गुलिभरको भ्रमण-१

ती त कुकुर जत्रै ठुल्ठुला रहेछन् । मैले पनि मेरो तरवार निकालें र तिनीहरूमाथि जाइलागें । ती मध्ये एउटालाई त्यहीँ मारिदिएँ, अर्को चाहिँ भागेर जोगियो । मलाई लाग्यो सानो प्राणी हुनु पनि सारै खतरनाक रहेछ !

अनुवाद :  गंगाप्रसाद अधिकारी

ब्रब्डिङ्ग्याङतिरको यात्रा
म मेरो अनौठो लिलिपुट र ब्लेफुस्क्युको बसाइपछि पुनः बेलायत फर्कन पाएकोमा औधि खुसी थिएँ । म ती दुई छिमेकी मुलुकबारे सोच्दै थिएँ । अब ती मुलुकहरू एक अर्काका विरुद्ध उत्रिँदैनन् भन्ने बारेमा पनि म निकै आशावादी थिएँ ।

मेरो अर्को यस्तै भ्रमण चाहिँ मैले त्यस जहाजमा साहसिक काम गर्न थालेपछि भएको थियो । जहाजमा यात्रा गर्दै जाँदा एक दिन एउटा ठुलो समुद्री चक्रवात आयो र त्यस चक्रवातसँगै हाम्रो जहाज बत्तिँदै कता पुग्यो कता । हामीले हामी कहाँ छौं भन्ने कुरा नै थाहा पाएनौं । यस्तै बेलामा एउटा नाविक साथीले हामी जमिनको नजिकै पुगेको देखेछ । हामीलाई केही ताजा पानी चाहिएको थियो । त्यसैले हामीमध्ये केहीले जहाजको डुँगा लिएर किनारातिर जाने निणर्य गर्‍यौं । हामी त्यस किनारामा पुग्यौं पनि तर त्यहाँ कुनै घर थिएनन् । म भने केही परसम्म हिँड्दै गएँ तर त्यहाँ कुनै गाउँ वा सहर भएको कुनै सङ्केतसम्म फेला परेन ।

“यहाँ त कोही बस्दा रहेनछन् !” म निराश जस्तै हुँदै डुँगा भएतिरै फर्कन लागेको थिएँ, ला ! अरू नाविक साथीहरू त अघि नै डुँगामा पो चढिसकेछन् ! उनीहरू त हतार हतार त्यस ठाउँबाट टाढिँदै भाग्दै पो गइरहेका रहेछन् ! उनीहरूलाई त एउटा भीमकाय प्राणीले पो पछ्याइरहेको रहेछ ! नाविक साथीहरू भने धेरै डराएका थिए । मैले हेर्दा हेर्दै उनीहरूले त्यो डँगा जहाज भएठाउँ पुर्‍याइहाले ।

अब म भने एक्लै भएँ । डरले सातोपुत्लो उड्यो । म त्यस विशालकाय जन्तुदेखि डराइरहेको थिएँ । म त्यस किनाराबाट दौडँदै भागें र एउटा थुम्कोको चुचुरोमा पुगें । अचम्म ! म एउटा मकैबारीमा पुगेंछु तर त्यहाँका मकैका बोट र घाँसहरू त कहाँ साधारण रहेछन् र ? त्यहाँका हरेक वस्तु कति ठुल्ठुला ! मैले एउटा मान्छे पनि देखें । ऊ त मन्दिर जत्रै अग्लो पो थियो । मकैका बोटहरू मभन्दा धेरै धेरै अग्ला थिए । म त्यहीँ भित्र पसेर लुकें ।

