डा. भरतकुमार भट्टराई‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)
नेपालीका व्यावसायिक बेकम्मापनप्रति यस्तै वेधक वक्रोक्ति, व्याजस्तुति, उक्तिवैचित्र्य, स्वैरकल्पनाबाट व्यङ्ग्यको वर्षा गरिएको देखिन्छ निबन्धमा ।
प्रा.डा. भरतकुमार भट्टराई :
चोलेश्वर शर्मा (विसं. २००१ चैत्र २२) को दोस्रो प्रकाशित हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहको नाम ‘सगरमाथा एक पहाडको नाम होइन’ (२०७९) हो । यसअगि उनको ‘म त अप्रिल फुल भएछु’ (२०४२) प्रकाशित भइसकेको छ र यसले उनलाई नेपाली साहित्यका एक स्थापित हास्यव्यङ्ग्यकारका रूपमा चिनाइसकेको छ । उनको उक्त दोस्रो हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमा जम्मा २१ वटा निबन्धहरू सङ्कलित छन् जो २०४१ देखि २०५७ सम्मका रचनाहरू हुन् । यसै कृतिका आधारमा शर्माको हास्यव्यङ्ग्यात्मक प्रवृत्ति केकस्तो रहेको छ भन्नेबारेमा यस लेखमा विश्लेषण गरिएको छ ।
१. हास्यव्यङ्ग्यको विश्लेषण
‘परम कर्तव्य र खोलाका माछा’ निबन्धमा व्यङ्ग्यको मात्रा अधिक छ भने हास्यले झल्याकझुलुक देखिने मौका पाएको छ । निबन्धकार पुराना कुरा भनेर परम्परालाई हेला र उपहास गर्ने आधुनिक प्रवृत्तिप्रति छेड हान्छन् – “पुराना भनेपछि…बाबुबाजे पनि नरुचाउने हावा प्रबल छ आजभोलि ।” उनले देवकोटाले सुखस्वर्ग ठानेको नेपाललाई मूल्यहीन मानेर आजभोलिका ‘देशभन्दा देशवासी ठुला’ भन्ने हल्लुँडे बुद्धिका पछि कुद्नेहरूको सातो लिएका छन् । उनी यिनको मुटुमै किलो गाडिने गरी भन्छन् – “यिनका अगाडि धार्मिक–नैतिक उपदेश र विचार त कुन ड्याङका मुला हुन् र ? अझै कतिपयलाई यति मात्र होइन देश पनि पुरानो पुरानो लागेर अर्कै रुच्न थालेको छ । र नेपालसँग ‘यही माटामा उम्रेँ, फुलेँ र यही माटामा निभ्छु’ को नातो, नेपाल जसका कणकणले शरीरका कणकण भिजेका छन् त्यस नेपालको नातो, सात समुद्रका पानीले धोएर–पखालेर पनि नजाने यस देशको नातो, यो श्वासप्रश्वास र जन्मजन्मान्तरको सम्बन्धको नातो, यो तातो रगत र न्यानो मुटुको नातो पुरानो पुरानो लाग्न थालेको छ ।” (पृ. १)
व्यक्तिस्वार्थलाई केन्द्र बनाएर स्वजाति र स्वराष्ट्रका महान् संस्कृति, सभ्यता र आचरणलाई तिलाञ्जली दिने नैतिकताहीन चरित्रका आधुनिकतावादीको दिमाग रन्थनिने गरी मुक्का प्रहार गरेका छन् हास्यव्यङ्ग्यकारले यस निबन्धमा । देश र समाजप्रतिको परम कर्तव्य भनेको त के नै हो र भन्ने अकर्मण्यवादीहरू वा कर्तव्यच्युत लबस्तराहरूलाई मुड्क्याउँदै बुझाउने–सम्झाउने प्रयास गरेका छन् । हामीले आफ्नो देश र समाजका लागि पालन गर्नुपर्ने, मान्नुपर्ने परम कर्तव्यलाई त आत्महत्या गराइसकेका छौँ किनकि हामीमा समाज र देशका लागि दिने कुनै आदर्श बाँकी नै रहेको छैन । त्यसैले निबन्धकार वैपरीत्यका शैलीमा बाँच्न सङ्घर्षशील हुनुभन्दा ‘वीरतापूर्ण आत्महत्या’ गरिदिनु अपार तृप्तिको कुरा हो भनेर नेपाली संस्कारलाई आत्महत्या गर्ने स्थितिमा पुर्याउने वर्तमानका कुविचारले ग्रस्त आधुनिक भनाउँदा पतनशील पुस्तामाथि भुत्भुते खन्याउँछन् ।
ओडिपस ग्रन्थिको प्रतीकात्मक कथा ल्याएर उनी आमा (जननी र देश) प्रति व्यभिचारी बन्दै गएको अनैतिक, असभ्य, कुरूप र निर्लज्ज सन्तान (छोरो र युवा) प्रति कठोर मुक्का प्रहार गर्छन् । बाबुबाजेले राखेको उच्च स्वाभिमान, आदर्श, कर्तव्य, सानलाई बिर्सने अहिलेको चरित्रहीन पुस्तालाई परम कर्तव्यजीवी महिमोज्ज्वल अग्रज व्यक्तित्वका विरोधमा जाइलाग्ने उल्लु देख्छन् । अहिलेको पुस्तालाई सयौँ मुसा खाएर तीर्थ गर्न जाने बिरालाको उपमा दिएर महान् कर्तव्य, अहिंसा र त्यागका प्रतिमूर्ति भन्दै वक्रोक्तिपूर्ण भाषामा तिनको धज्जी उडाउँछन् । हाम्रा र बाबुबाजेका ढोँगी चरित्रमाथि व्यङ्ग्यकार शर्मा यसरी उच्च वैपरीत्यधर्मी वक्रोक्तिद्वारा तीव्र प्रहार गर्छन् – “हामी सबै आफ्ना आङका भैँसी लुकाएर ठुला लट्ठी लिई अर्काका आङका जुम्रा टिप्न हिँड्ने अति उत्साही, वीर र साहसी हिमालपुत्रहरू हौँ ।” (पृ.