल
ओरालीतिर बग्दछन् शिखरका पानी जवानी बल
बस्छन् मौन किसानका कहरमा नादान लाँक्रा चिज
छन् सम्बन्ध सधैं सधैं निरसिला काँक्रा र थाँक्राबिच ।२।
ढोका बन्द हुँदा प्रकाश नदिई धोका दिने झ्याल छन्
पासोमा कुखुरी खुला छ खुकुरी चल्ला लिने स्याल झन्।
अड्केको छ विकास-अन्न नपिँधी जाँतो सधैं बेउमा
हाँस्दै मङ्सिर आउँदैन कहिल्यै आषाढका छेउमा ।३।
सुन्छौ ? साल सिसौ शमी सिमलले सन्देश दिन्छन् जुन
“फर्की बाफ बनी हिमालतिर आ आहा-चुलीका सुन”
के गर्नन् नि मिले चरी र बचरा? भन् भन् नढाँटी रुख
हाँस्नन् आँगनका खुला पवनमा हाँस्नै भुलेका मुख ।४।
भन् भन् भन् न सरस्वती समयको छाती कसी बेस्सरी
“जा जा दूर वियोग योग-रङको फुल् फूल डालीभरि”
आओ ए मुटुका मुना र मुनियाँ आहा छ आमाघर
ऐना रुन्छ म रुन्छु अक्षर रुनन् आमा नरोऊन् तर ।५।
०००
जन्मस्थल: पञ्चेश्वर-६, बिजुल, बैतडी
Subscribe
Login
0 Comments
Oldest







































