पुन्य कार्कीथारुको दरदेखि दारुको दरसम्म
नजानिँदोसित दारुकै दरमा हामफालिरहेछन् । साँच्चै भनुँ भने दरले हिजोको शालीन सौन्दर्य गुमायो । दरले आफ्नो भाव गाम्भीर्य गुमायो । यसले आफ्नो मौलिक सौहार्दता गुमायो । हिजोको मूल्य र गरिमा हरायो । दरको पुरातन विम्बका गला रेटियो ।

पुण्य कार्की :
एकाबिहानै एक अनलाइन पत्रिकाका सम्पादक महोदयले गोजीफोन मार्फत् मलाई सुझाए– तँ थारु गाउँमा विगत वीसवर्षदेखि थर्पु हालेर बसेको छस् । यसपालीको भदौमा चाहिँ तैँले ‘ थारुको दर’ शीर्षकमा केही लेख्नैपर्छ । यसरी विषय नै तोकेर यसमा यो लेख त्यो लेख भन्दा मलाई भनेजस्तो भावै फुर्दैन । लेख्नु, सिर्जना गर्नु भनेको कसैको तोकआदेशले सम्पन्न गरिने कार्य होइन, यो त आफ्नै अन्तर हृदयको मर्जीले सम्पन्न गरिने कर्म हो । यो त स्वतफूर्त स्फूरणको बलमा गरिने सृजन कर्म हो । तरपनि मेरो कमलो मन बहक्किहाल्यो– आ ऽऽ ऽऽ साथीले भनी हाल्यो, केही त कोरकार गर्नैपर्ला । कलमजीवी नाथे लेखनदासले आफ्ना ख्वामित सम्पादकलाई चिढ्याइहाल्नु पनि हुँदैन । उनीहरुलाई चिढ्याउनु र मन दुखाउनु भनेको आफू उभ्भिने र आफू प्रकाशित हुने चौतारीको ढुङ्गो उक्काउनु पनि हो । आफ्नो रोजीरोटीको बुङ्गो च्यात्नुपनि हो । त्यसैले पत्रिका र सम्पादक महोदयहरुसित यो खडेरी परेको याममा अनावश्यक पङ्गा लिने र सम्बन्धको दूरी बढाउने पक्षमा म छैन । मालिकहरुको अगाडि नुनको सोझो गर्नुनै सेवकहरुको हित हुन्छ । फेरि मिलिरहेको दानापानीको द्वारमा गजबार ठोक्न मन उसलाई हुन्छ र ?
“हुन्छ, कोसिस गर्छु ।” विनित स्वरमा फोन राखें । तिज आउन तीन हप्ता बॉकी थियो । ओछ्यानमा पँलेटी कसेर तीनघण्टा घोत्लिसकेँ, मरिकाटे लेख्ने भावको स्फूरण भएन । कस्तो अचम्मको छ ! मभित्रको भावलहरी । कहिले काहीँ भात टिप्ताटिप्तै, कहिले काहीँ पात टिप्ताटिप्तै लेख्ने भाव छल्केर आउँछ । कहिले आली खन्दाखन्दै त कहिले नाली सोहोर्दा सोहोर्दै लेख्ने विषयले तरङ्गित बनाउँछ । कहिले बिना अर्थ गाउँको छेकारो मार्दा लेख्ने विषयले झ्वाप्पै छुन्छ त, कहिले गाईको भकारो सोहर्दा कविताको भाव स्फूरण हुन जान्छ । यस सन्दर्भमा शारदा गुरु ठट्याइलो बान्कीमा मेरै जस्तो अनुभव सुनाउनुहुन्छ– कहिले खन्यूको टुप्पामा घाँस झार्दाझार्दै त कहिले गाई दुहुन बसेपछि निबन्धको भाव फुर्छ । के गर्नु ! खन्यूको रुखबाट ओर्लेर घर पुगेर लेख्छु भन्यो, बाटैमा त्यो भावले मनबाट बिदा लिइसकेको हुन्छ । अघि के फुरेको थ्यो ? त्योपनि विस्मरणको गर्भमा पुरिइसकेको हुन्छ ।