३) हाम्रो परम कर्तव्य भनेको उपदेशजीवी हुनु हो किनकि पुर्खाले कर्म गर फलको आशा नगर भन्ने गीतासार रटाउने–घोकाउने गर्छन् । मस्तिष्क लिएर बुद्धिले बाँच्नु नै दुःखको मूल कारण हो । बाङ्गो शैलीमा घुमाउँदै लेखक समाजमाथि कोर्रा बर्साउँछन् – “समाजमा शिक्षकबाहेक अरू कुनै वर्गलाई आदर्श, नैतिक तथा देशप्रति निष्ठावान् र सदाचारी हुनुपर्ने आवश्यकता छैन ।” (पृ.४) शिक्षक मात्रै आदर्श थाम्ने वर्ग हो भनेर अरू चाहिँ हान्ने राँगो र ढसमस्स भई राज गर्ने साँढेसरह भई अनुशासनहीन बनेर देशमा रैँदालो गर्ने छुट पाएका महाठालु वर्ग हुन् भन्ने ठान्ने हाम्रो समाजजति घिनलाग्दो चरित्रको अरू कोही छैन ।
त्यसैले लेखकलाई यस्तो कुहिएको संस्कार हुर्काउने समाजमा बाँच्नुभन्दा आत्महत्या गर्नु बेस लाग्छ । अर्कोतर्फ घुमाउरो पारामा लेखकले यस्ता कुसंस्कारमा बाँच्नेहरू सबैले आत्महत्या गरे हुन्छ भनेर व्यङ्ग्य हानेका पनि हुन् । हामी नेपालीहरू आफ्नो परम कर्तव्य ठानेर श्रीमतीलाई भक्कु कुटेर रक्सीभट्टीमा रमाइलो गर्न जान्छौँ । उता श्रीमान्को एउटा कठोर वचन सहन नसकी बाहिर निस्केर भट्टीतिरै सन्तुष्टिका लागि श्रीमतीहरू पनि दौडेकै छन् । यही हो आमनेपालीको परम कर्तव्य निर्वाह गर्ने पारा भनेर व्यङ्ग्यको गुलेली हानेका छन् । परम कर्तव्य मुखमा झुन्डिएको हास्यास्पद सन्दर्भ मात्रै हो । प्रायः सबै संवेदनाहीन भइसकेकाले परम कर्तव्यले छुन छोड्यो । हाम्रो बदलिरहने अनुहारमा भ्रष्ट आचरण छिपेको बताउँछन् लेखक । वास्तवमा हाम्रो अनुहारै सक्कली छैन, नक्कलीमा बदलिइसक्यो । अरूलाई उपदेश दिने कसैले पनि त्यही उपदेश आफूमा कहिल्यै लागु गर्दैन । त्यसैले परम कर्तव्यका उपदेश किताबका माछाझैँ केवल देखाउने कुरा मात्रै हुन् भनेर लेखकले समाजमा आदर्शहरू मरिसके अनि साथसाथै हामी पनि मरिसक्यौँ आदर्शविहीन र निर्लज्ज बनेर भनेका हुन् । यसमा हास्यव्यङ्ग्यका साधनहरू वक्रोक्ति, वाग्विदग्धता, स्वैरकल्पनाको उपयोगबाट तीव्र व्यङ्ग्य प्रहार गरेका छन् ।
‘वृक्षरोपण : गाईजात्रा महोत्सव’ निबन्धमा वृक्षरोपणको सरकारी नाटकमाथि कडा व्यङ्ग्य प्रहार गरेका छन् । असार लागेपछि समाचारपत्र, रेडियो आदिमा वन महोत्सव भन्दै विज्ञापन सुरु भएपछि गाईजात्राको थालनी हुन्छ भनेर छड्के हान्छन् । देशको स्थिति हेर्दा हरियो वन नेपालको धन भन्ने उखान भूतपूर्व भइसक्यो । पुर्खा रुखलाई पूजा गर्थे र भन्थे वनस्पतयः शान्तिः । अहिलेकाहरू वरपिपल लगाउने पुर्खालाई पाखण्डी ठानेर घाँस र काठका लागि तिनलाई काटेर बटुल्न हारालुछ गर्छन् । वनस्पति शान्तिको आधार भन्ने नै बिर्सियो आजकालको स्वार्थी उपभोगवादी पुस्ताले ।
वनविनाशले भूक्षयको समस्या बढ्यो । तैपनि वन फँडानी गर्न र वन पैदावार निर्यात गर्नमा छाती ठोकेर गर्व गर्छौँ । जसरी भए पनि केही कमाऊँ र रातारात कुबेर बनूँ हाम्रो प्रमुख चिन्ता बनेपछि बिचरो वनको सत्यानाश । वातावरण प्रदूषण बढेर भूक्षयका साथै अम्लवर्षा भएको छ तापनि वनजङ्गल स्वाहा पारेर लुट्न छाड्दैनौँ । वन संरक्षणतर्फ ध्यानै दिँदैनौँ । तर प्रत्येक वर्ष वन महोत्सवका बहानामा करोडौँ खर्च गरेर देशलाई खोक्रो पारिरहेछौँ । वृक्षरोपणको रमाइलोलाई व्यङ्ग्यकार यसरी उडाउँछन् सातो जाने गरी – “वृक्षरोपणको लक्ष्य । मजाको खोजमा नै वृक्षरोपण पनि गरिँदै आएको छ । वृक्षरोपणअगि र पछि क्यामरा छन् । रङ्गीन फोटो–फिल्म छन् । महावनभोज छन् । ड्रिङ्क्स छन् । जोरका जोर तास छन् । नाचगान छ । खिलखिलाउँदो हाँसो छ । …आज हामी जताबाट बगे पनि, हामी जताबाट हिँडे पनि रक्सी र नाचमा टुङ्गिन्छौँ । …सके रक्सी, भोज र मातको नयाँ बहाना जुटेको छ वृक्षरोपण । …फोटो अलबमहरू सुरक्षित हुन्छन् वृक्षरोपणका र रोपिएका बिरुवाको संरक्षण भगवान्ले गर्छन् । …आज वन कम र वनका साइनबोर्ड बेसी भएका छन् ।” (पृ.