रमेश खकुरेलम नै हुन्न होला
म लागी खनेको कुवा टन्न होला कुवाबाट पानी मिठो निस्किएला सुकेका गलामा सुधा पस्किएला गला तृप्त देख्ने म नै हुन्न होला ।।
रमेश खकुरेल :
छ विश्वास चाँडै भलै हुन्छ होला
यहाँ विश्वमा शान्ति संवृद्धि होला
दुखीको सबै पीर पोलिन्छ होला
सबै होस् छिटै किन्तु मै हुन्न होला।।
नयाँ ज्ञान विज्ञान जाला बढेर
सबै फाइदा लिन्छ मान्छे पढेर
बनाई नयाँ यन्त्र के गर्छ होला
कहाँ पुग्छ यो हेर्न मै हुन्न होला ।।
चलेको छ जो युद्ध खाऊँ भनेर
म आकाशमा बस्न जाऊँ भनेर
म रोगी नहूँ भन्छ यो पूर्ण होला
हुने नै छ पक्कै म नै हुन्न होला ।।
घृणाको जरैदेखि खोस्रेर फाली
झिकी कोषबाटै हटाएर गाली
सदिच्छा र सद्भावना गोडिएला
दया प्रेम हेर्ने म नै हुन्न होला ।।
म लागी खनेको कुवा टन्न होला
कुवाबाट पानी मिठो निस्किएला
सुकेका गलामा सुधा पस्किएला
गला तृप्त देख्ने म नै हुन्न होला ।।
भरे जे जसो हुन्छ होला त होला
म गर्दैछु जे त्यो त गर्नैछ होला
म के हेरुँ को भोलि भोग्नेछ होला
कुनै छैन चिन्ता म नै हुन्न होला ।।
०००
कमलपाेखरी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































