मिलन समीरजुठोपुरो
त्यतिबेला देखाएको सपना सम्झेर साँच्चिकै लाज लाग्छ, कवि ठानेका थियौँ हामीले तिमीलाई, तिमीले त लेखिरहेका रहेछौ ।
मिलन समीर :
कुनैबेला तिमीले ओकलिरहेका हुन्थ्यौ हरेकपल आगो
यतिबेला तिमी आफैँले तापिरहेका छौ आगो !
कुनैबेला तिम्रा कविताले
हल्लाइदिएका हुन्थे भुकम्पले झैँ
जरैदेखि जेलका भित्ताहरू
यतिबेला तिम्रै कविताले
ढकढक्याइरहेका छन्
सिंहदरबारको ढोका-
“मालिक !
अलिकति मात्रै भए पनि
रहलपहल बाँकी छ कि…?”
हो, त्यो तिमी नै हौ
जसले कुनैबेला
क्रान्ति लेखेरै बनाएका थियौ
आफ्नो पृथक पहिचान
यतिबेला कौडीको भाउमा बेचेर
त्यही परिचय
किनिरहेछौ सिर्तो !
पहिलेको
तिम्रो त्यो कविता
सम्झिरहेको हुन्छु-
जसमा बन्दुक थियो बोलीको
हुन त खहरे नै रहेछ आखिर
र पनि गति थियोे खोलीको
भोक थियो उज्यालो भोलिको,
त्यही कविता पढेर
हामीले उठाएका थियौँ ढुङ्गा
अहिलेको
तिम्रो यो कविता हेर्छु-
जसमा टाईसुट छ
घुम्ने कुर्सी छ
नियुक्तिपत्र छ,
यही कविता पढेर
तिमीले हाम्रो ढुङ्गा बेचेका रहेछौ !
तिम्रो वैचारिक धरातलको त
के कुरा गर्नु र खै ?
त्यो धरातल त तिमीले कहिल्यै टेकेनौ
त्यो त केवल मञ्च थियो
मञ्चबाट सिधै सत्तासम्म पुग्ने भर्याङ थियोे !
लम्पसार परेका छैनौ तिमी,
तिमी त जन्मजात लम्पसार थियौ
तिमीले त उठेको
अभिनय मात्रै गरेका थियौ,
क्रान्तिको कविता भनेको
उठेको अभिनयको स्क्रिप्ट रहेछ तिम्रो लागि !
अहिले तिमी राज्यसत्ताको भान्छामै छौ
जुठोपुरो कुरिरहेछौ
कहिले विभागीय मन्त्रीले
हात धुन्छन् र तिमीले टिप्छौ !
के थाहा तिमीलाई ?
राज्यसत्ताले कविलाई
कहिल्यै खान दिँदैन,
जुठो मात्र दिन्छ
जुठो खाने कवि,
कदापि कवि हुँदैन-
हुन्छ त केवल भाट हुन्छ ।
सोच्यौ होला तिमीले-
तिमी चलाख भयौ
होइन, तिमी त केवल नाङ्गियौ
फुकालियो तिम्रो कविताको क्रान्तिकारी खोल
तिमीभित्र त लुकेर बसिरहेको रहेछ
एउटा यस्तो अगस्ति- हन्तकाली
चरम अवसरवादी पापी पेट,
जो सधैँ सत्ताको जुठोपुरो
प्राप्तिकै लागि बजिरहन्छ !
लाज लाग्छ !
यतिबेला तिम्रो यो कविता सम्झेर होइन,
तिम्रो त्यो कविताले हामीलाई
त्यतिबेला देखाएको सपना सम्झेर साँच्चिकै लाज लाग्छ,
कवि ठानेका थियौँ हामीले तिमीलाई,
तिमीले त लेखिरहेका रहेछौ
दलालको कविता !
जाउ तिमी
अब अर्को कविता लेखेर आउ-
“जुठोपुरोको महिमा” शीर्षकमा,
त्यही नै तिम्रो आत्मकथा हुनेछ
त्यही नै तिम्रो
अन्तिमपटक स्खलित
वैचारिक धरातल हुनेछ ।
०००
करादीखोला, स्याङ्जा ।
Subscribe
Login
0 Comments
Oldest






