त्यस भीमकाय राक्षस जस्तो मान्छेले अरूलाई पनि बोलायो । ती मान्छे पनि सबै उस्तै थिए विशालकाय ! उनीहरू म लुकेको ठाउँका मकैका बोटहरू धमाधम काट्न थाले । त्यो देखेर म हच्किएँ अनि ठुलो आवाजमा चिच्याएँ । त्यस पहिलो राक्षसले मेरो चिच्याहट सुनेछ अनि उसले काम छोडेर त्यस मकैबारीमा नियाल्न थाल्यो । उसले मलाई देख्यो अनि म भएठाउँ आयो र मलाई उठायो । उसले मलाई उसका औंलाले च्यापेर केही बेर उचालिराख्यो । म त्यति माथि हावामा उठाइएकाले कहालिएँ । मलाई लाग्यो अब यस राक्षसले जमिनमा पछार्ने भो ! मैले उसलाई म पति तिमी जस्तै मान्छे नै हुँ भन्ने कुरा जनाउनका लागि केही बोलें । म बोल्न सकेको देखेर त्यो मान्छे पनि ज्यादै खुसी भयो । त्यसपछि मैले केही इसाराको प्रयोग गरेर उसको औंलाले मलाई दुखाइरहेको छ भन्ने कुरा बुझाएँ । उसले पनि मैले भन्न खोजेको कुरा बुझ्यो अनि मलाई बिस्तारै उसको खल्तीमा राख्यो र अर्को किसान भएतिर लग्यो ।

उसले त्यस किसानलाई “हेर त !” भन्दै गोजीमा हात हाल्यो र मलाई बाहिर निकालेर देखायो र सोध्यो- “यो के हो ?”

त्यस अर्को किसानले मलाई केही बेरसम्म हेर्‍यो । उसले मलाई सावधानीपूर्वक भुइँमा राख्यो र केही बेर अध्ययन गर्‍यो । त्यसले मेरा लुगाहरू हेर्‍यो जुन मेरो शरीरकै प्राकृतिक अङ्ग जस्तै लाग्थे । “यो त जनावर हो ! तर कुन जनावर हो भन्ने चाहिँ थाहा भएन !” त्यस किसानले भन्यो ।

मैले कराएर भनें – “म कुनै जनावर होइन, म त मान्छे हुँ तिमीहरू जस्तै !”
म केही समय ऊ र उसका मानिसको अगाडि अगाडि-पछाडि गर्दै हिडें । म उनीहरूलाई टाढासम्म दौडेर जान सक्दिनँ भन्ने कुरा देखाउन चाहन्थें । उनीहरू मेरा वरिपरि त्यहीँ भुइँमा बसे अनि मलाई बडो उत्सुकतापूर्वक हेरिरहे ।

मैले मेरो ह्याट फुकालें र त्यसभित्र राखेको केही नगद निकालेर उसलाई दिएँ । उसले त्यसलाई निकै गहिरो गरेर केही बेर हेरिरह्यो तर यो के हो भनेर चाहिँ जान्न सकेन । त्यसपछि मैले ऊसँग कुरा गर्ने प्रयास गरें ।
“अरे, यो त बोल्दो पो रहेछ ! तर के बोलेको हो बुझ्न सकिएन । म अब यसलाई आफैंसँग राख्नुपर्‍यो !” त्यस किसानले भन्यो ।

किसानले मलाई उसको घर लग्यो । हामी त्यहाँ पुग्दा उसका घरका सबै सदस्यहरू बेलुकीको खाना खाँदै रहेछन् । उसले स्वास्नीचाहिँलाई मेरो बारेमा के राय छ भनेर सोध्यो । सुरुमा त्यसकी स्वास्नीले कुनै घातक किरो हुनुपर्छ भनी र बेलायती आइमाईहरू माकुरासँग डराए जस्तै गरी ऊ मदेखि डराई पनि । त्यसपछि मैले यी सबै कुरा बुझिरहेको थाहा पाएपछि भने उसको त्यो भ्रम तोडियो । त्यसपछि भने चाँडै नै ऊ मेरो मित्र पनि बनिहाली ।

