रामप्रसाद पन्थीपैंतीस वर्षमा के गर्याै ?
जवानीकाे जाेश बाेकेका युवाहरू हाे ! वनस्पतिका ठेट्नाहरूमा लागेका भेट्नाहरू दिन ढल्दै गएपछि गल्दै जान्छन् । गल्दै गएकाहरू ढल्दै जान्छन् । शाश्वत सत्यलाई सबैले स्वीकाराैं ।
रामप्रसाद पन्थी :
एकथरी भन्छन् , “पैंतीस वर्षमा के गर्याै ? ” अर्कोथरी भन्छन्, ” देखेकै छाै त हामीले के गर्याैं ? तिम्रै अगाडि छ सबै । बरू तिमीले हामीले पैंतीस वर्ष लगाएर बनाएकाे संरचना पैंतीस मिनेटमा धुलाे पार्याै । चुनाब जितेर के नै गर्याै ? जनताका आँखामा बिनासित्तैमा फुलाे पार्याै ।”
यसरी नै पैंतीस शब्दमाथि जुहारी चलेकाे छ अचेल ।
पैंतीस शब्द कस्ताे भाग्यमानी । अरू शब्द सुस्ताएकाे बेला एकाएक भाइरल बनेकाे छ ।
अतः पैंतीसलाई दुईथरि बुज्रुकहरूले दुई काेणबाट विश्लेषण गरेकाे पाइयाे । पैंतीस भित्रका युवाकाे स्वर छ चर्काै । पैंसट्ठी काटेका बुढाकाे कुरै छ अर्काे । आफू परियाे पैंतीस र पैंसट्ठीकाे बीचकाे तेस्राे दर्जाकाे भुइँ मान्छे तसर्थ कुरा पैंतीसकाे भएकाेले गाँठी कुरा पत्ता लगाउन लागियाे टनक्क टुपी कसेर ध्यानदृष्टिका साथ ।
सर्वप्रथम मलाई पैंतीसकाे बनाेट र शाब्दिक अर्थ जान्न मन लाग्याे । कुरा बुझ्दै जाँदा संस्कृत `पञ्च +त्रिंशत् ´ काे याेगबाट पैंतीस बनेकाे रहेछ । तीस र पाँचकाे याेगबाट पैंतीस बन्दाे रहेछ । याे त भयाे सङ्ख्याकाे कुरा ।
संख्याकाे ज्ञानले मात्रै मेराे ध्यानले पूर्णता प्राप्त गरेकाे महसुस भएन । स्थिर चित्त नभएपछि याेग र साधनालाई जाेड दिदै पैंतीसकाे गठजाेडमा केन्द्रित भइयाे । साधनाले पत्ता लगायाे कि , ” ३५ मा रहेका दुई अङ्कमध्ये ३ अङ्ककाे स्वामी बृहस्पति र ५ अङ्ककाे स्वामी बुध हुन् । जसमा बृहस्पतिले ज्ञान, बुद्धि र भाग्यकाे प्रतिनिधित्व गर्दछन् । बुधले व्यापार , सञ्चार र बुद्धिमताकाे । ३र ५ लाई जाेड्दा हुने ८ अङ्ककाे स्वामी शनिदेव हुन् । शनिले न्याय, मिहिनेत र धनकाे कारककाे रूपमा कार्य गर्दछन् । ” यस तथ्यांक ( ३५ अङ्क) ले तीनवटा दैवी शक्ति वा तीनवटा ग्रह बृहस्पति, बुध र शनिसँग सम्बन्ध राख्ने हुँदा यसकाे खास महत्व रहने जनायाे।
३५ मा रहेका कुरा खाेत्लदै जाँदा ध्यानदृष्टि एकपल्ट राणा कालमा पुग्याे । यस समयमा राजाहरूले ५ काे प्रयाेग गर्दथें । राणाहरूले ५ भन्दा अगाडिकाे ४ लाई छाेडेर अझ अगाडिको अङ्क ३ राेजे । ३ लाई राणाले र ५ लाई राजाले राेजेपछि ४ जिल्ल पर्याे । कतै न कतैकाे भएपछि चारले विचार गरेर प्रतिपक्षमा बसी बिराेधीकाे काम गर्ने भयाे । बिराेध मात्रै गर्न थालेपछि यसलाई शत्रु ठानियाे । शत्रुलाई पनि सही ढंगले रिझाउनु पर्छ भनेर श्री ४ भनियाे । राणा श्री ३ भए । राजा श्री ५ । यसरी हेर्दा ३५ मा रहेका ३ र ५ कुनै जमानामा शक्तिका केन्द्रमा थिए । यसै विषयले पुष्टि गर्दछ – ३५ शक्तिशाली छ । त्यसैले मैले पनि आफ्नाे याेग, ध्यान र साधनालाई पैंतीससँग एकाकार बनाउन पुगें ।
