रामप्रसाद पन्थीमोबाइलको ठाँडो
जसरी हुन्छ ईश्वर, मलाई मोबाइलको ठाँडोबाट चाँडो अलग गराइदेऊ । सामाजिक सञ्जालको जालोबाट मुक्त गराइदेऊ ।
रामप्रसाद पन्थी :
जो होचो उसका मुखमा घोचो भन्ने लोकोक्तिले पनि मेरै लोकतो काढेर छाड्यो । जसले जे भन्यो उसकै कुरा पत्याउँदा दुःख मात्रै पाइँदो रहेछ । त्यसैले जीवनमा अलिकति आफ्नै अक्कल चाहिँदो रहेछ । अरूको देखासिकी गर्दा तीन बल्ढ्याङ् खाइँदो रहेछ । जे पर्ला पर्ला आज भएका कुरा खुलेर भनिन्छ । कि विद्वान बनिन्छ कि बहुला भनिन्छ । अरूका कुरा काटे पो कुरौटे भइएला आफ्नै कुरा काटे कसलाई खसखस ? लुतो भए न चिलाउने ।
आफू त परियो सोझो मान्छे । हुन त कसैले आजसम्म आफूलाई बाङ्गो भनेको सुनेको छैन । जस्तोसुकै लुच्चो र छुच्चोले पनि आफूलाई सोझो भनेकै हुन्छन् । चाहे कट्टु लगाउने फेसन डिजाइनर होस् चाहे लुङ्गी लगाउने छट्टु साधु, सबैले अरूलाई उल्लु बनाएको देखेको छु । देखेको मात्रै हो र ?आफैले भोगेर यो सब लेखेको छु ।
मोबाइल चलाउन सुरू गरेपछि सुरूसुरूमा रिङ् टोनमा गीत सङ्गीत राख्ने चलन आयो । एकजना जजमानले गायत्री मन्त्र रिङ् टोनमा राखिदिए । केही छिन् त राम्रै लाग्यो । फोन आउँदा रमाइलै भयो । रिङ् टोनमा गायत्री मन्त्र राखिदिने जजमानलाई खुलेरै आशिष दिएँ । एकछिन् पछि टट्टी जानुपर्ने अवस्था सिर्जना भयो । प्रचलन अनुसार टट्टी बस्नु अघि कानमा जनै झुन्डाएकै थिएँ । इस्टकोटको खल्तीमा भएको मोबाइलले गायत्री मन्त्र गाइहाल्यो । यता मलाई ठूलै आपत् आइलाग्यो । टट्टी गर्ने कि फोन उठाउने ? फोन नउठाउँ गायत्री मन्त्र बजिरहने, उठाउँ टट्टी बसेका बेला कसरी कुरा गर्ने ? बाहिर बसेकाले के भन्लान् ? भन्ने डरले फोन काटिदिएँ ।
तारन्तार फोन आइरहेपछि, फोनले गायत्री मन्त्र गाइरहेपछि धर्मनाश गर्नुभन्दा मोबाइलकै सत्यानाश गरिदिएँ । यता फोन फुटाइसकेपछि हस्याङ्फस्याङ् गर्दै नाति केटो चिच्याउँदै आयो । घरमा बाबालाई दैवले टिपेछ । त्यसैकारण आफन्तले तारन्तार फोन गरेका रहेछन् । झन् फोनै फुटाएपछि सम्पर्क पनि टुट्यो । यस दिन एकैछिनमा मोबाइल फोनमा राखेको रिङ् टोनले मेरो भाग्य नै लुट्यो । बाबाको अन्तिम अवस्थामा अन्तिम सास फेला पार्न सकिएन ।
हाम्रा पालामा गायत्री मन्त्री अरूले सुन्ने गरी भन्नु हुँदैन भन्थे । आफूले गुरूबाट कानमा खुसुखुसु गर्दै सुनियो । त्यतिबेला कानमा गुरूले सास फेरेको बाहेक बोलेको अक्षर बुझिएको थिएन है । आफू त सानैदेखि अकडो मान्छे परियो । अकडोलाई टेढो अर्थमा नबुझिदिनुहोला । मेरो स्वभावका हिसाबले बढी सोझो । गुरूलाई भनिदिएँ-
मैले त केही पनि बुझिनँ है ।
आवाज अरूले सुन्लान् भनेर सुस्त भनेको लाटा । म लेखेर दिइहाल्छु नि । भन्दै गुरूले लेखेर दिएपछि ढुक्क भइयो । पछि त आफै गुरु भइयो । धेरैलाई आफूलाई गुरूले सुनाए जसरी नै गायत्री मन्त्र सुनाइयो । पछि रेडियो, टिभीले बाहिर बाहिरै गायत्री मन्त्र फलाक्न थाले । हामीलाई पनि बिस्तारै बानी पर्दै गयो । धार्मिक विचारलाई गुम्साएर राख्नु हुँदैन भन्ने भावना जागृत हुँदै गयो । त्यसैले मोबाइल खेलाउन थालेपछि रिङ् टोनमा गायत्री मन्त्र राख्न दिइयो । ठाउँ न कुठाउँ मन्त्र प्रयोग गर्दा पाइने फल चाखियो । चेतना पनि लिइयो ।
किरिया बसेको कुनाभरि फोनको ठाँडो चाहिएन । छोराछोरी साथमै छँदा ठिकै थियो । केही समयपछि उनीहरूले डाँडो काटेर जाने भए । जाँदाजाँदै सानी छोरीले भनिन्- बाबा, हामी विदेश गएपछि तपाईंसँग कसरी सम्पर्क गर्ने ? एउटा राम्रो फोन किन्नुहोला। म कमाउने भएँ भने पैसा पनि पठाइदिन्छु । छोरीको कुरा सुनेको नसुने झैं गरेँ । पछि जजमानहरूले पनि सम्पर्क गर्न समस्या भएको भनेर करकर गर्न थाले । आखिरमा एउटा मोबाइलको भाँडो नकिनी सुख भएन ।
तीस हजार हालेर महङ्गो मोबाइल किनेपछि मन त्यसै त्यसै फुरूङ्ग थियो । त्यसमाथि ओैँला लतारेर चलाउन पाइने । वाइफाइ जोडेर भिडियोमा कुरा गर्न पाइने । अरू के के हो…? थुप्रै विशेषता ।
मलाई दोस्रो पटक पनि मोबाइलले धोका दियो । टट्टी बसेकै बेला राष्ट्रिय गान बजाइदियो । एउटा सच्चा राष्ट्रभक्तलाई परेन फसाद ? टट्टी गर्ने कि जुरुक्क उठ्ने ? यसबेला पनि झोंक नउठेको होइन् । रिसले आफ्नै क्षति हुने भएपछि फोनको स्विच अफ गरिदिएँ। मोबाइल बन्द गरेर टट्टी त सिध्याएँ । मोबाइलको स्विच अन गर्न ओैँलालाई आदेश दिँदै गर्दा मनले रोक्यो । मोबाइलबाट रिङ् टोनमा रहेको राष्ट्रिय गान नहटाएसम्म स्विच अन अहिले गर्नु हुँदैन । स्विच अन गरेर बाटामा हिँड्दै गरेका बेला पिसाबले च्याप्यो भने ? मैले पिसाब फेरिरहँदा कसैले मलाई सम्पर्क गर्न आफ्नो मोबाइलमा अङ्क च्याप्यो भने ? यस किसिमको आशंकालाई लंका कटाउने उद्धेश्यले सरासर मोबाइल पसलमा पुगेर रिङ् टोनबाट राष्ट्रिय गान हटाउन लगाएँ ।
मोबाइलमा अतिरिक्त रिङ् टोन नभएकोमा ढुक्क भएको यो ज्यानले तेस्रो पटक पनि झापड खायो । एकजना ठूलो घरानाका घरमा शोक सभा चल्दै थियो । यही बीचमा सबैलाई आआफ्नो ठाउँमा उभिएर एक मिनेट मौन धारण गर्न भनियो । मौन धारण चलिरहेकै बेलामा मोबाइलको ठाँडो ड्वाँ कि ड्वाँ गरेर करायो । मौन धारणमा स्थिर रहेको शरीर कसरी चलाउने ? शरीर नचलाइकन मोबाइल शान्त कसरी गराउने ? कम्ता अप्ठ्यारो पर्यो ?
मलाई थाहा छ, तपाईंले भन्नुहुन्छ- यस्तो बेलामा साइलेन्ट मोडमा राख्नुपर्छ ।
मैले त्यसो नगरेको होइन । यसरी साइलेन्ट मोडमा राख्दाका कथा र व्यथा मलाई नै थाहा छ । यसरी धेरै दिन साइलेन्ट मोडमा राख्दा मोबाइल कराएको र हराएको होसै भएन । त्यसपछिका दिनमा साइलेन्ट मोडमा राख्न छाडेको व्यहोरा अवगत गराउन चाहन्छु ।
दिनहरू बित्दै गए । गाउँमा चुनावी चहलपहल चल्दै थियो । एकदिन फेरि अचम्मको घटना घट्यो । फोनको म्यासेन्जर बक्समा भ्वाइस म्यासेज थियो । कसको म्यासेज होला भनेर थिचेको त आवाज आइहाल्यो- नमस्कार । म फलानो…. पार्टीको उम्मेदवार । देश र जनताको सुख र समृद्धिका लागि आफ्नो अमूल्य मतदान प्रदान गर्नुहुन अनुरोध गर्दछु । पटकपटक मन्त्री बनिसकेको मान्छेले यसरी म्यासेज गर्दा बढो अचम्म लाग्यो । गाउँका मान्छेहरूलाई आफूलाई फलानोले यसरी म्यासेज गरेको भनेर फूर्ती लगाएँ । मेरो कुरो दङ्ग परेर सुन्लान् भनेको उल्टो गलल्ल हाँसे । मलाई पङ्गु बनाए । कुरो बुझ्दै जाँदा मोबाइलले मैलाई लङ्गुर बनाएको रहेछ । मन्त्री महोदयको म्यासेज गाउँभरिका मान्छेहरूलाई रहेछ । यस घटनाले केही दिनसम्म गाउँलेहरूका नजिक गएर गफ गर्न पनि आफैलाई लाज लागेर आयो ।
एक दिन विदेशमा रहेकी छोरीले मोबाइल बैंकिङ् बनाउन भनिन्, मैले त्यसै गरें । फेसबुक आइ. डी. बनाउन भनिन्, मैले त्यसै गरेँ । छोरीको फेसबुक आइ. डी.बाट आफू अप्ठ्यारोमा परेको र तुरुन्त बीस लाख चाहिएको खबर आयो । बारी बेचेर तोकिएको खाता नम्बरमा पैसा हालिदिएँ । त्यसै दिन बेलुका छोरीको फोन आयो । मैले हत्त न पत्त बीस लाख पठाएको कुरा गर्दै भनेँ- छोरी तिम्रो समस्या समाधान भयो ?
छोरीले भनिन्– बाबा, मैले पैसा पठाउन भनेकै छैन । मलाई कुनै समस्या परेकै छैन । लौ बित्याँस पर्यो । कुन चाहिँ बदमासले फेसबुक आइ डी ह्याक गरिदिएछ । लौ बाबाको सर्वस्व पारिदिएछ । छोरीको कुरा पूरा हुन नपाउँदै म इन्तु न चिन्तु भएछु । कस्सो घाटतिरै गएनछु ।
फेसबुक ह्याकरका बारेमा खोज्दै जाँदा पछि मान्छे पत्ता लाग्यो । मेरो सर्वस्व पार्ने आफ्नै सालो रहेछ । किटानी जाहेरी गरेपछि पुलिसले खोरमा जाक्यो । आफू त्यस्तै अप्ठ्यारोमा परेर बदमासी गरेको भनेर पुसिसका अगाडि भाक्यो । पैसा हिनामिना भइनसकेको कुरा मेरा सामुन्ने राख्यो । पैसा सबै फिर्ता गर्छु भनेपछि मैलाई टिठ लाग्यो । पुलिसलाई छोडिदिन आग्रह गरेँ । पुलिसले नियम अनुसार हुने बताएपछि म फर्किएँ ।
मोबाइलले विभिन्न तरिकाले मेरो जीवनमाथि खेलबाड गरिरह्यो । जुवाडेलाई लागेको जुवाको लतजस्तै मोबाइलमा लत लागिसक्यो । अँध्यारोको लाइट यहीँ, साइत हेर्ने पात्रो यहीँ । रेडियोको काम यसैले गर्ने । टेलिभिजनको काम यसैको । कोठे टेलिफोन किन चाहियो ? जहाँबाट पनि अनलाइनमा हेलो भन्न पाइयो । हिसाब गर्न परे क्यालकुलेटर यहीँ । पैसा झिक्नु परे खुत्रुके यहीँ । एउटै भाँडाभित्र विश्व ब्रह्माण्ड पाएपछि के