साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चश्मा

कहिले लगेर नदी नाला त के सगरमाथा नै विदेशीलाई चढाउँछ । भाइ भाइ लडाउँछ । सज्जनलाई सडाउँछ । तस्करलाई कुईन्टलको माला चढाउँछ । दुइचार करोड खाँदा भ्रष्ट भन्न पाइँदैन ।

Nepal Telecom ad

सुरेन उप्रेती :

कसैले चश्माको नालिबेली बारे सोध्यो भने मलाई अँह वाक्य पनि फुट्दैन । यसका नातागोता, आफन्त कोहि थाहा छैन । कसले र कहिले यस सान्सारिक माया मोहमा यसलाई पारर्यो । त्यो पनि थाहा छैन । तर पनि यसलाई मैले सानो छँदै देखि देख्दै आएको छु । ठ्याक्कै तिथि मिति थाहा नभए पनि पहिलो पटक ज्योतिषिबाका कानमाथि डोरिले बाँधेर राखेको देखेको हुँ । लात्तिहान्ने गाई दुहुँदा डोरीले खुट्टा तन्काएर किलामा बाँधे जस्तै देखिन्थ्यो गुरुवाका कानमाथिको चश्मा । दुबैतिर नाकका डाँडीमा टेकेर आँखालाई छोपेर उभिएको हुन्थ्यो चश्मा । आजकालका सपिङमहलका पर्खालको रूपमा उभिएका बाक्ला शिसा जस्तै चश्माका लेन्स पनि वाक्ला थिए । मेरो दिमागमा भने ज्योतिषिबाको चश्मा देखे पछि चश्माले मान्छेका ग्रह दशा, भविश्य सबै देखाउँदो रहेछ भन्ने पर्यो ।

केहि दिन पश्चात जीवनको पहिलो दिन दाजु दिदीसँग झुण्डिदै स्कुल जान पाँए । त्यस बेला अस्ती ज्योतिषीबाको भन्दा अझ राम्रो राता खुट्टा भएको चश्मा गुरूजिका कान समातेर नाकमाथि बसेको देखेँ । त्यो झन राम्रो थियो । अहा ज्योतिषिबाको चश्मा भन्दा पनि राम्रो । गुरूजीले चश्मालाई नाकको टुप्पातिर सारेर चश्मा माथिबाट मलाई चिहाए । मरो ध्यान गरूजीमा भन्दा पनि उनले लगाएका चश्मामा थियो । मेरो चश्मा प्रतिको जिज्ञाशा झन बढ्दै गयो ।

अब त बाटो हिंड्दा पनि कसले कस्तो चश्मा लगाएको छ भन्नेमा मेरो ध्यान केन्द्रित हुन थाल्यो । एक दिन जिल्लाबाट विधालय निरिक्षक आएका थिए । उनका पुक्क परेका खाइलाग्दा गालाका विचमा चुरेपहाड जस्तै नाक ठडिएको थियो । त्यही नाकमाथि कालो चश्मा हिंउदका दिनमा घाम तापेर बसेका भैंसी जस्तै भएर डम्म बसेको थियो । बेला बेलामा त्यो चश्मालाई टाउको तिर सारेर हेयरबेण्ड जस्तै गरेर अड्काउँथे । यो देखे पछि चश्माहरू पनि विभिन्न रंगका हुँदा रहेछन भन्ने मैले लख काटें । अब मलाई चश्माको भूत नै चढ्यो । जसरी पनि एउटा चश्मा चैं धडेरै छोड्ने अठोट गरें । तर मलाई थाहा थिएन । चश्मा कहाँ फल्छ । चश्माको कत्रो रूखहुन्छ । काँचै टिपेर लाउनेहो की पाकुन्जेल पर्खनु पर्छ । टिप्न सकिने हो कि हैन नाना प्रश्नहरू खेल्न थाले मनमा ।

जहाँ इच्क्षा त्यहाँ उपाए भनेझैं मैले चश्मा लगाउन धेरै कुर्नु परेन । स्कूलबाट र्फिकंदा गल्लिमा सिमालीको बार थियो । त्यहाँ पँहेलै भएर पँहेलेका लहरा लहरिएका थिए । कसैले अमरलता पनि भन्थे । त्यसलाई टिपेर भक्का भक चश्मा बनाउन लागें । एउटा त बनाएर धडी पनि हालें । मेरो चश्मा देखेर अरू केटा केटीले पनि चश्मा बनाई माग्न थाले । मेले थुप्रै चश्मा बनाएर अरूलाई पनि लगाई दिंए । चश्मा लगाए पछिको त दृश्य नै बेग्लै । सोचाईनै बेग्लै हुने । शान नै बेग्लै । शिर नै उच्च भए जस्तो लाग्ने । यसरी पहिलो चश्माको अनुभव बटुलें । विस्तारै चश्माका बारेमा बुझ्‌दै र जान्दै लगें ।

