साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाइराइड हास्यव्यङ्ग्य पुरस्कार कसरी जित्ने ?

आँटेर लेख्नुहोस् । पुरस्कार पाए त नाम र अलिकति दाम पनि भयो, नपाए पनि "मेरो के नै जान्छ र ? कोसिस त गरौँ" भन्ठानेर लेख्नुहोस् ।

Nepal Telecom ad

राजेन्द्र कार्की :

‘बाङ्गा अक्षर’ले २०८३ को खाइराइड हास्यव्यङ्ग्य पुरस्कारका लागि निबन्ध आह्वान गरेको छ । यो प्रतियोगितामा विद्यालय तहमा अध्ययनरत विद्यार्थीले सहभागी हुन पाउँछन् ।

खाइराइड हास्यव्यङ्ग्य पुरस्कार ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहको नामबाट राखिएको हो । यो पुरस्कारको उद्देश्य विद्यालय तहका विद्यार्थीहरूलाई हास्यव्यङ्ग्य लेखनप्रति अभिप्रेरित गर्न र नेपाली हास्यव्यङ्ग्य साहित्यको जगलाई थप बलियो बनाउनु हो । आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा र हास्यव्यङ्ग्यकार भैरव अर्यालले रोपेको नेपाली हास्यव्यङ्ग्य साहित्यको बिरुवालाई यसले थप मलजल गर्ने अपेक्षा गरिएको छ ।
नेपाली हास्यव्यङ्ग्य साहित्यको भविष्य नयाँ पुस्ताको हातमा छ । स्कुल तहबाटै बालबालिकालाई यस विधामा आकर्षित गर्न सकिएन भने भोलि यो साहित्यिक विधा कमजोर हुने मात्र होइन, भाषा नै मरेर जाने सम्भावना हुन्छ । यसर्थ, यो पुरस्कारको स्थापना गरिएको हो ।

खाइराइड हास्यव्यङ्ग्य पुरस्कार चार जनालाई प्रदान गरिनेछ । पुरस्कारको राशि प्रथम रु २०,००० (बीस हजार), द्वितीय रु १०,००० (दस हजार) र तृतीय (दुई जना) जनही रु ५,००० (पाँच हजार) हुनेछ । तर यो पुरस्कार कसरी जित्ने ?
पुरस्कार जित्ने उपाय छ । ती उपायहरू के-के हुन् ?
१. विषयको छनोट: विषयको छनोट गर्दा आफ्नै जीवनवरिपरिका विषय वा घटनालाई छान्ने । आफ्नै स्कुल, घरपरिवार र समाजका विषयमा लेखियो भने त्यो मौलिक हुन्छ; किनकि त्यो विषयमा अरूले लेख्न सक्दैनन् । त्यसरी छनोट गर्दा कम्तीमा पाँच वटा विषयलाई छान्ने र ती विषयमा उपलब्ध सामग्री अध्ययन गर्ने । ती पाँचमध्ये आफूलाई छुने खालका कम्तीमा दुई विषय छनोट गर्ने । ती विषयका राम्रा-नराम्रा पक्षको खोज गर्ने र विकृति-विसङ्गतिहरू छन् भने त्यसलाई नोट गर्ने । ती विषयलाई आफ्नो जीवन र समाजका परिवेशसँग जोड्ने । त्यस्ता विषयमा आफ्नो परिवेश र सन्दर्भलाई जोड्दा लेखिएको निबन्ध मौलिक बन्छ ।

२. विचार र दृष्टिकोण: छानेको विषयमा विचार, दर्शन र दृष्टिकोण बनाउने । निबन्धलाई बलियो र कालजयी बनाउने तत्त्व विचार र दर्शन नै हो । घटना र परिवेशसँगै विचार र दर्शन जोड्ने; विचार र दर्शन भएन भने घटना र परिवेश हराएसँगै त्यो निबन्ध पनि हराएर जान्छ । साथै, विषयलाई सतही रूपमा नहेरी गहिरिएर आलोचनात्मक दृष्टिकोण (Critical Thinking) र व्यङ्ग्यात्मक दृष्टिकोणले हेर्ने र सोच्ने ।

