
पशु- पशुपति र मान्छे
“लैजाओ, अब मलाई वास्ता छैन- यी मान्छेहरूको बुद्धि र बठ्याइँ पाएँ भन्दैमा मात्तिने र पात्तिने यी उत्ताउलाहरूलाई अब तिमीहरू नै जे गर्छौ गर ।” यति भनेर पशुपतिले मान्छेलाई फेरि भने- “जा, तँ पशुको पछि लाग्- अब मलाई कसैको वास्ता छैन, म समाधिमा पसें ।”

साँढेको नेतृत्वमा गएको पशुहरूको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दक्खिन ढोका घचघच्यायो । पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो- “तपाईं पशुका पति भएर पनि हामी पशुहरूमाथि कुनै वास्ता गरिदिनुभएन । तपाईंले पुलपुल्याइदिँदा आज मान्छेले गर्नुसम्म गरिसक्यो । रिसानी माफ हुन्छ भने हामी समस्त पशुहरूको एउटै आवाज छ- मान्छे मात्तियो, मात्तियो तर पशु बिचरो आत्तियो ।”
यो मोरो पशुको जात, जहिले पनि रङ्ग न ढङ्गको कचकच गर्न आउँछ भन्ने ठानी पशुपतिले फर्किएर सोधे- “आखिर तिमीहरूको समस्या क्या हो ?”
साँढेले भन्यो- “हामी फाँटको फाँट मडिया मार्ने साँढेजातिलाई कान्जी हाउसभित्र थुनेर दुई मुठा परालमा बाँच भन्छ- आजको स्वतन्त्रताप्रिय भनाउँदो मान्छे ।” साँढेको कुरामा संशोधन थप्तै गोरुले भन्यो- “होइन हजुर ! वास्तविक मर्कामा परेको पशु त अझ म पो छु । जमिन जोत्नेको हुन्छ भनी नारा लाग्दछ तर जमिनको खास जोताहा मलाई मुखमा पेरुङ्गो बाँधिदिन्छ- आजको समाजवादी मान्छे ।” साँढे र गोरु आँखा पल्टाउँदै थिए, वानर उफ्रेर पशुपतिका अगाडि पुग्यो । उसले अर्जी गर्यो- “हामी विश्वका समस्त वानरजाति घरबारहीन छौं, तर हाम्रो यो समस्या हेरिदिँदैन- आजको विश्वबन्धुत्ववादी मान्छे ।” यत्तिकैमा गैंडा र ग्राहको संयुक्त डाँको सुनियो- “हामीलाई जङ्गल र जलमा पनि चुपचाप बाँच्न दिँदैन- आजको शान्तिवादी मान्छे ।”
ओहो ! सुन्दासुन्दा पशुपतिको कानै टट्टायो । उनले च्याँट्ठिएर भने- “यो सब तिमीहरूका बकबास हुन् । मान्छेमाथि मेरो पूरापूरा पत्यार छ । “कहिल्यै पशु मानिँदैन, ऊ उत्ताउल्याइँ जान्दैन ।” पशुपतिको कुरा काट्दै पशुराज सिंहले भन्यो- “होइन हजुर ! हामीसित चोखो बल छ, तर मान्छेसित बिटुलो बुद्धि छ, बुद्धिभित्र छल छ । त्यसैले मान्छे भस्मासुर भैसक्यो, आज ऊ आफूबाहेक कसैलाई पनि गन्दैन, स्वयम् पशुपतिलाई पनि पशुले मात्र पत्याउने पाषाण पो ठान्छ ।”
