साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोकाको बिहे

किनभने पहिलेको बिहे बिहे जस्तो हुन्थ्यो । अहिलेको बिहे बेलुन जस्तो हुन्छ । पहिलेको बिहेमा खाँडो जगाइन्थ्यो र अहिलेको बिहेमा बेलुन फुटाइन्छ ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

आउनुस् घरभित्रका मित्रहरू बोकाको बिहेमा जन्ती जाउँ । समाजमा पहिले मातिएर पातिएर पछि चाउरिएर दाउरिएको शरीर साँघुरिएको बोकाको डोकामा बोकाएर गरिने बिहेमा जन्ती जान पाउनु खुसीको कुरा हो । यस्तो बिहे फेरि नआउन पनि सक्छ । त्यसेले यो मोकामा चौका हान्न छाड्नु हुन्न ।

तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्ला त्यो केहो भने साउन महिनामा त्यो पनि बोकाको बिहे कसरी हुन्छ भन्नु होला ! तर हुन्छ उहिलेका बोका शिवजीले यही साउनमा सारा संसार डुलेर दुनियाँ किन्नरीहरूसँग बिहे गर्दा चाहिँ हुने रे ! जावो बोकाको बिहे गर्दा के हुन्छ त ! शिवजीले चाहिं यही साउनमा हरेक तमासा देखाएर नारीहरूलाई पहेंलो पारेर आफूतिर आकर्षित गरी ब्रत बस्न बाध्य पार्दा हुन, बोकाको बिहे गर्दा किन नहुने ! मेरा प्रिय पाठकहरू ! शिवजी पनि बेला मौकामा बोकाकै रूपमा भौतारिएर हिँडेकै हुन् क्यारे ! साँच्चै भन्ने हो शिवजीलाई सबैले बोका देवायै नमः भन्दा केही फरक पर्दैन । यिनी पनि बोकाकै एक अंश हुन दुबै दृष्टिले । आफू पशु बोका जस्तो पनि बने र अरुलाई आफू बोकाएर पनि हिँडेकोले शिवजीलाई दुबै दृष्टिले बोका भन्दा फरक पर्दैन ।

अब कुरो आयो डोकामा नअट्ने बोकाको कसरी डोकोमा बिहे होला भन्नु होला । बोका डोकामा मजाले अट्छ । न टेका लाउनु पर्छ न त छेका नै लाउनु पर्छ । बरु बोकाले नै धक्का लगाउन सक्छ बोक्नेहरूलाई । विहेमा सिंगार पटार गरेर बेहुला भएको बोकाको चुरीफुरी हेर्ने हो भने भनेर साध्य हुँदैन । असाध्य राम्रो भएर हिरो भएको बोकाले बेहुला हुँदा सारा जन्तीलाई तीन छक्क पारेको छ । किनभने बोका भएरले यति भलाद्मी हुनु भनेको विश्व रेकर्ड राख्न गिनिजबुकमा नाम लेखाउनु हो भन्दा फरक पर्दैन ।

बोकाले मन बाँधेर बेहुला भएको देख्दा पाठी बाख्रीहरू पनि तीनछक्क परेको कुराले निकै व्यापक चर्चा पाएको थियो । किनभने दसतिर मनदिने बोकाहरूको विश्वास गर्न सकिने ठाउँ भने हुँदैन । किनभने बोकाले जता पायो त्यतै मायाप्रिति लाएको हुन्छ । माया लायो कि सकियो । पाठीको जीवन नै वर्वाद पारिदिएको हुन्छ । माया लायो कि छ महिनापछि परिणाम आउँछ । कतिवटालाई सम्हाल्नु ! तर एउटा कुरा के भने बोकाले जतिजनासँग मायाप्रिति लाए पनि अदालतमा मुद्दा भने परेको छैन । न मानो चामल भराउनु परेको छ, न सम्बन्ध विच्छेदको मुद्दा खेप्नु परेको छ । न बोकाको घरमा कहिल्यै झैझगडा हुन्छ न त कुनै रडाको नै ।