८–९) अब हरियो वन नेपालको धन केवल कागजमा जीवित छ तर वास्तविकतामा छैन, मरिसक्यो । यसका नाममा हुने लाखौँकरोडौँ खर्च बालुवामा पानी खन्याएसरह व्यर्थ भएको छ । वृक्षरोपण नेपालमा मात्रै चटक बनेको छ, रामरमिताको पर्याय बनेको छ ।
शर्माको यो कथनले निर्लज्ज सरकारी रवैयाको ढाड खुस्काएको छ – “वन फाँडिए पनि वन विकास कार्यक्रमभित्र पर्छ र बिरुवा रोपिए पनि वन विकास कार्यक्रमभित्रै । मासिए पनि विकासभित्रै । फैलिए पनि विकासभित्रै । यस्ता चटक नेपालमा कति हुन्छन् कति ।” (पृ.९) अहिलेका नेपालीहरूले खालि कृत्रिम र बनावटी कार्यमा भ्रमित भएर राष्ट्रलाई स्वाहा बनाइरहेका छौँ । रुख भनेको पानी, भोजन र जीवन हो भन्ने मर्मलाई हामीले रुख भनेको धन हो भन्नेमा बदल्यौँ । उनको अति मार्मिक र संवेदनशील भनाइ के छ भने पुर्खाले आफू लुटिएर देश बचाए हामीले देश लुटेर स्वार्थ बचायौँ । यस्तो घिनलाग्दो काम गरे पनि हामी आफू स्वाभिमानी र देशसेवक भएको फोस्रो धाक दिन्छौँ र मिठो भ्रममा रमाउँछौँ । हामीले बडो धाक दिँदादिँदै र नाक घोक्र्र्याउँदै घोक्र्र्याउँदै ‘आज देशसेवा स्वार्थमा अनुवाद भएको छ । सङ्कुचित स्वार्थमा । व्यक्तिगत स्वार्थमा ।’ हामीले पुर्खाले आफू लुटिएर देश बचाएको आदर्श भुल्यौँ र देश लुटेर स्वार्थ बचाउने निकृष्ट धन्दामा लागेर साह्रै अन्धा भएको साबित गर्यौँ ।
आफ्नो व्यक्तिगत र सङ्कुचित स्वार्थ पूरा गर्नुलाई देशसेवाको नाम दियौँ । जङ्गलको मङ्गललाई नचिनेर स्वयम् जङ्गली बन्यौँ । रुखलाई पैसा कमाउने काठका मुढा मात्रै ठानेर आफूलाई मूढ वा महामूर्खमा परिणत गरेर दृष्टिहीन, विवेकहीन र संवेदनाहीन देखायौँ । वन एकसाथ घाँसपात, फलफूल, दाउराकाठ, पशुपक्षीको आश्रय, पानीको सञ्चय, भूसंरक्षण, अक्सिजन, वातावरणको सन्तुलन र सौन्दर्यपरक मूल्यको महाभण्डार हो । यस्ता महान् गुणहरूको अक्षयकोष रहेको वनको मूल्य हामीले बुझेनौँ अनि पुर्खाका आदर्शलाई नष्ट गर्दै वन महोत्सवको साइनबोर्ड झुन्ड्याएर वृक्षरोपणलाई गाईजात्रा महोत्सवमा रूपान्तर गरिदिँदै विश्वकै हाँसोका पात्र बनेर आफूलाई उल्लु साबित गर्यौँ । यही दृष्टिकोण राख्दै शर्माले हाम्रो चरित्रहीन, अनैतिक, भ्रष्टाचारी, देशघाती, मूर्ख, विवेकहीन, दृष्टिविहीन, संस्कारहीन, मूल्यहीन प्रवृत्तिमाथि उपहास गरेका छन् । हाम्रो हास्यास्पद, लज्जास्पद, घृणास्पद राष्ट्रिय क्रियाकलापप्रति वक्रोक्ति, उक्तिवैचिœय, अतिशयोक्ति आदि हास्यव्यङ्ग्यका उपकरणबाट तीक्ष्ण व्यङ्ग्य गरेका छन् । अन्ततः व्यङ्ग्यकारले हाम्रो बिग्रेको बानी र सोचलाई सुधारेर वनको बहुमूल्य शक्तिको संरक्षण गर्ने सन्दर्भबाट देशप्रतिको हाम्रो दायित्व इमानदारीका साथ निर्वाह गरी राष्ट्रनिर्माणमा सक्रिय हुनुपर्ने आदर्श मार्गदर्शन गराएका छन् ।
‘तानसेन : बादलमाथि बसेको एक सहरको नाम’ नेपालका सहरको उछित्तो काढ्ने व्यङ्ग्यनिबन्ध हो । प्रसङ्ग पाल्पाको तानसेन सहरको छ तर यसकै सेरोफेरोबाट नेपालका सहरहरूका विकृति, विसङ्गति, बेमेल र दुर्गतिको व्यङ्ग्यचित्र यसमा संश्लेषित गरिएको छ । शर्माले उडाउँदै भनेका छन्, “नेपालमा सहरमा बसे पनि नगरमा बसे पनि बजारमा बसे पनि बाँच्नुको स्वाद एउटै छ । उनै आकाश छुँदै बसेका उपभोग्य वस्तुहरू, उनै पानी नआउने धाराका टुटीहरू, नाक थुनेर हिँड्नुपर्ने सडक, बजार र ‘काल्भरि गल्लीहरू’, बेला न बखत चौबिसै घण्टा बजिरहने रेडियो र ढ्वाङहरू, यत्रतत्र घुमिरहने गौका मातापिता र कुकुरका भाइबहिनीहरू, बाटामा हिँड्नेलाई चिप्लिएर लड्न पर्याप्त सुविधा हुने गरी घरबाट हुत्याइएका फोहोरका पोकाहरू ।” (पृ.