कृष्ण प्रधानबिरालाको घाँटीमा घण्टी बाँध्ने कसले ?? (१)
काकी तपाईले यहाँको स्थिति बुझ्नै भएको छैन । एउटाले हाम्रो पार्टीमा लाग् भन्छ अर्कोले उनीहरूको पार्टीमा लाग् भन्छ। खै को कोसित लाग्नु कता कता लाग्नु हौ...(मरिमरि हाँस्छे।)
कृष्ण प्रधान :
पात्रहरू-
नारी पात्र-
साइँलीदि,
मरिचफुल,
धुरपाती,
काकी (नेपथ्य नारी स्वर)
पुरुष पात्र –
तेजहाङ,
प्याप्टे,
छोम्ले,
सिट्टे,
फुर्केमान
दृश्य विवरण- कमानबाट आधा बेला छुट्टी मागेर महिनावरी राशिन थाप्ने हुद्दामा रहेकाहरू। राशन थाप्ने जाने श्रमिकहरूको हल्ला-खल्ला, कोही बाटोमा इत्रेका, कोही छिल्लेका, कोही गीत गाउँदै हिँड़ेका आवाज। हुद्दाभित्र रहेका श्रमिकहरूमध्ये सबैभन्दा ज्येष्ठ साइँलादिको नेतृत्व देखिन्छ)
[सबै खेलठट्टा गर्दै राशन दोकान (एम आर शप) अघि आइपुग्छन् । सबै गुजुल्टिएर थकाइ मार्न थाल्छन्]]
साइँलीदि : (भीरमध्येबाट जुरुक्कै उठेर बघिनीजस्तो गर्जिँदै) हेर…हेर….यी पिपलपाते-पिपलबातेनीहरू। एई तरुणी तन्देरी हो ! तँहरू मान्छेको भाँड़ो हो कि के को भाँड़ो हो हँ? हन तिमेरु किन एकै ठाउँ गुजुल्टिएर बसेका हँ पिशाचहरू। सिभिल डिफेन्स भनेको यही हो ?
समवेत स्वर : (छक्क परेर) सिभिल डिफेन्स?
साइँलीदि : अरे त्यति पनि नबुझेको हेर न हौ..टाड़ो टाड़ो बस्ने। एउटाको श्वास अर्कोले…
तेजहाङ : (कुरा काटेर) के अरे के अरे साइँलीदि। फेरि एकपल्ट भन ता। सिभिल डिफेन्स अरे।
मरिचफुल : हामीले पनि केही बुझेनौ है साइँलीदि…तिम्रो कुरा।
साइँलीदि : अब तरुणी कन्ने पोल्ट्रीले यो बूढ़ी माऊको कुरा कहाँ बुझ्छन् र। तरुणी-तन्देरीको कान बञ्चरोले हान् भनेको यही हो।
मरिचफुल : लु मेरो कान बञ्चरोले हान् अरे ठिकै हो…यो तेजहाङको कान चैँ केले हान्नु नि ?
साइँलीदि : तेरो मुख नबजा है मरिचफुल। अहिले एई कटुवाले तेरो कान झोसिदिन्छु र पो ता। (धुरपातीतिर हेर्दै) एई धुरपाती मैले के भनेँ बुझिस् ?
धुरपाती : (ओँठ लेब्र्य्याउँदै) अहँ…..(सबै गललल…हाँस्छन्)
साइँलीदि : यो धुरपातीको कान पनि बिल्डिङ गर्नुपर्ने भएछ।
प्याप्टे : बिल्डिङ होइन हौ वेल्डिङ भन्नु न साइँलीदि….वेल्डिङ।
साइँलीदि : एई प्चाप्टे तँ चाहिँ प्चाच्चै नबोल् है।
प्याप्टे : साइँलीदि अघि के भन्नुभयो…सिभिल डिफेन्स होइन तपाईले सोशियल डिस्टेन्स भन्नुभाकी होला होइन ?
