पुन्य कार्कीकुकुर भुके हजार !!
तीनकरोड नागरिक भएको देशमा सक्कली भुस्याहा कुकुरको संख्या अढाइ करोड छ अरे । कुकुरमा धनी देश रहेछ नेपाल । नरदेहका भुस्याहा कति होलान् ?
पुण्य कार्की :
“कुकुर भुके हजार ! हात्ती चले बजार !!” आज मलाई गोबिन्द गुरुको यो आप्तवाणी खुब याद आइरहेछ । गुरुलाई उहाँका विषयमा कसैले कन्ना पछाडि कुरो काटिरहेको कुरा सुनाइदिँदा “मेरो सामु नपरी लुकेर कुरा काट्नेले के नाप्छन् !” भन्दै यही उखान बारबार दोहोर्याइ रहनुहुन्थ्यो । तर, यो उक्ति आज आएर मेरा लागि पनि एक उपयोगी अश्त्र बनेको छ । गुरु बितेर गएको कति वर्ष भैसक्यो ! तर उखान उहाँबाट मेरो मुखमा बसाइँ सरिसकेको छ । कुकुर तिहारका दिन त्यही उखानको बखान गाउने सुयोग मिलेको छ । अर्थात् म सडकमा निस्कनासाथ सामुन्ने देखा परेर वा लुकीछिपी भुक्ने कुकुरहरू उपर एउटै प्रतिक्रिया व्यक्त गर्छु– कुकुर भुके हजार ! हात्ती लम्के बजार !!
यो उक्ति यतिखेर कतै मेरै लागि बनेको पो हो कि जस्तो लाग्न थालेको छ किनभने थरिथरिका पाल्तु कुकुरहरू जो मालिकको जुठो भातका भरमा मलाई भुकी हिँड्छन् । ठाउँ कुठाउँ मलाई टोकी हिँड्छन् । त्यस्ता नरदेहमा अवतरण लिएका कुकुरहरू उपर यसै उक्तिले प्रतिकार गर्दछु । हुन त त्यसखालका खिच्चा कुकुरले आफ्नो विवेक भातमै बन्दकी चढाएका हुन्छन् । प्रतिरोधी चेतनामा उत्रिने वागीहरूलाई भुक्ने टोक्ने शर्तमा बुद्धिको भाँडोमा बिर्को कसेका हुन्छन् । तर, म अचेल खिच्चा जातका कुकुर जति नै भुके पनि तिनलाई बाल–मतलव नदिई सटासट आफ्नो बाटो लम्किन थालेको छु ।
मानव देहमा अवतरित त्यस्ता खिच्चा कुकुर उपर हृदयमा दयाको भाव पनि छ । विचरा आफूसित गरिरखाने कुनै प्रतिभा र पेसा नभएपछि मालिकको जुठेल्नोमा पुग्नु यिनीहरूको धर्म हो । ठिक–वेठिक असल–खराब छुट्याउने विवेक–शक्ति नभएपछि अरुको ईशारा र अराउ–पराउमा कसैलाई भुकी हिँड्नु यिनको कर्म हो ।
प्रकृतिको चौपाया कुकुर विगत पन्ध्रहज्जार वर्षदेखि मानिससितै छ । मानिसकै भुजा ज्यूनार गरी मानिसकै सङ्गतमा रहे पनि यसले भुक्न बिर्सिएको छैन । भुक्नु टोक्नुको सनातनी स्वभावमा अलिकति पनि फेरबदल आएको छैन । मेरो चित्तमा प्रकृतिको यी तमाम सक्कली कुकुरहरूप्रति भारी प्रेमभाव छ । शिकार युगमा मानिसलाई शिकार मार्न यसले सघारको छ । अहिलेको विकास युगमा पनि यसले अहोरात्र सुरक्षाको पहरेदारी गरेको छ ।
