सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुस्तकको भूमिका

वास्तवमा साहित्यिक धाराहरूको खण्डनमण्डनका निम्ति भूमिका उपयुक्त स्थल होइन । त्यसमा त प्रस्तुत पुस्तक तथा विशिष्ट साहित्यिक धाराका विशेषताहरूको उल्लेख गर्न सकिन्छ । लेखकको प्रशंसा पनि गर्न सकिन्छ ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

पुस्तकका साथमा भूमिकाको प्रकाशन आम चलन हो । यो भूमिका कुनै यस्तो व्यक्तिबाट लेखाइन्छ जो त्यस विषयको मान्यताप्राप्त विद्वान् होस्, उसको कुराको वजन होस् र जसको न्यायविवेकमाथि मानिसहरूको विश्वास होस् । भूमिकाका अनेक प्रयोजनहरू हुन्छन् । त्यसले पाठकलाई अगाडि पढ्नका निम्ति तथा विषयवस्तुलाई राम्ररी ग्रहण गर्न पाठकको मानसिक तयारी गर्दछ; पुस्तकका विशेषताहरूलाई दृष्टिको केन्द्रमा ल्याउँछ र त्यसको मूल्य निर्धारित गर्दछ । त्यो पाठकलाई दिशानिर्देश गर्नका निम्ति हुन्छ ।

यसैले भूमिकाको महत्त्व बढेको हुन्छ । पाठकहरू भूमिकालेखकमाथि विश्वास गर्दछन् । पुस्तकमा कसको भूमिका छ र त्यसमा के भनिएको छ भन्ने कुराबाट नै पाठकले त्यो किताब किन्ने वा नकिन्ने र पढ्ने वा नपढ्ने कुराको निधो गर्दछ । त्यसमा उसले पाउने कुरो के छ भन्ने कुराको पनि उसलाई आभास हुन्छ । धेरैजसो नहोला तर हुनु स्वाभाविक हो । जाग्रत तथा सुुसंस्कृत पाठकहरू भूमिकालाई ठुलो महत्त्व दिन्छन् ।

हिन्दीमा यस जिम्मेवारीलाई न त भूमिकालेखकले बुझेका छन् न लेखकले । हिन्दीमा त भूमिका एउटा सिफारिस हुन्छ एक प्रकारको विज्ञापन हुन्छ, किनिने वस्तुको जसरी विज्ञापन गरिन्छ त्यसै गरी बढाईचढाई प्रशंसा गरिन्छ र काल्पनिक गुणहरू थपिन्छन् । लेखक कुनै ठुलो व्यक्तिकोमा जान्छ । यस्तो व्यक्तिकोमा जससँग उसको राम्रो सम्बन्ध हुन्छ र उसलाई भूमिका लेखिदिन भन्दछ । भुमिकालेखक पनि प्रायः यसलाई आफ्नो सौभाग्य ठान्दछ र खुब बढाईचढाई प्रशंसा गरिदिन्छ । तपाईं एउटा शीर्षस्थ कविको तथा एउटा तुकबन्द कविको भूमिकामा समानता पाउनुहुनेछ । एउटै व्यक्तिले हिमालयभन्दा उच्च कोटिका र सामान्य थुम्कोभन्दा निम्न कोटिका पुस्तकहरूको उस्तै उस्तै भूमिका लेख्दछ ।