अक्सर हातमा कापीकलम नभएको अप्ठ्यारो बेलामा यस खालको लेख्ने भाव आउँदा अनगिन्ति सूक्ष्म झिल्काहरु निभेर गएका छन् । तिनलाई तत्क्षण टिप्न, तन्काउन कापीकलम चाहिन्छ । फुकाउन फैल्याउन एक अवकाशको क्षण आवश्यकता पर्दछ । केही गर्न नसकेपनि स्फूरित झिल्का अक्षरमा कैद गर्न पाए, मगजबाट त्यो भावलहरी मेटिएर जाने थिएन । नत्र मस्तिष्कमा झिलिक्क उठेका भावतरङ्गहरू मिलिक्क हराउन कुनै आइतबार कुर्नुपर्दैन ।
साथीले तोकेकै विषयमा लेख्ने भाव नआउनुका पछाडि थारुको दरको त्यति ठूलो अनुभव छैन मसित । बस्न त म थारुगाउँ नजिकै डेराडन्डा हालेर बसेको छु । आजभन्दा साठीवर्ष अघिको विशुद्ध थारm गाउँ अहिले पहाडी, हिमाली र मधेसी समाजका अनेकन् जातिहरुको संगमस्थल बनिसकेको छ । यतिखेर म खिचडी गाउँको खिचड़ी बासिन्दा बनेको छु । अब यो गाउँ एउटा जाति, भाषा, समुदायको गाउँ रहेन । धेरै जाति, भाषा, संस्कृतिको साझा थलो बनीसकेको छ । थारु गाउँमा बस्ताबस्ता म जस्ता पहाडेहरु थारु जस्ता देखिन थालेका छन् भने पहाडेहरुको सघन सङ्गतले यहाँका थारुहरू पहाडे जस्ता देखिन थालेका छन् । सायद सांस्कृतिक या भाषिक घुलमिल यसैलाई भनेका होलान् । त्यसैले पहाडेको सङ्गत र सिकोले मेरा गाउँका थारुहरूपनि यदाकदा दशैंको जमरादेखि तिहारको भाइटिकासम्म शिरमा सिउरिने भएका छन् । साउनको खीर देखि तिजको दरसम्म दन्काउने भएका छन् । त्यसो त थारु गाउँछेउका पहाडेहरुपनि के कम जितियामा थारुसित जितमानको मन्दिर परिक्रमा गरेको देखेको छु । सिरुवा र फगुवामा रङ दलेर उल्लासले उफ्रेको देखेको छु । चन्चर, झिन्जिया र होरिया नृत्यमा निमग्न नाँचेको देखेको छु । पहाडेहरुले माघी र गुरहीमा मनचिन्त्य लड्डु चपाएका छन् । देवारी, चौथीचन, समाचखेवा र रैबमा थारुको चुलामा पँलेटी कसेर अनेकन् परिकार दन्काएका छन् ।
नेपाली जातिको मिश्रित समाजमा विभिन्न समुदायका संस्कृतिहरुले विस्तारै विस्तारै आफू नजिकको अर्को समुदाय र जातिलाई सङ्क्रमित गर्दै लगेको दृश्य सुन्दर छ । एकअर्काका परम्पराले खिच्तै र प्रभावित पार्दै लगेको छ । यसरी सबै जातिय समुदायका चाडपर्वहरुले साझा स्वरूप ग्रहण गर्दैछन् । मानिसहरु एकआपसमा भाइचारा सम्बन्धमा बेरिंदैछन् । यो हरेक संस्कृतिको सुन्दरतम् पक्ष हो । सानासाना समुदायका भाषा, संस्कृति, रीतिरिवाज र चाडवाडहरू सबै समुदायका लागि साझा सद्भावका विम्ब बन्नु जस्तो सुखद कुरा के हुन सक्छ र ? यसको अपवादमा उभिने खलपात्र पनि छन् समाजमा । एक अर्कालाई हेप्ने होच्याउने, जातिय विद्वेष सिर्जना गर्ने, कटुता फैल्याउने, सद्भावनाको साटो दुर्भावनाको खेतीपाती गर्ने र आफ्नो स्वार्थको रोटी सेक्ने मान्छे यदाकदा देखा परिरहन्छन् । यस्ता कलुष मतिका मान्छेदेखि कौसौँ टाढा रहनु नै श्रेयष्कर हुन्छ जातीय सदभावका पक्षपातिहरुले ।
