सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पैसाकाे खेल

अतृप्ट केटाले भन्यो, ‘आमा ! अरू !’ आमाले भनिन्, ‘बाबु, अब पैसा छैन । हिँड, घर जाऊँ ।’ अनि त्यो केटो, त्यो केटी र तिनका आमाबाबु त्यस कारदेवीमाथि अन्तिम लोभी आँखाले हेरेर गए ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

घरमा त एउटा कागजमा आफ्नो ऋणको हिसाब लेखेर त्यसैको पूजा गरेँ । आफूसँग त लक्ष्मीको नाउँमा यही कहिल्यै नछुट्ने ऋण छ । फेरि सोचेँ, जाऊँ, केही अरुको हाल पनि हेरेर आऊँ । चोकबाटै हिँडेँ । दुवैतिर सजाइएका पसलहरूको लहर, जगमग गरिरहेका राता हरिया बल्ब, अनि बिचमा उत्ताउला लुगाु लगाएर अगाडिबाट गइरहेको भिँडमाथि गर्वदृष्टि लगाएर बसेका थिए पसलेहरू । सडक दर्शकहरूले भरिभराउ थियो । यति धेरै मानिसहरू आफ्नो घरको दीपावलीलाई तुच्छ ठानेर अरूको दीपावली हेर्न निस्केका थिए ।

फवारानिर विशेष भिड थियो । एउटा ठुलो र राम्रो पसल थियो जसमा एकसे एक राम्रा र बासनादार लुगा लगाएका साहूहरू धनकी देवीको पूजाको आयोजनामा व्यस्त थिए । कसैको प्रतीक्षा थियो । अचानक एउटा कार पों पों गर्दै आयो र रोकियो । आकाशै झिलमिल पारिरहेको त्यस नयाँ गाडीले आँखा नै तिरमिर्‍याइदिन्थ्यो र त्यसमा दृष्टि अडिँदैनथ्यो । मानौं कुनै सुन्दर नक्षत्र धर्तीमा उत्रेर आएको होस् । भित्र हल्लीखल्ली भयो, ‘साहुजी आउनुभयो ! साहुजी आउनुभयो !’ मैले सोचेँ, होला कुनै पहेंलो फेटा बेरेको, कानमा कण्ठी लगाएको, मुखमा फोहरी जुँगाको झ्याङ उमारेको मारवाडी साहू । तर ओहो ! उनी त खद्दरधारी थिए । उसो भए के नेता हुन् त यिनी ? हजुर, उनी नेता पनि थिए र साहुजी पनि । जन्म र कर्मले साहुजी थिए र दुनियाँका आँखामा धुलो छ्याप्न चन्दारूपी दक्षिणा दिएर भर्खरभर्खरै नेतागिरीको गुरुमन्त्र पनि लिइटोपलेका थिए । अँ त, उनी नेतारूपी साहुजी भित्र गए अनि पूजा आरम्भ भयो ।

त्यस सुन्दर चम्किलो कारलाई देखेर त कसको मन नजिक पुग्न नचाहँदो हो र ? कुनै उर्दू कविकी नायिकाजस्तै त्यो आफ्नै ठाउँमा रोकिएको थियो र टसमस भएको थिएन । फेरि पनि कति राम्रो लागिरहेको थियो ! मैले स्वयम् नै पनि त्यसको नजिकै गएर हेर्ने लोभ संवरण गर्न सकिनँ । फेरि यी विचरा त अनपढ र गरिब मजदुर थिए । त्यो एउटा सिङ्गो परिवार थियो, आमाबाबु, तेह्रचौध वर्षकी छोरी अनि नौदश वर्षको एउटा केटो कौतूहलले आँखा च्यातेर यस विश्वविमोही कारलाई हेरिरहेका थिए । केटो डराउँदै कारको नजिक पुग्यो अनि उल्लास तथा आश्चर्य भरिएका आँखाले हेरेर उसले आफ्नो बुढी औँलो मात्र डराउँदै कारमा राखिदियो । अनि ड्राइभर जो अहिलेसम्म जँुगा मुसार्दै थियो अधिकारपूर्वक चिच्यायो, ‘ए ! हट् त्यहाँबाट । हात किन लगाउँछस् ?’ केटाले एक्कासि औंलो तानिहाल्यो, मानौँ उसले आगाको कोइलालाई छोएर हात थुतेको होस् ।