पशुपतिजीले पशुहरूका कुरा सुनी दिक्क भएर सोधे- “त भन न आखिर तिमीहरू के चाहन्छौ ?” साखुल्ले भएर अघि सर्दै ब्वाँसोले भन्यो- “अरू हामी केही चाहँदैनौं हजुर । यो मान्छेको जातलाई हाम्रो जिम्मा लगाइदिनुपर्यो । यिनीहरूले तपाईंकै टाउको खान लागिसके ।” “व्यर्थे केको फिक्री ? मात्तिएको मान्छेलाई हात्तीले तह लगाउँछ ।” दाह्रावाल हात्ती कड्क्यो । तर पशुपतिको चित्त बुझेन । उनले भने- “मैले कत्रो दुःख गरी पाले-पोसेका, सिकाए-सधाएका मान्छे अब म पशुको जिम्मा दिऊँ ? स्पुतनिक युगबाट के फेरि म जङ्गली युग फर्काऊँ ? यो हुन सक्तैन । पशुभन्दा मान्छे कहिल्यै नजाती हुँदैन ।” बूढी गाईले नम्रतासाथ भनिन्- “हो हजुर ! मान्छेलाई अब तहमा राख्ने हो भने यसको जिम्मा पशुलाई नै दिनुपर्छ । मान्छेसित केवल आसक्ति बाँकी छ, शक्ति छैन, आक्रोश बाँकी छ, प्रेम छैन । आशङ्का बाँकी छ, विश्वास छैन ।” गाईको पनि यस्तो कुरा सुन्दा पशुपतिको मनमा अलिकति चिसो पस्यो । पशुपतिले गम्भीरतासाथ सोधे- “आखिर तिमीहरूसित यसको प्रमाण के छ त ? प्रमाणबिना अर्कालाई दोष लाउन पाइँदैन बुझ्यौ ?”- मुखामुख गर्दै पशुको प्रतिनिधिमण्डल चुप लाग्यो । अन्त्यमा बिदाइको सलाम गर्दै गधाले भन्यो- “प्रमाण एक मात्र होइन, हामी हजारौं लिएर आऔँला ।”
बाहिर आएर पशुहरू मान्छेका करतुतका सबुद खोज्न थाले । कोही पुस्तकालयतिर गए त कोही वाचनालयतिर, कोही वेधशालातिर गए त कोही गए सैन्यशालातिर ।
००
एक दिन पशुपतिको प्राङ्गणमा पशुहरूको कचहरी थियो । स्पष्टीकरण दिन मान्छेको प्रतिनिधि पनि उपस्थित थियो । सयौं हात्तीहरूले रासका रास पुस्तकहरू पशुपतिका अगाडि राख्तै भने- “मान्छेका दिमागको एउटा कर यही हो, जसको कारण आजको मान्छे बौलाएको छ ।” पशुपतिले एउटा पुस्तक पल्टाएर सर्र पढे, पुस्तकमा कसरी अरूलाई उछिनेर आफू अघि बढ्ने, कसरी मान्छे फकाउने, कसरी छकाउने र कसरी बहकाउने इत्यादि थियो । पशुपतिले आँखा अलि तरेर नजिकै बसिरहेको मान्छेलाई सोधे- “क्या हो ?” मान्छेले फुर्तीसाथ जबाफ दियो- “यो पुस्तक हो- राजनीतिक पुस्तक ।” पशुपतिले अर्को पुस्तक पल्टाएर, त्यसमा कसरी सम्पत्ति कमाउने, कसरी बचाउने इत्यादि कुरा थिए । मान्छेले बतायो- “यो अर्थशास्त्र हो ।” पशुपति पुस्तक टिप्तै गए, मान्छे भन्दै गयो- “यो व्यापारशास्त्र, यो आधुनिक दर्शन नित्सेको, यो मनोविज्ञान फ्रायडको, यो डार्विनको थ्योरी, यो योगवाशिष्ठ, यो धम्मपद, यो बाइबिल, यो इजरा पौन्डको कविता, यो क्यागुको कथा, यो ।” पशुपतिले जिभ्रो काट्दै भने- “यी सब किन ? किन यी सब ? पशु ठीकै भन्छन्- बुझिस् मान्छे ! तँ बौलाहा ः भइछस्, धेरै मात्रामा बहुलाइसकिछस् । अब लैजा यी सारा कसिङ्गर । ए वानर हो ! च्यातिदेओ यी सारा थाङ्नाहरू ।” मान्छे जिल्ल पर्यो । युगानुयुगदेखि उसले गर्दै आएको चिन्तन, मनन, गन्थन, आविष्कारको सम्पूणर् राशि पुस्तकप्रति पशुपतिको यत्रो कुदृष्टि । आखिर पशुपति पशुकै पति रहेछन्- यिनलाई मान्छेको दिमाग कति गहिरो र व्यापक छ- के थाहा ?
