होम सुवेदीनाङ्लो पेन्टिङबाट कार्यक्रमको आरम्म र समाप्त
अब फाइँफुट्टीराजबारे जान्ने मान्छे एक जना रामकुमार पाँडे मात्र हुनुहुन्छ । उहाँले जानकारी दिनुपर्छ । कि अरू पनि कोही हुनुहुन्छ ?
हाेम सुवेदी :
जगदम्बा प्रेसमा २०२९ साल चैत्र २० गतेदेखि म नियुक्त थिएँ भनूँ । २०३० साल वैशाख १ गते कौवा प्रकाशनले पहिलो हास्यव्यङ्ग्य सम्मेलन मनाउने तयारी गरिरहेको थियो । मास्टर साहब अराउनु हुन्थ्यो । केके केके मैले गरिरहनु परेको थियो । उहाँका घरमा म जस्तै अर्को साथी विद्यासागर थिए तर म प्रेसतिर मात्र थिएँ । कमलबाबुले पत्याइहाल्नुभएको थिएन । दस बार दिनमै के पत्याउनु पनि । तर मलाई वासुदेव मास्टर साहबले भने थोरै अवधिभित्रै रुचाएको बुझिन्थ्यो ।
उहाँको कौवा प्रकाशनले त्यो सम्मेलन गर्न लागिरहेको थियो । उहाँ जगदम्बा प्रेसको म्यानेजर म उहाँको नयाँ सहयोगी । जेजे अराउनुहुन्थ्यो म फटाफट गर्थेँ । उहाँको काम सघाउने ठिटो । जोडतोडले काम हुँदाहुँदै काम अचानक जिम्लियो राजदरबारको कोही नारी सदस्य परमधाम गएको कारण । १२ गते वैशाख मनाउने गरी कार्यक्रम सारियो । त्यसरी रोकिए तापनि राष्ट्रिय सभागृहमा २०३० वैशाख १२ गते पहिलो हास्यव्यङ्ग्य सम्मेलन भव्यताका साथ सम्पन्न भएको थियो ।
पर्दामा झुन्ड्यएको र छोपिराखेको नाङ्लोमा थालनी लेखेको पट्टी खोलेर कार्यक्रम सुरु भएको थियो । टिकट लाइएको थिएन । हामी सहयोगीहरू राष्ट्रिय सभागृहको पछिल्लो पङ्क्तिबाट मस्तसँग उक्त कार्यक्रम हेरिरहेका थियौँ । सो कार्यक्रममा वाचन गरिएका र प्रेषण गरिएका रचनाहरू नै “भालुपुराण” मा छापिएका छन् । श्रीधर खनालको “पुण्याहवाचन” ले हलमा हाँसोको छहरा छुटेको थियो । अरू रचनाहरू पनि उस्तै थिए ।
कतैकतै यदाकदा कार्यक्रमहरूको थालनी नाङ्लोको एकातिर “थालनी” लेखेर अनि अर्कातिर “समाप्त” लेखेर गर्ने गरेको देखिन्छ । यो परम्पराको आरम्भ नै त्यहीँबाट भएको हो । वासुदेव माष्टर साहबको दिमागी सोच नै हो नाङ्ले आरम्भ अन्तको कुरा । त्यहाँको थालनी र अन्त गरिएको नाङ्ले लेखन टेकवीर मुखियाज्यूले लेख्नु भएको थियो ।
कार्यक्राम सकिएपछि मास्टर साहब नै उक्त नाङ्लोलाई कुदेर गएर पल्टाउनु भएको यो । सबैले नाङ्लाका पछिल्तिर समाप्त लेखेकाे देखेका थिए र कुरा बुझेका थिए । यो परम्परा यस अघि पनि थियो भने भन्नु हुनेछ जानकारहरूले ।
कतै कतै अचेल भोलि पनि कार्यक्रमहरूको थालनी नाङ्लोको एकातिर “थालनी” लेखेर अनि अर्कातिर “समाप्त” लेखेर अनि सो देखाएर आरम्भ अन्त गर्ने गरेको देखिन्छ । यो परम्पराको थालनी त्यहीँबाट भएको हो ।
श्रीधर खनाल, बालमुकुन्ददेव पाण्डे, श्याम गोतामे, भीमनिधि तिवारी, केशवराज पिँडाली, भैरव अर्याल लगायतलाई पहिलो पटक प्रत्यक्ष देखेको मैले त्यहीँ हो । रामकुमार पाण्डे दाताराम शर्मा र लीलाध्वज थापा त नित्य दिउसो घाम ताप्न र चिया पिउन अनि हामीसँग गफगाफ गर्न प्रेसमा आइरहनुहुन्थ्यो ।
त्यो बेला “उल्लीबिल्ली” पुस्तक छापिँदै थियो जगदम्बा प्रेसमा । मास्टर साहबले कुन हेतुले हो चारु प्रेस नाम दिएर यसलाई छपाउनुभएको छ । मलाई चारु प्रेस भए जस्तो लाग्दैन । कि बालमुकुन्दकाे पुतली सडकको प्रेसको नाम चारु पो थियो कि ।
म हेर्थेँ प्रुफ । हाँसिहासीँ बेलाबेला रालसिँगान निस्कन खोज्थ्यो प्रुफ हेर्दा । यो “उल्लिबिल्ली” को बहिर्वार्ता लिने फाइँफुट्टीराज भनेको को हो मास्टर साहब भनेर डराइडराई एक दिन मैले सोधेको थिएँ । उहाँले खुलासँग भन्नुभएन । “श्रीधर खनाल हो मास्टर साहब ?” फेरि सोधेको थिएँ । फेरि पनि आलेटाले मात्र गर्नु भएको थियो । अनि मैले अनुमान गरेको थिएँ सायद “रमिता” पत्रिका जसले निकाल्यो उही हुनु पर्छ ।
उत्कृष्ट हास्य र विशिष्ट व्यङ्ग्यका धनी फाइँफुट्टीराज को हुन् त मेरो मनमा अझ पनि प्रश्न छँदैछन् । उत्तर दिने को होला ?
अब फाइँफुट्टीराजबारे जान्ने मान्छे एक जना रामकुमार पाँडे मात्र हुनुहुन्छ । उहाँले जानकारी दिनुपर्छ । कि अरू पनि कोही हुनुहुन्छ ???
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