सप्तरङ्गी इन्द्रेणीजस्तो छ हाम्रो समाज । यो अनेकौं जाति भाषा, संस्कृति र रीतिरिवाजले झकिझकाउ र रङ्गिन छ । एउटै जातिको मात्र वर्चस्व र बाहुल्तया छैन यहाँ । अनेकौँ जातिको सम्मिश्रण छ यहाँ । सबै जातका चाडबाड सबैका साझा चाडबाड बन्दै गएको दृश्यले मन प्रफुल्ल बन्छ । यो विविधता नै हाम्रो तागत हो । यो विविधता नै हाम्रो सम्पति हो । यो विविधता नै हाम्रो सौन्दर्य हो । यो सौन्दर्यलाई कसरी टिकाउने, जगेर्ना गर्ने र यसलाई मजबुत पार्ने ? यो नै अहिलेको अहम् सवाल हो ।
ओहो ! थारुको दरको कथा हाल्न बसेको मान्छे बहकिएर म कहाँ पुगेछु । मैले माथि नै भनिसकेको छु– थारुको दरबारे लेख्न, त्यो समुदायमा दर खाएका अनुभव र घटना मसित धेरै छैनन् । मेरो स्मृतिमा एकाध घटनामात्र छन् । एकसाल मेरा लगौटिँया थारु मित्रले मलाई दरको निम्तो दिए । त्यो भन्दा अघि मलाई थारुबस्तीमा दरको सुयोग मिलेको थिएन । त्यसैले त थारुको दर विषयमा लम्बेतान व्याख्या हाल्न म असमर्थ छु ।
मलाई साथीले दर खान बोलाउनुको कारण पालाको पैँचो तिर्ने हिसाबले डाकेको हुनुपर्दछ । किनभने उसले मेरो घरमा अनेकचोटि भान्सा डकारी सकेको थियो । मेरो लगौटिँया यारलाई घोडाखरीको तेलमा पकाएको सेलदेखि आफ्नै आँगनमा पाकेको बेलसम्म, फापरको बाबरदेखि कोदाको ढिंँडोसम्म, पासैको गुन्द्रुकदेखि नवमीमा ढालेको खसीको पक्कु – कवाफसम्म चखाई सकेको थिएँ । सायद त्यसकै गुन तिर्नलाई तिजको छेको पारेर मलाई निम्ता दियो ।
उसको घरमा खान बसेँ । काँसे थालमा चिचरी भात छ । थाल वरिपरि सत्रवटा बटुका र रिकापीको घेरा छ । एउटामा घुँगीको ढेर छ । अर्कोमा सितुवाको सितन छ । अर्कोमा गेटा (गँगटा) को फ्राई छ । अर्कोमा ढिक्री छ । अर्कोमा सिद्राको चटनी छ । अर्को रिकापीमा अमादीको अचार छ । अर्कोमा औलको कवाफ छ । अर्कोमा आलुको भुजिया छ । अनि अर्कोमा भाण्टाको तरुवा छ । दही, दूध, नाम नजानेका तरुवा, भुजिया, तरकारी, अचारका यतिधेरै परिकारहरु टकार्यो । सबै परिकारको न त मलाई नाम आयो । न त सबै खानै जानेँ । घेराका एघारवटा परिकारसम्म त गनेँ । बाँकी सातआठवटाको नामपनि जानिन । स्वाद लिन पनि जानिन ।