११) यस भनाइमा नेपालका सहरहरू पानी नआउने धारा भएका काकाकुलजस्ता अव्यवस्थित क्षेत्र, दुर्गन्ध र फोहोरहरूका डुङ्गुरले गर्दा नाकै थुनेर हिँड्नुपर्ने घिनलाग्दा सडकहरू, त्यस्तै बाह्रै मास झिँगा भन्किएर दिङमिङ लाग्ने बजारहरू, काल नै निम्त्याउने खालका डरलाग्दा र असुरक्षित गल्लीहरू, चौबिसै घण्टा हल्लैहल्ला भइरहने अशान्ति र असभ्यताका प्रसारक रेडियो र ढ्वाङहरू, जथाभावी छाडिएका अनियन्त्रित गाईगोरुहरू र भुस्याहा कुकुरहरू, छाडासँग फालिएका फोहोरका पोकाहरूमा चिप्लेर लड्ने अवस्था रहेका अस्तव्यस्त बाटाहरूले गर्दा महाबेथितिमा विकृत र भयावह स्थितिमा हुन्छन् ।
विश्वका कुनै पनि विकसित, व्यवस्थित, सभ्य, शान्त र सुन्दर सहरसँग हाम्रा सहरहरू दाँजिन सक्तैनन् । असुरक्षा, अशान्ति, असभ्यता, अव्यवस्था, अस्वस्थता, अस्वच्छता, अविकास, दुर्गन्ध, दुर्व्यवहार, फोहोरमैला, पछौटेपन, मूल्यहीनता हाम्रा सहरहरूका पर्याय बनेका छन् । यस्ता सहरहरूले नै हाम्रो चरित्रको प्रतिबिम्बन गरेका छन् । सहरमा नेपाल र नेपालीपन देखिन्छ । हामीले विकसित, सभ्य, स्वच्छ, स्वस्थ र सुन्दर सहर बनाउन सके नेपाल र नेपालीको पहिचान विश्वका विकसित देशसरहकै हुन्छ ।
यही तात्पर्य प्रवाहित गर्न शर्माले तानसेनलाई विषय बनाए । तानसेनका नमुनाबाट नेपाल र नेपालीका चरित्रका अँध्यारा पक्षहरूलाई खोतले र सचेत बनाउने प्रयास गरे । देशमा सङ्गति स्थापना गर्ने बाटाहरू असङ्गतिहरूलाई देखाएर खुलस्त पारे । कुहिएका र बासी खानेकुरा, मिसावटले खाइनसक्नु बनाइएका ठोस र तरल पदार्थहरूले सहरलाई विषाक्त बनाएका छन्, रोगी बनाएका छन् । यसै प्रसङ्गमा असभ्यलाई वक्रोक्ति, व्याजस्तुति वा अतिशयोक्तिद्वारा सभ्य भनेर उडाएका छन् । त्यसको एक दृष्टान्त यस्तो छ – “तानसेन अलिकति शीतलपाटीमा हल्ला गर्छ । बस स्टेशनमा हर्न बजाउँछ । रङ हालेको केराउ र अस्तिको आलु–समोसा ताजा भनेर बेच्छ । यस सभ्य चलनमा ठुला शहरबजारभन्दा तानसेन पनि कम छैन ।” (पृ.१३) यस निबन्धमा अमानवलाई मानव बनाएर विचित्रतासाथ गरिएको वर्णनमा पाइने मानवीकरण, काव्यात्मकता र एकशब्दीय वाक्ययोजना अत्यन्त मनोहर छ ।
एउटा दृष्टान्त – “तानसेन अलिकति बतासे डाँडामा बस्छ । पर्यटकले झैँ उत्तरमा धवलागिरि र अन्नपूर्ण हिमशृङ्खला र दक्षिण पहाडमाथिबाट दूरबीनले तराई हेर्छ – बादलमाथि उभिएर । आत्मविस्मृत । तानसेन अलिकति भुसलडाँडामा मिशन अस्पतालको औषधि खान्छ । रोगी बस्ती बनेर ।” (पृ.१३) खासमा लेखकले तानसेनको विवशता चित्रित गर्न खोजेका हुन् । तानसेनमा आधुनिकताका रङहरू पनि चढेका छन् र यसले शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बन्ने सपना पालेको छ । त्यो सपना नेपाल राष्ट्रकै सपनाझैँ हावादारी बनेको छ । शर्मा व्यर्थका सपना बाँड्ने नेताहरूको पोल खोल्दै भन्छन्, “नेपालले पनि तिस वर्षअघि नै दश वर्षमा एशियाको स्वीट्जर्ल्यान्ड हुने सपना पालेको थियो ।” (पृ.१४) प्राकृतिक रूपले सुन्दर नगरी तानसेनलाई राष्ट्रिय नेताहरूले नेपाललाई बारम्बार धोका र छल दिएझैँ स्थानीय बुढा नेताले तानसेनको हुर्मत लिएर रसहीन, रङहीन र विषादमय स्थितिमा पुर्याए ।
त्यसैले यस्तालाई वक्रोक्तिमय भाषामा उपहास गरेका छन्, “यस्ता सपूत पाएर तानसेन मक्ख छ । गौरवान्वित छ ।” यसरी पहिलेको सम्पन्न तानसेनलाई अहिले विवशता, दीनता, विपन्नतामा जाकेकाले यसको गलित, थकित, पराजित, दमित र विलीन हालतलाई कवितात्मक भाषामा भनिएको छ, “युद्धमा ध्वस्त भएको देशको छातीजस्तो । जितेर पनि हारेजस्तो । जिउँदै कसैले मारेजस्तो ।” (पृ.१५) तानसेनको यो हाल वास्तवमा सिङ्गै नेपालकै अहिलेको हाल नै हो भन्ने व्यङ्ग्यात्मक अर्थ ध्वनित गर्नु यस निबन्धको प्रमुख उद्देश्य रहेको छ ।