पहिले पहिले बोकाको बिहे धुमधामसँग हुन्थ्यो । म पनि गएको छु बोकाको बिहेमा जन्ती पटक पटक । निकै रमाइलो भएको थियो । तर अहिलेको बोकाको बिहे हुन छाडेको छ । नेपाली समाज विगतको तुलनामा अहिले निकै नै परिरवर्तित भएको छ । हाम्रो बोकाको बिहे गर्ने संस्कार परिवर्तन भएको हो वा समाज परिवर्तन भएको हो यस कुरामा समाजले पनि विचार गर्नू पर्ने बेला भएको छ । बुढो भएको ठस्‌ठस्ती गन्हाउने मैलो दाह्रीमा बेहुलो हुने बोकाले विवेकहीन भएर इज्जत प्रतिष्ठा गुमाएर लाज सरम पचाएको छ ।

नेपाल बोका समाजले पनि बिहे गर्न लागेको बोकाहरुको उचित व्यवस्थापन गर्न नसक्दा उनीहरूकै देशमा बोकाहरू शेष हुने अवस्थामा पुगेको तथ्य सत्यमा परिणत हुन लागेको छ । भोका बोकाहरू अघाएर बिहे गर्न तम्सने प्रवृतिले इमानी बोकाहरू पनि बेइमानी भएको पाइएको छ । सोझो औलोले घिउ आउँदैन भन्ने उखानलाई उल्टो पारेर औला बाङ्गो पारे घिउ आउँछ भन्ने उखान जन्माएका छन् । घुमिफिरी रुम्जाटार भनेझैँ बोकाहरू धोका दिन सिपालु हुन्छन भन्ने कुराको ख्याल पाउँदैनन् बेहुली हुनेहरू र होस पनि पाउँदैनन् । बोकाले दिएको धोकाले कतिपयको जीवन नै पोके भएको छ । बिहे चाहिँ फेरि बोकासँगै गर्नु पर्ने । पछि बोकाले धोका दियो भने सम्बन्ध विच्छेद, छाडपत्र हुँदै अलपत्रमा पर्ने गरेको नौलो र तीतो कथाहरू पनि मन अमिलो पारेर सुन्नु परेको छ ।

हाम्रो समाजमा बोकाको बिहे गर्नु पर्ने बाध्यता अहिलेभन्दा पनि पहिले थियो । किनभने पहिले देशमा अहिलेको जस्तो सडक थिएन । यातायातको साधन चल्दैन थियो । भनौँ यान्त्रिक भरियाका रूपमा काम गर्ने साधनहरू थिएनन् । त्यही कारणले बोकाको बिहे हुन्थ्यो । बेहुलालाई उलिन काठको डोलीमा बोकाएर जन्तीका साथमा बेहुलीको माइतीमा बोकाएर लगिन्थ्यो । र बेहुलीलाई पनि उलिन काठको डोलीमा बोकाएर बेहुलाको घरमा भित्र्याउने चलन थियो त्यसैले त्यो बेलाको बिहेलाई बोकाको बिहे भन्ने गरिन्थ्यो भन्ने मलाई लागेको छ ।

अब भन्नुस् कि तपाईंहरू कतिजना बोकाको बिहेमा जानु भएको छ ? बोका पनि फेरि कति प्रकारको हुन्छ भन्नु होला । एउटा पशु बोका, बाख्री र बोकाकै छोरा हो भने अर्को बोकाकै व्यहोरा भएको दुई खुट्टे प्राणीको अविवाहित छोरा । यी दुईमा फरक यति हो कि पशु बोकाको छोरा बोकाले प्रत्यक्ष व्यहोरा व्यवहारले देखाउछ र शरीरै गन्धे हुन्छ । र अर्को बोकाले अप्रत्यक्ष रूपले मौनता साँधेर बोकाको व्यहोरा देखाउँछ, । शरीर सफाचट सुकिलो मुकिलो र मनमा दुर्गन्ध बोकेर हिँडेको हुन्छ ।