साइँलीदि : अँ….तिमीहरू गुजुल्टिएर बसेका देखेर सिभिल डिफेन्स भनेको नि। सिभिल डिफेन्स भने पनि त्यै हो सोशल धानतिङ भनेँ पनि त्यै टाड़ा टाड़ा बस्नु हो ।
प्याप्टे : सोशल धानतिङ, सिभिल डिफेन्स होइन हौ साउँलीदि होइन…सोशियल डिस्टेन्स…सोशियल डिस्टेन्स।
धनपाती : आम्बो अब गुजुल्टिएर बस्दा के हुन्छ? कोरोनाको बेलामा पो सोशियल डिस्टेनस पालन गर्नुपर्थ्यो। अब कोरोनाले डाँड़ा काट्टियो ता साइँलीदि । अहिले पनि सोशियल डिस्टेन्समै छौ?
साइँलीदि : (झिँझेट मान्दै) को नि है। जा उता धनपाती तिमीहरू जेसुकै भन् म ता सोशल धिन्ताङ नै भन्ने हो मेरो जिब्रोका मेरो खुसी। मैले जे बोले पनि मेरो यो हाड़ नभएको जिब्रो थुतेर लाने होइन क्यारे! खै म एकपल्ट कमानमा यै हाड़ बिनाको जिब्रोले बोल्दा कमानका बड़ा साहेब छोटा साहेब चूप्प हुन्छन् ता। (प्रसङ्ग बदलेर) एई धनपाती के भनिस् अरे…कोरोना गइसक्यो अरे । तिमारको टाउकोमा गिदी छ कि लिदी छ। सबै टाउकोमा गिदी त हुन्छ। गोबर चाहिँ कहाँबाट आउँछ?
साइँलीदि : अन्त टाउकोमा लिदी भाको जस्तै कुरा गर्छौ तिमेरु। एकपल्ट भुइँचालो आएपछि फेरि फर्केर आउँछ भन्दैन।
सबै : हो हो…भूइँचालो फर्केर आउँछ अरे ता।
साइँलीदि : हौ त्यस्तै कोरोना आएर गयो होइन फेरि रिटर्न आउँदैन भन्ने के ग्यारेण्टी छ ?
सबै : ठेगान छैन…ठगान छैन।. यहाँका नेताको कुरा र प्रकृतिप्रकोपको ता ठेगानै हुँदैन।
साइँलीदि : हौ त्यसैले तिमेरु त्यसरी गुजुल्टिएर नबस भनेकी।
सबै : (सबै फरक फरक बस्दै) लु है साथी हो सबै फरक फरक बसौं। हामी गुल्टिएर बसेको देखेर कोरोना रिले रेश गर्दै आउला है। बी केयरफूल।
छोम्ले : मासु खानु खसीको भुड़ीको, कुरा सुन्नु बूढ़ीको।
साइँलीदि : (अचानक झोंक्किएर) एई छोम्ले। तैँले मलाई बूढ़ी देखिस्! शाला..आफू चै प्रेशर कुकरमा हाल्दा दस सिटीमा पनि पाक्दैनस् मलाई बूढ़ी देखिस्। ऐले तेरो मुख-सुख…
फुर्केमान : को नि पो अरे…यो छोम्ले बोल्न पनि जान्दैन। हाम्री साइँलीदिलाई बूढ़ी कहाँ देखिन्छ हई।
सबै : ईङ्गलिशमा सिक्स्टी टु-लाई उल्टाबाट भन्दा ट्वेण्टी सिक्स हई साइँलीदि ?
साइँलीदि : एई फुर्केमान….तँ फेरि बिच्चैमा बोलिस्। अर्कालाई फुर्क्याउनुमा ता यसले नेताहरूलाई पनि उछिन्छ ।
सबै : कोनि पो अरे….
साइँलीदि : (रिसाएको भावमा) तर छोम्ले अलिक विचारेर बोल् है। कमानमा मुन्सी बाबुलाई मुख चलाएको जस्तो होइन है।
मरिचफुल : हन…हाम्री साइँलीदिलाई कसले बूढी देख्छ हई।
साइँलीदि : बुरी नजरवाले तेरा मुख काला।.. (सबै गलल हाँस्छन्। मरिचफुलाई हेर्दै) एई मरिच मेरो बारेमा बताइदे ता यो बुरी नजरवाले छोम्लेलाई।
मरिचफुल : हँम्म्म्…तिमीहरूलाई के थाहा ? परै हप्तै पिच्छे पार्लर जान्छिन् र ता देखेनौ तिमेरले हाम्री साइँलीदिको गालाको स्किन कति सफ्ट।
फुर्केमान : हो नि पक्कै हो। मौरी र झिङा उड़्दै आएर बस्यो भने पनि साइँलीदिको गालाबाट चिप्लेर कहाँ पुग्छ पुग्छ।
साइँलीदि : यी पिशाचहरूलाई मेरो हेल्थ कसमबारे के थाहा?
फुर्केमान : हेल्थ कन्सियस हौ दि….
साइँलीदि : तेरो टाउनको भन् न। कुनि है म तिमेरुजस्तो ईङ्गलिश कहाँ जान्दछु र । यो फुर्केमानलाई बेसी फुर्के भएर नबोल् भन्दैछु है। हाम्रो कमानमा यो जस्तो फुर्के ता मैले कोही देखिऩँ है। यहाँ धेर जा यहां फुर्के देखाइ नबसेर बरू सबैको राशिन कार्ड बटुलेर काउण्टरमा राखिदे।
सिट्टे : (व्यङ्ग्य गर्दै) सोसियल धिन्ताङको पनि याद राख है साथी हो।
साइँलीदि : (रनक्क रन्केर) एई सिट्टे ! तैँले मलाई घोंचेको ? (कानपुरे गमबुट देखाउँदै) अहिले यो कानपुरे गमबुटले भुँड़ी मिचेर भित्रको जुकालाई तीन ठुन्का पारिदिन्छु र पो ता (सिट्टे लाजमर्दो भएर पर तर्किन्छ)
सिट्टे : लु म चाहिँ यहाँ बस्दिनँ है। हाम्री साइँलीदिको ता ठेगान छैन नि। पिटी सकेर मात्र पिटीदिन्छु भन्छिन्।
तेजहाङ : लु लु सबैको राशिन कार्ड मलाई देवो। (सबै आ-आफ्नो राशिन कार्ड दिन थाल्छ। सबै आ-आफ्नो रोसन कार्ड माथि राखिदेऊ माथि राखिदेऊ भनी कराउँछन्)
साइँलीदि : एई सिट्टे तेरो इच्छाले राख। कसैको कुरा नसुन्। तर सबैभन्दा पहिले यो साइँलीदिको हुनुपर्छ नि।
फुर्केमान : आमामा यो मरिचफुलको राशिन कार्डको गति हेर….हेर।
प्याप्टे : यो मरिचफुल आफू चाहिँ हप्तैपिछे पार्लर गएर कम्ति राम्री भएर आउँछे। एउटा राशिन कार्ड पनि स्याहार्नु नसकेकी।
मरिचफुल : कोनि कोनि। म पार्लर गाकी तिमीहरूलाई आँखा लागेको? म ता यो कमानभरि ब्यूटी न ब्यूटी भएकी कसैले देख्न नसकेकी। छोटा साहेबले पनि तुम को इतना सुन्दर कौन बनाया भन्छन्।
होम्ले : छोटा साहेबले ठिकै भन्यो नि। हामी पनि भन्छौ नि…
(कविताको भाकामा)
ओ रुपवती…
सुन्दरताकी खानी,,,
सौन्दर्यकी रानी..
भन कुर कलाकारको उपज तिमी
कुन ईश्वरको वरदान तिमी….
समवेत : स्वरमा वाह…..वाह…
मरिचफुल : (मस्किँदै) होम्ले दा…..के के नभन है।
प्याप्टे : भन्नु उसो होइन कि मरिच बैनी। यो कमानभरि तिमीभन्दा राम्री, ब्यूटी को छ र भन ता तिमी आफै।तिम्रो रुप देखेर साँच्चै हामीलाई गर्व लाग्छ।
सिट्टे : (गीतको लयमा)
के राम्रो जोबन हेरिरहुँ भन्छ नि आँखाले
आँखैमा बिलाउने को हो तिम्रो रुप बनाउऩे ?
