साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाेग दियाँ

परराष्ट्र नीतिलाई पनि सकेसम्म सन्तुलित पार्ने काेशिस गरेकै छु । अंग्रेज भेटे अंग्रेजीमा हेलाे हाइ, चिनियाँसंग नि हाउ, हिन्दुस्थानी भेटिए जय हिन्द, स्पेनिशसँग ओला । एवम् तरिकाले काम चलाएकाे छु जे जे भए हाेला ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

यसाे गरूँ कि उसाे गरूँ भएकाे छु म अचेल । लाैन हजुर कसाे गरूँ ? अलमल्लमा परेकाे याे मनलाई बाटाे देखाइदिने काेही बुज्रुक भए कृतार्थ हुने थिएँ । मेराे अलमल्लकाे अवस्था सबिस्तार कहन्छु । ताकि तपाईंलाई गाँठाे फुकाउन सजिलाे पराेस् ।

एकदिन एकजना आफन्तलाई बाटामा भेट्दा ” हजुर आरामै हुनुहुन्छ ? ” भनेर माैखिक रूपमा शिष्टाचार प्रकट गरें । उहाँले मलाई नचिनेको भनी प्रतिक्रिया जनाउनुभयाे । म अलमल्लिएँ । उहाँले नचिन्नुकाे कारण मैतिर तेर्स्याउँदै भन्नुभयाे –
“यहीँ हाे संस्कार ? खै ढाेगिदिएकाे ? ”
व्यस्त सडक छेउमा , मान्छेहरूकाे भिडभाडमा म घाेप्टिएँ अर्थात् साइनाेअनुसार ढाेग गरें । पछि उहाँले विरामी परेर अस्पताल आउनु परेकाे जनाउनुभयाे । यस घटनाले मलाई निकैबेर चिमाेटिरह्याे र आजसम्म पनि लखेटिरहेछ ।

नातामा काका ( बुबाका भाइ नाता पर्ने ) लाई ढाेग नगर्ने म संस्कारहीन ठहर भएकाेमा कुनै शंका थिएन र छैन । व्यस्त सडकमा, भिडभाडमा ढाेग्नु पर्ने मान्छेलाई नमस्कार गर्न मनले मानेन । ढाेग्दा आफ्नै ज्यानकै जाेखिम थियाे । पछाडिबाट गाडीले किचिक्क पारिदेला भन्ने डर । यहीँ डरका कारण मलाई संस्कारहीनकाे उपाधि मिलेकाे थियाे ।

मलाई संस्कार सिकाउने काकाका साथमा धेरै मानिस थिए । उहाँका शुभचिन्तक, हितैषी , आफन्त , सडक यात्रीहरू काेही सँगै अडिएका र छेउछाउमा ठडिएका थिए । काेही नमस्कार टक्राउँदै आफ्नाे गन्तव्य ताकिरहेका थिए । काकाका साथमा मैले राम्रैसँग चिनेका एकजना युवा पनि देखेकाे थिएँ । जसले मलाई दाइ भनेर सम्वाेधन गर्दथे र गर्छन् । नाताले ती युवा तिनै काकाका आफ्नै छाेरा र मेरा भाइ पर्छन् । उनले मलाई ढाेग गरेनन् । हुनसक्छ ढाेग गर्न आवश्यक ठानेनन् , उनैले जानून् । मैले नजानेकाे एउटै मात्रै प्रश्न छ – ती काकाले किन आफ्नो छाेरालाई संस्कार सिकाएनन् । मलाई भने संस्कारहीनकाे संज्ञा दिए । कि उनलाई साथमा बुबा हुनुकाे अहङ्कार थियाे ? जुन साैभाग्य मलाई थिएन । म अभागी जसले धेरै पहिले बुबाकाे साथ गुमाउनु परेकाे थियाे । बुबाकाे साथ नपाएकै कारण म संस्कारहीन हुन पुगें कि ?