चश्मा त बिभिन्न रंगका जातका ,थरका,धर्म र र्पािटका हुँदा रहेछन । तपाईलाई अच्म्म लाग्न सक्छ चश्मामा पनि यती धेरै विविधता र प्रकार हुन्छन भन्दा । हो मलाई पनि अचम्मै लाग्यो । तर हुँदो रहेछ । चश्मा भन्ने अचम्मकै हुँदो रहेछ । तपाई कस्तो चश्मा लगाएर हेर्नु हुन्छ त्यस्तै विचित्रको दृश्य देखाइ दिँदो रहेछ चश्माले । आनीको गीत जस्तै फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार तपाईले पनि सुनेकै हुनुपर्छ । नेपालमा एक जमानामा कुनै महाराजका सन्तानको चश्माको निकै ठूलो चर्चा थियो । उनको चश्माले जस्तै बाक्ला लुगाले छोपेर राखेका बस्तुहरू पनि छर्लङ्गै देख्थ्यो रे । त्यही चश्मा लगाएर कलेज वाहिर गाडी रोकेर दृश्यपान गर्थे रे । रेका कुरा हुन् । त्यो त कि उनका आत्मालाई थाहा होला कि त उनका मतियारहरूलाई थाहा होला ।

अब गएको दोश्रो संविधान सभाको निर्वाचन ताकाको कुरा गरौं । त्यसबेला जुन पार्टीको चश्मा लगाएको मान्छे भेटिन्थ्यो । उसले सबै त्यही पार्टीका समर्थक र भोटर्स देख्थ्यो । नेताले समेत सबै संसारै आफ्‌नै पार्टीका देखेर सयौ पटक सम्म बहुमत र दुइतिहाईका भाषण ठोके । जनजातिको चश्मा लगाएर हेर्दा सबै जनजाति नै मात्रै देखिने । जता पनि आफ्‌नै मान्छे देखन थालेपछि आफ्‌नो शक्तिको अट्कल नै भएन उनीहरूलाई ।

नेताका चश्माले जसलाई हेर्दा पनि आफ्‌नै क्याडर देखेपछि बर्वाद भएन त । यो चश्माले कसै कसैलाई अर्को पार्टीका मानिसहरूलाई आफ्‌नो क्षेत्रमा छिर्नै नदिने कुरा बाेल्न लगायो । कसैलाई सबै तिर आफ्‌नै क्याडर मात्रै देखाइ दियो र चुनाव बहिष्कार गर्ने भन्दै अर्कोलाई हराउमा केन्द्रित भयो । तराई पहाड मानिसको सागर उर्लन थाल्यो । तर त्यो सागर नेताको भाषण सुन्न थियोकी कलाकारको नृत्य हेर्न र गीत सुन्न आएको थियो । चश्मालले थाहा पाउनै दिएन । सबैलाई धोका दियो । । कुनै नेतालाई त आफ्‌नो चश्माले धोका मात्र दिएन । जहाँ जाँदा पनि जनसागर देखाइ दिने । ल अव त नेपाल नै आफैं मय भयो भनेर ढुक्क बनाइ दियो । तर नतिजाले पुल्टुङबाजी खेलाई दियो । मार्ने मर्ने खेल खेलेर आएकाले दरो मुटु भएर मात्रै नत्र भिमशेन थापाको उपाय अवलम्वन गर्न बेर थिएन । यो सबै चश्माको खेल त हो नि ।

कसैलाई यही चश्माले ढाडश दिन्छ र कसैले नेपाल राजतन्त्रात्मक हिन्दू राष्ट्र हुने पक्का भो भनेर भाषण पड्काउँछन । सोझा र राष्ट्रवादी भनिने र गनिने नेतालाई पनि प्रमको चश्मा लाउना साथ टनकपुर भारतकै हो भन्न सिकाएको थियो । कुनै नेतालाई टनकपुरले खरव खरव नाफा गर्छ भन्दै सम्झौता गर्न लगाएर भाषण खोक्न लगायो । । यहि चश्माले हौडा,लौडा काण्ड,बब्फर काण्ड मच्चाउन प्रेरित गर्र्यो । हतार हतार विप्पा सम्झौतामा सहि जोत्न उक्सायो ।