भित्र लक्ष्मीको पूजा हुँदै थियो -‘लक्ष्मीको जय !’- अनि मसँगै उभिएको एउटा केटो जाडाले गर्दा सिउसिउ गर्दै कराइरहेको थियो, ‘एक एक आनामा सलाई एक एक आनामा !’ अनि त्यो श्रमिक परिवार कहिले कारलाई त कहिले भिडलाई हेर्दै थियो । विचरो केटो भोको थियो । अगाडि मिठाइ देखेर रुन थाल्यो- ‘आमा, भोक लाग्यो । मिठाइ किनिदिनुस् न !’ विचरी आमाले दुई पैसाको लैया (भुजाको लड्डु) लिएर केटाका हातमा दिइन् । केटाले मग्न भएर त्यो मिठाइ खान थाल्यो । तर उसका आँखा भने त्यसै कारमा थिए । कैयौँ पटक कारलाई छुन उसले हात लम्कायो तर प्रत्येक पटक ड्राइभरलाई देखेर त्यो तर्सिन्थ्यो ।

ड्राइभरले भित्रको दृश्य हेरिरहेको थियो । केटाले यस अवसरको पुरै फाइदा उठाउन खोज्यो । उसले फुर्तिसाथ आफ्नो हात मडगार्डमा घुमायो । ड्राइभरले अझै पनि उतै हेरिरहेको थियो । केटाको साहस बढ्यो । उसले कारमा लागेको धुलो बडो श्रद्धा र सावधानीपूर्वक पुछ्न थाल्यो । धुलोरहित त्यो कार अझै चम्क्यो । केटाका आँखा पनि उल्लासले चम्के । उसले हातको लैया खानै बिर्स्याे ।

त्यसै वेला ड्राइभरका आँखा घुमे । त्यो करायो, ‘ए, मान्दैनस् ? पख् …’ अनि झम्टेर उसले केटाको हात समातेर झट्कार्‍यो । बिचरो केटो लड्यो अनि उसको लैया पनि भुइँमा खसेर छिरलियो । त्यो रुन थाल्यो तर चोट लागेर नभई लैया खसेकाले । बिचराले आधा मात्रै त खान भ्याएको थियो नि ! आमाले उसका आँसु पुछिन् र धुलो भरिएको लैयाका सितासिता टिपेर उसलाई खुवाउन थालिन् । केटाका आमाबाबु कसैले पनि ड्राइभरको यस कामको प्रतिवाद गरेनन् । उनीहरूले त त्यस कारलाई, त्यसको मालिकलाई र त्यसको ड्राइभरलाई नै अलौकिक मानिसकेका थिए । त्यसैले त उनीहरू यिनीहरूभन्दा यति भिन्न थिए नि !

यता केटो कुर्ताले आँसु पुछ्दै धुलामा मुछिएको लैयाका टुक्रा खाँदै थियो । भित्र भने स्वादिष्ट प्रसाद बाँडिँदै थियो । अतृप्ट केटाले भन्यो, ‘आमा ! अरू !’ आमाले भनिन्, ‘बाबु, अब पैसा छैन । हिँड, घर जाऊँ ।’ अनि त्यो केटो, त्यो केटी र तिनका आमाबाबु त्यस कारदेवीमाथि अन्तिम लोभी आँखाले हेरेर गए ।

उता गजरा (एक प्रकारको सेतो फूलबाट बनाइएको हार) ले लादिएका मालिक साहू, चञ्चल लक्ष्मीका कृपापात्र त्यस चञ्चल कारमा सवार भएर गए । एकजना बुढाले भने, ‘बाबु, सबै पैसाको खेल हो ।’ छाँटिँदै गएको भिडमा त्यो केटो फेरि करायो, ‘एक एक आनामा सलाई, एक एक आनामा !’

म पनि फर्केर हिँडेँ । लक्ष्मीपूजाको त्यस घडीमा पनि मेरो दिमागमा त्यही कार, उही साहू, त्यही श्रमिक परिवार र त्यो सलाई बेच्ने केटो घुमिरहेका थिए । तर म भने यिनमा कुनै सम्बन्ध देखिरहेको थिइनँ ।

०००
परसाईं रचनावली भाग २ , ‘पैंसे का खेल’ बाट नेपाली अनुवाद ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
इन्डियन टाइम

इन्डियन टाइम

हरिशंकर परसाईं
सर्कसमण्डलीको शासन

सर्कसमण्डलीको शासन

हरिशंकर परसाईं
छिनौरा ! नेता या जनता ?

छिनौरा ! नेता या...

हरिशंकर परसाईं
लोकतन्त्रको नौटङ्की

लोकतन्त्रको नौटङ्की

हरिशंकर परसाईं
ओ. हेनरी

ओ. हेनरी

हरिशंकर परसाईं
म नर्कबाट बोल्दै छु

म नर्कबाट बोल्दै छु

हरिशंकर परसाईं
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी