साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्याप्पी फादर्सडे अर्थात पितृसम्मान दिवस

आफू मैनबत्तीझैँ जलेर सन्तानका लागि, परिवारका लागि समाज र राष्ट्रका लागि उज्यालो छर्छन्। अरूलाई उज्यालो छर्दाछर्दै सिद्धिने ती समर्पित मैनबत्तीहरूलाई हार्दिक नमन चढाएँ।

Nepal Telecom ad

सुरेन उप्रेती :

हामी नेपालीहरू कुशेऔँसीलाई Father’s Day यानेकी बुवाको मुख हेर्ने दिनका रूपमा मनाउँछौँ। यो बुबाहरूको दिन मनाउँने प्रचलन आज विश्वभरी नै फैलिएको छ। कति देशहरूले त बुबाहरूको दिनमा राष्ट्रिय बिदा समेत दिने गरेका छन् । अमेरिका लगायत पश्चिमी दुनियाँमा फादर्स डेको इतिहाँस लगभग शताब्दी मात्र नाघेको पाइन्छ। तर नेपालमा यसको इतिहास हजारौँ बर्ष भएको पाइन्छ। भलै प्रचार प्रसारको अभावमा आजको जस्तो सर्वव्यापी हुनसकेको थिएन। व्यवहारिक रूपमा जीवित बुबाहरूको सम्मान गर्ने र प्रसंशा गर्ने काम पनि भएन होला। बहुसंख्यक नेपालीहरूसँग एक पेट मिठो मसिनो खुवाउन सक्ने हैसियत पनि नभएको वास्तविकता छ। यस्तो अवस्थामा भिन्न परिकार पहिरन र उपहारको कल्पना पनि चन्द्रमाको यात्रा तय गर्नु भन्दा सहज छैन। पेटभरी खानलाई दसैं कुर्नु पर्ने नियति खेपेकाहरूमा यो बुबाको मुख हेर्ने दिनले पनि ओठ लोप्र्याएर कुटिल व्यङ्ग्य गरेको अनुभूति हुन्छ।

सनातन धर्म परंम्परा अनुसार दिवंगत बुबाहरूलाई पिण्ड र पानी चढाउँने कामको शुरूवात कुशेऔँसीबाट भयो।पूजाआजा गर्ने, दानदक्षिणा तथा तर्पण गरी सबै दिवंगत बाहरू र पितृहरूलाई सम्झने परम्परा शुरू भएको पाइन्छ।कुशे औँसीका बारेमा विभिन्न किंवदन्तिहरू पाइन्छन्। भगवान विष्णुले पृथ्वीको उद्धारका लागि हिरण्याक्ष दैंत्यलाई बध गर्न बराह अवतार लिनु भयो। हिरण्याक्ष सँगको युद्ध पश्चात विष्णु भगवान थकाई मेट्न नदीतटमा गएर आराम गर्नु भयो। आराम गर्दा झरेका रौंहरू नै काँस र कुश भएर उम्रिएको हो। भगवान बराहबाट कुशको उत्पत्ती भएको हो भन्ने धार्मिक ग्रन्थहरूमा पाइन्छ। त्यस्तै गरी जालन्धरकी पत्नी वृन्दालाई विष्णुले छल गरेर सतित्वहरण गरे। वृन्दाले वास्तविकताको बोध पछि विष्णुलाई श्राप दिइन्। विष्णुले बृक्ष, चटान, घाँस, र झार हुनु भन्ने श्राप पाए। यसैले पिपल, शालिग्राम, तुलसी र कुशलाई विष्णुकै प्रतिकका रूपमा मानिन्छ।

