सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बेसहारा बुढ्यौली

Nepal Telecom ad

आफैंले जन्माएर हुर्काइ–बढाइ गरेका छोराछोरीबाट उपेक्षित वृद्धवृद्धालाई समाज र सरकारले पनि वास्ता गरेको छैन ।

छोराबुहारीले घरबाट निकालेर सडकमा अलपत्र पारेका काठमाडौंका जितकुमार नकर्मी (६०) भक्तपुरको करुणा आश्रममा छन्, उनलाई भेट्न कोही आउँदैनन् । ६ छोरी र एक छोरा हुर्काएका आरुखर्क– ७ स्याङ्जाका हरिलाल पौड्याल (६८) पोखराको वृद्धाश्रममा छन् । छोरीपछि नातिनातिना हुर्काएकी कास्कीकी सावित्रा बराल (७७) अन्त्यमा आफैं बेसहारा भएकी छन् । काठमाडौंमा घरजम गरेका खोटाङका कृष्ण आचार्यकी आमा सरमाया (७७) धरानको फूटपाथमा संघर्ष गरिरहेकी छन् ।

छोराछोरीले जन्मदिने बाबुआमाप्रतिको दायित्व बिर्संदा नेपाली समाजमा यसरी ‘लावारिस’ हुने वृद्धवृद्धाको संख्या बढेको छ। संयुक्तबाट विस्तारै एकल परिवारमा रूपान्तरण भइरहेको नेपाली समाजमा एकातिर बूढा बाबुआमा सडकमा फालिंदैछन् भने अर्का्तिर तिनका नातिनातिना घरभित्रै एक्लोपनको शिकार भइरहेका छन्। बूढा बाबुआमालाई त के साना छोराछोरीलाई समेत समय दिन नसक्नेहरूको संख्या बढिरहेको छ।

नेपाली समाजको पारिवारिक सम्बन्धका डोराहरू क्रमशः मक्किंदै छन् । मानवशास्त्री सुरेश ढकाल समाजमा बालबालिकाको हुर्काइ र वृद्ध–वृद्धाको हेरचाहको प्रक्रिया नै फेरिएको बताउँछन् । “पारिवारिक मूल्यमान्यता कम हुँदै गएको नयाँ पुस्तामा अग्रजहरूप्रति माया र सम्मान घट्दो छ”, ढकाल भन्छन्, “नेपाली समाजमा यो सांस्कृतिक विग्रह हुने खतराको घण्टी हो ।”

वृद्ध, अशक्त र असहायका लागि भक्तपुरमा करुणा आश्रम सञ्चालन गरेकी ललिता धौभडेलको अनुभवमा, समाजमा वृद्धवृद्धालाई सम्मान गर्ने छोराछोरी र नातिनातिनाको संख्या घट्दो छ । समाजशास्त्री डा. डिल्लीराम दाहाल बाबुआमाले कामकाजी छोराछोरी र नातिनातिनाबाट आत्मीयता नपाउँदा पारिवारिक मनमुटाव बढेको बताउँछन् । प्रायः विकसित देशमा ६० वर्ष माथिका नागरिकको जिम्मेवारी सरकारले लिने भएकाले यस्तो मानवीय समस्या नभएको बताउँदै मानवशास्त्री सुरेश ढकाल भन्छन, “समाजमा पैसाको पछाडि दौड्ने मानसिकता हुर्किएकोले गरीब वृद्धवृद्धा मात्र हैन, जीवनमा प्रशस्त सम्पत्ति जोडेकाहरू समेत अप्ठ्यारोमा परेका छन्। वृद्धवृद्धाको सामाजिक सुरक्षाको लागि सरकारले ठोस काम गर्नु जरुरी भइसकेको छ ।”

