नन्दलाल आचार्यविमलको प्रवेश : यमलोकको त्रास
भाइ राजेन्द्र विमल ! तपाईंको भौतिक शरीर २०८३ साउन २६ मा अस्तायो होला, तर तपाईंको शब्द-साम्राज्य अमर छ । मान्छे मर्न सक्छ, तर विचार मर्दैन । शरीर थाक्छ, तर सिर्जनाको ज्योति बलिरहन्छ ।
नन्दलाल आचार्य :
स्थान: यमलोकको ‘दिव्य साहित्य प्राङ्गण’
(मञ्च सिँगारिएको छ, पृष्ठभूमिमा ‘यमपुरी साहित्य महोत्सव-२०८३’ को ब्यानर छ । मञ्चमा सभाध्यक्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा, उद्घोषक आदिकवि भानुभक्त आचार्य, स्वागतकर्ता महाकवि विद्यापति र प्रमुख अतिथि डा. राजेन्द्र विमल आसिन छन् । अगाडि यमराज, चित्रगुप्त र हजारौँ यमदूत-प्रेतात्माहरूको भव्य उपस्थिति छ ।)
पात्रहरू:
१. डा. राजेन्द्र विमल: प्रमुख अतिथि (प्राध्यापक, कथाकार, बहुभाषिक विद्वान्, भद्र र तार्किक)
२. नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा: सभाध्यक्ष (भावुक, प्रखर, आशुकवि, अलिकति अस्तव्यस्त र चुरोटको धूवाँ खोज्दै गरेका)
३. आदिकवि भानुभक्त आचार्य: उद्घोषक (रामायणका छन्दमा बोल्ने, व्यङ्ग्य कडा हान्ने, घाँसीको सम्झना गरिरहने)
४. मैथिली भाषाका महाकवि विद्यापति: स्वागतकर्ता (मैथिली र संस्कृतका महाकवि, मधुरभाषी, कोकिलकण्ठी)
५. यमराज: आयोजक तथा दर्शक (हास्यप्रिय, आफ्नै नियमदेखि आजित)
६. चित्रगुप्त: लेखापाल (चस्माको डाँडी समाउँदै शुद्धता र त्रुटि खोज्ने)
अङ्क १
(पर्दा खुल्छ । उद्घोषकको मञ्चमा आदिकवि भानुभक्त आचार्य हातमा तामाको लोटा र रुद्राक्षको माला लगाएर उभिएका छन् । काखमा रामायणको पाण्डुलिपि छ ।)
भानुभक्त: (कमरमा हात राखेर, छन्दमा गाउँदै)
भन्छन् मानिस मर्छ केवल यहाँ, प्राणै गएपछि त,
शब्दैको रथ चढी आउँछ स्रष्टा, मार्गै फराकिलो भई त !
सुन हे यमराज ! दूतहरू हो ! ताली बजाऊ ठुलो,
डाक्टर विमल आए यमपुरी, पृथ्वी भयो अब धुलो !
सज्जनवृन्द ! म भानुभक्त बोलिरहेको छु । यमलोकको इतिहासमा आज पहिलोपटक यस्तो अद्भूत दृश्य देखिएको छ । पृथ्वीलोकमा २०८३ साउन २६ को मध्यरातमा एउटा साँचो प्राज्ञको भौतिक शरीर निभ्यो, तर यमलोकमा भने उहाँको चेतनाको उज्यालो सल्कियो । ल, अब कार्यक्रम अगाडि बढाउन म हाम्रा स्वागतकर्ता महाकवि विद्यापतिज्यूलाई निमन्त्रणा गर्दछु !
(विद्यापति मञ्चको माइक नजिक आउँछन् । उनको हातमा पानको पात र मखाना छ ।)
विद्यापति: (मैथिली मिश्रित सुमधुर नेपालीमा)
हे मिथिलाक रत्न, प्राध्यापक डा. राजेन्द्र विमलजी ! अहाँक स्वागतमे यी यमपुरी आइ जनकपुरधाम बनल अछि । जे स्रष्टा ‘खटमल और जूँ’ सँ लेखन सुरु कऽ कऽ ‘समयका आँखा’ धरि पुगलाह, हुनका यमराजक साङ्लाले कसै सकैछ ? कथमपि नै ! मैथिली, नेपाली, अवधी र संस्कृतक जे त्रिवेणी अहाँ बगाएब, ओकरा देखि वैतरणी नदी सेहो लजा कऽ दुब्लाइ गेल अछि !