यत्तिकैमा एक बथान कुकुर, बिराला र मुसाहरूले अखबारको ठेली लगेर पशुपतिको समक्ष थुप्र्याए- साम्राज्यवादी अमेरिकाले भियतनामलाई ‘ध्वस्त पार्यो’- पशुपतिले अखबार एक-एक गरी पल्टाउँदै गए- ‘विस्तारवादी चीनले भियतनाममा खुट्टो घुमायो’, ‘गङ्गलग्रहको तस्बिर खिचियो’, ‘अल्जेरियामा सैनिक विद्रोह’, ’रूसको नयाँ राकेट, जोन्सन र देगालको भनाभन’, ‘जनकपुर चुरोट कारखानाको प्रगति’, ‘कलकत्तामा लाठीचार्ज’, ‘बर्लिनमा गोली हानाहान’ ….। “थी सब के हुन् ?” रातो मुख लगाउँदै पशुपतिले सोधे । “थी अखबार हुनु हजुर ! दिनदिनका समाचार, विचार छापिने अखबार ।” पशुपति- “के यिनमा सब सत्यसत्य छापिन्छन् ?” “सत्य त सत्यै हुन्, तर आजको मान्छेको अगाडि सत्य गणितजस्तो छैन । देशदेशका आफ्ना सत्य, दलदलमा आफ्ना सत्य… ” मान्छेले व्याख्या गर्यो, पशुपति रन्किए । अखबारहरूलाई धुजाधुजा पारेर पशुपतिले भने- “बिग्रेछौ मान्छे हो । तिमीहरू पक्का बिग्रेछौ ।”
“अँ, यो के हो नि ?”- बाघभालुहरूले सकीनसकी बोकेर ल्याएका हातहतियारतिर नियाल्दै पशुपतिले सोधे । चितुवाले भन्यो- “हामीलाई हिंसक जन्तु भनेर हेलाँ गर्ने मान्छेले मान्छेमाथि नै प्रहार गर्न बनाएको यो बन्दुक, यो तोप, यो क्षेप्यास्त्र, यो एटम बम ।” “धिक्कार !!!” पशुपतिले लामो सुस्केरा हाल्दै मान्छेलाई धिक्कारे । सारा पशुहरूले कुनैले खुट्टा बजारेर, कुनैले सिङ तिखारेर र कसैले जुरो हल्लाएर भने- “कसो भो !!” मान्छेले अँध्यारो मुख लाएर स्पष्टीकरण दियो- “यी सब संहारको निम्ति होइन, सुरक्षाको निम्ति हामीले निर्माण गरेका हौं, शक्तिसन्तुलनको लागि बनाएका ।
“गन्य सुरक्षा !” भनेर अझ रन्कँदै पशुपतिले पशुहरूपट्टि फर्केर भने- “लैजाओ, अब मलाई वास्ता छैन- यी मान्छेहरूको बुद्धि र बठ्याइँ पाएँ भन्दैमा मात्तिने र पात्तिने यी उत्ताउलाहरूलाई अब तिमीहरू नै जे गर्छौ गर ।” यति भनेर पशुपतिले मान्छेलाई फेरि भने- “जा, तँ पशुको पछि लाग्- अब मलाई कसैको वास्ता छैन, म समाधिमा पसें ।”
“हाम्रो समाजमा त यसलाई ल्याउन हुन्न, यसले भित्रभित्र बम बनायो भने…..।” “हो हो ल्याउन हुन्न, यसले पशुका छाउराछाउरीलाई पनि पुस्तक पत्रिका पढ्न सिकाएर बिगारिदियो भने……।”
केही पशुहरू कराए । तर लुरुक्क परेर मानिसले आफ्नो बचेखुचेको मौलिकता पोली पशुका समक्ष आत्मसमर्पण गर्यो ।
०००
‘सगुन’, आषाढ, २०२२
‘भैरव अर्यालका हास्यव्यङ्ग्य’ भैरव पुरस्कार गुठी