म मान्दछु , बुबासमानका काकालाई आदर गर्न नजान्नु मेराे कमजोरी भयाे । यसका साथै मबाट अर्काे पनि कमजोरी भयाे । मैले नढाेगेका कारण काकाले मलाई चिन्नु भएन । मैले काका पनि बुबा समान भन्ने नचिनेर ढाेग गरिनँ । जे हाेस् काकाले मलाई समयमै संस्कार सिकाउनुभयाे । मैले ढाेग गरेपछि काकालाई किन साेधिन -” काका तपाईंसँगै आएका यी भाइ काे हुन् ? मैले पनि चिन्न सकिनँ नि ? किन यिनले मलाई ढाेग गरेनन् ? तपाईंले यिनलाई संस्कार सिकाउन बिर्सिनुभएछ कि ? हाम्राे संस्कारमा भाइले दाजुलाई ढाेग्नु पर्ने हाेइन र ? ”
तत्काल मैले प्रश्न गर्न सकिनँ । किनभने त्यसबेला मबाट ठूलाे भुल भएकाे थियाे । एउटा भुल गरेकाे मान्छेले काकालाई चिढ्याएर अर्काे भुल गर्ने साहस त्यसबखत ममा थिएन । बेलाबखत आज पनि मलाई यस किसिमका कमजोरीले गिज्याउँछन् ।

आजभोलि ढाेगकाे प्रचलनमा केही परिमार्जन आएकाे देखिन्छ । खुट्टामा ढाेग्नुपर्ने आफन्तहरूलाई बाटाेघाटाेमा ढाेग्न खाेज्दा हात थाप्ने प्रचलन बढेकाे छ । एउटा हातमा ढाेग गर्नु वा गराउनु हुन्छ कि हुँदैन ? संस्कारले यस बारेमा के भन्छ ? खुट्टामा नै घाेप्टिनु पर्छ या श्रद्धाले शिर झुकाए पुग्छ ? मेराे कुरा गर्ने हाे भने बीच सडकमा खुट्टामा ढाेगाउन खाेज्नेहरू देखिए भने परैबाट तर्किएर हिड्ने गरेकाे छु । घरमै गएकाे वा भएकाे बेला खुट्टामा ढाेग गर्नुपर्नेलाई खुट्टा दिएसम्म खुट्टैमा ढाेग गर्ने गरेकाे छु । हात दिए हातमै । मैले श्रद्धा गर्नु पर्नेलाई श्रद्धा गरेकै छु । संस्कार सम्झिएर ।

मेराे कमजोरीले मलाई धेरैपटक धाेका दिएकाे छ ।कसैले जिकिर गरेर मसमक्ष केही प्रस्ताव राख्याे भने उसकै समर्थन नगरिरहन सक्दिनँ । यसकाे पनि यहाँ नालीबेली कहन्छु । याे पनि ढाेगसितै जाेडिएकाे कहानी हाे । विद्यार्थी जीवनमा एक दिन एकजना साथीले केही लेख्दै थिए । लेख्दालेख्दै उनले प्रश्न गरे – “याे कलमले कस्ताे लेख्छ ? ”
मैले जवाफ दिएँ –
“लेख्नेवालाले जस्तो लेख्याे त्यस्तै । ”
उनले फेरि स्पष्ट पार्दै भने –
“हेर ! अहिले यस कलमले कालाे लेखेकाे छ । म यहीँ कलमले राताे लेख्न सक्छु ।”
मैले उनका कुरामा विश्वास गर्न सकिनँ अर्थात् पत्यार गरिनँ । उनी बाजी ठाेक्न कस्सिए । सर्त भयाे ; कलमले कालाे लेखे उनलेे मलाई ढाेग्ने । राताे लेखे मैले उनलाई ढाेग्ने । उनले कापीमा `राताे´ भन्ने अक्षर लेखे । उनले अरूलाई त्याे अक्षर “कालाे कि राताे ?” भनेर प्रश्न राखे । सबैले “राताे” भन्ने उत्तर दिएपछि सर्तअनुसार मैले साथीलाई ढाेग गरें ।

पख्नुहाेस् ! ढाेग काण्ड अझै बाँकी छ । जब मेराे विवाह हुँदै थियाे । बुबा समानकाे ससुरा बुबा र उहाँका पनि बुबाले मलाई खुट्टामा नै ढाेग गर्न खाेज्नुभयाे । मैले असहज मानें । उहाँहरूले मान्दै नमानेपछि खुट्टामा ढाेगाउन बाध्य भएँ । मलाई यहाँ पनि ताजुब लाग्याे । याे हाम्राे कस्तो संस्कार ? छाेरा समानकाे ज्वाइँलाई बुबा समानकाे ससुराले खुट्टामा ढाेग्नु उचित हाे ? त्यसमाथि चाैरासी गरिसकेका वृद्धले नाति समानकाे नातिनी ज्वाइँका खुट्टा समाउनु उपयुुक्त हाे ? एकैछिन है । मेरा अझै बाँकी छन् केही कुरा । आमा र मामा समान पुस्ता हाेइन र ? आमालाई छाेराले ढाेग्नु पर्छ । याे स्वभाविक छ । मामाले भाञ्जालाई किन ढाेग्नुपर्ने ? मामालाई भाञ्जाले ढाेगे हुँदैन ? अनुत्तरित छु म ।