(तालीको गडगडाहट । चित्रगुप्त दौड्दै मञ्चमा आउँछन् । हातमा एउटा ठूलो बहीखाता छ ।)
चित्रगुप्त: रुकियोस् ! रोकियोस् यो गोष्ठी ! सभाध्यक्ष महोदय, यहाँ ठूलो प्राविधिक त्रुटि भएको छ !
देवकोटा: (आँखा जुधाउँदै, हातमा काल्पनिक चुरोट सल्काउने अभिनय गर्दै)
के भो चित्रगुप्तजी ? के पृथ्वीका नेताहरूले झैँ तिमीले पनि यहाँ साहित्यिक बजेटमा घोटाला देख्यौ कि के हो ? कि राजेन्द्र विमलजीको पापको भारी धेरै भयो ?
चित्रगुप्त: होइन देवकोटाज्यू ! पाप त उहाँको फाइलमा ढोका थुनेर खोज्दा पनि भेटिएन । समस्या व्याकरणको हो ! उहाँले यमलोकको मूल प्रवेशद्वारमा टाँगिएको ब्यानर हेर्नुभयो र यमदूतलाई हप्काउनुभयो ! ब्यानरमा ‘स्वागतम्’ मा ‘म’ को खुट्टा काटिएको रहेनछ ! उहाँले भन्नुभयो- “व्याकरणको खुट्टा भाँचिएका ठाउँमा म प्रवेश गर्दिनँ !” अहिले यमराज आफैँ चुन र रङ बोकेर ढोकामा ‘म’ को खुट्टा काट्दै हुनुहुन्छ !
(डा. राजेन्द्र विमल शान्त, गम्भीर र ईषत् मुस्कानका साथ मञ्चमा प्रवेश गर्छन् । उहाँको पहिरन सादा छ, आँखामा विद्वत्ताको चमक छ ।)
डा. राजेन्द्र विमल: (सबैलाई प्रणाम गर्दै) चित्रगुप्तजी, व्याकरण भनेको भाषाको आचारसंहिता हो । पृथ्वीमा त मानिसहरूले राजनीति, सिद्धान्त र निष्ठाको खुट्टा भाँचिसके, कम्तीमा यमलोकमा त भाषाको खुट्टा सुरक्षित रहोस् ! देवकोटाजी, आदिकविजी, महाकवि विद्यापतिजी… तपाईंहरू माझ पुग्दा मलाई यमलोक होइन, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग वा जनकपुरको प्राज्ञिक सभामा पुगेझैँ भइरहेको छ ।
अङ्क २:
(यमराज पसिना पुछ्दै, हातमा चुनको दाग बोकेर दौड्दै मञ्चमा आउँछन् ।)
यमराज: अहो डाक्टर साब ! नमस्कार ! तपाईंको शुद्धताको मोहले म यमराजलाई पनि चित्रकार बनाइदियो । तर एउटा कुरा भन्नुहोस्, तपाईं पृथ्वी छोडेर आउँदा हाम्रा यमदूतहरूले तपाईंलाई साङ्लो लगाउने हिम्मत गरेनन् रे, किन ?
डा. राजेन्द्र विमल: (मुस्कुराउँदै)
यमराजजी, साङ्लो त तिनलाई चाहिन्छ जसका हातहरू अरूको अधिकार खोस्न र सम्पत्ति लुट्न चल्छन् । मेरो हात त केवल कलम चलाउन, शब्दकोश कोर्न र विद्यार्थीको भविष्य कोर्न चल्यो । शब्दको यात्रुलाई साङ्लाले बाँध्न खोज्यो भने साङ्लो आफैँ पग्लेर कविता बन्छ ।
भानुभक्त: वाह ! क्या कुरा गर्नुभयो डाक्टर साब !
(लयमा गाउँदै)
साङ्लाले बाँध्न खोजे त, शब्दैले काटी दिनेछन्,
यमका चेलाहरूलाई, पाठै पढाइ दिनेछन् !
देवकोटा: (उठेर, जोसका साथ)
राजेन्द्रजी ! तपाईंले पृथ्वीको समकालीन अवस्था त देखेरै आउनुभयो । भन्नुहोस् त, त्यहाँ आजकाल साहित्यको नाममा के भइरहेको छ ? म त माथिबाट हेर्छु- मानिसहरू तीनवटा नबुझिने कठिन शब्द जोडेर आफूलाई ‘उत्तर-आधुनिक’ भन्छन् !
डा. राजेन्द्र विमल: (मार्मिक र हास्यपूर्ण शैलीमा)
महाकविजी, तपाईंले ठिक भन्नुभयो । आजकाल पृथ्वीमा साहित्य सिर्जनाभन्दा बढी ‘मार्केटिङ’ भइरहेको छ । किताबको भित्री पाना खाली छ, तर कभरमा पाँचवटा ठूला समीक्षकका प्रशंसाका पुलिन्दा छन् !
