रामकृष्ण ढकाललौ न ए आई
तादी पुल बनेको हामीले तिम्रै भनेको एउटा बाउ नि बनाइदेऊ टीकाका दिन दशैंमा लौ न ए आइ यतै पठाइदेऊ ।
रामकृष्ण ढकाल :
ए बाबू ए आइ !
आपत पर्यो लौ हाम्लाई
उद्धार गरि देउ बचाई
प्रार्थना शिर झुकाई
संसारमै शक्तिमान
हामL तिम्रो भक्तिमान
लौन इज्जत राखिदेऊ
कतैबाट लाज ढाक्ने कुनै तस्वीर ल्याई ढाकिदेऊ ।१।
सत्ता हाम्रो रहेन
भत्ता हाम्रो भएन
झोले हाँस्न पाएन
गुण्डाले गान गाएन
महलको नोट त्यो
बिटा तिमीले बनाको
त्यै सम्झेर भन्दैछु
लौन ए आइ इज्जतको तिमीसँग भिख माग्दैछु ।२।
तिमीले चुनाव गराको
हाम्लाई कस्तो हराको
भोट अन्त गराको
हामी त हो झण्डै डराको
आन्दोलन नि तिम्रै थ्यो
जेन्जी पनि तिम्रै हो
अहिले फेरि बिजोग भो
लैन ए आइ खोज्देउ इज्जत कहाँ पाउने हो ।३।
बाढी लेदो आएछ
देशलाई दशा भएछ
जनता साह्रै रोएछ
कस्तो मजा ल्याएछ
न त ढिला सुस्ती भो
न त भाषण बाँडियो
आउरे बाउरे दाउरिए
लौन ए आइ रासन नपाई खल्ती चाउरिए ।४।
फसेकालाई लिएर
हेलिकप्टर उडेर
म त सम्झी रोएर
रातको निदै गएर
ठूलाले पो चढ्नुथ्यो
आकाशबाट हेर्नुथ्यो
सरकार भन्ने नकचरो
लौन ए आइ मन्त्री समेत खट्यो के सारो ।५।
अहोरात्र खटेको
उद्धारमा जुटेको
त्यसले मलाई पिटेको
मानसिक चुटेको
ए आइ तिम्रै बनाइदेऊ
सत्यकुरा हटाइदेऊ
नत्र हाम्रो इज्जत गो
छट्पटी साह्रै भो मर्नु हो कि बाँच्नु भन्ने भो ।६।
नयाँको यो कामले
छाड्यो यता मामले
सह्राउँछन् आमले
पोल्यो आफ्नै घामले
खप्न कान नसकी
राहतको नौटङ्की
आफैं गइ गरेको
त्यसमै मर्नु मलाई परेको । ७।
काँडाको आँखाले
काँडै हो नि देखने
जनता भन्ने जातले
रमाएको राहतले
देख्न सुन्न सकिएन
पहिले यस्तो थिएन
दुई हप्तामै पुल भयो
के पो गरौं ए आइ हो ! लौन अब हाम्रो काल आयो ।८।
शीर्ष भन्ने हामी थ्यौं
सर्वेसर्वा भाका थ्यौं
रासन हामी लिँदै थ्यौं
घोच्ने भाषण दिँदै थ्यौं
नराम्रालाई पाल्रेर
राम्रालाई जेल हालेर
कत्रो सान मान थ्यो
मर्नु बाँच्नु दोधारमा लौन ए आइ के पो गर्ने हो ।९ ।
तिम्रै नोट भनियो
हाम्रो खातमा गनियो
उपस्थिति तिम्रो भो
सत्य मोड्न सजिलो
तादी पुल बनेको
हामीले तिम्रै भनेको
एउटा बाउ नि बनाइदेऊ
टीकाका दिन दशैंमा लौ न ए आइ यतै पठाइदेऊ ।१०।
०००
२२ भदौ २०८३
चितवन ।
Subscribe
Login
0 Comments
Oldest





