मैले सुनेकै हाे कि – छाेरी लक्ष्मी स्वरूप हुन् भने ज्वाइँ नारायण स्वरूप। त्यसैले हामी ज्वाइँलाई ज्वाइँ नारायण भन्छाैं । नारायण जसलाई हामी भगवान मान्दछाैं । भगवानलाई ढाेग गर्दछाैं । ठीक त्यसैगरी ज्वाइँ पनि नारायणकै स्वरूप भएकाेले ढाेग गर्नु पर्दछ । भाञ्जा त झाेलीका देवता भइहाले । देवतालाई नढाेग्ने कुरै भएन । यस किसिमकाे तर्कलाई केही हदसम्म सही मान्न सकिएला तर एउटा प्रश्न छ – ज्वाइँ नारायण र झाेलीका देउता के नारायण या देउताकै आचरणमा छन् ? सात्विक र धार्मिक निष्ठामा छन् ? यदि छैनन् भने याे त नारायण वा देउताकै उपहास भएन र ?

आजभोलि दर्शन, नमस्कार , ढाेग वा प्रणाम गर्ने विभित्र तरिकाहरू मध्ये एक हाते प्रणाम ज्यादा चलनचल्तीमा देखिन्छ । मान्यजनलाई हाेस् वा भगवानलाई एकहाते प्रणाम गर्नुलाई संस्कारी मान्छ आजकाल मान्छे । एक हात आफ्नै निधार र छातीमा ठाेक्याएर दर्शन गर्नु उपयुक्त हाे ? परम्परावादीले एक हाते ढाेगलाई बेठीक भन्दछ्न् , आधुनिकहरू यसमै अभ्यस्त छन् ।

एकहाते अभिवादनप्रति मेराे समर्थन वा विराेध छैन । कतिपय प्रशासनिक वा राजनीतिक क्षेत्रमा यसकै प्रचलन छ । सेना , प्रहरीजस्ता सुरक्षा निकायमा एकहाते सलाम चल्छ । राजनीतिक जगतमा कसैले जय नेपाल भन्दै हातका पञ्जा फैलाउँदै पाखुरा ठड्याउँछ । कसैले कमरेड लाल सलाम भन्दै मुड्की पारेर पाखुराे अड्याउँछ । कसैका मुखमा जय देश जय नरेश झुन्डिएको छ । कसैका तर्कुलामा जय मधेश थर्किएकाे छ । कसैले नमस्कारलाई काम चलाउमा राखेका छन् ।

अभिवादनसूचक शब्दावलीमध्ये ” जय नेपाल” ले मेराे निद्रा हराम गरेकाे छ । “जय नेपाल ” सुरूमा कसले प्रयाेग गरेकाे हाेला ? भनेर खाेज्दा माेटामाेटी रूपमा तीन जना पात्र भेटिए । सहिद शुक्रराज शास्त्रीले फासीमा चढ्दा बाेलेकाे भनियाे । गाेपालप्रसाद रिमालले अभिवादनका रूपमा प्रयाेग गरेकाे भनियाे । राजाहरूकाे तर्फबाट सर्वप्रथम राजा त्रिभुवनले प्रयाेग गरेकाे भन्ने पनि सुनियाे । यसरी हेर्दा जय नेपालकाे जन्म राणाकालमा भएर हालसम्म हुर्किदै र बढ्दै गएकाे पाइयाे । यही शब्दावलीलाई हाल रेडियाे नेपाल , नेपाल प्रहरी र नेपाली कांग्रेस नामकाे दलले निर्बाध रूपमा प्रयाेग गरेकाे पाइन्छ । यस विषयमा आधिकारिकताका लागि हालसम्म सर्वाेच्चतिर उजुर परेकाे छैन । उजुर परेका दिन सर्वोच्चले कसरी व्याख्या गर्ला ? कसकाे ठहर गर्ला ? मात्रै जिज्ञासा हाे मेराे ।