ओहो ! अक्सर एक भात एक तिहुन खाएर हुर्किएको म पहाडी बबुरो थारुको दरको जञ्जालमा यसरी बेरिएँ । म त्यहाँ खान नसकेर या खान नजानेर उनुसमुकुस भएँ । साथीले मेरो अप्ठ्यारो बुझेर सहजीकरण गर्यो । उसले भन्यो– मित्र ! हाम्रो स्पेसल परिकार घोँगी हो । यसलाई यो तरिकाले खानुपर्छ भनेर ओठ र जिब्रोले घँुंगीको खपटाभित्रको मासुको डल्लो तान्ने सूत्र सिकायो । दुईचारचोटि ओठ–जिब्रो–तालुको तालमेलबाट स्वासको झड्कामा गुदी तान्ने कोसिस गरेँ । तर मेरो हरेक प्रयत्न असफल रह्यो । यसैगरी सितुवा र गँगटाको परिकारपनि मलाई घाँटीबाट निल्न मुस्किल भयो । यी चिज हामी पहाडेको खाद्यपरिकार भित्र भान्सामा पाकेका चिज थिएनन् । यी चिज मैले पहिले कतै खाएका, अनुभव गरेका चिज थिएनन् । यिनलाई खाएजस्तो गरेँ । मुख जुठो गरेर अन्य दाल–तरकारी, तरुवा, भुजिया र दूधदहीसित एकथाल भात लुँड्याएर उठेँ । यसरी थारुको दर मेरा निम्ति एकैसाथ सुखद पनि रह्यो । दुःखद पनि रह्यो । सुखद यसर्थ कि विविधतायुक्त नेपाली समाजमा कम्तीमा हजारप्रकारका रैथाने खानाका परिकारहरू छन् । परिकारको यो समृद्धि विश्वका कुनैपनि वैभवशाली देशभन्दा कम नहोला । एउटै थारुको दरमा सत्रथोकका कचौरा र रिकापीको घेराबन्दी साँच्चै मुखद आश्चर्य थियो । दुःखद कुरा यो भयो– खास थारु परिकारलाई चैँ मजाले खानै जानिन । सबै परिकारको स्वाद लिन सकिनँ, यसमा मलाई भारी विस्मात छ ।
थारुको दर विषयमा केही शब्दावली कन्दैथेँ । अनुच्छेदहरुले केही लयपनि समातेको बखत छिमेकी कुँइकेल कान्छो पुर्पुरो छाम्दै मेरासामु घुँक्क घुँक्क रुन थाल्यो । हेर्छु टाउकोमा चिर्पटको चोट छ । आङको वस्त्र च्यातिएर धुजाधुजा भएको छ । हातपाखुरामा भालु–नङ्ग्राका गहिरा गहिरा डाम छन् ।
विचरालाई के भाउँटो आइलागेछ ? कसले खुनी आक्रमण गरेछ ? खुल्दुलीको बादल मनभरि मडारियो ।
“होइन, कान्छा के भो हँ ? जंगलमा तामा खोज्न जान्छस् एकदम ! कतै बनभालुको फेला त परिनस् ?“
“काँ को दाजै बनभालुको फेला पर्नु ? अँ भालु त भालु नै हो, बनभालु होइन घरभालुको फेला परेँ म ।”
उसको कुराले अर्को आश्चर्यको छाँगाबाट खसैँ ।
“के भन्छ यो ? कस्तो घरभालुको फेला परिस् हँ ?”
“के भन्नु दाजै ! घरभालु भनेकी आफ्नै बुढी क्या बुढी ! राति पाटीप्यालेसमा पगितो दारुको दर घिचेर आइछ । अनि त मलाई मज्जाले बजाई हाली नि । हिजो दिउँसैदेखि म धान गोड्ने सुरसारमा थेँ । ऊ भने आज हामी महिलाको दर खाने कार्यक्रम छ है बुढा म त ! हिँडे बजारतिर ! यति भनेरे घरबाट निक्लेकी थिई ।
मैले सम्झेँ– होला ता नि । जाओस् विचरी ! कति पिँजडाको चरी भएर घरघुर्यान रुङ्गी बसोस्, एकदिन गएपनि फुक्काफाल भएर उडोस्, होटल रेस्टुराँमा मनचिन्त्य खीर–जेरी– स्वारी खा’र आओस् ! उसको दर कार्यक्रमलाई सहजरुपमा लिएँ । साँझ पर्यो । रात छिप्पिँदै गयो, बेलामा घर आए पो त । आउन त आई, राति अबेर आई । खुट्टा बाङ्गाबाङ्गा पार्दै आई । बाटादेखि नै दारा खम्टिँदै आई । पाखुरा सुर्किदै आई । उसको चालढाल देखेर आज यो बहुलाइछ ठानेँ ।
