फित्काैली डटकम‘जयपृथ्वीबहादुर सिंह’ सम्मान पोखरेल र न्यौपानेलाई
कार्यक्रममा डा. विष्णुविभू घिमिरे, साहित्यकार लक्ष्मी उप्रेती र सो स्कुलका प्रधानाध्यापक कृष्णकुमार बोहोरालगायतले साहित्यकारद्वय पोखरेल र न्यौपानेलाई खादा र सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।
काठमाडौँ । विराटनगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल र डा. छायादत्त न्यौपानेलाई राष्ट्रिय विभूति स्रष्टा ‘जयपृथ्वीबहादुर सिंह’ सम्मान प्रदान गरिएको छ ।
दी राइजिङ स्टार बोर्डिङ स्कुलद्वारा सोमबार आयोजित कार्यक्रममा डा. विष्णुविभू घिमिरे, साहित्यकार लक्ष्मी उप्रेती र सो स्कुलका प्रधानाध्यापक कृष्णकुमार बोहोरालगायतले साहित्यकारद्वय पोखरेल र न्यौपानेलाई खादा र सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।
साहित्यकार डा. घिमिरेले विद्यार्थीलाई सानै कक्षादेखि साहित्यिक माहोलमा रम्न दिने हो भने उनीहरूको प्रतिभाले फक्रने अवसर पाउने बताउनुभयो । राइजिङ स्टार स्कुलले थालेको साहित्यकारसँग विद्यार्थीको साक्षात्कार कार्यक्रमले भविष्यका सर्जकका लागि बाटो बनिरहेको बताउनुभयो ।
स्कुलका प्रधानाध्यापक कृष्णकुमार बोहोराले राष्ट्रिय विभूति स्रष्टा ‘जयपृथ्वीबहादुर सिंह’ सम्मानबाट सम्मानित सर्जकको आगामी काव्ययात्राको सफलताको शुभकामना व्यक्त गर्दै विद्यालयले साहित्यिक गतिविधिमार्फत विद्यार्थीको साहित्यमा रुचि जगाउने अभ्याससमेत गर्दै आएको बताउनुभयो । प्रधानाध्यापक बोहोराले स्कुलले साहित्यकारसँगको साक्षात्कार कार्यक्रम आयोजना गर्दा विद्यार्थीमा रचनात्मक क्षमताको विकासका साथै उनीहरूमा स्टेजमा उभिएर बोल्ने आत्मविश्वास पनि बढ्दै गएको बताउनुभयो ।
साहित्यकार लक्ष्मी उप्रेतीले सम्मानित स्रष्टाको जीवनीबारे चर्चा गर्दै साहित्यकार विवश घिमिरेले आफूलाई समेत साहित्य सेवाका लागि प्रेरणा दिएर अगाडि बढ्न हौसला प्रदान गर्दै आएको बताउनुभयो । उहाँले राष्ट्रिय विभूति स्रष्टा जयपृथ्वीबहादुर सिंह सम्मानपछि पनि पोखरेल र न्यौपानेको सिर्जनाको लहर अझै उच्च होस् भन्नुभयो ।
सो अवसरमा साहित्यकार उप्रेती र विमला ढुङ्गाना निरौलाले संयुक्त रूपमा लेख्नुभएको बालसाहित्यको पुस्तक ‘मोबाइलका कुरा’ लोकार्पण गरिएको थियो । उक्त पुस्तकबारे दी राइजिङ स्टार बोर्डिङ स्कुलका विद्यार्थी युजल लामाले समीक्षा गर्नुभएको थियो । उहाँले सो पुस्तकमा समेटिएको मोबाइलको प्रयोगबारेको कवितात्मक रचनाले बालबालिकालाई मोबाइलको उचित प्रयोगबारे प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा विद्यार्थीहरू स्मृति गुरुङ, संस्कृति नेपाल, विशेष खड्का, आरजु प्रधानलगायतले कथा, कविता वाचन गर्नुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