साइँलीदि : (आह्रिसे भावमा) एई सिट्टे मरिचफुललाई राम्री देखेर गीत बनाइस् ता। तिमीहरूको यो ब्यूटी कन्ने पोल्ट्री चाहिँ गीत बनाउँदैनस् ?
तेजहाङ : हाम्रो कमानको गायक नै ता यो सिट्टे हो। लु सिट्टे यो तेजहाङ र साइँलीदिको र्किवेष्टमा एउटा गीत जावोस् न….
सिट्टे : (स्वर मिलाउँदै)
यो कमानको झाँक्री बड़ाले दिउँसै ढ्याङरो ठोक्यो
साइँलीदि लाग्यो रमितातिर चल्ला चिलले बोक्यो।
ब्यूटी पार्लरले साइँलीदिलाई सोह्र वर्ष बनायो
साइँलीदिको रुप देखेर पोल्ट्रीका पोथाहरूले मुण्टो बङ्गायो।।
समवेत : स्वर वाह…वाह..
साइँलीदि : एई सिट्टे अहिले तेरो डँड़ाल्नु भाँचिदिन्छु। मलाई सोह्र वर्षको देखिस् ? (लखेट्छे)
समवेत स्वर : भाग…भाग…सिट्टे। (सिट्टे भागेको ध्वनि)
प्याप्टे : फेरि पुरानै प्रसङ्ग झिकेर) हाम्री मरिचफुल बैनीको सबै ठिक छ तर (राशिन कार्ड देखाउँदै) यो राशिन कार्ड चैँ भएन है।
मरिचफुल : कोनि…कोनि। राशिन कार्डलाई पनि पार्लर लानु कि क्या हो!
साइँलीदि : अरे बजारमा राशिन कार्ड हाल्ने प्लास्टिकको ब्याग पाउँछ ता।।
प्याप्टे : मरिचफुल… (झोला देखाउँदै) मरिच बैनी जाँड़ लेको छु खाने?
साइँलीदि : भयो भयो। के को जाँड़ न साँड़्। ख्यालख्याल गर्दा गर्दै ऐले यिनीहरू झगड़ा पर्छन्।
मरिचफुल : चो प्याप्टे दासित यस्तै हो साइँलिदि। हामी दाजु बैनी एकक्षण बाझ्छौं फेरि मिलिहाल्छौं।
साइँलिदि : ओई…प्याप्ट तँ जाँड़ खुवाउनु आको कि राशिन लिन आको ? के साह्रो चलाको यिनीहरूले मरिचफुललाई। ऐले लाजमर्दो गरी मरिचले के के भन्देलिन कि अन्त रिसाएर हप्तादिनसम्म नबोल्नुलाई। भयो…भय़ो चूपो लागि बस् मरिच तँ पनि…धेर नबोल् रुप्पीजस्तो। तँ बरु मेरो छेउमा आएर बस्। यी फ्याउँराहरूसित किन टाँसिनु जान्छेस्। यता आइज (सबै मौन….मरिचफुल लपक्कै केही नबोली साइँलिदिको छेउमा आर बस्छे)
मरिचफुल : (लाड़े पल्टिँदै) हेर्नू न साइँलीबड़ी ।। यिनीहरूले मलाई जिस्काइ बस्छन्।
साइँलीदि : केटाहरूको जातै जिस्काउने जिस्किने। चूपो लागि बस् न भौगो ता। खै उइले मलाई तँलाईभन्दा धेर जिस्काउने केटाहरूले। टेँढ़पूच्छर लाउदिनँ थिएँ। जिस्काउँथ्यो जिस्काउँत्यो आफै हिस्रिक्कै हुन्थ्यो।
तेजहाङ : उइले ता हाम्री साइँलीदिदीले पनि कमान फाँड़ेकै हुन् नि हई साइँलिदि।
साइँलीदि : अन्त के ता! म कतै जाँदा एम्बुलेन्स लिएर हिँड़्थे क्या।
समवेत स्वर : (गललल…हाँस्दै) एम्बुलेन्स चैँ किन नि?