बोकोको जातै बोको हरामको जस्तो हुन्छ, चाहे त्यो पशु बोका होस वा दुई खुट्टे । विश्वको कुनै एक देशमा बोको हराम नाम गरेको एक नेता पनि छन । उनको स्वभाव र व्यवहार पनि बोकाको व्यवहारसँग मिल्ने खालको छ भन्ने कुरा केही समय पहिले बालकालिकाहरु उपर गरेको व्यवहारबाट पनि पुष्टि हुन्छ । पशु बोकाले समेत गर्न नसकेको हर्कत  मानव बोको हरामले गरेको छ । भनौ पशु बोका यस्तो छैन । बोकाको नाममा मनपरी गर्ने बोकालाई समाजका अर्काथरीका बोकाले नै तह लाउन सक्छन् । तर बिहेमा बोकाको(बोकाएको) बोका भने यस्तो प्रवृतिको हुँदैन । कतिपय बोकाहरू अत्यन्त भलाद्मी शान्त सरल स्वभावका हुन्छन् भने कतिपय बिहेमा बोकाएर जाने तर पछि नबोकिने स्वभावका हुन्छन् । बोका पनि सामाजिक प्राणी भएकोले आ आफ्‌नो समाजको मान सम्मान राख्नु पर्दछ र राखेका पनि छन् । तर कतिपय बोकाहरू बिहेपछि पनि बोका नै हुनु पर्नेमा नुन खाएको कुखुरो जस्तो भएर बोका जातको इज्जत नै फालेको देखिन्छ । बोकाले बोकाकै इज्जत बोकाएर फाल्नु भनेको बोका कै बेइज्जत हुनु हो भन्दा फरक पर्दैन ।

अब अरु कुरा किन गर्नु मैले पाठकहरुलाई बोकाको बिहेमा निम्त्याएको हुँ । त्यसैले म अब यहाँहरुलाई बिहेतिर रमाइलो हेर्न लैजाँदै छु । यस्तो बिहे तपाईले कहिल्यै देख्नु भएको थिएन होला । त्यसैले बोकाको बिहेको दर्शन गराउन लागेको ।

शुभ साइत त एकदमै मिलेको छ । साउन .हरियो, वर्षा, घाँस प्रशस्त । बोकाको लागि त हनिमुन प्याकेज नै नै हो यो । बोकाको बिहे महोत्सव २०८३ को प्लान लथालिङ र छताछुल्ल छ । वर पक्षको नाम श्रीठस्ठस्तीप्रसाद बोका, घोर्ले बोका हजुरबाको नाति बक्वबक्व ब्वँ शकर बोकाको छोरा वर्ष दिनैपिच्छे बढ्तीसको । ठेगाना काठको खोर योग्यता घाँसशास्त्रमा र अर्थशास्त्रमा पिएचडी छ । यहाँभन्दा के पढ्नु आखिरी मुर्ख्याइँ नगरी नहुने भएपछि भनेर अरु नपढेको ।

बधू पक्ष छ नाम श्रीमती सेती छिर्किनी बाख्री मायादेवी, गुण २ किलो दुध, ४ वटा पाठा जन्माउने क्षमता भएको योग्यता बोकाहरूसँग बसेर जिस्किन सक्ने, मौका परेमा बोकाहरूलाई ढोकामै धोका दिन सक्ने र पोका पारेर डोकामा हालेर नदीको प्रसाद बनाउन सक्ने ।

बोकाको यस्तो गजबको बिहेमा जान तँछाड मछाड गर्नेहरूको संख्याको हिसाब किताब गर्ने हो भने असंख्य हुन्छन् । असंख्यमा थपिएर बेहिसाबमा गन्ती भएर जन्ती जाने हो भने यसै लेखलाई आधार मानेर बोकाको बिहेमा धोका खान जन्ती आउनु होला । आउनु भयाे भने पोकाका पोका बोकाको मासु डोकाका डोका खान पाउनु हुनेछ । बोकाको बिहेमा बोका नै काटेर जन्ते बाख्रो खुवाउने योजना रहेकोले बोकाको मासु नखानेहरूलाई भने काँचो पिंडालुको स्वादिष्ट परिकारले साँचो स्वागत गरिने छ ।