यसरी विभिन्न प्रसंगबाट कुशको महत्व अधिक रहेको पाइन्छ। त्यसैबेलादेखि कुशलाई विविध यज्ञादिमा पाठपूजा र धार्मिक प्रयोजनमा प्रयोग गर्न थालियो। कुशासनमा बस्ने, कुशादण्ड लिएर, कुशको पवित्र लगाएर ध्यानादी गर्ने चलन चल्यो। हरेक धार्मिक कार्यमा कुशको प्रयोग गर्न थालियो। धार्मिक कार्यमा कर्ताले दाहिने हातको औँलामा कुशको औँठी ग्रहण गर्दा सबै कार्यलाई शुद्ध बनाउछ भन्ने मान्यता छ। कुश एउटा यस्तो घाँस हो जसलाई वैज्ञानिकहरूले Eragrostis cynosuroides भन्दछन्। यो धारिलो घाँस नेपालको तराईदेखि पहाडसम्म सजिलै प्राप्त गर्न सकिन्छ।कुशका जराबाट विभिन्न प्रकारका औषधीहरू पनि बनाइन्छ। वैज्ञानिकहरूले कुशको प्रयोगबाट विकिरणहरूलाई परिवर्तन गराउन सकिने पत्ता लगाएका छन्। कुशलाई कुशेऔँसीका दिनमात्र संकलन गरी घरघरमा राख्ने चलन छ।अरू दिन ल्याएको कुशलाई शुद्ध मानिदैन। कुश संकलन गर्ने औँसी नै कुशे औँसी हो। जसलाई बुबाको मुखहेर्ने दिन पनि भनिन्छ।

सत्ययुगमा एकपटक शिवजी हराउनु भएछ। ब्रम्हा, बिष्णु, इन्द्र भएर चारैतिर शिवजीलाई खोजे। धेरै समयको खोजी पछि शिवजीलाई श्लेष्मान्तक बनमा सुनौलो मृगको रूपमा फेला पारेछन्। तीनै जनाले घेराहालेर मृगलाई समात्न प्रयास गरे । अरू सबै मृग बेपत्ता भए। सबैले मृगका सिङमा समाते। सबैका हातमा सिंङमात्र आयो। शिवजी अलप हुनु भयो। त्यसबेला आकाशवाणी भयो। सबैलोकमा लगेर स्थापना गरे तीनै लोकमा कल्याण हुनेछ। त्यसपछि विष्णुले बैकुण्ठमा इन्द्रले श्वर्गमा र ब्रम्हाले मर्त्यलोक पृथ्वीमा स्थापना गरे। ब्रम्हाजीले गोकर्णमा स्थापना गरेको हुनाले गोकर्णेश्वर महादेव भनिएको हो। यो कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ। त्यस्तै अर्को किंवदन्ति अनुसार एक जना व्यापारीले आफ्ना पिताको सम्झनामा गोकर्णेश्वरमा पिण्डदान गर्न गएछन्। पिण्डदान गर्ने वेलामा त धेरै पितृहरू आएछन् । छोरालाई उसको बुवा चिन्न गाह्रो परेछ।

त्यसैबेला ब्रम्हाजी प्रकट भएर उसको बुबा चिनाइ दिएछन्। छोराले बाबुका हातमा पिण्ड राखिदिए। पिताले पिण्ड ग्रहण गरेर छोरालाई आशिर्वाद दिएछन्। बुबाको आशिर्वाद पाएर छोरा पनि धनसम्पति र मान सम्मानले प्रशिद्धि पाएछन्। त्यो दिन भाद्र कृष्णपक्षको अमावश्या कुशे औँसी अथवा पितृ औँसीको दिन रहेछ। त्यसैबेलादेखि गोकर्णको उत्तरबाहिनी र वाग्मतीको दोभानमा स्नान गर्नेको भेला हुन थाल्यो। बराहक्षेत्र र विष्णुपादुकामा पनि मानिसहरू भेला भएर पितृतर्पण गर्न शुरूभयो। आज क्रमश बढ्दै गएर मेलाकै रूपमा मानिसहरू भेलाभएर पितृलाई सम्मान, सम्झना र आराधना गर्ने गर्दछन्।

संसारका बिभिन्न देशहरू जस्तै  अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, ग्रिस, आयरलेण्ड, मेक्सिको, भारत, पाकिस्तान, सिंगापुर, अर्जेन्टिना, दक्षिण अफ्रिका र भेनेज्वएला आदि देशहरूमा जून महिनाको तेश्रो आइतवारलाई फादर्सडेका रूपमा मनाउने गर्दछन्। न्यूजिलेण्ड र अस्ट्रेलियामा भने सेप्टेम्वर महिनाको पहिलो आइतवारमा फादर्सडे मनाउने चलन छ। त्यस्तै गरी थाइलेण्डमा त्यहाँका राजाको जन्म दिवसलाई नै बाबुहरूको दिनका रूपमा मनाउने गर्दछन्।ब्राजिलयनहरूले अगष्टको दोश्रो आईतबारमा फादर्सडे मनाउने गर्दछन्। त्यस्तै गरी ताइवानमा अगष्टको आठमा मनाइन्छ। फिलिपिन्समा भने डिसेम्वरको पहिलो सोमबार फादर्सडे मनाइन्छ। यसरी संसारका धेरै देशहरूमा आआफ्नै दिनमा फादर्सडे मनाउने चलन छ ती देशहरूको फादर्सडे मनाउने गरेको इतिहास भने भर्खरैमात्र शताब्दीलाई नाघेको पाइन्छ।

संयुक्तराज्य अमेरिकाको पश्चिम भर्जिनियामा सन १९०८ मा कोइला खानीमा बिष्फोटन हुँदा ३६२ जना श्रमिकहरूको मत्यु भयो।ती मृतकहरूको सम्झना र सम्मानमा पश्चिमी भर्जिनियन चर्चले कार्यक्रमको आयोजना गर्यो। त्यसको अर्को बर्ष सन १९०९मा वाशिङटन निवासी सोनोरा स्मार्ट डोड नाम गरेकी युवतीले पिताहरूको सम्मान गर्ने सोच ल्याइन्।उनीहरू सानै हुँदा आमाको निधन भएको थियो। उनीहरूका बाबु विलियमले छजना छोराछोरीलाई एक्लै पालनपोषण गरेर हुर्काए। बुबाले विवाह नगरी एक्लै बसेर हुर्काएकोमा सोनोरा अनुगृहीत भइन्। उनले आफ्ना पिता विलियमलाई ह्रृदयदेखिनै धन्यवाद दिन चाहिन्। सोनोराले बुबाहरूको सम्मान गर्ने अभियान शुरू गरिन्। त्यसको ठिक अर्को बर्ष १९१०को जुन महिनाको तेश्रो आइतवारलाई बाबु दिवसको रूपमा मनाउन थालियो । उनी स्थानिय चर्चमा गएर YMCA (young men church Association)मा कुरा गरिन्। स्थानिय अधिकारीहरूले उनको कुरा उचित ठहराए ।१९१६ देखि वासिंटन राज्यले बाबुहरूको दिन घोषणा गर्यो।

त्यसको ठिक ५६ बर्ष पछि १९७२मा राष्ट्रपति उड्रो विल्सनले राष्ट्रिय पर्वका रूपमा मनाउने र सो दिनलाई विदा दिने निर्णय गरे। हरेक बालबालिकाहरूले उनीहरूका बुबालाई मिठा खानेकुरा र फूलका गुच्छा तथा उपहारहरू दिएर बुबाको दिन मनाउन थाले। यो थालनीले विश्वव्यापी करण हुँदै अरू धेरै देशहरूमा पनि पुग्यो। रोमन क्याथोलिकहरूले फादर्सडेलाई सेण्ट जोसेफडेका रूपमा मनाउने गर्दछन्।