एक दिनकाे कुरा हाे एकजना हितैषीले बाटाे बिराएछन् कि ? नसालु पदार्थ छिराएछन् । मेरै घरमा आएर मैमाथि व्यङ्ग्यकाे झटाराे हान्न थाले , ” तपाईंले पैंतीस वर्षसम्म के गर्नुभयाे ? पैंतीस वर्षको उपलब्धि के ? ”
हितैषीकाे पाराले एकछिन् त झनक्क रिस उठ्याे । खाएकाे विष पाे लाग्छ , नखाएकाे के लाग्छ ? म त अनुसन्धानकाे विद्यार्थी मात्रै न थिएँ । पैंतीसवाला विवादित विषयकाे । त्यसैले अभिनय गर्दै गएँ ; पैंतीस वर्षदेखि देशकाे बागडोर सम्हाल्ने शासक वर्गकाे अनि संयमित हुँदै हितैषीसित भलाकुसारी अगाडि बढाएँ –
” ए बाबा ! जसले ३५ वर्षसम्म ३५ कै विषयमा याेग,ध्यान र साधना गर्याे , उसैमाथि व्यङ्ग्य ? उनकाे आशयलाई बुझेर मैले आफैमाथि व्यङ्ग्य गर्दै पैंतीसकाे महात्म्य सुनाइदिएँ –
” हेर बाबू ! पहिलाे कुरा म पैंतीस वर्ष याेग, ध्यान र साधनामा बिताएँ । त्यसैले पैंतीस वर्षकाे मेराे याेग, ध्यान र साधनालाई राम्ररी बुझ्ने काेशिस गर । त्यसै प्यार प्यार नगर । तिमीलाई थाहै छ , संसार बदल्न सुरू आफैबाट गर्नु पर्छ । मैले यसै गरें । अर्थात् याेग गरें । याेगकाे अर्थ थाह छ नि ? जाेड्नु । हाे मैले पैंतीस वर्षसम्म जाेड्दै गएँ । सर्वप्रथम आफूलाई राजनीतिमा जाेडें । गाउँ , जिल्ला हुँदै केन्द्रसम्मकाे जनप्रतिनिधिका रूपमा जाेड्दै गएँ । संसद हुँदै मन्त्री र प्रधानमन्त्रीमा जाेडिएँ । पदमा पुगेपछि पैसासित जाेडिएँ । घर, जग्गा , गाडी , घाेडा, प्राडाे, पजेरो जाेड्दै गएँ । यहीँ त हाे पैंतीस वर्षकाे याेगकाे याेगफल ! ”
“चुपाे लागेर सुन ! अब तिमीलाई ध्यान र साधनाका कुरा पनि सुनाउँछु । ध्यानकै कुरा गर्छाै भने मैले जति ध्यान कसले गरे हाेला ? पैंतीस वर्षसम्म आफ्ना आफन्त , भाइ-भतिजा, मावली- ससुराली , पार्टी कार्यकर्ता जसलाई जहाँ हुन्छ सेटिङ् गर्नमा पूरा ध्यान केन्द्रित गरेकै हाे । जहाँसम्म साधनाकाे कुरा छ ; घुसलाई जुस बनाउँदा , भ्रष्टाचारलाई अचार बनाउँदा कम साधना गर्नु परे हाेला ? कुरा गर्छाै ताइ न तुइका ! ”
“उमेरका तिमी कच्चा छाै । हेर्दा अझै बच्चा छाै । उमेरमा मात्रै हाेइन हामी त बाेली , विचार र व्यवहारमा तिमीभन्दा पक्का छाैं । मेरा कुरा कान खाेलेर सुन । गाैतम बुद्धले पैंतीस वर्षकाे उमेरमा बुद्धत्व प्राप्त गरेका थिए । जंगबहादुर राणाले यही उमेरमा युराेपकाे भ्रमण गरेका थिए । महाकवि लक्ष्मीप्रसाद देवकाेटाले शाकुन्तल महाकाव्य रचना गरेका थिए । राजा महेन्द्रले राज्याराेहण गरेका थिए । २०३५ सालकाे अन्त्यतिर विद्यार्थीले गरेकाे आन्दोलनकै कारण राजा वीरेन्द्रले ऐतिहासिक जनमत सङ्ग्रहकाे घाेषणा गरेका थिए ।