‘अन्तर्राष्ट्रिय युवा वर्ष’ निबन्धमा नेपालका युवाहरूको चरित्रलाई व्यङ्ग्यका वज्रप्रहारले क्षतविक्षत पारिएको छ । युवाहरूले आफ्नो काँधमा देशै, संसारै र ब्रह्माण्डै बोक्छन् भन्दै उपहास्य बेथितिको पर्दाफास शर्मा यसरी गर्छन् – “त्यसमा पनि जताततैबाट रूँ रूँ मात्र लाग्दो देश बोक्नु परेपछि गम्भीरतापूर्वक सोच्नैपर्यो ।” (पृ.१६) हामी अर्काले सित्तैँमा दिएको जे पनि जुनसुकै बहानामा लिन लाइन बसिहाल्ने प्रवृत्तिका छौँ भनेर हामीलाई परमुखापेक्षी बेहोरा भएका दर्जामा राखेर मज्जाले छास्छन् । हामी अर्काकै लहैलहैमा लागेर मातिन्छौँ, पातिन्छौँ र भाँडिन्छौँ अनि मात्तिएर देशको प्राकृतिक स्रोत, अर्थतन्त्र, आचार–व्यवहार, नीति–इमान ध्वंस गर्नतिर निर्लज्जसँग लाग्छौँ । वृद्धलाई पनि नारीलाई पनि र युवालाई पनि उही भाषण–प्रवचन ठिक्क पारेर गहन उत्तरदायित्वको भारी बोकाउने हाम्रो उच्च स्तरको बानी छ भनेर छेड हान्छन् शर्मा । युवा वर्षका नाममा बिरुवा रोपिए तर संरक्षण त शून्य । उही विडम्बना ! मताइएका युवा छाती खोलेर हिँडेपछि युवतीहरू पनि पारदर्शी पोसाकसहित छाती खोलेर हिँड्न थाले र युवा वर्षको हावाले निर्लज्ज उड्न थाले । युवा रात्रि मनाएर बियररक्सीले पियक्कड महान् हुन थाले ।
यसै क्रममा शर्माले युवाहरूलाई नै उडाउनसम्म उडाए – “टिल परेर पल्टिए पनि देशको पीडा त मुटुमै छ ।” (पृ.१७) अर्थात् जुनसुकै वर्ष महोत्सव गरे पनि देशको हालत, दुरवस्था, विकासको गति जस्ताको तस्तै । यही लहरमा शर्मा हाम्रा दुर्गुणहरूको प्रशंसा गरेझैँ गरेर तीव्र निन्दा र तिरस्कार गर्छन्, “टोलटोलमा राष्ट्रिय संस्कृति र चरित्रअनुकूलका झगडा र तदनुकूल विशुद्ध नेपाली शास्त्रीय शैलीका गालीगलौज भएनन् ।” (पृ.१७) झगडा र गालीगलौज गर्नु हाम्रो राष्ट्रिय संस्कृति भनेर शर्माले हाम्रो झाँको झारेका छन्, हाँसो उडाएका छन् । उनले हाम्रा कुसंस्कार, दुर्बलता, पछौटेपन, मूर्खतालाई दुत्कार्नुसम्म दुत्कारेका छन्, खुइल्याउनुसम्म खुइल्याएका छन् ।
युवा वर्षका कार्यक्रमले जथाभावी सडकछेउमा आची गराएर हुनुसम्म फोहोर गराइयो तर सफाइ गराइएन । विकृति र घृणाको डुङ्गुर ! युवा वर्षको निबन्ध प्रतियोगिता गराउँदा अर्काका सारेर भए पनि साहित्यसेवा गरिए, साहित्योन्नति भए । नाटक प्रदर्शनी भयो र टिकटबाट उठेको पैसा बाँडफाँडमा युवाहरूबिच बङ्गारा झाराझार हुँदा बडो सुन्दर प्रदर्शनी साबित भो भन्दै शर्माले युवामतिमाथि धावा बोले । यस्तै प्रगति गर्दै जाँदा युवाहरूले सक्रियतासाथ ब्लू फिल्म हेरे, हेरोइन चाखे, पङ्क्स बनेर र मड्स वा हिलोमा ढुनमुनिएर तमासा देखाए साराका सामु लज्जास्पद पाराले । यसो गर्नेहरूलाई नै शर्मा बडो प्रशंसाका शैलीमा मिठो निन्दाको वर्षा गर्छन् र व्यङ्ग्योक्ति वा वक्रोक्तिको तीरले मुटुमै रोपिदिन्छन्, “एक वर्षको…अल्प अवधिमा पनि नेपाली अनुशासित युवाले जेजति गरे त्यो प्रशंसनीय छ, स्मरणीय छ, उदाहरणीय छ ।” (पृ.१८) प्रस्टै छ अनुशासित, प्रशंसनीय, स्मरणीय, उदाहरणीय युवा भनेका अनुशासनहीन, निन्दनीय, विस्मरणीय र नालायक युवा भनिएको हो व्यङ्ग्योक्तिमा ।
युवा वर्षको सफाइ कार्यक्रम पनि गजबै छ । सुटटाईमा र मयलपोससुरुवालमा सजिएर धुलो लागिहाल्छ कि भनेर जोगिँदै सरसफाइ गरेका युवाहरूको फोटो खिचाइलाई शर्मा हास्यात्मक रूपमा गिज्याउँदै, कुरीकुरी मान्दै मर्मस्पर्शी प्रहार गर्छन्, “आखिर युवाचरित्रमा धुलोमैलो र कलङ्क नलागेकै हुनुपर्छ । युगै मिस्टर क्लिनको छ । यस्ता अवसरमा फोटो अनिवार्य हुन्छ । हातमा कुचो, चेहरामा मुस्कान, शरीरमा सुट । कामभन्दा पछिसम्म त फोटो नै अलबममा सुरक्षित रहन्छन् ।” (पृ.१९) यसरी कामको सुरक्षातर्फ होइन केवल फोटोको सुरक्षामा रल्लिन थालेको युवा पिँढी अकर्मण्य र देखावटीमा रमाएर समाज र राष्ट्रको भविष्यलाई बरबाद गर्नतिर लागेको छ भन्ने डरलाग्दो चिन्ता व्यङ्ग्यका दृष्टिले पोख्छन् शर्मा । यस्तै गरी विविध प्रदर्शनीहरूबाट उठेको पैसाले भोज र मोज गर्नलाई वनभोज आयोजना गरेर फजुल खर्चमा लहसिएको नेपाली युवापिँढीको गैरजिम्मेवार चरित्र, देशविकास र निर्माणप्रतिको उदासीन प्रवृत्ति देखाइएको छ ।