शिकारको कुरा गर्दा भोटे कुकुरको पौरखले मा¥यो मृग । तर, कासाबिसा, मुटु–कलेजो र फलमासुको भुटुवा मान्छेले खायो । कुकुरको भागमा हड्डीखुड्डी, कानखुर, सिङ र जबडाका हड्डीहरू छुट्याइदियो । मालिकले जे भाग लगाई दियो, त्यही चबाएर आफ्नो गिजाको रगतमा रमिरहन्छ कुकुर । उसलाई थाहा छैन–हड्डीको रस होइन आफ्नै रगत चुसिरहेछु भन्ने कुरा । सिर्फ सुक्खा हड्डीको भरमा जीवनयापन गर्नु परे पनि मान्छेको इसारामा भुक्न छोडेको छैन कुकुर । स्वामीभक्तिको अनुपम उदाहरण हो कुकुर । सर्पले जति नै काँचुली फेरोस् न यसले ठुङ्न छाडेको छैन । ठुङ्नु डस्नु सर्प–स्वभाव भएजस्तै भुक्नु टोक्नु कुकुर–स्वभाव हो । चाहे लाखवर्ष यो मानिसको सान्निध्यमा बास गरोस् यसले आफ्नो स्वभाव कदापि भुल्ने छैन ।
शिकारदेखि सुरक्षासम्मको यात्रामा यसले लगाएको गुन सम्झेर मानिस तिहारको एकदिन यस प्राणीलाई फूलमाला पहि¥याउँछ । मालपुवा चटाउँछ । प्रकृति र प्राणीप्रति समादरको भाव देखाउनका लागि भए पनि नागपञ्चमीमा एकदिन सर्प पुज्छ मानिस । काग पुज्छ । बाँदर पुज्छ । भ्यागुतालाई बेहुलाबेहुली बनाई सिन्दुर पहिर्याउँछ ।
नरदेहधारी श्वानगणले पनि प्रकृतिको कुकुरबाटै केही वृत्ति सिकेको छ । केही प्रवृत्ति सापटी लिएको छ । दानापानीको लागि मालिकको हित चिताउनु या नुनको सोझो गर्नु उसको पनि धर्म हो ।
बीस–बाइसको अल्लारे उमेरको कुरा हो, त्योबेला तातो जोश र रोशमा रमाइ हिँड्ने समय थियो । कसैले आफू उपर गलत आरोप लगाउँदा त्यसैत्यसै कन्पारो तातेर आउँथ्यो । तपाई पनि त्यही उमेरबाट गुज्रिसक्नु भएको छ भने रिसको झ्वाँलो कत्ति बेजोड हुन्छ ? थाहा पाइसक्नु भएको छ । जवानीको उत्कर्ष उक्ँिलदै गर्दा जोश–जाँगर मात्रै तातो हुन्न, नसामा बग्ने रगत पनि तातै हुन्छ ।
जब म सडकमा निस्कन्थेँ । बिना कसुर सडकका भुस्याहा कुकुर म उपर झम्टिन थाल्थे । कोकोहोलो मच्चाएर भुक्न थाल्थे । फेरि एउटा ख्याङख्याङ गर्न थालेपछि त्यसको सिको गर्दै दर्जन भुस्याहा जोडजोडले चिच्याउँथे । मेरो नाडीमा रगत उम्लिन शुरू हुन्थ्यो । क्रोधले कन्चटका नसा चट्किन थाल्थे । म भुक्ने कुकुरलाई गोटागन्ती पालो गरी गरी ढुङ्गा बर्साउन थाल्थेँ । कुकुर कति लुते छ ? ढुङ्गो हान्नु त के ! उज्याउने वित्तिकै टाँगामुनि पुच्छर घुसारेर कुईंकुईं गर्दै सुइँकुच्चा ठोक्तछ । मलाई हाँसो लाग्थ्यो । टुप्पीबाट उठेको रिस त्यसैत्यसै सेलाएर पानी बन्थ्यो । र मेरो मनले तत्क्षण प्रश्न गथ्र्यो, “यस्ता छेरुवा काईंकुत्ते भुस्याहाले म उपर अनाहकमा किन भुक्नु ?”