“होइन, के भो तँलाई आज ? दरमा कतै विषादी त परेन ? त्यस्ती सोझी सरल मान्छे किन पग्लाई बन्छेस हँ ?” यति के मात्र भनेको थेँ । ऊ त लट्टे पड्केजस्तो पड्किन थाली–“म पग्ली भएँ, तँ पागल ! आज म दर खाएर आएकी छु दर । के को दर थाहा छ तिमीलाई । घिउको दर होइन । चामे्र, खीर र ढकनेको दर होइन । दारुको दर खाएको छु । रोस्टको दर खाएकी छु । तिम्ले के ठानेका छौ मलाई ! चानचुने हुँ म, जिम्मल बाउकी छोरी हुँ म, जिम्मल बाउकी छोरी ! दारुको दर तिम्ले खाने खोयाबिर्केको दर होइन नि बुझ्यौ । वियरको दर, ब्राडीको दर, वाइनको दर, हुइस्कीको दर, रोस्टको दर, सेकुवाको दर, छोयलाको दर । मैले पनि आज ठूलो हुटेलमा पसेर हुइस्कीको चुस्की लिए बुझ्यौ । तिमी लोग्नेमान्छेहरुमात्र खाने हुटेल हुटेलमा पसेर । हामी महिलाले चैँ खान नहुने, मात्न नहुने ! के ठानेका छौ हाम्लाई ? हामीले पनि खायौँ आज । मात्ने गरी खायौँ । उल्टी हुनेगरी खायौँ । दारुको दर मज्जाले दन्कायौँ । हाम्रोपनि दारुको दर डकार्ने दिन आयो । अब गनतन्त्र हामीलाई पनि आयो । बुझ्यौ कँुइकेल कान्छा ! कुरा बुझ्यौ !!”
नाकनाकमा औँलो ठड्याउदै, लट्पटिएको जीब्रो पड्काउदै अण्टसण्ट बोलेपछि मेरो लाटो रीस कताबाट ब्यूँतियो ब्यूँतियो । केहीक्षण त धैर्य गरें, टुप्पीबाट रिसको क्वाँलो छुटेपछि कस्सेर एक झापड लाइदिएँ ।
उसको पालो अँगेनाको चिर्पट तानेर टाउकैटाउकोमा बजाई मलाई । भालुले जस्तो झम्टेर चिथोर्न थाली । आफ्नै अतीत सम्झेँ, मैले पनि विगतकालमा कतिपय घड़ी खोयाबिर्केले मातेर यसरी नै यसलाई चिथोरेको थेँ, यसरी नै टाउकामा टुटुल्को उठ्ने गरी चिर्पट बजारेको थेँ । आज यसले पँैचो फेरी । साँच्चै मजाले बदला लिई । ममा भित्रबाट अखण्ड धैर्यको दियो जल्यो । मैले प्रतिरोध नगर्ने संकल्प लिएँ । उसलाई मनको भँडास पोख्न दिइरहेँ । उसलाई विस्तारै मत्थर हुन दिएँ ।
बलेको आगोमा घिउ थप्नुभन्दा हर्र्पेको मुखमा बिर्को लाउनु उचित देखेँ । कराउँ भने आफ्नै बेइज्जत हुने, कुटुँ भने बेहोस अवस्थाकी आफ्नै पत्नीलाई कुटेर के जित्नु छ र ! ऊ कराउँदा कराउँदै आफैँ थाकेर लोलाउन थाली । एकछिनमा मझेरीमै भुसुक्क निदाई । ओछ्यानको दोलाई तानेर ओढाइ दिएँ । टाउकामा सिराने राखिदिएँ, जसरी म मातेर आउँदा उसले राखिदिन्थी ।
स्वास्नीको कँहानी बकेर कुइँकेल कान्छो मेरो घरबाट ओझेल पर्यो । म घोरिएँ, मनमनै खित्का छोडेर हाँस्न मन लाग्यो । मैले थारुको दरको स्वाद सम्झिरहेको बखत कँुइकेल कान्छाले दारुको दरको स्वाद राम्रैसित चाखेछ ।