राजधानी उपत्यकाका एक दर्जन वृद्धाश्रम परिवारबाट टाढिएका वृद्धवृद्धाले खचाखच छन् । राजधानी बाहिर चितवन, धनकुटा, विराटनगर, पोखरालगायतका शहरका वृद्धाश्रमले पनि कैयौंलाई आश्रय दिएका छन् । तर त्यस्तो आश्रय चाहिने सबैले यो सुविधा पाएका छैनन् । देशका वरिष्ठ नागरिकलाई हेर्नुपर्ने सरकारले मुलुकभर राजधानीको पशुपतिनाथ परिसरमा एउटा मात्र वृद्धाश्रम चलाएको छ । वि.सं. १९३८ मा खुलेको पशुपति वृद्धाश्रममा हाल बसिरहेका ६५ वर्ष माथिका २३० वृद्धवृद्धामध्ये आधा परिवारबाट फालिएका नै भएको आश्रमका प्रमुख रामशरण थापा बताउँछन् । चल–अचल सम्पत्ति केही नभएकालाई मात्र राख्ने नीति भएको आश्रममा छोराबुहारीले नै सम्पत्ति हडपेर बिचल्लीमा पारेका राजधानीका एक ६५ वर्षे वृद्धले पनि आफन्तको सहयोगमा ठाउँ पाएका छन् ।

२०४८ सालमा ६० वर्षमाथिका नेपालीको संख्या १० लाख ७१ हजार थियो, २०४८ मा १५ लाख नाघ्यो । राष्ट्रिय जनगणना २०६८ बाट देखिएको २ करोड ८५ लाख जनसंख्यामध्ये ९.१ प्रतिशत (२३ लाख ५१ हजार) ६० वर्षमाथिको रहेको त्रिवि भूगोल विभागका प्राध्यापक भीमप्रसाद सुवेदी बताउँछन्। उनी भन्छन्, “वार्षिक वृद्धिदरको प्रवृत्तिले आउँदो दुई दशकमा यो उमेर समूहका नेपालीको संख्या दोब्बर हुने देखाउँछ ।”

छिन्नभिन्न परिवार 
नेपाली पारिवारिक संरचनालाई आधुनिक जीवनशैली र उन्नत भविष्यको होडबाजीले छिन्नभिन्न पार्दै लगेको छ । जीवनशैली, अर्थतन्त्र, राजनीतिक र सामाजिक सम्बन्धहरूमा आएको परिवर्तनले परिवारको परम्परागत ढाँचालाई कमजोर बनाएको छ । अर्थोपार्जनको दौडले पारिवारिक मूल्यमान्यता र संवेदनालाई पछाडि छाड्दैछ । यसबाट समाज एकाङ्की र व्यक्तिवादी बन्दै गएको छ । आत्मनिर्भरतासहितको स्वतन्त्र र आधुनिक जीवनशैलीमा रमाउने लालसाले संयुक्त परिवारलाई विखण्डित पार्दै परिवारका अग्रजहरूको रेखदेखलाई बोझ्को रूपमा लिने प्रवृत्ति बढाएको छ ।

१० वर्षअघि ५.४४ रहेको नेपालको औसत परिवार सदस्य संख्या सन् २०११ को जनसांख्यिक सर्वेक्षण अनुसार ४.७ छ । १० वर्षअघि ४.६ रहेको काठमाडौंको औसत परिवार सदस्य अहिले ३.७ मात्र छ। यसले नेपालको शहरिया परिवार बाबु, आमा र छोरा या छोरी गरी तीन वा चार जनामा खुम्चिँदै गएको देखाउँछ । काठमाडौं बाहिर पनि पूर्वको झापा या ताप्लेजुङ होस् वा सुदूरपश्चिमको कञ्चनपुर या डोटी, औसत परिवार सदस्य संख्या घट्दो छ ।

शहरमा घरजम गरेका छोराबुहारी गाउँका बाबुआमा या सासूससुरासँग नबस्ने प्रवृत्ति शहरमै बस्नेहरूबीच पनि देखिएको छ । समाजशास्त्री डा. डिल्लीराम दाहाल आर्थिक उपार्जन गरेर आत्मनिर्भर बन्ने बाध्यात्मक अवस्थाले हरेक परिवारका सदस्यलाई एकअर्काबाट टाढा बनाउँदै लगेको बताउँछन् । नेपालमा मध्यम, निम्नमध्यम र निम्न वर्गीय परिवारको संख्या धेरै छ । उनीहरू सबैमा अलग बस्ने संस्कृति मौलाएको छ । यसमा आफैं कमाएर आफूखुशी खर्च गर्ने आर्थिक उपार्जनको लालसासँगै पश्चिमा रहन–सहन, खानपान र जीवनशैलीको प्रभावले पनि काम गरेको छ ।

