मिलन समीरधेरै नै गाह्रो रहेछ नि यार ! प्राज्ञ हुन
नाथे पदीय हैसियतलाई महान भएर सार्वजनिकरूपमै तथाकथित स्रष्टाको नाउँमा अभूतपूर्व कलङ्कित कुपात्र, त्यसपछि बल्ल आउ प्राज्ञ हुन ।
मिलन समीर :
साथी !
के पढिरहेका छौ यार !
एकान्तमा एक्लै बसेर
दुवै घुँडा मज्जाले धसेर
हुँदै नभएको टुप्पी कसेर
अझैसम्म पनि…?
के देखिरहेका छौ त्यस्तो
र लेखिरहेका छौ यार !
डुबेर मनोभावनाको
महासागरमा चुर्लुम्मै
अहिलेसम्म पनि…?
कहाँसम्म पुग्छु भनेर
हिँडिरहेका छौ लखरलखर
वैकल्पिक बाटो बनाउँदै
चालेर पृथक पाइलाहरु ?
के अनुसन्धान गरिरहेका छौ यार !
बिर्सेर बाँकी सबैथोक
एकोहोरिएर वर्षौंदेखि…?
के खान लीन भइरहेका छौ यार !
साधनाको चरम समाधिमा…?
के सोचेर बसिरहेका छौ यार !
अझैसम्म पनि… ?
तिमीलाई पनि
मन लागेकै हो भनेदेखि
म जस्तै प्राज्ञ हुन
ठाउँको ठाउँ सुइँक्याइदिएर
पढ्दापढ्दैका पुस्तकहरू
त्यहीँ कतै मिल्क्याइदिएर
लेख्दालेख्दैका कलम र कापी
आउन सक्छौ नि यार ! अझै
तिमी पनि म जस्तै प्राज्ञ हुन ।
पहिले
अलिक राम्रोसँग
मेरो विवादास्पद विगत,
पराकाष्ठामै पुगिसकेको
चरित्रहीन चरित्रको कुनियतसँगै
नियालेर मलाई हेर,
बलियोगरी समात,
समातिसकेपछि छोड्दै नछोड
कोही कसैको दौराको फेर,
लगाएर साँघुरो निधारभरी
देशै जलाएर बाँकी रहेको
खरानीको कलङ्कित टिको,
काडेर प्राज्ञ शब्दकै दोहोलो
लुटेर प्रज्ञा प्रतिष्ठानकै हुर्मत
उडाएर लेखकीय अस्तित्वको धज्जी बनाएर
नाथे पदीय हैसियतलाई महान
भएर सार्वजनिकरूपमै
तथाकथित स्रष्टाको नाउँमा
अभूतपूर्व कलङ्कित कुपात्र,
त्यसपछि बल्ल आउ प्राज्ञ हुन ।
साथी !
धेरै नै गाह्रो रहेछ नि यार !
प्रज्ञाविहीन प्राज्ञ हुन !
०००
करादीखोला, स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest







