आलोचनात्मक दृष्टिकोण के हो ? जस्तै: अलि बढी सुत्ने मान्छेलाई ‘कुम्भकर्ण’ भनेर गाली गर्ने पुरानो चलन छ । सुत्नु आफैँमा खराबी हो कि होइन ? यो विषय निद्रासँग सम्बन्धित छ । निद्रा त स्वास्थ्यका लागि अनिवार्य तत्त्व हो । ननिदाउँदा मान्छेको स्वास्थ्यमा के-कस्तो असर पर्छ ? अब कुम्भकर्णको विषय निद्रा-विज्ञानसँग गएर जोडियो । सायद चोर पनि राति निदाउँथ्यो भने त समाजमा चोरी हुने थिएन होला । फेरि धेरै सुत्दा विद्यार्थीको त पढाई विग्रेला? यसरी विषयको झिल्कोलाई आगो बनाउने र डढेलोका रूपमा फैलाउने । पक्ष विषक्षका विषयमा आफ्नो विचार र दृष्टिकोण राख्दै जाने र विषयलाई बढाउदै लाने ।

छानिएको विषयवस्तुलाई उपविषय जोड्दै तन्काउने । मानौँ, तपाईं खाना पकाउँदै हुनुहुन्छ । भात पकाउने भए चामल चाहियो, रोटी पकाउने भए पिठो चाहियो, तरकारी चाहियो । कुन तरकारी खाने, तरकारीमा कति नुन-भुटुन हाल्ने भन्ने कुरा जुटाउनुपर्यो । अनि मात्र तपाईं खाना पकाउन सक्नुहुन्छ । नत्र भान्सामा ती सामग्री नजुटाई खाना पकाउन बस्नुभयो भने के हुन्छ ? खाना त पाक्दैन, बरु त्यो आफैँमा एउटा हास्यव्यङ्ग्य हुन्छ ।

३. भाषा र शैली: हास्यव्यङ्ग्यमा शैलीको विशेष महत्त्व हुन्छ । हास्यव्यङ्ग्य निबन्धमा त झन् बढी महत्त्व हुन्छ । फेरि गाली गर्नु व्यङ्ग्य होइन । हास्यका नाममा विषय र प्रस्तुतिसँग पटक्कै मेल नखाने फन्टुस कुरा पनि हास्यव्यङ्ग्यको पाटो होइन । त्यसैले भाषा र शैलीले विषय, विचार र दर्शनलाई न्याय गर्नुपर्छ । तसर्थ, सिधै भन्ने वा लेख्ने होइन; व्यङ्ग्यात्मक भाषा प्रयोग गर्ने र अलि रोचक तथा रमाइलो पारामा लेख्ने ।

४. प्रस्तुति: हास्यव्यङ्ग्य निबन्धमा सकेसम्म जनबोली, उखान, तुक्का, लोकभाका, कथा-उपकथा जोड्दै रमाइलो पारामा व्यङ्ग्यात्मक भाषाशैलीमा लेख्ने । अनुप्रास मिलाउन सके निबन्धमा झन् मिठास थपिन्छ, तर कृत्रिम अनुप्रासले निबन्ध सलल बग्न सक्दैन । प्रस्तुति सलल बगेको र पाठकलाई मुसुमुसु हसाउँदै ‘अब यसपछि के ?’ भन्ने कौतूहलता जगाउने हुनुपर्छ । जनबोली, लोकभाका र उपकथा जोडेर रमाइलो पारामा लेखिएको हास्यव्यङ्ग्य निबन्ध पाठकलाई पढौँ-पढौँ लाग्छ र पढ्दा-पढ्दै बीचमै छाड्न मन लाग्दैन । अर्थात्, त्यो निबन्धले पाठकलाई बाँधेर अन्त्यसम्म पुर्याउँछ ।