हुनत: संस्कार र संस्कृति परिस्थितिजन्य विषय हुन् । परिवर्तनशील समाजका संस्कार र संस्कृति पनि कहाँ निरपेक्ष रहन्छन् र ? आखिर ढाेग गराई पनि शिष्टाचारकाे विषय न हाे । जब मनले तिरस्कर गर्छ भने हातले नमस्कार गर्नुकाे कुनै अर्थ हुँदैन । श्रद्धा वा सम्मान मनैदेखि गरिनु पर्छ । व्यवहारमा झल्किनु पर्छ । लाेकाचारमा हाेइन ।

कुनै संस्कार एउटा परिवेशमा उपयुुक्त र त्यहीँ कुरा अर्काे परिवेशमा अनुपयुक्त हुन सक्छ । पश्चिमा जगतमा संस्कारका रूपमा स्वीकार गरिएका हात मिलाउने, अङ्कमाल गर्ने वा गालामा म्वाई खाने कुरा नेपाली समाजले सजिलै पचाउन सक्दैन । यसका लागि समय लाग्दछ । बिस्तारै बानी पर्दै गएपछि यसैले संस्कारकाे रूप लिन्छ । आजभोलि विदेशमा रहेका सन्ततिहरूले घरमा रहेका अग्रजहरूलाई हाय डेडी , मिस यु मामु , गुड मर्निङ , हेलाे हाइ , ओके बाइ जस्ता शब्दावलीहरूबाट शिष्टाचार व्यक्त गरेकाे सुनिन्छ । विदेशमा आफन्त भएका बुढापाका यस्तै शब्दावलीहरू सुनेर मख्ख परेका छन् भने नभएकाहरू छक्क परेर के गर्नू ?

अभिवादनसूचक शब्दावलीका सम्बन्धमा तेराे धारणा के हाे ? भनेर साथीहरूले साेधिसकेपछि खुलस्त पार्नै पर्याे । आफू त परियाे संविधानतः धर्मनिरपेक्ष राष्ट्रकाे नागरिक । कुनै एउटा मात्रै धर्मलाई काखी च्याप्ने कुरा आएन । त्यसैले क्रश्चियन साथी भेटिए जय मसिह भन्छु । मुस्लिम भेटिए अस्सलाम अलयकुम । सनातन हिन्दुहरूका सम्प्रदाय अनुसार जय श्री कृष्ण, राधे राधे, ॐ नम शिवाय … यस्तै यस्तै ।

बहुजातीय समाजमा रहेकाे राजनीतिक प्राणी भएका नाताले नेवारसित ज्वज्वल्पा, तामाङसित फ्याफुल्ला , राई/ किराँत र लिम्बूहरूसित सेवाराे, मगरसित झाेर्ले, थारूसित रामराम, शेर्पासित तासी देलेक । सबै कुरा यहाँ भनिसाध्ये छैन । जाेसित भेट भयाे उसकै भाषामा अभिवादन। आखिर भाेटकाे कुरा रहन्छ । सबैसित ठिक्क ।

अभिवादन सम्बन्धी परराष्ट्र नीतिलाई पनि सकेसम्म सन्तुलित पार्ने काेशिस गरेकै छु । अंग्रेज भेटे अंग्रेजीमा हेलाे हाइ, चिनियाँसंग नि हाउ, हिन्दुस्थानी भेटिए जय हिन्द, स्पेनिशसँग ओला । एवम् तरिकाले काम चलाएकाे छु जे जे भए हाेला ।

यी त भए मसित घटित ढाेग काण्ड, अभिवादनजन्य शब्द तथा शब्दावली, प्रयाेग गर्ने तरिकाका विषय । मैले देखे, भाेगे र अनुभव गरेका कुरा । मेरा निजी विचार । अब तपाईंका कुरा सुनाउनुहाेस् । म ध्यान दिएर सुन्छु । चित्त बुझे खुट्टैमा ढाेग्नेछु नबुझे पुर्पुराे ठाेक्नेछु । जाँदा जाँदै सबैलाई ढाेग दियाँ । लेखनीलाई यत्तिमै राेक दियाँ ।

०००
२०८३ भाद्र २९ हरितालिका तीज
रेसुङ्गा न. पा. २ , गुल्मी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x