अर्थविद् केशव आचार्य पनि समाजका हरेक वर्ग र व्यक्ति कमाउने होडमा लागेकाले त्यसको प्रत्यक्ष असर पारिवारिक बनोटमा परेको बताउँछन् । “नेपाली समाजमा जसरी पनि कमाउने ‘होमो इकोनोमिक्स’ को सोचले जरा गाड्न थालेको छ”, आचार्य भन्छन्, “तर पनि बढ्दो महँगी र कमाइको असन्तुलनले असंख्य परिवारमा मनमुटावसँगै थप विखण्डन भित्रिएको छ ।”

बुढेसकालमा छोरा–छोरीले
नहेर्ने क्रम बढेकाले
धेरैलाई नमरुञ्जेल चल–
अचल सम्पत्ति आफ्नै
नाममा राख्ने सल्लाह
दिने गरेको छु ।
–डा. डिल्लीराम दाहाल, समाजशास्त्री

सन् १९८१–९० बीचको गाउँबाट शहरतिरको बसाइँसराइले नेपालमा सामाजिक असन्तुलन निम्त्याएको अर्थशास्त्रीहरू बताउँछन् । शहरमा कमाउन थालेकाहरू गाउँ फर्केनन् । गाउँको संयुक्त परिवार छिन्नभिन्न हुनुका साथै बन्धुबान्धवहरूसँग उनीहरूको सम्बन्ध टुट्यो । मानवशास्त्री सुरेश ढकाल समयले ल्याएको यस्तो परिवर्तनमा नेपाली समाज आफ्नो मौलिक पहिचान र पारिवारिक सम्बन्धलाई यथावत् राखेर अघि बढ्न नसकेको बताउँछन् ।

दिनहुँ आर्थिक उपार्जनको धपेडीमा फँसिरहेकाहरू बूढा बाबुआमालाई बिर्संदै छोराछोरीको लागि ‘मरिमेटेर’ काम गरिरहेका छन् । संवेदनाविहीन परिवेशमा हुर्केको नयाँ पुस्ताले पनि आफ्ना बाबुआमालाई त्यसैगरी बिर्सनेछ । बाबु–आमाको मुख नताक्ने आत्मनिर्भर पुस्ता हुर्कनु आफैंमा सकारात्मक भए पनि तिनमा सामाजिक, पारिवारिक मूल्यमान्यता नहुनु घातक हुन्छ । यसमा राज्यको ध्यान जान ढिला भइसकेको छ ।

बढ्दो दूरी 
परिवार संकुचनको ठूलो मार वृद्धवृद्धा र बालबालिकामा परिरहेको छ । संस्कार–संस्कृतिको पाठशाला मानिने हजुरबा–हजुरआमाको काखबाट टाढा पुगेका बालबालिका परम्परागत ज्ञान, संस्कार र विवेकबाट बञ्चित भएका छन् । अधिकांश परिवारका बालबालिकाले आफ्ना हजुरबा–हजुरआमालाई भेट्न दशैं कुर्नुपर्छ । दुर्गम गाउँमा बाजेबज्यै भएकाले त त्यही पनि पाउँदैनन् । अर्कातिर, बाजेबज्यैले नातिनातिना भेट्ने तिर्सना मेट्न नपाएर एक्लोपनको शिकार हुनुपरेको छ । यसबाट बालबालिकामा बाजेबज्यै र आफन्तको महत्व घट्दै गएको समाजशास्त्री डिल्लीराम दाहाल बताउँछन् ।

