कृष्ण प्रधानहोलीमा ओलीको शुभकामना
मेरा अप्ठ्यारा देशवासीहरू !
तपाईंहरूलाई होलीको उपलक्ष्यमा ओलीको शुभकामना । तपाईंहरू दुस्खी भए पनि म असाध्यै खुसी छु, त्यसैले भन्न चाहन्छु— आई एम ह्याप्पी ओली ।
सर्वप्रथम त देशले एउटा राम्रो हास्यकलाकारसहितको प्रधानमन्त्री पाएकोमा तपाईंहरूलाई बधाई छ । टेलिभिजनबाट प्रसारण भैरहेका हास्यशृंखलाहरू बन्द भैरहेका बेला ममाथि आएको ठूलो जिम्मेवारीलाई मैले चुनौतीका रूपमा लिँदै तपाईंहरूलाई सकभर हँसाइरहेको छु र निरन्तर हँसाइरहने प्रयास गर्नेछु । हँसाउनका लागि सीधा र राम्रा कुरा गरेर हुँदैन, अलि फरक कुरा गर्नुपर्छ भन्ने कुरा मैले पहिले नै बुझिसकेकाले मलाई त्यति गाह्रो भएन । त्यसमाथि म पनि उखान–टुक्काको त नेपाल शिरोमणि नै हुँ भन्दा फरक नपर्ला ।
म अझै पनि भन्छु— एक वर्ष्भित्रमा लोडसेडिङको अन्त्य हुन्छ । यो मैले भन्ने कुरा हो र म प्रधानमन्त्री हुन्जेलसम्म भनिरहन्छु । २०७३ लागेपछि पनि एक वर्षभरि भनिरहन्छु । २०७३ सालभरिलाई मैले भन्ने कुरामध्ये यो पहिलो नम्बरमा पर्नेछ ।
घरघरमा ग्याँसको पाइप फिट गर्दिन्छु । यो कुरा मैले किन भनेको भने अहिले मेलम्ची आयोजनाले फटाफट घरघरमा पाइप जडान गरिरहेको छ । मेलम्चीको पानी कहिले आउने हो पत्तो छैन । पानी नआउन्जेल त्यो पाइपमा ग्याँसको सिलिन्डर फिट गर्दा भैगो नि ।
हाम्रो देशमा ग्याँस, तेल र रेल नभएको होइन र’छन् । यो कुरा मैले पत्ता लगाइसकें । देशमा तेल पनि र’छ, ग्याँस पनि र’छ र रेल पनि र’छ । जस्तै– तेलमा रम्तेल, दिक्तेल, भुर्तेल आदि । त्यस्तै रेलमा खरेल, गजुरेल आदि रहेछन् । त्यसैगरी ग्याँसमा ग्याँस्टिक, प्रायस् सबै नेपालीको पेटमा ग्याँस हुन्छ । ग्याँस नभएका नेपाली काँ छन् ?
देशमा त्यत्रो नाकाबन्दीले डिजेल, पेट्रोलको हाहाकार हुँदा पनि कसैले पेट्रोलपम्पमा लाइन बस्न जानु परेन । यो सुविधा जनताले उपयोग गर्न पाए । किनभने पेट्रोल, डिजेलको लाइन घरैसम्म आइपुग्यो ।
हावाबाट बिजुली निस्कन्छ भन्दा मलाई हावा कुरा र्गयो भने । यो कुरै हावाको छ त अरू के भन्छन् ? हावा चल्दा बिजुली चम्किँदैन ? हो, त्यही चम्किएको बिजुलीबाट पनि बिजुली निकाल्न सकिन्छ भनेको हो मैले ।
मलाई मन्त्रालय फुटायो भन्ने आरोप छ । यसमा म के भन्छु भने– मैले फुटाउन सक्ने भनेकै त्यही र’छ त अरू म के फुटाऊँ ? टाउको फुटाउँ भने सकिंदैन, पार्टी फुटाऊँ भने आफैं अध्यक्ष छु, के फुटाउनु ? त्यसैले आफूले जे सकें जे जानें, त्यही फुटाएँ ।
सबैले मन्त्री धेरै बनायो भन्छन्, उपप्रधानमन्त्री धेरै बनायो भन्छन् । म यसमा के भन्छु भने म थोरैमा रमाउने मान्छे होइन । ओली सानो टोलीमा विश्वास गर्दैन । मन्त्रीको अगाडि एउटा सानो उपमात्र थपिदिएको हो र सभासद्लाई ५ हजार तलब बढाएको मात्र हुँ । मन्त्री यति जना हुनुपर्छ भनेर ठ्याक्क तोक्नलाई के यो सरकार परिवार नियोजन हो र— दुई सन्तान ईश्वरको वरदान भन्नलाई । कहिले कम हुन्छ कहिले बढी हुन्छ ।
मेरो कार्यकालमा अरू काम के हुन्छ भन्न सक्दिनँ, तर मबाट हँसाउने काम अवश्य हुन्छ । हास्य प्रधानमन्त्रीका रूपमा चिनिनु इतिहासमै एउटा नयाँ रेकर्ड हुन्छ भन्ने मलाई लागेको छ ।
लु सबैलाई म फेरि पनि भन्छु– म जति ह्यापी नेपालमा अरू कोही छैनन् । त्यसैले त मेरो नारा छ— ह्याप्पी ओली । होली आउँछ जान्छ तर ओली जाँदैन— ओली इज ओली ।
साप्ताहिक चैत्र ५, २०७२
Subscribe
Login
0 Comments
Oldest






