भूमिकाका केही बनिबनाउ ‘रेडिमेड’ ढाँचा हुन्छन् र तिनलाई ठाउँठाउँमा फिट गरिन्छ । जस्तै कुनै नोकरीका निम्ति कुनै ठुलो व्यक्तिसित टेस्टिमोनियल (प्रमाणपत्र) लिन जाँदा उसले लेखिदिन्छ –…He bears good moral character . (निजको नैतिक आचरण राम्रो छ ।) त्यस्तै भूमिकालेखकले पनि औपचारिकता पुरा गर्न केही यस्तै वाक्यहरू लेखिदिन्छ । कहिलेकाहीँ त टेस्टिमोनियल दिनेले माग्नेसित भनिदिन्छ, ‘तिमी नै लेखेर ल्याऊ, म त्यसमा हस्ताक्षर गरिदिउँला ।’ यसै केही भूमिकाहरू पन्छाइएका पनि हुन्छन् । यसबाट कृतिका बारेमा तपाईंलाई कुनै ज्ञान हुन सक्दैन । यदि तपाईंले पुस्तकहरूका भूमिकाहरू हेर्नुभयो भने के आभास हुन्छ भने हरेक लेखक सर्वश्रेष्ठ छ र हरेक कृति उत्तम तथा युगान्तकारी छ । श्वेतश्याम असत्यका साथमा भूमिकाको असत्य पनि हुन्छ ।

जुनसुकै व्यक्तिले जुनसुकै विषयको भूमिका लेखिदिन्छ । तपाईं मनोवैज्ञानिकबाट रसायनशास्त्रको भूमिका लेखाउन सक्नुहुन्छ । उसले ‘नाइँ’ भन्दैन । जबदेखि नेताहरूले भूमिका लेख्ने काम थालेका छन् तबदेखि त भूमिकाको अझै दुर्गति भएको छ । राजनेता त हरेक विषयको प्रकाण्ड पण्डित हुन्छ भन्ने कुरो हामीकहाँ मान्यता नै बनेको छ । यसबाहेक एउटा फाइदा के पनि छ भने उससित भूमिका लेखाएपछि सरकारले नै किताब किनिदिन्छ । वास्तवमा यस प्रकारका भूमिकाहरू निकै हास्यास्पद हुन्छन् ।

हामीकहाँ भूमिकालेखनलाई निकै सम्मानको काम मानिन्छ । केही व्यक्तिहरूको मान्यता त के छ भने उनीहरू कुनै सृजना नगरेरै केवल भूमिकालेखनको भरमा आफ्नो साहित्यिक प्रतिष्ठा कायम राख्न सक्नेछन् । कैयौँ तथाकथित वरिष्ठ त भूमिका लेखिदिनका निम्ति नै लालायित देखिन्छन् । मैले त के पनि सुनेको छु भने कोही त यस्ता पनि छन् जसले यसैलाई धन्धा/पेसा बनाएका छन् । साना लेखकलाई भनिदिए, ‘मैले तिम्रो भूमिका लेखिदिएँ भने तिम्रो प्रतिष्ठा बढ्छ, त्यसैले यसका लागि पैसा पनि दिनुपर्छ ।’ अनि ठुला लेखकलाई भन्छन्, ‘मैले तपाईंसित भूमिका लेखाएँ भने तपाईंकै प्रतिष्ठा बढ्ने हो, त्यसैले पैसा दिनुपर्छ ।’

एक पटक मसित एउटा मित्रले भने, ‘तिमीले ‘बेल अफ लोनलिनेस’ पढेका छौ ? अवश्य पढ्नू । त्यसमा हेवलक एलिसको भूमिका छ ।’ त्यस दिन लाइब्रेरीमा सेक्सपियरमाथि लेखिएका किताब हेर्दै गर्दा आँखा एउटा जर्मन प्रोफेसरको ‘डेभलपमेन्ट अफ सेक्सपिरियन इमेजरी’मा परे । यसको पहिलो पृष्ठमा नै छापिएको थियो, …Foreward by Dover Wilson. मनमनै भनें, डोभर विलसनको भूमिका छ त अवश्य राम्रो होला ।

के हामी हिन्दीका किताबलाई यस्तैे विश्वासका साथ ग्रहण गर्न सक्छौँ ? के हामी कुनै पुस्तकमाथि हिन्दीका शीर्षस्थ समालोचकको भूमिका देखेर त्यो किताब उठाइहाल्न सक्छौँ ? अनि के हामीले धोका खानु पर्दैन ? तर सयमा नब्बे अवस्थामा हामीलाई धोका नै हुने गर्छ किनभने हाम्रा भूमिकालेखकले जिम्मेवारी बुझेको हुँदैन । उसले त उसको भूमिकालाई कसैले गम्भीरतापूर्वक लिनेछ भन्ने पनि थाहा पाउँदैन ।

भूमिकालेखनका निम्ति एउटा न एउटा विद्वान् त हरदम तयार रहन्छ । अनि यदि उसले कसैको प्रशंसा नगर्ने हो भने उससित लेखाउँछ पो कसले र ? भूमिका लेख्नुलाई निकै ठुलो सम्मान पनि त मानिन्छ नि ! एउटा कुराको सम्झना हुन्छ, बर्नार्ड शले एक पटक सी. ई. एम. जोडजस्ता मान्छेको किताबमा भूमिका लेख्न अस्वीकार गरिदिएका थिए जबकि यसका कारणहरू भने अद्भुत थिए । जस्तै उनले भनेका थिए, ‘मैले भूमिका लेखेँ भने सबैले मेरै भूमिका पढ्नेछन् र तिम्रो किताब कसैले पढ्ने छैनन् ।’ तर हिन्दीमा भने महालेखकले पनि पेम्फलेटसम्मको भूमिका लेखिदिन्छन् ।

अचेल एउटा अर्को प्रवृत्ति पनि देखिँदै छ । भूमिकालेखक पुस्तकको भूमिका लेख्दालेख्दै अर्का साहित्यिक धाराहरूका सम्बन्धमा गैरजिम्मेवारीपूर्वक मनको दुराग्रह नै व्यक्त गरिदिन्छन् । वास्तवमा साहित्यिक धाराहरूको खण्डनमण्डनका निम्ति भूमिका उपयुक्त स्थल होइन । त्यसमा त प्रस्तुत पुस्तक तथा विशिष्ट साहित्यिक धाराका विशेषताहरूको उल्लेख गर्न सकिन्छ । लेखकको प्रशंसा पनि गर्न सकिन्छ । तर अप्रासङ्गिक रूपमा अन्य विधाहरू र धाराहरूको निन्दा गर्दा भूमिकाको नै महत्ता कम हुन जान्छ ।

यता सके यिनै सारा कारणहरूले गर्दा भूमिका लेखाउने कुरामा मानिसहरू उदासीन हुँदै गएका छन् । उनीहरू भूमिकाले पुस्तकको मूल्य बढ्दैन भन्ने ठान्दछन् । उनीहरू के मान्दछन् भने कसैले पनि भूमिकालेखकको नाम सुनेर किताब हातमा लिँदैन ।

हिन्दीका भूमिकालेखकहरूले आफ्नो दायित्व बुझ्नुपर्दछ । फार्मको खानापूर्ति गरेर ‘क्यारेक्टर सर्टिफिकेट’ प्रदान गर्नु हुँदैन । ‘धर्मसङ्कट र मोलाहिजा’को झन्झटमा सत्य कुरामा यतिसारो उदासीन हुनु हुँदैन । भूमिकाप्रतिको आस्था घट्दो छ । केही समयमा भूमिकाका ४,६ पृष्ठको अनावश्यक खर्च मात्र रहन जानेछ । यसबाहेक केही रहने छैन ।

०००
परसाईं रचनावली भाग ६ को ‘पुस्तक की भूमिका’ बाट नेपाली अनुवाद 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पिटिनु पिटिनुमा अन्तर

पिटिनु पिटिनुमा अन्तर

हरिशंकर परसाईं
गुनासो मेरो पनि छ

गुनासो मेरो पनि छ

हरिशंकर परसाईं
सडक बन्दै छ

सडक बन्दै छ

हरिशंकर परसाईं
परमात्माको लोटा

परमात्माको लोटा

हरिशंकर परसाईं
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x