साइँलीदि : मेरो रुप देखेर नि। मलाई देख्ने बित्तिक्कै ठाड़ै ढल्ने अन्त एम्बुलेन्समा हाल्यो…सोझै अस्पताल पुऱ्यायो।
प्याप्टे : अहिले पनि क् कम्ति छिन् र हई हाम्री साइँलीबड़ी।
साइँलीदि : (कड़्केर छोप्दै जान्छे) नकरा एई प्याप्टे । ऐले तलाई एई ढुङ्गाले हानेर अनुहारनै च्याप्टो पारिदिन्छु। आगोमा घिउ हाल्ने काम नगर् है। हिन् है केट्-केटी हो…पल्टने बड़ाकहाँ…यसो खाजाभुजा खाउँ। यहाँ ता कति बेला हो…हो…
समवेत स्वर : जुम्….जुम्….आज साइँलीदि तर्फबाट…
साइँलीदि : अँ..खालास्त..मुखभरि…साइँलीदिको बाघुमुखे थैलाभरि क्याटका क्याट नोटका बिटा छ नि है….
ध्वनि परिवर्तन
(निकै तल डाँड़ा गाउँमा पल्टनेबड़ाको खाजापसलभित्र सबै पस्छन्)
समवेत स्वर : जय हिन्द पल्टने बड़ा….जय हिन्द
पल्टने बड़ा : जय हिन्द….जय गोर्खा….(सबै जय गोर्खा) आमामामा…यो पल्टनेको चिया पसलमा पल्टनै पो पल्टेर आएछ ता! अरे हाम्री राम्री मरिचफुल बैनी पनि रहेछ…
मरिचफुल : (लजाउँदै तर भित्र भित्र खुसी हुँदै) यो पल्टने बड़ाले पनि मलाई नै राम्री देखेछन् हई…साइँलीदि, धुरपातीहरूलाई चैँ देख्नुभएन? यिनीहरू पनि मभन्दा कत्ति राम्री न राम्री छन्…
पल्टने बड़ा : यो पल्टनेको आँखाले कहिल्यै फेल खान्छ ? मरिचफुल मैयाँको यिनीहरूसित तुलना कहाँ हुन्छ हौ कहाँ हुन्छ? यिनीहरू ताराहरू हुन् भने मरिच भनेको जून हो जून।
मरिचफुल : (फुर्की हुँदै) अम्मुइ….कतै नभएको कुरा यै पल्टने बड़ालाई नै आउँदोरहेछ…ठैट !
समवेत स्वर त्यसै पल्टने ? देश खाएर शेष भएका मान्छे हाम्रा पल्टने बड़ा…हई।
पल्टने बड़ा : (फुर्के भएर) खै अब भनुँ भने के भनुँ…ढुङ्गा टिपी के हानुँ?
तेजहाङ : हाम्रो कमानको शान। गौरव मरिचफुलको सुन्दरताको के बयान गर्नु हई पल्टने बड़ा? लाखौं ताराहरूरूको उज्यालीलाई एउटै जूनको उज्यालीले फिका पार्छ होइन पल्टने बड़ा?