५. निजात्मकता: निबन्ध जति निजात्मक भयो, उति नै प्रभावकारी हुन्छ । निजात्मक भन्नेबित्तिकै आफ्नै जीवन र समाजवरिपरिका घटना, परिवेश र सन्दर्भ हुन् । ती परिवेश र सन्दर्भलाई विषयको वरिपरि घुमाउने, उपकथा वा उदाहरणका रूपमा लेख्ने । त्यसमा दृष्टिकोण बनाउने, आफ्नो विचार राख्ने र दर्शन जोड्ने । यसरी लेख्दा इतिहासका सन्दर्भहरू जोड्न सकिन्छ, उखान-तुक्का र उपकथा जोड्न सकिन्छ । त्यसले गर्दा निबन्ध प्रभावकारी र विश्वसनीय बन्छ ।

अन्तिम, तर महत्त्वपूर्ण कुरा:
हास्यव्यङ्ग्य निबन्धहरू पढ्नुहोस् । भैरव अर्याल, रामकुमार पाँडे, लक्ष्मण गाम्नागे लगायतका हास्यव्यङ्ग्यकारका निबन्धहरू पढ्नुहोस् । हास्यव्यङ्ग्य निबन्धहरू ‘खाइराइड’का केही निबन्धहरू साहित्यपोस्ट र फित्कौलीमा पनि छापिएका छन्, ती पनि पढ्नुहोस् । फित्कौली लगायतका पत्रपत्रिकाका राम्रा र आफ्नो रुचिका हास्यव्यङ्ग्य निबन्ध पढ्नुहोस् । सक्नु हुन्छ भने हास्यव्यङ्ग्य निबन्धका पुस्तक पढनुहोस् र विद्यालयलाई पनि पुस्तकालयमा राख्न भन्नुहोस् । मोवाईलमा बिताउने समय घटाउनुहोस् । त्यसरी पढेपछि तपाईंलाई हास्यव्यङ्ग्य निबन्ध कसरी लेख्ने भन्ने आत्मविश्वास बढ्छ ।

निबन्धको शीर्षक नै पाठकको ध्यान खिच्ने पहिलो ढोका हो। त्यसैले विषयवस्तुसँग मिल्दो र अलिकति व्यङ्ग्यात्मक तथा रोचक शीर्षक छान्नुहोस्। एकै पटकमा लेख्न सक्नु भएन भने पटक पटक लेख्नुहोस् । लेखिसकेपछि कम्तिमा तीन पटक आफै पढ्नुहोस् । एआई पटक्कै प्रयोग नगर्नुहोस् । एआईको भाषा र लेखकको भाषा पाठकले त थाहा पाउछन् भने विज्ञ मूल्यांकनकर्ताले थाहा नपाउने भन्ने नै हुँदैन । साथै, लेखिसकेपछि हिज्जे र व्याकरण सच्याउनुहोस्।
आँटेर लेख्नुहोस् । पुरस्कार पाए त नाम र अलिकति दाम पनि भयो, नपाए पनि “मेरो के नै जान्छ र ? कोसिस त गरौँ” भन्ठानेर लेख्नुहोस् ।

०००
क्यानाडा

खाइराइड पुरस्कारका लागि निबन्ध आव्हान सम्बन्धी बाङ्गा अक्षरकाे सूचना-समाचार हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुस् :

खाइराइड हास्यव्यङ्ग्य पुरस्कार- २०८३ का लागि निबन्ध आह्वान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दङ्ग जनावर

दङ्ग जनावर

राजेन्द्र कार्की
श्री ३ चटके

श्री ३ चटके

राजेन्द्र कार्की
म ट्वाँ परेँ

म ट्वाँ परेँ

राजेन्द्र कार्की
के को नयाँ वर्ष !

के को नयाँ वर्ष...

राजेन्द्र कार्की
तर खाइराइड लागेपछि…

तर खाइराइड लागेपछि…

राजेन्द्र कार्की
म लुते

म लुते

राजेन्द्र कार्की
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
सञ्जालको जाल : कालको द्वार

सञ्जालको जाल : कालको...

फित्काैली डटकम
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
चुपचाप

चुपचाप

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x