फेरि लेखक व्यङ्ग्यको चमक अर्को किसिमले पनि देखाउँछन् । युवाको पढाइदेखि पिएच.डी. गरेका बुद्धिजीवीहरूले गरेका व्यर्थतालाई पनि चर्को छेडखानी गर्छन् व्यङ्ग्योक्ति वा वक्रोक्तिमा । शिक्षित भनाउँदाका मूर्खताहरूको खोइरो खन्दै शर्मा प्रहार गर्छन् तिनका विरोधाभासी चरित्रहरूमाथि, “युवा वर्षमा युवकले पढे–पढाए । त्यस बेला विद्यार्थीबाट एकदुई शिक्षक र शिक्षकबाट पाँचदश विद्यार्थी पिटिएका शाश्वत मनोरञ्जनपूर्ण र ज्ञानवर्धक तथा शिक्षक–विद्यार्थीका प्रगाढ र अटुट सम्बन्ध देखाउने कार्यकलाप पनि प्रस्तुत भए । यो युवा वर्षको उल्लेखनीय कार्यकलाप र उपलब्धि पनि रह्यो । यो देख्दा यही शिक्षित, मर्यादित एवम् अनुशासित युवा वर्ग नै देशको भावी कर्णधार हो भन्ने कुरा निर्णय गर्न हम्मे परेन । …अनि धेरै पिएच.डी. धारीहरूले आफ्नो हैसियत रत्नपार्कका भेली मार्का पुष्टकारी वा भुजाका लड्डु बेच्ने नाङ्लोपसलेभन्दा कम ठान्दै थिए । …तर पिएच.डी. त दिनदिनै तितो तितो नेपालमा, हैन, के भएको यो ?” (पृ.१९–२०) यस प्रसङ्गमा व्यक्त भएका प्रशंसाहरू पूरै निन्दा र घृणा हुन् ।
युवकले पढे–पढाए भनेको लडे–लडाए भनेर दुत्कारेको हो । पिटिएका शाश्वत मनोरञ्जनपूर्ण र ज्ञानवर्धक तथा शिक्षक–विद्यार्थीका प्रगाढ र अटुट सम्बन्ध देखाउने कार्यकलाप भनेर कुटाकुट गर्ने हिंसात्मक प्रवृत्ति घोर दुःखदायी र मूर्खतापूर्ण अनि फाटो र विग्रहपूर्ण सम्बन्ध देखाउने कार्य हो भन्ने निन्दनीय व्यङ्ग्योक्ति हो । यसलाई युवा वर्षको उल्लेखनीय कार्यकलाप र उपलब्धि भनेर बाङ्गो पाराले उडाइएको हो । शिक्षित, मर्यादित एवम् अनुशासित युवा वर्ग नै देशको भावी कर्णधार भनेर मूर्ख, अमर्यादित र अनुशासनहीन युवा वर्गलाई देशको भावी कुलाङ्गार तथा संहारी वर्ग भनेर डरलाग्दो व्यङ्ग्य प्रहार गरिएको हो । महाशिक्षित भनाउँदा पिएच.डी. धारीहरूलाई त गाउँले गोठालाभन्दा तल झरेर कुटाकुटद्वारा गुन्ड्याइँमा उत्रिँदा दिनदिनै तितो तितो बन्दै गएका समाजका विषजस्तो भनेर तिखो घृणारूपी व्यङ्ग्यले तिनको ढाडनसो खुस्काइएको छ । अन्तमा चरेस खाने मन बढ्दै गएको प्रसङ्ग ल्याएर शर्माले युवाशक्ति चुरोट, बिँडी, भाङ, धतुरो, खैनी, भोला, रजनीगन्धा, चरेस आदि नामका दुर्व्यसनमा फँस्दै गएर मानसिक रूपमा नष्टभ्रष्ट हुँदै गएको मर्मलाई प्रस्तुत गरेर देश क्रमशः ओरालो लाग्दै गएकामा गहिरो चिन्ता प्रकट गरेका छन् ।
‘साहित्य र मृत्युबारे फाटफुट कुरा’ नेपाली साहित्यका क्षेत्रमा बढेका नानाथरी विकृति–विसङ्गतिलाई देखाएर व्यङ्ग्य गर्नमा बेजोड देखिएको छ । उच्च स्तरका साहित्यलेखनले होइन उच्चा साहित्यकारहरूका रूपलाई नक्कल गरेर ठुलो साहित्यकार बन्ने अभिनयको युग नेपाली साहित्यमा आएको छ भनेर शर्माले बाघेझप्पु हानेका छन् । लेखनाथलाई दाह्रीमा देवकोटालाई चुरोटमा देखेर त्यसकै नक्कलमा साहित्यकार बन्ने धुन चढ्छ आजकालकालाई । हाम्रा साहित्यकारहरू एउटा पुस्तक निकाल्न पाएको हुँदैन पुरस्कारका लागि मरिहत्ते गरेर पछि लागिहाल्छन् । यस्ता साहित्यक्षेत्रका लोभीपापी, चाकरीचाप्लुसी र बिक्री हुने प्रवृत्तिका साहित्यकारहरूका कमजोरीहरूमाथि व्यङ्ग्य कसेका छन्, “सात्र्रले नोबेल पुरस्कार लत्याएथे आलुका बोराभन्दा मूल्यहीन ठानेर । तर नेपाली सात्र्रहरू आफ्ना अस्तित्ववादी सोच र साहित्यधर्मिता लत्याएर आलुका बोराका पुरस्कारपछि दौड्दा छन् ।” (पृ.२१) थर्काएर, धम्क्याएर, शक्तिशालीका दबाब दिएर, पहुँचवालाका प्रभावमा पारेर, धनसम्पत्तिको प्रलोभनमा पारेर, अरूलाई भूमिगत रूपमा लेखाएर, विज्ञापनको होहल्ला मच्चाएर साहित्यमा प्रवेश गर्नेहरूले नेपाली साहित्यको बजारलाई भयभीत र आतङ्कित पार्दै गुणस्तरीयता र सक्कली साहित्यको हत्या गरिरहेका छन् ।