पल्टने बड़ा : एब्सुलेटली राइट। तर जूनमा पनि दाग हुन्छ है (हा…हा…ह…)
मरिचफुल : (गिज्याउँदै) तेजहाङ बेस्सी होइन है ऐले। तेजहाङ बन्दुकको ढ्याङ…नबोल है बिचमा फ्याङ्फ्याङ्।
(साइँलीदिको मोबाइलको रिङटोन बज्छ। साइँलीदि बाहिर निसक्छे)
साइलीदि : एई केट केटी हो…के के खान्छौं मागेर खावो है…
समवेत स्वर : मलाई सेल र आलुदम
मलाई एक डबल पर्कको मोमो
मलाई बफको एक डबल
मलाई आलुदम र तोसरोटी
मलाई चिउरा र एक प्लेट खसीको पचाउनी। (पसलभित्र हल्ला खल्ला)
साइँलीदि : (पर डिलमा गएर) हल्लो…हल्लो।
प्याप्टे : (साइँलीगिलाई हेर्दै) हन यो साइँलीदि नाथे फोन सुन्नु पनि कति माथि डिलमा गाकी। उसको फोन कसले नै सुन्लाजस्तो।
पल्टने बड़ा : त्यतामात्रै नेटवर्क भेटछ। यहाँ ता मरिगए नेट वर्क भेटदैन। अहिले एकक्षणमा गाउँभरिका सबै यही डाँड़ामा भेला हुन्छन्। यो डाँड़ाको नाम नै नेटवर्क डाँड़ा भएको छ।
साइँलीदि : हल्लो…को काकी बोल्नुभएकी? ढोगेँ काकी । कहाँ नागा बस्नु हौ। अस्ति लकडाउन सकेर पनि कम्ति ता नागा बसेकी छैन। अब ता नागा बस्ने चान्स छैन। तपाई बजारेहरूलाई पो ढुक्कै। मर्निङ वक् गरेर आएपछि घरभित्र बस्यो।। टिभी हेऱ्यो। काम गर्ने एकाबिहानै टुप्लुक्कै आइपुग्छ। हाम्रो कमानमा ता कामको चटारो छ। सबै काम आफैले नगरी भएन काकी। वस्तुभाव पालेपछि अहिलेघरि फारस झोड़ातिर नगै भएन।
काकी : (नेपथ्यबाट) फारस झोड़ातिर चितुवा र भालुको डर हुँदैन साइँली?
साइँलीदि : किन नहुनु ? हुन्छ नि। ता साथी भाइहरूसित फारस झोड़ातिर लाग्नैपर्छ। नत्र चितुवा भालू बँदेलहरूको छाक हुन्छ। साथीभाइहरू छन् भने ता ठ्याम्मै डर लाग्दैन। तर हाम्रो यतातिर चितुवा भालुभन्दा पनि पार्टीमा हिँड़्नेहरूसित पो डर लाग्छ।
काकी : (नेपथ्यबाट) उनीहरूसित चैँ के को डर बित्थामा। उनीहरू पनि ता मान्छे नै हुन् तपाई हामीजस्ता।
साइँलीदि : काकी तपाईले यहाँको स्थिति बुझ्नै भएको छैन । एउटाले हाम्रो पार्टीमा लाग् भन्छ अर्कोले उनीहरूको पार्टीमा लाग् भन्छ। खै को कोसित लाग्नु कता कता लाग्नु हौ…(मरिमरि हाँस्छे।)
काकी : (नेपथ्याट) यहाँ पनि त्यस्तै छ नि। अचेल हाते कोसेली बनाउनु हुन्न काकी?
साइँलीदि : त्यो ता बनाउनैपर्छ नि। बजारबाट पाहुनापात आउँदा वा बजारतिर पाहुना लाग्नु जाँदा हातेकोसेलीको नाममा आफूले नै बनाएको चियापत्ती लानैपऱ्यो । (प्रसङ्ग बद्लिँदै) साँच्चै काकी तपाईहरुको तिर सिभिल डिफेन्स कस्तो छ ? त्यैमाथि यो पहाड़मा ता जरलाग्दो हुरी बतास आइबस्छ। जोगिएर बस्नु है काकी।
काकी : अब त्यस्तो केही छैन । मर्नु नै छ भने जसरी पनि मरिन्छ नि। मर्नै परे मरिदिउँला नि। हामीले हाम्रो यो पहाड़मा कस्ता कस्ता हुरीबतासको सामना गऱ्यौं गऱ्यौं। (फोनको रिङ काटिन्छ)
साइँलीदि : (पटक पटक चिच्याइ चिच्याइ हल्लो कि हल्लो भनिरहन्छे) एस्किमा…यो फोनलाई पनि हामी गफिएको आह्रिस लाग्यो कि क्या हो….
(ध्वनि परिवर्तन)
क्रमश:
०००
सिलीगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest









