दारुकै दरको कुरा गर्दा पोहोरमात्र पल्लागाउँकी पोख्रेल्नी साइँली दारुको दर खाएर तिजकै दिन पोइल हिँडी । पोख्रेल साइँलो पैसा कमाउन विगत पाँचवर्षदेखि पोर्चुगलमा पाडा चराउदैथ्यो । घरपरिवारलाई सुखी राख्न, बालबच्चालाई राम्रो शिक्षादिक्षा दिन ऊ त्यहाँ मरिकुच्चे श्रम गरिरहेको थियो ।
यता उसकी पत्नी भने उसले दुःख गरेर पठाएको पैसा भड्किलो, पोशाक, सिँगारपेटार, खानपिन र मोजमस्तीमा उडाइ रहेकी थिई । मानौँ उसको लोग्नेले त्यो पैसा हाडतोडा मिहेनत गरेर होइन कि सजिलैसित रुखबाट टपटप पात टिपेजस्तो टिपर पठाएको होस्, यसरूपमा उसले पैसा उडाई । छोराछोरी ससाना थिए । बेहिसाब पैसा फुर्मास गर्नु, मोजमस्ती रङ–रमितामा भुलिनु, परपुरुषसित रासलिला रच्तै हिँड्नु उसको नियमित दिनचर्या थियो ।
दारुको दर खान उसलाई तिज आइरहनै परेन । बाह्रैमास उसलाई तिज आउनथाल्यो । सदाबहार दारुको दरमा झुम हुनथाली । उता पतिदेवलाई ढाँटीरहेकी छ– पठाएको पैसा मज्जाले सदुपयोग भैरहेकोछ, घरेडी किनीसकेँ । सुन किनीसकेँ । धानखेत बैना गरीसकेँ । फोनको कुराले नै पोख्रेल साइँलो ढुक्क परिरह्यो, मख्ख परिरह्यो । यतिन्जेलसम्म उसले झण्डै पचास लाखको हाराहारीमा नखत साइँलीको खातामा पठाइसकेको थियो ।
धेरैवर्ष पछि यसपाला चैँ दशैँको नौरथाकै दिनमा घर आइपुग्ने खबर पठायो । ऊ नेपाल आउने कुराले पोख्रेल्नी साँइली मज्जाले झस्की मात्र होइन, छाँगाबाट खसेतुल्य बनी । उसको मन एक औडाहाले भतभती पोल्न थाल्यो ।
केहीवर्ष अझै नआउनु, घर बनाउने पैसा कमाएपछि मात्र आउनु भनेर अनेक अनुनय विनय गरी । भर्सक रोक्न खोजी । तर उसले आफ्नो भीसाको म्याद सकिएकाले बस्न नमिल्ने आउनैपर्ने वाध्यता सुनायो । फेरि बिदेश आउनै पर्यो भने अर्को नयाँ प्रोसेस गरेर आउने योजना सुनायो ।
पतिको नेपाल आगमन सुनिश्चित देखेपछि साइँली किन नौरथा पर्खिन्थी, सोह्रसराद पनि नलाग्दै तिजको दरकै दिन दारुको दर दन्काएर एउटा पिठाकोटे थरको ट्याक्सी ड्राइवर टिपेर सुँइकुच्चा ठोकी । विदेश बसेर कमाई गर्ने सोझो सपाट लोग्नेका पसिनामा रजाइँ गर्ने, उनीहरुका रगत, पसिना र आँसुहरु सिरीखुरी पारेर परपुरुषसित सुँइकुच्चा ठोक्ने अनगिन्ति साइँलीहरुका कथा उदेक लाग्दा छन् । साँइलाहरुको छातीमा लागेका घाउचोटहरू जीवनभरिमा पनि परिपूरण हुनसक्तैनन् ।