यस्तै घिनलाग्दो साहित्यिक परिवेशमाथिको व्यङ्ग्योक्तिमा शर्माले भनेका छन्, “सके कलमले भन्दा छुरी, भाला, चक्कु, खुकुरी वा बन्दुक वा बमका मदतले लेखिएको साहित्य नै साहित्य हुन्छ र शाश्वत हुन्छ ।” (पृ.२१) शर्मा समालोचकको पनि झाँको झार्छन् । साहित्यिक मूल्यको पारख गर्न नसक्ने जँड्याहा समालोचकलाई नराम्रोसँग व्यङ्ग्यवर्षा गरेका छन्, “रक्सीले भन्दा चियाकफीले लेखिएको साहित्य फितलो…। अब हिमाली पानी खाएर लेखिएका रचना जीवन्त, मार्मिक, उच्चस्तरीय हुँदैनन् । प्रत्येक रचनामा रक्सीको गन्ध भेटिनुपर्छ ।…उच्च साहित्य लेख्न पानी खाएर सकिन्न, सकिन्न, सकिन्न ।” (पृ.२२) रक्स्याहा साहित्यकार आफ्ना कमजोर साहित्यिक रचनाको उच्चस्तरीय भन्ने खालको समालोचना लेखाएर आफूलाई अब्बल साहित्यकारमा गणना गराउन रक्स्याहा समालोचकलाई प्रशस्तै सुरापानसहित हचुवामा नै मूल्याङ्कन गराउँछन् भन्ने साहित्यिक बेथितिलाई पनि यस प्रसङ्गद्वारा सङ्केत गरिरहेका हुन्छन् । साहित्यिक क्षेत्रको यस महारोगले स्तरीय साहित्य र साहित्यकारको अवमूल्यन गरिरहेका हुन्छन् । यस्तो महारोग साहित्यमा सल्कँदा लेखकको हृदय डढ्छ र व्यङ्ग्यको तिखो सुइराले त्यसलाई घोच्छन् ।
साहित्यमा स्त्रीलाई शिरदेखि पाउसम्म जाँचेर शृङ्गारको मादक रस घोल्ने मोतीमण्डलीजस्तै अहिले अत्याधुनिकता र अन्तर्राष्ट्रियताको जलप लगाएर विश्वसाहित्य रच्ने ध्याउन्न भएका बकमफुसे साहित्यकारहरूको राजनीतिक मण्डली छ भनेर कडा व्यङ्ग्यवाणले हान्छन् शर्मा, “अहिलेको मण्डलीले साहित्य शून्यप्राय रच्छ, धेरै देखाउँछ र थोरै पढ्छ, अलिअलि साहित्यिक राजनीति गर्छ र बाँकी समय पायो भने गाली थुकिरहन्छ, समाज, साहित्य, सहधर्मी, सहधर्मिणी सबैलाई ।…यी सबै कार्य शाश्वत साहित्य सिर्जनाभित्र सँगेटिन्छन् ।…यति नभए न स्तरीय साहित्य हुन्छ न अत्याधुनिकता र अन्तर्राष्ट्रियता ।” (पृ.२२) आफ्नो मृत्यु आफैँ मर्नुजस्तो गरेर साहित्यकारले लेखेका रचनाहरू मर्दै छन् भनेर पनि व्यङ्ग्योपहास गर्छन् शर्मा । साथै उनी आत्मव्यङ्ग्यका माध्यमले साहित्यिक क्षेत्रको विरक्तलाग्दो अवस्थाको चित्रण गर्छन्, “सबैलाई रहर छ लेखक–साहित्यकारको नाम भिर्न । तक्मा भिर्न । रचनाका बलले भन्दा तिनका दुर्बलताले, अर्थहीनताले । महँगा कागज रँगाउने रहर ।…डुबेर मर्नु त मलाई पो सुहाउँछ । मैले त्यही योग्यताको रचना पनि गर्दै छु ।…किनभने मैले मेरा अनुयायी हुने पनि धेरै देख्तै छु जो मभन्दा पनि तल्लो स्तरको रचेर चोरबाटो समाएर माथि पुग्न चाहने महान् लक्ष्यले अभिप्रेरित छन् ।…आज लेख्नु भन्नु र मर्नु भन्नुमा कुनै अन्तर छैन ।…खुसीको कुरो आजका अधिकांश साहित्यकारका रचनाले बारम्बार आत्महत्यामा प्रेरणा दिन्छन् ।…किनभने यी साहित्यकार जीवित छन् र गम्भीर साहित्य सृजनमा लागेकै छन् ।…यिनका जीवन र लेखन त उदाहरणीय भएनन् भएनन्, मृत्यु नै होस् न त अनुकरणीय ।” (पृ.२२–२४) यसरी साहित्यभित्रका विसङ्गतिको चिरफारमा यो निबन्ध केन्द्रित छ ।
स्तरीय लेखकलाई मर्नुसरह जीवन बाँच्नुपर्ने अवस्था छ भने दुईपैसे कमसल टपरटुइयाँ साहित्यका रचनाकारहरूले लाभ लिइरहेका छन् तर तिनका कृतिका गुणस्तरका कारणले नेपाली साहित्यको मृत्यु भइरहेको छ अनि वास्तवमा ती रातारात ठुला साहित्यकार बन्न खोज्नेहरू पनि निर्बल प्रतिभाका निम्न स्तरीय सिर्जनाले गर्दा मरिरहेकै छन् । नेपाली साहित्यको यही विडम्बनाको लेखाजोखा गर्ने कार्य यस व्यङ्ग्य रचनामा भएको छ । व्यङ्ग्योक्ति वा वक्रोक्तिको सशक्त प्रयोगले यो निबन्ध पनि विशिष्ट बनेको छ ।