यसरी संसारका धेरै देशहरूले फादर्सडे मनाउन थालेको सय बर्ष नाघ्दै गर्दा हामीसँग हजारौँ बर्षको इतिहास छ। परापूर्वकालदेखि बुबाको मुख हेर्ने दिनलाई मनाउँदै आएका छौँ। मातृ देवोभव, पितृ देवोभव, गुरू देवोभव भन्ने वैद्धिक श्लोकको उचारण गर्दै हाम्रो संस्कृति हुर्किएको हो। पिताको वचनलाई शीरोधार्य गर्दै पालना गर्ने हाम्रो संस्कृति हो। आदर्श पुरूष भगवान रामचन्द्रले पिताको वचनलाई शिरोधार्य गर्दै चौध बर्ष बनवास गएका थिए। पिता भनेको परिवारको मेरूदण्ड हो।

पिता भनेको भगवान विष्णु झैँ पालनकर्ता हुन। जस्तै आपदविपदमा पनि धैर्यताको बाँध बनेर परिवारलाई बचाउँछन्।कहिले सन्तानको सुखका निम्ति बन्दुक, तोप,गोला र बारूदसँग भिड्ने आँट गर्छन्। कहिले आफूलाई थाहा नै नभएको ठाउँमा गएर जंगली हात्ती र बाघ जस्ता हिंस्रक जनवारहरूसँग भिड्छन। औलोसँग लड्छन्, जंगल फँडानी गरेर बस्ती बसाउँछन्। कहिले मध्यपूर्वको बालुवाका देशमा होमिन्छन्। भाषा मिल्दैन संस्कार र संस्कृति मिल्दैन। तातो हाँडीको मकै जस्तै भएर भुटिन्छन्। पेलिएको उखुको खोष्टा जस्तै भएर निचोरिन्छन्। कठोर वचन र यातनाहरूलाई त बहिरो जस्तै बनेर नसुनेको अभिनय गर्छन्। मेशिन जस्तै भएर काम गर्छन्र।अनि पनि आफ्नो लक्षबाट विचलित हुँदैनन्। मात्र छोराछोरी भनेर। मात्र सन्तानको भविष्य सोचेर। ती बुबाहरूको सपना केही ठूलो हुँदैन। सन्तान अशल र गुणी बनोस्।ठूलो मानिस बनोस्। प्रशिद्धि कमाओस्। आफूले झैँ कठोर परिस्थितिको सामना गर्नु नपरोस्।

यस्ता मार्गप्रदर्शक सुभचिन्तक भगवानकै अंश हुन बुबाहरू। आफू मैनबत्तीझैँ जलेर सन्तानका लागि, परिवारका लागि समाज र राष्ट्रका लागि उज्यालो छर्छन्। अरूलाई उज्यालो छर्दाछर्दै सिद्धिने ती समर्पित मैनबत्तीहरूलाई हार्दिक नमन चढाएँ। ३६५ दिनमा एक दिन मिठो खाना दिएर, एक दिन राम्रो लगाउन दिएर मात्र सम्मान गरेको ठान्नु हुँदैन।आफ्नो कर्तव्य पुरा भएको ठान्नु हुँदैन। मातापिता भनेका देवताहरू हुन। सृष्टिकर्ता हुन्। पालनकर्ता हुन्।

भगवानलाई दैनिक पूजा गर्नु पर्छ। सदैब पूज्य छन्। जीवित देवताको आदर गरौँ। सम्मान गरौँ र सेवा गरौँ। ह्याप्पी फादर्सडे ।

०००
अटवा, क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुहिएको टाउको

कुहिएको टाउको

सुरेन उप्रेती
धुर्वे महाराज

धुर्वे महाराज

सुरेन उप्रेती
चश्मा

चश्मा

सुरेन उप्रेती
म

सुरेन उप्रेती
डनवाद

डनवाद

सुरेन उप्रेती
भुँडीवाद जिन्दावाद !

भुँडीवाद जिन्दावाद !

सुरेन उप्रेती
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x