किसानले मलाई टेबुलमाथि राख्यो र केही खाने पिउने कुराहरू दियो । उसको दश वर्षजतिको छोरो रहेछ । त्यो पनि त्यतिखेरै आइपुग्यो र मलाई टिप्यो । उसले मलाई खुट्टामा समातेर हावामा घुमायो । मेरो भने डरले सातोपुत्लो उड्यो । उसको बाबुचाहिँ यो देखेर त्यससँग खुबै रिसायो । उसले त्यस केटालाई हकार्दै मलाई तल राख्न लगायो र त्यसको गालामा मजैले चड्काइदियो । उसले “तुरुन्तै त्यो टेबल छोडेर गइहाल् !” भनेर हप्कायो पनि । मलाई लाग्यो बच्चाहरू किन यसरी ससाना जीवप्रति यति निर्दयी भएका होलान् ? त्यसपछि मैले त्यस केटालाई छिटै नै आफ्नो साथी बनाउने निधो गरें अनि केही इसारा गरेर उसको छोराको गल्तीलाई माफ गरिदेऊ भन्न चाहेको कुरा किसानलाई जाहेर गरें । किसान केही मुस्कुरायो र तुरुन्तै त्यस केटालाई टेबुलछेउ आइज भन्यो । केटो त्यहाँ आएर बस्नासाथ म त्यसको छेउमा गएँ र उसको हातमा म्वाइँ खाइदिएँ ।

खानपिनकै बेला उनीहरूको घरको बिरालो पनि त्यही कोठामा आइपुग्यो । म त्यो विशालकाय जनावर देखेर निकै अत्तालिएँ तर म मेरो त्यो अत्यासलाई त्यहाँ देखाउँदिन भन्ने कुरामा दृढ भएँ । म त्यस जनावरका अगाडि केही बेर तलमाथि तलमाथि गरिरहें । मलाई त्यो अजङ्गको बिरालो मसँग डराए जस्तो लाग्यो । त्यसपछि एउटी नर्सले त्यस परिवारको एउटा बच्चा च्यापेर आई । त्यो बच्चो त्यस्तै एक वर्ष जतिको हुँदो हो । त्यसले मलाई देख्यो र मसँग खेल्न खोज्यो । मलाई त त्यसले टपक्क टिपेर उसको मुखमा पो हाल्यो ! मलाई लाग्यो अब यसले मलाई निल्ने भो ! म ठुलो आवाजमा मजैले चिच्याएँ । फुच्चेले पनि मलाई छोडिदियो, भाग्यले त्यतिखेरै त्यसकी आमा आइपुगी र मलाई च्याप्पै समाती नत्र त तल खसेर म ठहरै हुन्थें होला ।

खानापछि त्यस किसानकी स्वास्नीले मलाई उसकै बिछौनामा सुताउन लगी । उसले मलाई उसको पकेट रुमालमा गुटुमुटु पारिदिई । म पनि चाँडै नै फुस्सै निदाइहालेंछु । ओछ्यानमा भएको अनौठो हल्लाले मेरो निद्रा खुल्यो । उठेर यसो हेरेको त ओछ्यानमा दुईवटा यामानका मुसा पो रहेछन् ! ती त कुकुर जत्रै ठुल्ठुला रहेछन् । मैले पनि मेरो तरवार निकालें र तिनीहरूमाथि जाइलागें । ती मध्ये एउटालाई त्यहीँ मारिदिएँ, अर्को चाहिँ भागेर जोगियो । मलाई लाग्यो सानो प्राणी हुनु पनि सारै खतरनाक रहेछ !

यतिकैमा किसानकी बुढी कोठामा आई । उसले त्यस ओछ्यानमा मुसाको मृत शरीर देखी । ऊ मलाई कुनै चोटपटक नलागेको देखेर बडो खुसी पनि भई । ती किसान दम्पतीकी एउटी छोरी पनि रहिछे । त्यो चाहिँ त्यस्तै नौ वर्षजतिकी थिई । ऊ पनि चाँडै मेरो साथी भई । उसले मेरो राम्रो हेरचाह गर्थी अनि उसले मलाई धेरै कुराहरू सिकाई पनि । उसले मलाई त्यस मुलुकको नाम ब्रब्डिङ्ग्याङ भनेर बताई अनि उसले मलाई उसको भाषाका पाठहरू पनि सिकाई । म उसलाई ग्लुमड्याल्चिक भनेर बोलाउँथें जसको अर्थ उनीहरूको भाषामा सानी नर्स भन्ने हुन्थ्यो । ऊ मलाई उसको भाषामा ग्रिल्ड्रिङ भन्थी यसको अर्थ चाहिँ सानो मान्छे भन्ने थियो ।

०००

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो