लीला उदासीअहिलेको गाउँ
गाउँ भनेको
अलिकति लेक
अलिकति बेसी
अलिकति खेत
अलिकति बारी
गाउँ भनेको त
सबैको छहारी
कोही वारि
कोही पारि
गाउँ भनेको
रहरै रहरको भकारी
यस्तो पो थियो ।
बालबालिका धक फुकाएर खेल्थे
किशोर किशोरीहरू उन्मुक्त भएर नाच्थे
युवा युवतीको माया र प्रेमले
गाउँमा हरियाली भथ्र्यो
भारो पर्म चल्थ्यो
ढिकी, जाँतो र कोलले गाउँ चलाउथ्यो
कति उर्वर थियो गाउँ !
मान्छेको मन पनि लटरम्म फलाउँथ्यो
गाउँ भित्र पनि गाउँ
गाउँ बाहिर पनि गाउँ
गाउँ साँच्चै गाउँ थियो
सम्पन्नता नभए पनि
रन बन छाएको थियो ।
त्यति बेला
गाउँ मन थियो
गाउँ मुस्कान थियो
अन्तरङ्ग थियो
आत्मीयता थियो
गाउँ अनेक थियो
गाउँ सम्भ्रान्त थियो
गाउँ जीवन थियो
गाउँ सम्पूर्ण थियो ।
अहिले त गाउँहरू खाली छन्
गाउँमा न बाली छन्
गाउँमा न माली छन्
लेक पनि छैन
बेसी पनि छैन
अहिले गाउँहरू खाली– खाली छन् ।
स्वयम् वृद्ध बृद्धाहरूले आफ्नो स्याहार गर्ने
बृद्धाश्रम जस्तै भएको छ गाउँ
अभिशप्त कठोर समयको
आहाल बनेको छ गाउँ
अनेक पीडाले डामेको वर्तमान बोकेर
बचपन, यौवन र वयस्क क्षणका स्मृतिहरू
र
भोक र प्यास खाएर पिएर
जीवन धानिरहेछन् वृद्ध बृद्धाहरू ।
छोरो खाडीमा रोजगारीमा छ
बुहारी इजरायलमा छे
ऊ हिटलर कालमा मरेकाका
पति र पत्नीको सेवालाई साटेर
मीठो खाँदै छे
दुई पटक सम्बन्ध विच्छेद गरेकी छोरीले
अर्को पति पनि छाडेर
के खान्छे ? के गर्छे ? थाहा छैन
राम्री, चिटिक्क भएर खिचेको फोटो
फेसबुकमा राखेकी छे,
एउटा पत्र पठाएकी छ
उसले त्यसमा लेखेकी छे
पाँच बर्षपछि आउँछु
र आमा बुबाको
राम्रो व्यवस्था गरिदिन्छु
तर ती वृद्ध बृद्धाहरू
पाँच बर्ष पछि
अर्को जुनी हुने विश्वासमा छन् ।
गाउँमा अहिले कोही बित्यो भने
मलामी जाने मान्छे छैनन्
विवाह त गर्ने पर्दैन
बेहुला र बेहुली नै हुँदैनन्
अहिले गाउँ, गाउँ जस्तो छैन
आउँले सताएर खल्र्याप्प भएको मधौरू जस्तो छ
गाउँ चिहान घारीको
शोक जस्तै भएको छ
मृत्यु पर्खेका
अभिशप्त वृद्ध बृद्धालाई बोकेर
गाउँ
हुचीलसँग मिलेर
शोक र भोकको गीत गाइ रहेछ ।
हो, गाउँ
सिंहदरवारबाट धेरै टाढा छ
आफन्तबाट टाढा छ
आत्मीयताबाट टाढा छ
मानवीय मनबाट टाढा छ
अझै टाढा हुँदैछ
सर्वत्रबाट गाउँ
गाउँ परदेश लाग्दैछ
गाउँ दूर देश जाँदैछ
सर्वत्रबाट गाउँ
टाढा– टाढा हुँदै जाँदैछ
अहिलेको गाउँ
बेबारिसे बन्दैछ ।
चन्द्रयढी, झापा
Subscribe
Login
0 Comments
Oldest






