दारुको दरमा पल्केर आफ्नो घरपरिवार भताभुङ्ग पार्ने, आर्थिक अवस्था खण्डहर तुल्याउने खलपात्रका अनेकन चित्रहरु मथिङ्गलमा नाँचिरहेका छन् । दर याने कि दरिलो भोजन । दर याने कि अडिलो असल खाद्यपदार्थ । तिजका दिनमा हिजोको समयमा खिरको दर हुन्थ्यो । सेलपुरीको दर हुन्थ्यो । चाम्रे र ढकनेको दर हुन्थ्यो । मालपुवा र मिठाईको दर हुन्थ्यो । दहीकेरा र घिउभातको दर हुन्थ्यो । दरमा सात्विक निरामिष पकुवान पाक्थे । दर खाने थलो माइतीघर हुन्थ्यो । आफू जन्मेको आफू फले फुलेको जन्मघरमा दर मनाइन्थ्यो । आमाबाको घरमा, दाजुभाइका घरमा, भदा भदाबुहारीको घरमा दरको रौनक चल्थ्यो । तर आज दर होटल छ । पार्टी प्यालेसमा छ । रिसोर्ट रेस्टुराँमा दर बसाई सरेको छ । अहिलेको दरमा पक्कुकवाफ छ । पक्कुको फेरि छुट्टै रवाफ छ । अहिलेको दरमा मांश छ, मदिरा छ । मदिरामा पनि वाइन छ, बियर छ । ह्वीस्की छ, ब्रान्डी छ । त्यो नभए लोकल पियोर कोदाको तीनपाने, अण्डी र र निगार छ ।
यो दृश्य देख्ता ओहो ! दारुको दरले विस्तारो विस्तारो नेपाली समाजलाई कसरी आफ्नो अँगालोमा बेर्दैलगेको छ ? त्यसको अत्यन्त भद्धा र अश्लिल दृश्यहरु चर्कोरूपमा देखिन थालेका छन् । एकदिन खाने दर महिना–महिना दिनभरि तन्किँदो छ । रेमिटान्सले धानेको अर्थतन्त्रको पिलो दिनपरदिन टन्किँदो छ । तिज आउनु दुईमहिना अघिदेखिको भोजभतेर र तडकभडकले अर्थतन्त्रमा कति नोक्सान पार्दो हो ? विचारणीय प्रश्न छ ।
सामाजिक सञ्जाल हेर्छु ; फेसबुक, युटूब, टिकटक, रिल सबैसबै ठाउँमा तिजको दर र नाँचकै फोटा पोस्ट्याएको दृश्य विद्यमान छ । अहिले जाहीँताहीँ दर छ– विद्यालयमा दर छ । अस्पतालमा दर छ । अड्डा–अदालतमा दर छ । दोकान, व्यापार र आर्थिक प्रतिष्ठानहरुमा दर छ । राजनीतिक पार्टी कार्यालयहरुमा दर छ । जनसंगठनहरुमा दर छ । दरको आयाम र आयतन तन्किँदो छ, फैलिँदो छ । औकात पुग्नेलाई त ठिकै होला । औकात सानो भएकाहरु पनि आफ्नो औकात अनि हबिगत भुलेर देखासिकी र लैलैका पछि लागिरहे छन् । नजानिँदोसित दारुकै दरमा हामफालिरहेछन् । साँच्चै भनुँ भने दरले हिजोको शालीन सौन्दर्य गुमायो । दरले आफ्नो भाव गाम्भीर्य गुमायो । यसले आफ्नो मौलिक सौहार्दता गुमायो । हिजोको मूल्य र गरिमा हरायो । दरको पुरातन विम्बका गला रेटियो ।
थारुको दरदेखि दारुको दरसम्म चिन्तना गरेर आधारातसम्म जाग्राम बसेको बेलामा कतैबाट गीतमा दुई पार्श्व–धुन मेरो कानमा गुन्जिए, झ्यालबाट टाउको निकालेर हेरेँ । तल होटल एम्पाएर इनबाट निस्केको गीतको गेडो कर्णविवरमा ठोक्कियो –
पोइल जान पाम् शिव
पोइल जान पाम्……..
ठिक त्यही यसैबखत पल्लो रसाइली टोलका महिलाले गाएको सुनें–
यसपालिको तिजैमा
लट्टे अड्क्यो गिजैमा……..
ओहो ! दुई खालका गीतको टक्कर त समाजमा चलिरहेको छ नि ! रातको गहिरो सन्नाटामा निदरीले छोप्तै लग्यो । यति लेखेर बत्ती निभाएँ । जय थारुको दर ! जय दारुको दर !!
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