जीवित छँदा लेखकले एउटा पुस्तक छाप्न ऋण खोज्नुपर्छ, तर ऊ मरेपछि तिनै मानिसहरू उसका नाममा लाखौँको ब्यानर बनाएर ‘महान्’ को उपाधि बाँड्छन् । जीवित हुँदा जसले ‘रोएको जून’ पढेको हुँदैन, उही मानिस फेसबुकका भित्तामा १० वटा रोएको इमोजी टाँसेर भावुक बन्छ ! यस पृथ्वीलोकको बडो रमाइलो र मार्मिक तमासा छ !
चित्रगुप्त: (अचम्म पर्दै) भनेपछि, पृथ्वीमा मानिसको कदर मरेपछि मात्र हुन्छ ?
डा. राजेन्द्र विमल: बिलकुल ! जीवित हुँदा एउटा वरिष्ठ स्रष्टालाई चिया खाने पैसा हुँदैन, तर ऊ बितेपछि उहाँको शालिक बनाउन नगरपालिकाले १० लाख बजेट विनियोजन गर्छ ! म त भन्छु- शालिकमाथि फूल चढाउनुभन्दा जीवितै छँदा स्रष्टाको एउटा किताब किनेर पढिदिनु नै उसको सच्चा सम्मान हो ।
अङ्क ३
(मञ्चको एकातिर वैतरणी नदीको साङ्केतिक दृश्य देखिन्छ । नदीबाट भयङ्कर आवाज आउँछ, तर विमलजीलाई देखेपछि नदी शान्त हुन्छ ।)
विद्यापति: डाक्टर साब, अहाँ त ‘जलाधि जलाधार क्षेत्रक इतिहास’ लिखलहुँ, ‘मिथिलाक इतिहास, संस्कृति र कलापरम्परा’ लिखलहुँ । वैतरणी नदी देखि अहाँक डर नै लागल ?
डा. राजेन्द्र विमल: विद्यापतिजी, म त ‘खहरेको तिर्खा’ बुझेको मान्छे । नदी त केवल जलको बहाव मात्र होइन, साहित्यमा आएपछि त्यो मानवीय संवेदनाको प्रतीक बन्छ । पापीहरूका लागि वैतरणी तर्साउने हतियार होला, तर शब्दका साधकका लागि यो केवल आफ्ना कृतिका पानाहरू तैरिने एउटा सानो कुलो मात्र हो !
(यमराजले यमदूतलाई बोलाउँछन् ।)
यमराज: ए दूत ! चित्रगुप्तको त्यो पुरानो पाप-पुण्य जोख्ने तराजु कता गयो ?
चित्रगुप्त: प्रभु ! त्यो तराजु त अघि नै भाँचियो ! डाक्टर साबको ‘जगदम्बाश्री’, ‘कलाश्री’, दुई दर्जनभन्दा बढी अनुसन्धान ग्रन्थ, अनि हजारौँ विद्यार्थीलाई दिएको ज्ञानको पुण्यको पल्ला तराजुमा राख्नासाथ पुण्य यति गहुँगो भयो कि तराजुको डाँडी यमलोकको भुइँमा धस्सियो ! पापको पल्ला भने खाली भएर यमलोकको झ्यालबाट बाहिर उड्यो !
(सबैको ठूलो हाँसो ।)
देवकोटा: (हाँस्दै) हाहाहा ! गजब भयो ! यमराजजी, अब तपाईंको यो पुरानो तराजु काम लाग्दैन । यहाँ त अब ‘साहित्यिक कसी’ चाहिन्छ । राजेन्द्रजी, तपाईंले जनकपुरमा बसेर मैथिली र नेपाली दुवै भाषाको जुन सेवा गर्नुभयो, त्यसले मधेश र पहाडको हृदयलाई कसरी जोड्यो ?
डा. राजेन्द्र विमल: (अत्यन्त गम्भीर र प्रेरणादायी स्वरमा)
महाकविजी, भाषा भनेको मानिसलाई विभाजन गर्ने पर्खाल होइन, हृदय जोड्ने पुल हो । मैथिली मेरो आमाको काखको भाषा हो, नेपाली मेरो देशको साझा धडकन हो । जब मैले ‘श्री सीतायण’ को सम्पादन गरेँ वा हरिमोहन झाको ‘खटर काकाका तरङ्ग’ लाई नेपाली पाठकमाझ ल्याएँ, तब मैले महसुस गरेँ- संवेदनाको कुनै बेग्लै भूगोल हुँदैन ।
यदि भाषाले मानिस-मानिसबीच घृणा फैलाउँछ भने त्यो भाषा होइन, अज्ञानताको कर्कश आवाज हो । साहित्यले त जहिले पनि ‘खण्डन-मण्डन’ गर्दै नव-मूल्यको स्थापना गर्नुपर्छ ।
अङ्क ४
(भानुभक्त आचार्य मञ्चको बिचमा आउँछन्, हातमा रामायणको साटो डा. राजेन्द्र विमलको ‘समयका आँखा’ कथासङ्ग्रह छ ।)
भानुभक्त: (लयमा गाउँदै)
पृथ्वीमा त गुटबन्दी छ, पुरस्कारमा धाँधली,
यहाँ त केवल शब्दको पूजा, छैन कुनै काँधली !
डाक्टर साब ! अब भन्नुहोस्, यमलोकमा के-के सुधार गरौँ ?
डा. राजेन्द्र विमल: (उठेर मुस्कुराउँदै)
आदिकविजी ! यमलोकमा सुधार गर्न धेरै केही छैन, बस ३ वटा नियम लागू गरौँ:
१. अबदेखि यमलोकमा आउने कुनै पनि आत्माको प्रवेशज्ञा (भिसा) उसको धन वा पद हेरेर होइन, उसले जीवनमा पढेका पुस्तक र गरेका असल कर्मको आधारमा तय गरियोस् ।
२. चित्रगुप्तजीले बहीखातामा शुद्ध देवनागरी र मैथिली लिपिको प्रयोग गरून्, व्याकरण त्रुटि भएमा ५ मिनेट ‘पुनर्लेखन’ को सजाय दिइयोस् !
३. र, मृत भइसकेका स्रष्टाको नाममा शोकसभा गर्नुभन्दा, पृथ्वीमा रहेका नयाँ पुस्तालाई अध्ययन र सिर्जनामा लाग्ने प्रेरणा दिइयोस् !
(यमराज दङ्ग पर्दै जोडले ताली बजाउँछन् ।)
यमराज: स्वीकृत छ ! बिलकुल स्वीकृत छ ! चित्रगुप्त, आजैदेखि यमलोकको ढोकामा यो नियम लेखिहाल ! अब पृथ्वीबाट कुनै लेखक आयो भने सोध्नु- “तपाईंले डा. राजेन्द्र विमलको ‘समयका आँखा’ वा ‘मिथिला गौरव’ पढ्नुभएको छ ?” यदि उसले ‘छैन’ भन्यो भने, उसलाई पहिले यमलोकको पुस्तकालयमा ५ वर्ष अध्ययन गर्न पठाउनू, अनि मात्र प्रवेश दिनू !
देवकोटा: (मञ्चको बीचमा आएर सभाध्यक्षको मन्तव्य दिँदै) भाइ राजेन्द्र विमल ! तपाईंको भौतिक शरीर २०८३ साउन २६ मा अस्तायो होला, तर तपाईंको शब्द-साम्राज्य अमर छ । मान्छे मर्न सक्छ, तर विचार मर्दैन । शरीर थाक्छ, तर सिर्जनाको ज्योति बलिरहन्छ । जनकपुरको माटोदेखि काठमाडौँका प्राज्ञिक सभासम्म तपाईंले बाल्नुभएको चेतनाको दियो पुस्तौँसम्म जगमगाइरहनेछ ।
भानुभक्त: (उद्घोषकको रूपमा अन्तिममा लयमा भन्दै)
यमपुरीको यो गोष्ठी सिद्धियो, उज्यालो छायो यहाँ,
राजेन्द्र विमल अमर बने, शब्दको लोक जहाँ !
फूलको गुच्छा यमराजले दिए, सम्मानै-सम्मान भयो,
सच्चा स्रष्टा मरेर पनि, अमरतातिर गयो !
(सबै पात्रहरू उभिएर डा. राजेन्द्र विमललाई सम्मानपूर्वक प्रणाम गर्छन् । डा. राजेन्द्र विमलले हात जोडेर सबैलाई धन्यवाद दिन्छन् । पृष्ठभूमिमा मैथिलीको मधुर लोकधुन र नेपाली राष्ट्रिय भावको सङ्गीत एकसाथ गुञ्जन्छ ।)
(पर्दा खस्छ)
०००
२०८३/०४/२८
सिद्धार्थटोल, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest











