चाहियो ? मायाजालमा परेपछि जस्तीसुकै कुचुप्री पनि विश्व सुन्दरी देखिन्छन् रे । ठीक त्यस्तै गहिरो लभ पर्यो बुढेसकालमा । बुढी परलोक गएपछि, साथमा सन्तान नभएपछि सहारा बनेकी छिन् मोबाइल रानी । धुत्न, थुत्न र लुट्न बाहेक केही जानेकी छैनन् । फकाई फकाई खर्च गराइरहन्छिन् । मसँग परम्परावादी भनेर कराइरहन्छिन् । आफू जेन्जी र अल्फासित हराइरहन्छिन् । अल्गोरिदमको जालोभित्र यसरी राखेकी छिन् कि स यिनका सबै कुरा हो कि ? हो कि ? लाग्छ । जब तन्द्राबाट मस्तिष्क जाग्छ, सारा कुरा अस्तव्यस्त लाग्छ । चित्त बुझ्दैन । मनले मान्दैन । आफ्ना विचार सामाजिक सञ्जालमा राख्छु । अन्टासन्टा गालीको बाढीले भोटेकोशीको रौद्र रूप धारण गर्छ । एकैछिनमा सारा विचार, दर्शन र योजनाहरू तहसनहस पार्छ । क्षणभरमै वर्षौंको आस्था र विश्वासहरू सत्यानाश गर्छ ।
पहिले पहिले मोबाइलभित्र मान्छेको शिरमा जनावरको ढाड देख्दा वैदिक युग भित्रिएको महसुस भएको थियो । पुराणमा उल्लेख भए अनुसार विभिन्न कालखण्डमा भगवानले, मत्स्य, बराह, कूर्म, नरसिंह आदि अवतार लिएको सुनेको थिएँ । शिवजीले गणेशजीको शिर हात्तीको र दक्ष प्रजापतिको टाउको बोकाको बनाइदिएको कथा सुनेकै हो । आफैले पनि सुनाएकै हो । आजभोलि सामाजिक सञ्जालहरूमा त्यस्तै दृश्य र परिदृश्य देखिएकै छन् । अनेकौँ जनावरका ढाडसित परिचित मानिसहरूका शिर जोडिने क्रम बढेको छ । यी आकृतिहरू देवताका हुन् या दैत्यका ? भ्रमित भएको छ मेरो मन ।
आज भोलि कृत्रिम बौद्धिकता (AI) ले तरङ्गित गराइदिएको छ मेरो मनलाई । सामाजिक सञ्जालमा आएका खबरलाई केमा कसी लगाउने ? नम्बरी सुनलाई पो कसी लगाउनु पर्दैन । सबै कुरा दुई नम्बरी भएपछि कुन् कुन् कुरामा कसी लगाउने ? जुन कुरा साँचो होला भनेर पत्यायो त्यहीँ झुटो ठहरिन्छ । झुटो होला भनेर विश्वास नगरी बस्यो त्यसैले बर्बाद बनाइदिन्छ । अस्ति भदौ १० मा यस्तै भयो । भोटे कोशीको बाढीलाई ए आइ ठान्दा यो बुढो ज्यान कस्सो गएन उर्लदो भेलसँगै । हे भगवान्, टिक्टक बनाएर भाइरल हुन्छु भन्नेहरू कतिलाई झुक्क्यायो यहीँ ठाँडाले ।
जे नहुनु थियो भइसक्यो । कलिलो बालापन, भर्भराउँदो जवानी र मस्किएको बैँस गइसक्यो । अब त घरले जाजा र वनले आइज भन्ने उमेर भइसक्यो । रातदिन मोबाइलमा घोप्टिदा ढाड कुप्रियो । आँखा धमिला भए । अझै पनि यसकै सङ्गत गर्ने हो भने, यसकै भर पर्ने हो भने कतिबेला कुन भङ्दालोमा पारिदिने हो रु थाहा छैन । लौन प्रभु, कसो गर्ने हो ? जसरी भए पनि आधुनिक प्रविधिले भित्र्याएको मोबाइलको सङ्गतबाट छुटाइदेऊ । सके कानुनी प्रक्रियाबाट डिभोर्स गराइदेऊ नभए तलाक गराइदेऊ । जसरी हुन्छ ईश्वर, मलाई मोबाइलको ठाँडोबाट चाँडो अलग गराइदेऊ । सामाजिक सञ्जालको जालोबाट मुक्त गराइदेऊ ।
०००
२०८३ भाद्र २९, हरितालिका तीज
रेसुङ्गा न. पा. २, गुल्मी
Subscribe
Login
0 Comments
Oldest






