एकदिन यसैगरी लामो यात्राका लागि घरबाट बाहिर बाटोमा के निस्केको थिएँ ! छेउको टाटे भुस्याहाले ख्याङ ख्याङ भुक्न थाली हाल्यो । त्यसलाई ढुङ्गो टिपेर गोर्ख्याएँ । अलि अगाडि बढ्ने वित्तिकै अर्को पाङ्दुरे भुस्याहा भुक्न थाल्यो । त्यसलाई पनि ढुङ्गा बर्साएँ । अलि पर पुगेको अर्को कलौटे भुस्याहाले झम्टिहाल्यो । त्यसलाई पनि ढुङ्गाले गोहोर्याएँ । अझ अगाडि बढेको खिलपा नामको भुस्याहा भुक्यो । एवम् रीतले ब्वाँसे भुस्याहा भुक्यो । चम्चे भुस्याहा भुक्यो । हुक्के भुस्याहा भुक्यो । पाङ्ग्रे भुस्याहा भुक्यो । त्यसदिन प्रत्येक भुस्याहालाई ढुङ्गा हान्दै अगाडि बढ्दा मेरो गन्तव्यमा पुग्ने समय चिलिम–दोर्जे भएछ ।
अर्कोदिन पनि आफू उपर झम्टेर भुक्न आउने भुस्याहालाई ढुङ्गा हान्ने हुँदा बस छुट्यो । अर्कोदिन अफिस छुट्यो । अर्कोदिन अदालतको तारिख गुज्रियो । अर्कोदिन बैंकको किस्ता छुट्यो । अर्कोदिन होटलको नास्ता छुट्यो । र अर्को दिन बजार बीच एक हात्ती हिँडिरहेको दृश्य देखेँ । दर्जन भन्दा बढी कुकुरहरू उसको पिछा गर्दै अखण्ड भुकिरहेका छन् । हात्तीको हिँडाइ देख्ता मानौँं हात्ती कुकुरदेखि वेखबर छ । ऊ त कुकुरका ख्याङख्याङ सुनेको नसुने झैँ गरी आफ्नै गतिमा लमक लमक अघि बढिरहेको छ । त्यो दिन त्यस दृश्यले मनमा एक निर्देश गर्यो– “अब तँ पनि भुस्याहाको पछि लाग्ने होइन केटा ! यदिफेरि पनि भुस्याहाको पछि लागेर ढुङ्गा बर्साउन थालिस् भने तैँले जीवनको मुल उद्देश्य भुल्छस् । तेरो दिनचर्या ढुङ्गा हान्नुमा सीमित बन्छ र आफ्नो गन्तव्यमा पुग्न बिर्सन्छस् । ऊध्र्वगामी यात्रामा फटाफट गोडा चाल्नु पर्ने वेलामा कुकुरसितै कुस्ती खेल्न भुलिस् भने सफलताको शिखर उक्लिन सक्तैनस् ।” साँच्चै त्यो दिनबाट ब्यूँझिएर उठ्यो– गोबिन्द गुरुको आप्तवाणी : कुकुर भुके हजार ! हात्ती लम्के बजार !!
नढाँटी भन्नुपर्दा इमान, निष्ठा र ख्वामितको रखुवारी गर्नमा कुकुर अब्बल प्राणी हो । तर, नरदेहमा अवतरित खिच्चाहरूको चरित्र केलाई रहँदा हिमाली गाउँको भोटेकुकुर, जर्मन सेफर्ड र आइरिस वुल्फ हाउण्ड जस्ता अब्बल दर्जाका कुुकुरसित तुलनै हुनसक्दैन । बक्सर र बुल्डग माल्टेजको के कुरा गर्नु सबभन्दा ल्वाँदे कुकुरको रुपमा चिनिएको अफगान हाउन्डसित पनि यिनीहरू दाँजिन सक्तैनन् । यी प्राकृतिक कुकुरमा त ध्वनि सुन्ने र गन्ध सुँघ्ने वेजोड क्षमता छ । यिनले मान्छेको तुलनामा एकहजार गुना बढी सुँघ्न सक्तछन् । को सज्जन र दुर्जनको कोटि सुँघेरै छुट्याइदिन्छन् । कसलाई भुक्नुपर्ने हो ? कसलाई मौन पुच्छर हल्लाएर स्वागत गर्नुपर्ने हो ? परैबाट थाहा पाउँछन् ।
तर, हाम्रा खिच्चाहरूको घ्राणशक्ति विलकुल शून्य छ । सज्जन–दुर्जनको कोटि छुट्याउन विफल छन् । गन्धबाट यिनले गु र गोबरको पार्थक्यता बोध गर्न सक्तैनन् । यी त खाली मालिक चिन्न र पुच्छर डोलाउन जान्दछन् । सडकको जो कोही अकिञ्चन मनुवा उपर ख्याङ ख्याङ गरी टोक्न जान्दछन् । आफ्नो काबुमा नआउनेलाई दपेट्न र चिथोर्न सक्तछन् । अरुको अनुकम्पा र निगाहामा बाँचेको भुस्याहाले गर्ने कामै त्यति हो । तीनकरोड नागरिक भएको देशमा सक्कली भुस्याहा कुकुरको संख्या अढाइ करोड छ अरे । कुकुरमा धनी देश रहेछ नेपाल । नरदेहका भुस्याहा कति होलान् ? सरकारले श्वान–गणनाको सेन्सस निकाल्नै पर्ला !! जय कुकुर तिहार !!!
समाप्त
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