शहरमै पनि छोराहरू बुहारी ल्याउनासाथ बाबुआमासँग छुट्टिन्छन् । जेसुकै कारणले होस्, गाउँबाट शहर र शहरबाट विदेश बसाइँ सर्नेहरूका बालबच्चा मूलथलोमा विरलै फर्कन्छन् । परिवर्तित जीवनशैलीलाई स्वाभाविक मान्ने संस्कृतिविद् सत्यमोहन जोशी पारिवारिक विखण्डनले बालबालिका र वृद्धवृद्धामा गहिरो असर पारेको बताउँछन् । पाटनमा दुई वटा घर भएका जोशी स्वयंका तीन छोराबुहारी अलग बस्छन् । उनीहरूको प्रगतिमा वयोवृद्ध जोशी दम्पती खुशी छन्, तर सँगै बस्न नपाउँदा पारिवारिक दयामाया र स्नेह हराउँदै गएको उनीहरूको ठम्याइ छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि भित्रिएको आर्थिक उदारीकरण र आधुनिक प्रविधिबाट जीवनशैलीमा ठूलै परिवर्तन अनुभव गरेका नेपालीहरू परम्परागत कृषि पेशामाथिको निर्भरता छाडेर नयाँ रोजगारी र आर्थिक उत्पादन प्रणालीमा गए । यसक्रममा सामाजिक असन्तुलन आउने गरी बसाइँसराइ बढ्यो र खेतीपातीका लागि आवश्यक संयुक्त परिवारको सामूहिकता भत्कियो। बाबु र छोराको पेशा फरक हुँदा परम्परागत ज्ञानसीपको महत्व घट्यो । बदलिंदो रोजगारी र पेशाले संयुक्त परिवार तथा पारिवारिक सम्बन्धमा दूरी बढायो ।

मानवशास्त्री ढकालको विश्लेषणमा, कमाउने छोराछोरी सदैव आर्थिक दबाब र आफ्नै छोराछोरीको भविष्यको चिन्तामा पर्दा बूढा बाबुआमा स्वतः बेवास्तामा परे । यही क्रममा धेरै बाबुआमा सडक र वृद्धाश्रममा पुगेका हुन् । “मानिसहरू सामाजिक–पारिवारिक भन्दा आर्थिक प्राणी बनेकाले ‘पैसामुखी’, ‘व्यक्तिवादी’, ‘एकलकाँटे’ र कतिपय अवस्थामा संवेदनाविहीन पुस्ता तयार हुँदैछ”, ढकाल भन्छन्, “नयाँ पुस्तामा परिवार र आफन्तलाई बेवास्ता गर्ने प्रवृत्ति झन् बढ्नेछ ।”

बढ्दो विश्वव्यापीकरणले मानिसहरूलाई ‘व्यक्तिवादी’ आर्थिक प्राणी बनाउँदै लगेको अवस्थामा नेपाली समाजमा पनि व्यक्तिको मूल्याङ्कन उसको आर्थिक अवस्था, लवाइखवाइले निर्धारण गर्न थालेको छ । मनोविज्ञ रुचिरा कोइराला यस्तो सामाजिक–आर्थिक रूपान्तरणले मानिसलाई केवल पैसाको पछि दौडाएको बताउँछिन् । समाजमा पैसा, कार, बंगला, ब्राण्डेड लुगा आदिको तडकभडकबाट मान्छेको सम्मान बढ्ने परिपाटीले पारिवारिक संरचनालाई धरासायी बनाउँदै लगेकोले वृद्धवृद्धाहरू छोराछोरी र आफन्तबाट बढी तिरस्कृत भएका छन् । “धनी परिवारका कतिपय छोराछोरीले समेत सम्पत्ति आफ्नो नाममा पारेर बाबुआमालाई बिचल्लीमा पारेका छन्, मनोविज्ञ कोइराला भन्छिन्, “धनसम्पत्ति नभएका बाबुआमा त झनै हेलाँमा परेका छन् ।”

अहिले वृद्ध अग्रजहरूलाई हेलाँ गर्ने र घरबाट निकालेर बेसहारा बनाउनेहरूले पनि बुढ्यौली त झेल्नै पर्छ । यो कुरालाई सबैले मनन् गर्ने हो भने धेरैका घाउहरूमा मल्हम लाग्नेछ ।

डम्बरकृष्ण श्रेष्ठ

साथमा सोहन श्रेष्ठ, धरान
कमल रिमाल, विराटनगर
छवि मगर, पोखरा
रमेश कुमार, रसुवा 

साभार : हिमाल खबरपत्रिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad