फित्काैली डटकमदेशको वर्तमान यथार्थ : नियति कि नीति ?
किन हामी पाठ सिकिरहेका छैनौँ ? हाम्रा नीति, नियम, कानुन र अभ्यास किन दिगो, सन्तुलित, जीवनोपयोगी र परिणाममुखी बन्न सकिरहेका छैनन् ?
अनन्त थेबे :
कोही कतै लम्किरहेको देख्दा,
किनमेलमा निस्किएको,
कलेज गइरहेको,
घुमफिरमा निस्किएको पनि त हुन सक्छ नि !
तर किन म सोच्न अभिशप्त र अभ्यस्त छु ?
ऊ पक्कै अन्तर्राष्ट्रिय विमानस्थल जाँदैछ,
रोजगारीको खोजीमा विदेशिँदैछ !
किनकि,
मृत्युको शोक नपरेको परिवार भेट्न मुस्किल भएझैँ,
परदेश नगएको सन्तान वा आफन्त नभएको घरै छैन।
गाउँघर युवाविहीन हुँदै रित्तिँदै छन्,
मर्दापर्दा भरथेग र मलामी पाउनसमेत मुस्किल हुँदैछ।
घर, खेतबारी झारजङ्गलले छोपिँदै छन्,
बाँदर, बँदेल र वन्यजन्तुले मानवबस्ती विस्थापित गर्दैछन् !
अर्कोतिर,
कहिले खडेरी, कहिले अतिवृष्टि,
कहिले हावाहुरी त कहिले चक्रवात,
बाढी, पहिरो, डुबान र कटान,
कतै धर्ती चिरिँदै, कतै पहाड भत्किँदै !
सभा–महोत्सव देख्दा पनि
नारा–जुलुस पो हो कि भन्ने लाग्ने !
मनसुन, वर्षा र भदौ सम्झिँदा पनि झस्का लाग्ने !
आशाभन्दा निराशा धेरै,
सङ्गतिभन्दा विसङ्गति धेरै,
आउनेभन्दा जाने धेरै,
बन्नेभन्दा भत्किने धेरै,
निर्माणभन्दा विनाश धेरै,
धनभन्दा ऋण धेरै !
आखिर,
के नियति नै यस्तै हो ?
कि हाम्रा नीति र व्यवहारको परिणाम ?
प्रकृति र मानवबीचको अन्तरसम्बन्ध
कतै खलबलिएको त छैन ?
प्रकृतिमाथिको हाम्रो दोहन र अतिक्रमणले
आफ्नै अस्तित्व सङ्कटमा परिरहेको त छैन ?
यति देख्दा, भोग्दा र खप्दा पनि
किन हामी पाठ सिकिरहेका छैनौँ ?
हाम्रा नीति, नियम, कानुन र अभ्यास
किन दिगो, सन्तुलित, जीवनोपयोगी
र परिणाममुखी बन्न सकिरहेका छैनन् ?
०००
सिनाम तfप्लेजुङ्ग, हाल काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest










































