अनन्तकुमार बस्नेतसाथी बनोस् समाज
यो सृष्टिमा सबैको होला शरीर जीर्ण खाएर चोट लाखौँ बन्ला हियो विदीर्ण यो चित्तमा फलाऔँ सत्कर्मका अनाज आधार ज्येष्ठको होस् साथी बनोस् समाज ॥
अनन्तकुमार बस्नेत :
यो दु:खको अनौठो संसार हो समुद्र
आई गरून् सबैको रक्षा झरेर रुद्र
सत्प्रेमको दियालो बालौँ मिलेर साँझ
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ॥१
यात्रा रहेछ हाम्रो बुझ्दा मनुष्य चोला
बग्दै छ जिन्दगी यो मानौँ बनेर खोला
सद्भाव राख्न थालौँ पाका विचार माझ
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ॥२
राखी अहम् र ईर्ष्या मान्छे सबै कुदेका
मात्सर्यको कुवामा चुर्लुम्म छन् डुबेका
आत्मीयता जडेको लाऔँ सुरम्य ताज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ॥३
संसार लाग्छ हेर्दा हो मोहको तलाउ
छन् वक्षमा अनेकौँ कुण्ठा कुठार घाउ
होओस् सदा हियामा सौन्दर्यको विराज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ॥४
यो सृष्टिमा सबैको होला शरीर जीर्ण
खाएर चोट लाखौँ बन्ला हियो विदीर्ण
यो चित्तमा फलाऔँ सत्कर्मका अनाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज ॥५
०००
Subscribe
Login
0 Comments
Oldest






