नेपालकाे वर्तमान संविधान( २०७२) लाई हेर्दा यसले पैंतीस भागकाे स्वरूप ग्रहण गरेकाे छ । भाग ३, धारा ३५ ले स्वास्थ सम्बन्धी माैलिक हककाे कुरा गरेकाे छ । अनुसूची पाँचमा संघका अधिकार पैंतीस नै छन् । राष्ट्रिय सभाकाे सदस्य र प्रदेश प्रमुख हुन पैंतीस वर्ष पुगेकाे हुनै पर्छ ।
राणाकालमा नेपाललाई प्रशासनिक दृष्टिले पैंतीस जिल्लामा बाँडिएको थियाे । अहिले पनि सतहत्तर जिल्लामध्ये एक/एक निर्वाचन क्षेत्र भएका जिल्ला पैंतीस छन् । वर्तमान कानुनी व्यवस्था अनुसार पैंतीस दिनभित्र व्यक्तिगत घटना ( जन्म, मृत्यु, विवाह, बसाइ-सराइ आदि ) दर्ता गर्नु नागरिकको कर्तव्य ठानिन्छ । निजामती सेवा प्रवेशका लागि पुरूषकाे उमेर हद पैंतीस नै छ । ”
हितैषीलाई मेरा यता न उताका प्रसङ्ग बेप्रसङ्गका कुराले दिमाग खल्बलिएछ क्यारे । हितैषी एकाएक रन्किन थाले –
“के नाप्याै बाजे पैंतीस वर्षमा ? आफ्नाे मात्रै भुँडी ढडायाै । आफन्तलाई अघि बढायाै । आफ्ना सन्तान विदेश पढायाै । जनताकाे छाेराछाेरीलाई जनयुद्धमा लडायाै । तिम्राे पैंतीस वर्षे शासन कालमा तीस पटक सरकार फेरिए । जनताकाे अवस्था फेरिएन । गरिबी बढ्दै गयाे । महङ्गी चढ्दै गयाे । देशकाे ऋण दिन दुगुना रात चाैगुना बढ्दै गयाे । युवा विदेशकाे भर पर्दै गयाे । देश रेमिट्यान्समा भर पर्दै गयाे । तिम्राे यही पैंतीस वर्षभित्र मदन भण्डारी मारिए । दरबार हत्याकाण्डमा वीरेन्द्रको परिवार साेत्तर पारिए। तिम्रै अलच्छिनले बारपाकमा भूकम्प गयाे । केराेनाले कष्ट दियाे । सलहले पनि यसैपालि सखाप पार्याे । सांसद किनबेच भए । लाउडा, धमिजा, ललिता निवास, ओम्नी आदि काण्ड भए । नेपाली नागरिक भुटानी शरणार्थी भए । क्विन्टलका क्विन्टल सुन झ्वाम् भए । जाे चाेर उसकै ठूलाे स्वर ? जेन्जी आन्दाेलकाे लपेटा भुल्याै कि, हरायाे साेर ? हाल्दिम् बूढा चिसाे खाेर ? ”
आफ्नै छाेरा उमेरकाे छाेरा सरहकाे हितैषीका कुराले उदेग लागेर आयाे । उनकाे रगत ताताे थियाे । त्यसैले रङ्ग न ढङ्गले रन्किदै थिए । उनलाई मैले बुढाे गाेरू र बहर बाच्छाकाे कथा सुनाएँ । उनले मेराे कथालाई कथामै सिमित गर्न खाेजेपछि अलिअलि त सम्झाउनै पर्याे अनि सम्झाउने चेष्टा गरें-
“हेर बाबू ! पैंतीस वर्षकाे अवधिमा सबै खराब थिएनन् । असल मनसायले काम गर्ने महान् पुरूष पनि थिए । कतिले देश र जनताकाे भलाईका लागि आफ्नो सर्वश्व दिए । हामीले सकेसम्म देश हितकै पक्षमा आवाज उठायाैं । केही खराब तत्वले सफा तलाउलाई धमिल्याउने प्रयास पनि गरे । समयले उनीहरूलाई सजाय पनि दियाे हाेला । नभए पछि अवश्य दिन्छ । तिमी सबैलाई एउटै डालाेमा हालेर नहेर । जेन्जी आन्दाेलन भनेर