रमेश समर्थनग्यारेन्टीको ग्यारेन्टी
अब कसमस कसमस गर्ने पालो यजमानको भयो । एकछिन त उनी केही बोलेनन् । अनि केही सिप नलागेर पुरोहितलाई अप्ठ्यारोमा पार्न उनले अर्को समस्या तेर्स्याए ।
रमेश समर्थन :
मृतकको घरमा तेह्रौँ दिनका क्रियाहरू सम्पन्न गर्नका लागि आवश्यक दानसामग्रीका लागि पुरोहितसित सल्लाह हुँदै थियो । अति मधुर वाणीमा आफ्नो सुझाव राख्दै पुरोहितजीले भने —
‘‘समय पनि कस्तो आयो कस्तो ? कलियुग त होला नि हजुर ! सबै सहरमा आएर बस्न थाले । गाई पाल्ने न ठाउँ छ न चाहना छ । त्यसैले यो गोदान पनि लिनेदिने दुबैका लागि घाँडो पो भयो । अब त जसरी प्रायश्चित्त गोदान दुनामा नोठ राखेर गरिन्छ त्यसै गरी अन्य सबै दान पनि नोठबाटै गरे हुने भयो । त्यसैले केही पनि किन्ने झन्झट नगरौँ होला कि ? सबैको साटो पैसा दिएपछि लैजान पनि सजिलो र राख्न पनि सजिलो । पैसा भएपछि पुरोहितले पनि आफूलाई जे चाहियो त्यही किन्ने भए ।’’
भनाइ त मनासिबै थियो तर यजमानका आफन्तको चित्त बुझेन र उनले भने, ‘‘तर गुरुजी, हजुरले नै गरुड पुराण सुनाउँदा मृतकका छोराहरूले आफ्नो क्षमताले भ्याएसम्म उत्तमोत्तम वस्तु जस्तै सुन, चाँदी, बाच्छोसितकी कपिला र दुधालु गाई, शय्या, भाँडाकुँडा, वस्त्र आदि दान नगरेसम्म मृतकको मुक्ति सम्भव छैन भन्नुभएको हो नि ! अनि कागजको नोठ दिएर कसरी होला त ?’’
यजमानले आफ्नो जिब्रो बेसरी अँठ्याएको थाहा पाएपछि पुरोहितले पहिले त कसमस कसमस गरे अनि हात मल्दै भने, ‘‘पुरोहितले पाएको नै पितृले पाउने हुन् र पुरोहित तृप्त भए पितृ तृप्त हुने हुन् हजुर, अब घरमा राख्न नमिल्ने सामान र घर लानै नमिल्ने गाई दिएर त पुरोहित कसरी सन्तुष्ट होलान् र हजुर ! अनि पुरोहित सन्तुष्ट नभएपछि……!’’
‘‘त्यो त ठिकै छ गुरु, तर हामीले गर्ने दान त पितृका लागि हो नि ! पुरोहितलाई हामी जे, जस्तो र जति दिन्छौँ त्यो त्यस्तै र त्यति नै पितृले पाउने हुन् नि । हैन र ?’’
‘‘सोह्रै आना हो नि हजुर !’’
‘‘अनि हामीले दिएको पैसा त पितृकहाँ पनि पैसै पुग्ने होला । अब त्यहाँ त पैसा राख्ने बैंक पनि छैन होला र चाहिने सामान किन्नका लागि यहाँजस्ता सपिङ कम्प्लेक्स पनि छैनन् होला । अनि पितृले त्यसबाट सामान कसरी किन्न सक्छन् त ?’’
‘‘त्यो त यसो हो नि हजुर !’’
‘‘हजुरका छोरा अमेरिका हुनुहुन्छ । हो ?’
‘‘हो ।’’
‘‘बेला बेलामा हजुरलाई भनेर पैसा पनि पठाउनुहुन्छ । हो ?’’
‘‘हो ।’’
‘‘अब उहाँले त्यहाँबाट रुपियाँ त पठाउनुहुन्न । उहाँले पठाउने त डलर हो । तर यहाँ हजुरले बुझिबक्सने बेलामा त डलर नबुझेर रुपियाँ बुझिबक्सन्छ । यसै गरी जुन देशका मान्छे त्यहाँ छन् तिनले पठाउने डलर भए पनि तिनका अभिभावकले पाउने त उनीहरूकै मुद्रा हो । हो, यसै गरी त्यहाँ पनि यहाँका कुनै कुरा चल्दैनन् तर यहाँबाट पठाइएको वस्तु वा द्रव्य त्यहाँको आवश्यकताअनुसारको सामग्रीमा पितृहरूलाई प्राप्त हुन्छ ।’’
‘‘तपाईँ मुक्तिको ग्यारेन्टी गर्न सक्नुहुन्छ ?’’ उनी अलि साहसी र तर्कवादी रहेछन् । त्यसैले किरियापुत्रीहरूले नबोल्न भन्दाभन्दै पनि बोले ।
‘‘ग्यारेन्टी । हजार प्रतिशत ग्यारेन्टी । हजुरले गरेको दान स्वरूप परिवर्तन गरेर नै पितृसम्म पुग्ने कुराको हजार प्रतिशत ग्यारेन्टी ।’’
अब कसमस कसमस गर्ने पालो यजमानको भयो । एकछिन त उनी केही बोलेनन् । अनि केही सिप नलागेर पुरोहितलाई अप्ठ्यारोमा पार्न उनले अर्को समस्या तेर्स्याए ।
‘‘अनि पितृको मुक्ति नि ?’’
‘‘त्यो त भन्नैपर्दैन । सन्तानले नै पितृलाई मुक्त गर्ने हो । हामी त माध्यम मात्र हाँै ।’’
‘‘तपाईंको ग्यारेन्टीको पनि त ग्यारेन्टी हुनुपर्ला नि ! यदि तपाईंले भनेजस्तो भएन भने के गर्ने ?’’
‘‘यसका केही उपाय छन् । हजुरलाई जुन उपयुक्त लाग्छ, त्यही गरौँला ।
पहिलो, सामानको हकमा पठाइएको सामान जस्ताको त्यस्तै ल्याएमा साटेर लैजान पाइने छ ।
दोस्रो, मुक्त नभएको जीवलाई पुनः उपस्थित गराउने र मुक्तिको अर्को मार्ग निःशुल्क अवलम्बन गर्ने जसको जिम्मा मेरो भयो ।
तेस्रो, मुक्त हुन नसकेका व्यक्तिको ठाउँमा उहाँकै नजिकका आफन्तलाई मुक्त गर्ने । त्यसको जिम्मा पनि मेरै भयो र त्यो पनि फ्री अफ कस्ट । अब हजुरलाई जुन सुविधाजनक लाग्छ त्यही गरिबक्सेला ।’’
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest








