आउनुस् मित्रहरू बोकाको बिहेमा बोकाकै पछि लागेर जन्ती जान अरुबेला पाइन्न । यो साउन महिना मौकाको महिना भएकोले जन्ती गएर चौका दाउ पनि हान्न सक्नु हुन्छ । छक्का दाउ पनि हान्न पाउनु हुनेछ । पञ्जा दाउ हान्न भने तपाईंले बोकाको साथ छाड्नु पर्दछ । किनभने पञ्जा दाउमा बोका सधैँ तयार भएको हुन्छ । तपाईंले पञ्जा दाउ हान्न खोज्दा तपाईंलाई नै बोकाले हान्दियो भने र जन्ती गएको मान्छे फेरि घाइते भएर फर्कनु पर्ने हुन्छ । त्यसैले पनि पञ्जा दाउतिर ध्यानै नदिएको राम्रो हो । अरु बांङ्गो टिंङ्गो चौका छक्का दाउतिर लाग्छन बोका भने सिधै पञ्जा दाउमा ध्यान दिने भएकोले पनि यो दाउमा ध्यान नदिन सुझाव दिएको हुँ ।

अब जन्ती त जाने तर कुन गाउँमा भन्नु होला । अन्त कतै जन्त गइँदैन । जहाँ खोरमा बिहे गर्नै बेला भएका पाठीहरू छन् त्यहीँ जन्ती जाने हो । बोकाले सबै कुरा मिलाएर राखेको छ । आफूले बिहे गर्ने पाठी बोकाले पहिले नै बन्दोवस्त गरेको छ । जन्ती लिएर गएपछि बिहे गर्ने पाठी खोज्ने होइन । हुन त लायकदार बोका देखेपछि अरु पाठीहरु पनि मुख मिठ्याउलान् । तर जसले बढी मुख मिठ्याएर र्याल चुहाएको छ त्यतैतिर बोका जान पनि सक्छ । यसो भएमा बोकाले पाठीलाई धोका दियो भनेर सरकारका विरुद्धमा जन्तीले आन्दोलन गर्दा पनि छुट हुन्छ । बोकाले आफूले पहिले हेरेको मन पराएको पाठीसँग नै बिहे गर्नु पर्छ भन्ने छैन । किनभने पछि पहिलेकी भन्दा राम्री खाइलाग्दी आफूलाई सुहाउदी भेट्यो भने उसैसँग बिहे गर्न आइतबार पर्खनु पर्दैन । मंगलबार वा बुधबार नै बिहे गर्दा पनि हुन्छ ।

बोकाको बिहेले हाम्रो समाजमा पहिले हलचल मच्चाएको छ । तर अहिले भने न हल न चल बरु छल छ फल छैन । पहिेलेको बोकाको बिहे र अहिलेको गाडीको बिहे भन्दा पहिलेकै बिहेलाई वास्तविक बिहे जस्तो मानिन्छ । किनभने पहिलेको बिहे बिहे जस्तो हुन्थ्यो । अहिलेको बिहे बेलुन जस्तो हुन्छ । पहिलेको बिहेमा खाँडो जगाइन्थ्यो र अहिलेको बिहेमा बेलुन फुटाइन्छ ।

बोकाको बिहेमा नजानेहरू थक्थकी मान्नेछन् । बारीको पाटामा टुक्रुक्क बसेर सालको पातको वा भोर्लाको पातमा बहु भोज र जन्ते बाख्रो खान पाइन छैन । यो अवसर गुमाउने छन् । जय साहित्य जय हास्यव्यङ्ग्य ।

०००
उदयपुर, गाईघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
पावर

पावर

सुरेशकुमार पाण्डे
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x