सोझो मान्छेले लगायो भने पनि त्यसै जस्मरीको मोतीकोहारले झैं नराम्रो सँग मान्छे बदल्छ यो चशमाले । कसरी तस्कर सँग र डन सँग सम्वन्ध गाँस्ने भनेर तरिका सिकाउँछ । सालीपटिका सातपुस्ते र भिनाजु पटिका नौपुस्तेलाई पुग्ने धनबटुल्न लगाउँ छ । सुनको व्यपार , वोइङमा लेनदेन, योजनाहरूको कमिसन र शेयरको कारोवार गराउँछ । सरूवा ,बढुवाबाट कोसेली थपाउँछ, यो सबै चश्माकै कमाल त होनी । मह खाएकालाई मात्रै त महको श्वाद थाहा हुन्छ नि भने झैं एक पटक चश्माको श्वाद पाएकाले त मरे पनि चश्मा नपाउनजेल छोड्दैन । संविधान बनाउन गएका पार्टीहरू एउटा गृहको विवादले झण्डै महिना दिन सम्म झूण्डिनु । त्यसैको उदाहरण हो । त्यो गृहको चश्माको मज्जा चाखिसकेका चश्‌माहरूले के मान्थे त्यो पदनपाउन्‌जेल । लासामा सुन छ मेरो पार्टी बुच्चै भन्ने उक्ती माहुरी खान पल्किएका मल्साप्राहरुलाई राम्रै थाहा थियो र बार्गेनिङ गरेका थिए । सुन आउने र जाने बाटो गृहमन्त्रीको चश्मालगाए पछि मात्र क्लियर हुन्छ भन्ने राम्रै अनुभव छ ।

यो चश्मालगाए पछि को सँग बोल्ने ,कसको हितमा काम गर्ने, कसलाई खुशि तुल्याउने । यसैले निर्णय गर्छ । कसैले प्रधानमन्त्रीको चश्मालगाएका वेला सँगैका सहयात्री भोक सहन नसकेर आत्महत्या गर्न समेत विवश बनाउने यहि चश्मा हो । सँगै जेलबसेका साथिहरूको महल,गाडी र शान हेर्दा कहिलै पेट भरिएन । छोराहरूको स्कुलजाने रहर मेटिएन । शाहुको रिणघटेन । त्यो भोको साथिको चश्माले जिउने अरर्को उपायनै ठम्याउन दिएन । जेल जीवनका उर्जासिल दिनहरूले झन झन घोच्न र रोप्न थाले । समयले व्यंग्य गर्न थाल्यो । शहीद भएका साथीहरूले पनि गिज्याएको अनुभूति गरायो र बाध्य पारेर पार्टी कार्यालयकै प्राङ्गणकाे रुखमा फलेको लौको बनाएर इहलिला समाप्त पार्यो यही चश्माले ।

यो चश्मा अति निर्दयी, क्रूर र विश्वास गर्न नसकिने खालको छ । कहिले स्वार्थका लागि एउटासँग लगनगाँठो जोड्छ र अर्कालाई धुलो चटाउँछ । कहिले उग्र राष्ट्रवादी बन्छ र नालापानीदेखि कालापानीसम्म विरोध गर्दै मार्चपास गराउँछ । कहिले लगेर नदी नाला त के सगरमाथा नै विदेशीलाई चढाउँछ । भाइ भाइ लडाउँछ । सज्जनलाई सडाउँछ । तस्करलाई कुईन्टलको माला चढाउँछ । दुइचार करोड खाँदा भ्रष्ट भन्न पाँइदैन । हाम्रा नेता महान छन् । भ्रष्टचार गर्नु नेताको अधिकार हो भन्दै जुलुशमा उतार्छ । नैतिकतालाई निमिट्यान्न पारेर विवेक सून्य बनाइ दिन्छ । कालोलाई सेतो देख्ने बनाउँछ । विद्वतबर्गलाई चाकरी गर्न सिकाउँछ । घमण्डको पगरी गुथेर फणा उठाएर गजधम्म भएर बस्न अर्डर दिन्छ र मरिच झैं आफ्‌ना पिराले आफैं चाउरिने बनाउँ छ ।

यो चश्माको महिमा भनौ या छुल्याई भनौ । न जानेर जान्न सकिन्छ न बुझेर बुझ्‌न सकिन्छ । चोरलाई चौतारी र साधुलाई सुली चढाउने यो चश्मा । यो विचित्रको चश्मा ।

०००

क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुहिएको टाउको

कुहिएको टाउको

सुरेन उप्रेती
धुर्वे महाराज

धुर्वे महाराज

सुरेन उप्रेती
म

सुरेन उप्रेती
डनवाद

डनवाद

सुरेन उप्रेती
भुँडीवाद जिन्दावाद !

भुँडीवाद जिन्दावाद !

सुरेन उप्रेती
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x