साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेन्जी सहिद र मेरो सोझो दिमाग

उनीहरूले त आफ्नो बाटो बनाए, हामीलाई बाटो देखाइदिए, अब त भन्नुहोस् नेताज्यू, हजुरको नयाँ भाषण कहिले आउँछ ?

Nepal Telecom ad

नन्दलाल आचार्य :

हजुर ! म त अलि कमै पढेको, उमेरले आधा उकालो काटिसकेको मान्छे,
न जानेँ कुनै दर्शन, न त बुझेँ ठूला कुराको ठम्याइ ।
गाउँमा हलो जोत्दा-जोत्दा हातका ठेला नीला भइसके,
शहरतिर चल्ने यो उत्तरआधुनिक हावा मैले कसरी बुझूँ ?
मेरा बाले भन्थे, “राणा फालेपछि देश स्वर्ग हुन्छ ।”
मैले ठानेँ, “पञ्चायत ढलेपछि दुखाउनु पर्दैन दुख्ने टाउको ।”
६२/६३ मा शहरतिर जुलुस निस्कँदा सोचेँ, “अब त दुःख सकियो,”
तर मेरो गाउँको रित्तो चुलोले कहिल्यै नयाँ व्यवस्था देखेन ।
अनि एकाएक एक वर्ष अघि ती साना केटाकेटीहरू निस्किए,
हातमा मोबाइल समातेका, काँधमा झोला बोकेका जेन्जीहरू ।
हामी त भन्थ्यौँ- “यी त दिनभर स्क्रिन घोटेर बिग्रेका फुच्चाफुच्ची हुन्,
यिनलाई के थाहा देशको पिर, यिनलाई के मतलब भविष्यको पसिना ?”
तर भित्तामा लेखिएका ठूला कुरा र भाषणका ठेलीभन्दा,
ती साना हातले कोरेका टिकटकका भिडियो धेरै साँचा थिए ।
हामी बुढापाका त कुर्सीका अघिल्तिर शिर झुकाएर नमस्कार गर्थ्यौँ,
ती साना केटाकेटीले त सीधै सोधे- “हाम्रो भविष्य खोइ त बाआमाहरू ?”
धिक्कार छ मेरो यो पचास वर्षे सोझो दिमागलाई,
जसले ती केटाकेटीलाई खाली रिल बनाउने मात्रै सोच्यो ।
जब उनीहरू छातीमा गोली खाएर सडकमा ढले,
तब बल्लतल्ल बुझेँ- उनीहरू त देशको बिग्रिएको सिस्टम रिबुट गर्न आएका रहेछन् ।
नेताज्यूहरू ! हजुरहरूका भाषणमा त देश उहिल्यै सुखी भइसक्यो,
तर ती सहिद भएका साना बाबुनानीहरूले हजुरको सुखको खोल खोलिदिए ।
हामी त जिउँदै मरेर पनि हाँसीहाँसी जिउँदो लास बनेका थियौँ,
ती साना जेन्जीहरूले मरेर पनि यो देशलाई ब्युँझाइदिए ।
हँसाऊँ कसरी म ? म त सोझो मान्छे, मलाई ठट्टा गर्न पनि आउँदैन,
तर हाँसो उठ्छ आफ्नै लाचारीमाथि, आफ्नै सोझोपनमाथि ।
जसलाई हामीले केही नजान्ने केटाकेटी भन्यौँ,
तिनैले आफ्नो रगतले नयाँ इतिहासको अपडेट लेखेर गए ।
अहिले गाउँको डाँडामा बसेर आफ्नो फुटेको हात हेर्छु,
अनि सोच्छु- ती जेन्जी सहिदहरूले हाम्रै लागि प्राण दिएका हुन् ।
उनीहरूले त आफ्नो बाटो बनाए, हामीलाई बाटो देखाइदिए,
अब त भन्नुहोस् नेताज्यू, हजुरको नयाँ भाषण कहिले आउँछ ?

०००
२०८३ भदौ २३ गते, (जेन्जी सहिद दिवस)
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x