
अध्यापकहरूकाे आन्दोलन
अध्यापकहरूको शीर्ष नेतृत्वमा त राष्ट्रिय स्वयंसेवक संघका मान्छे पनि त छन् नि ! यिनीहरू दोहोरो निष्ठा भएका मान्छे हुन् । यिनीहरूको पवित्र आस्था त संघका माध्यमबाट सकलेचाजीप्रति नै छ । अनि दोस्रो निष्ठा आफ्ना साथीहरूप्रति छ ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
साधुहो ! हिजोआज दिल्लीमा अध्यापकहरूको हडताल चलिरहेको छ । मध्यप्रदेशमा सरकारी क्याम्पसमा अध्यापकहरूले गरेको परीक्षा बहिष्कार समाप्त भयो । वास्तवमा अध्यापकहरूको हडतालले सरकारलाई केही नोक्सानी हुँदैन । यसमा न कुनै कारखाना बन्द हुन्छ जसबाट सिमेन्ट, कपडा र हतियारको उत्पादन बन्द होस् । अध्यापकहरू न त तोडफोड गर्न सक्छन् , न आगजनी गर्न सक्छन्, न मारपिट गर्न सक्छन् र न घेराबन्दी गर्न सक्छन् । यी त सोझासाधा गाई प्राणी हुन् । केटाकेटीले नपढ्दैमा सरकारलाई केही घाटा हुँदैन । जति धेरै मानिसहरू अनपढ रहन्छन् त्यति धेरै स्थायी सरकारहरू बन्छन् । अब अध्यापकहरू उत्पादन नै ठप्प पार्न त सक्तैनन् । कानुन व्यवस्था खल्बल्याउन सक्तैनन् । तर्साउन सक्तैनन् । अनि यस्ता निरीह प्राणीका माग किन मानोस् त सरकारले ! तलब पो किन बढाउनुपर्यो ? महङ्गी भत्ता पनि किन बढाउनुपर्यो ? यी मास्टरसास्टरले सरकारको के पो बिगार्न सक्छन् र ?
साधु हो ! कांग्रेसको सरकार हुँदा त उनीहरूमा लोकतान्त्रिक संस्कार थियो । अनि ती सरकारहरू वार्ता गर्थे । सम्झौता गर्थे । मनाउँथे । गुरुवर्गसित सम्मानपूर्वक प्रस्तुत हुन्थे । तर दिल्लीमा त राजा केदारनाथ साहनी छन् जो कट्टु मात्र लगाएर सङ्घको र्यालीमा जान्छन् । अनि मध्यप्रदेशमा भगवान पशुपतिनाथका भक्त कट्टुवाल मुख्यमन्त्री सकलेचा छन् । उनीसित त फोटोग्राफर पनि भन्छन्, ‘साहेब, अलिकति मुस्कुराउने अभ्यास पनि गर्नुहोस् न !’ तर सकेलाले जब अलिकति मुस्कुराउने अभ्यास गर्न थाल्छन् उनका पसिना छुट्छन् र छट्पटी हुन थाल्छ । डाक्टरहरूको त के भनाइ छ रे भने उनका निम्ति मुस्कुराउनु पनि घातक हुन सक्छ ।
साधु हो ! यिनीहरू त शक्तिका उपासक हुन् । यिनीहरू गुरु नै ब्रह्मा र विष्णु हुन् भन्ने त खुब रट्छन् र गुरुदक्षिणा (गुरुपूणर्िमा ?) पनि मनाउँछन् तर तिनै गुरुलाई बँधुवा नोकर ठान्छन् । त्यसैले त यिनले दाह्रा किट्तै भन्छन्, ‘कुल्चिदेओ ! ठिक पार ! दमन गर ! टाउको उठाउनै नदेओ !’ साधु हो ! फासिस्टले कहिल्यै टाउको उठाउन दिँदैनन् । फैज अहमद फैजले त पाकिस्तानी फौजी तानासाहीका सन्दर्भमा लेखेका पनि छन् — ‘उत्सर्जित छु तेरा यी गल्लीहरूमा म ए मेरो वतन ! जहाँ; यस्तो चलन चलेको छ कि कसैले टाउको उठाउन नपाओस् !’ यस्तो त देशको अवस्था छ । त, साधु हो ! दिल्लीको संघीय शासनले अध्यापकहरू माथिको दमन सुरु गरिसकेको छ । निलम्बन, बर्खास्ती र गिरफ्तारी ! हजारौं शिक्षिकाहरू निलम्बित छन्, हजारौं जेलमा छन् । तर यो २६औं दिन हो तर पनि हडताल रोकिएको छैन । परीक्षा सञ्चालनका निम्ति स्वयंसेवकहरूलाई बोलाइएको छ । कहाँसम्म भने जुन मजनुहरू केटी जिस्क्याउने अपराधमा गिरफ्तारीमा परेका थिए तिनैलाई परीक्षामा निरीक्षक बनाइएको छ । प्रधानाध्यापिकाहरूको सिकायत त के छ भने ती निरीक्षकहरू परीक्षा भवनमै उनीहरूका छात्राहरूलाई जिस्क्याउँछन् । उनीहरूलाई के थाहा त्यस्तै केटी जिस्क्याउने अपराधमा थुनामा रहेका अपराधीहरूलाई नै खोजी खोजी निरीक्षक बनाइएको छ । उनीहरूले सामूहिक रूपमै जिस्क्याउन केटीहरू भेटेका छन् त किन पो नजिस्क्याउन् ? उता जनसंघको संगठन ‘अध्यापक परिषद्’ भने हडताल भाँड्ने कोसिस गर्दै छ । तर शिक्षकहरू भने डटेकै छन् । तर अहिले भने शिक्षामन्त्रीको आश्वासन पाएर आन्दोलन रोकिएको छ ।
साधुहो ! त्यस्तो सरकार निकम्मा, निर्लज्ज र पतित हुन्छ जसले शिक्षकलाई तोड्ने र कुल्चिने प्रयत्न गर्छ । मध्यप्रदेशमा भने जब सरकारी क्याम्पसका प्राध्यापकहरूको संगठनले परीक्षाको बहिष्कार गर्यो तब सकलेचाजीको यस्तो फर्मुला निस्क्यो, ‘सबै समस्याको एउटै समाधान भनेको प्रहरी हो । परीक्षा पनि प्रहरीले लिइहाल्छन् नि ! हवल्दार र खरिदार निरीक्षक हुन्छन् । अनि कपी जाँच्ने काम पनि तिनै हवलदार र थानेदारहरूले नै गर्नेछन् । यी प्रोफेसरहरूलाई कुल्चिदेओ ।’ अनि निलम्बन गरिदिए । सरुवा गरिदिए । यो अर्को स्वतन्त्रता हो ।
तर साधुहो ! यी अध्यापकका नेतृत्वहरू पनि त गज्जबका छन् नि ! कुनै तयारीविना र कुनै योजनाविना नै भावुकतामा संघर्ष सुरु गरिदिए । एउटा कुरामा भने सतर्कता देखाए र त्यो के भने वामपन्थी विचार बोकेका अध्यापकहरूलाई भने सुइँको पनि चल्न दिएनन् । यदि त्यसो नगरेका भए त यो अनुष्ठान नै अपवित्र हुन्थ्यो । वास्तविकता त के हो भने यस्ता आन्दोलन चलाउन त वामपन्थी नै सक्षम हुन्छन् । तर अध्यापकहरूको शीर्ष नेतृत्वमा त राष्ट्रिय स्वयंसेवक संघका मान्छे पनि त छन् नि ! यिनीहरू दोहोरो निष्ठा भएका मान्छे हुन् । यिनीहरूको पवित्र आस्था त संघका माध्यमबाट सकलेचाजीप्रति नै छ । अनि दोस्रो निष्ठा आफ्ना साथीहरूप्रति छ । अर्थात् यिनीहरूको पुनीत कर्तव्य त अध्यापकहरूलाई घेरामा पारेर ‘संघं शरणं गच्छामि’ गराउनु हुन्छ । अनि त्यही गराइछाडे । सबै कुलपतिहरूलाई छाडेर संघका मान्छे कहलिएका इन्दौरका कुलपतिका शरणमा गए र उनीमार्फत सकलेचाजीसमक्ष आत्मसमर्पपण गरेर हडताल समाप्त गरिदिए । अर्थात् अध्यापकहरूको संगठनलाई संघी तथा प्रतिक्रियावादीहरूले यसरी तोडिदिए कि अब यी अध्यापकहरू लामो समयसम्म उठ्नै सक्दैनन् । सामान्य रूपमा राजनीतिसित असम्बद्ध यी सोझा शिक्षकहरू जसको चेतना कक्षाकोठा र घरबाहिर निस्कनै सकेको छैन संघी राजनीतिक छलका कारण पिटिए । भगवानले यिनलाई सद्बुद्धि दिउन् ।
०००
रुपन्देही ।
‘परसाई. रचनावली’, भाग- ५ बाट ‘अध्यापकाें के आन्दाेलन’ को नेपाली अनुवाद