नतर्साऊ । हामीले पैंतीस वर्ष केही गरेनाैं भनेर भ्रम नछर । हामीले नै जनयुद्धलाई साम्य बनायाैं । दुई सय उनन्चालीस वर्षे राजतन्त्र फाल्याै । संघीय लाेकतान्त्रिक गणतन्त्रको अभ्यास थाल्याैं । हामीले जेन्जी आन्दोलन पछिकाे चुनाव र चुनावकाे नतिजालाई स्वीकार गरेकै छाैं । पैंतीस वर्षकाे उमेर काटेका युवा नेतालाई प्रधानमन्त्री मानेकै छाैं । राष्ट्रिय युवा नीतिअनुसार अठारदेखि पैंतीसकाे उमेरलाई युवा ठानेकै छाैं । युवा तिम्राे हुङ्कारलाई हामीले पनि जानेकै छाैं । ”
विषम परिस्थितिका बेला विषयवस्तुले नकारात्मक माेड लिन्छ कि भन्ने लाग्याे । तसर्थ हितैषीलाई वास्तविकता उजागर गर्ने हेतुले सम्झाउन मन लाग्याे र त्यसै गरें –
“हेर ! याे एकअर्कालाई दाेष लगाउने समय हाेइन । भदाै १० काे भाेटेकाेशीकाे बाढीका कारण देश शाेकमा डुबेकाे छ । प्राकृतिक प्रकाेप र दैवी संकटलाई राजनीतिक रङ्ग नदेऊ । देशलाई संकट परेका बेला ३५ वर्षका कमजोरी मात्रै नलेऊ । पैंतीस वर्षका कमजाेरी रहेछन् भने पनि तिमीले निरन्तरता नदेऊ । आऊ अब मिलेर जाओैं । देशबासीका दुःखेका मनका घाउहरूमा मल्हम लगाओैं । देशलाई शान्त र समृद्ध बनाओैं । आफ्नो देश आफै बनाओै । अबकाे ३५ वर्षमा नेपाललाई जुरुक्क उठाओै ।”
“अरूलाई फकाउन र फसाउन तिम्ले जति कस्ले जानेकाे छ र ?” भन्दै हितैषीले आफ्नाे बाटाे तताए । हितैषी नै हिडेपछि मेराे कुरा नै के रह्याे र ? अब कुराकाे बिट माराैं है !
पैंतीसका कुरासँग जाेडिएका विषयवस्तु र मेराे प्रस्ताव पाठकलाई कस्ताे लाग्याे कुन्नि ? विचार ठिक लागे पुरानाे पुस्ताकाे अनुभव र नयाँ पुस्ताकाे जाेश अनि जाँगरलाई मिलाएर अगाडि बढाए कसाे हाेला ? जसाे ठिक हाेला त्यसै भन्नू हाेला। जान्नेलाई राम्राेसँग छान्नु हाेला । छानेकालाई आत्मसंयमता अपनाउन भन्नुहाेला । पाका पुस्ताबाट अनुभव लिएर कसैकाे कद घट्दैन । नजान्नेलाई जान्ने बनाउने काम पाकाकाे हाे । खाली हाेडलाे उठाउने काम डाँकाकाे हाे । भित्र बाहिर गर्न नसक्नेले अभिभावकत्व गरेकै राम्राे हाेला । आफ्नै भाइ छाेराहरूलाई चिढ्याउन हाल्दा वृद्धाश्रममा लगेर फाल्लान् हेक्का राख है । पार्टी र देश चलाउने ठेक्का आर्यघाटसम्म नपुर्याएकै जाती ।
जवानीकाे जाेश बाेकेका युवाहरू हाे ! वनस्पतिका ठेट्नाहरूमा लागेका भेट्नाहरू दिन ढल्दै गएपछि गल्दै जान्छन् । गल्दै गएकाहरू ढल्दै जान्छन् । शाश्वत सत्यलाई सबैले स्वीकाराैं । आफू त परियाे पैंतीस काटिसकेकाे मान्छे । पैंतीसभित्रका भाइ /छाेराहरू र पैंसट्ठी पारिका दाइ/ बाहरूकाे जाे विचार !
०००
२०८३ भाद्र १९ श्रीकृष्ण जन्माष्टमी
रेसुङ्गा न पा २, गुल्मी ।
Subscribe
Login
0 Comments
Oldest







