‘ज्यादा खा लिया र हमदर्द का पचनोल’ शीर्षकको निबन्धमा नेपालीहरूको घिचाहा बानी र सञ्चारजगत्को विकृतिप्रति हास्यास्पद रूपमा उछितो काढिएको छ । हाम्रो देशको विकास रेडियोका ढ्वाङभरि भएर छताछुल्ल भएको छ । रेडियोले चाउचाउ खाएपछि स्टार बियर खानु, बागबजारको नयाँ सुट लगाएर मात्नु र गुलाफ, ढाल वा प्यान्थरको प्रयोग राम्ररी जान्नु भनेर अर्तीउपदेशरूपी सूचना दिइरहन्छ । यस्तै नानाथरी विज्ञापनले देश विकास भएको ढोल पिटिँदै छ रेडियोबाट तर वास्तविकता त्यस्तो छैन, परनिर्भरताले नेपालको विकास कुहिराको कागसरह भएको छ ।
यही विरोधाभासमा शर्माको व्यङ्ग्यको वर्षा नेपाली सरकारी विज्ञापनप्रति आक्रामक रूपले भएको छ । भन्छन्, “त्यसैले प्रत्येक चश्मा गोला साबुन, बागबजारको सुट, अमृतसरि नुन र चिनीपानी, चाउचाउको पकेट अनि गुलाफ, कमल, निलोकन, ढाल र प्यान्थर हाम्रो विकासको क्रम हो ।” (पृ.२६) विज्ञापनहरू सबै कवितामय भएकाले नेपाली जीवन नै कवितामय भएको छ भन्दै हाँसो उडाउँछन् शर्मा । सेक्सपियरका नाटकझैँ काव्यात्मक बनेको छ नेपाली जीवन । सेक्सपियरका नाटकहरूकै झैँ नेपालीहरू अन्योल, महŒवाकाङ्क्षा, विवशता र आँसु, दुस्ट्याइँ र स्वार्थ, मर्म र संवेदना, विवेकहीनता, ईर्ष्या, कलुषितता, कन्जुसी र निर्ममता अनि ऋणं कृत्वा घृतं पिवेत् दर्शन बोकेर बाँच्छन् कवितामा । यस्ता अभिनयकारी कविता सर्लक्कै बुझिँदैनन्, स्पष्ट अर्थिँदैनन् । यसैले त हामी नेपाली पनि केही बुझिँदैनौँ, अर्थिँदैनौँ किनकि हावादारी हुनमै रमाइलो मान्छौँ । “यस्तै अर्थहीन भई भई, नबुझिई नबुझिई हामी बाँचिरहेछौँ । अस्पष्ट, धूमिल ।” (पृ.२६)
हाम्रो हालत विज्ञापनका अर्थहीन र मूल्यहीन अस्पष्ट कविताझैँ भएको छ । वास्तविक विकास देख्न नपाए पनि सञ्चार माध्यमका विविध हाहाहुहुका लयहरूमा नेपालको विकास बाँच्छ । हाम्रै देशै विज्ञापन भएको छ, विज्ञापित छ । हाम्रो वर्तमान विकास पनि केवल विज्ञापित छ तर जसरी विज्ञापनका वस्तुहरू बेकम्मा, हावाजस्ता, अपत्यारिला हुन्छन् त्यस्तै हाम्रो विकास पनि ‘ज्यादा खा लिया’ जस्ता वाहियात भएका छन् । देशको यस्तो गएगुज्रेको अवस्थालाई सपार्न–सुधार्न त धेरै खाएपछि त्यसलाई पचाउन खाने ‘हमदर्द का पचनोल’ आवश्यक पर्ने भइसकेको छ । अति भो देशमाथि थोत्रा विज्ञापनका थरीथरीका बेतुके कविताहरू सुनेर । अब यी सबैलाई समाप्त पार्न दबाई गर्नैपर्छ । त्यो दबाई भनेको हमदर्द का पचनोल नै हो भनेर व्यङ्ग्यकारले हामी विज्ञापनमुखी अस्तव्यस्त नेपालीहरूलाई उल्लीबिल्ली पारेका छन् ।
वास्तविक विकासनिर्माणका कुनै समाचार सञ्चार माध्यमले सुनाउँदैनन् । तर बागबजारमा सुट तयार भएको विज्ञापन सुनाएर नेपाल विकसित भएको स्वाङ पार्नु साँच्चै दुःखद र विडम्बनापूर्ण छ । हामी कति अल्छी, भाग्यवादी र अकर्मण्य भइसक्यौँ भने खेतबारीमा कडा परिश्रम गरेर पैसा वा धनसम्पत्ति कमाउनतिर पटक्कै ध्यान नदिई चाउचाउका पाकेटमा पाँच वा दश रुपैयाँका नोट भेटिन्छन् कि भनेर व्यर्थका खानेकुराका पछि पैसा खर्च गरिरहेका छौँ । कृषिप्रधान देशलाई चाउचाउप्रधान देशमा परिणत गरिरहेछौँ । यसैबाट लेखक व्यङ्ग्यका तिखा सुइराले हाम्रो मूर्खतामाथि घोच्छन्, “बागबजारमा सुट तयार हुनु नै विकास हो नेपालको । …चाउचाउका पाकेटमा पाँच–पाँच, दश–दश रुपैयाँका नोट भेटाइनु पनि विकास हो ।…चाउचाउ खाऊ नोट कमाऊ ।” (पृ.२७–२८) जसरी भए पनि देशको सम्पत्ति लुटेर खानु नै हाम्रो परिचय भएको छ आजकाल । ज्यादा खा लिया हिन्दी वाक्य भए पनि यसले बुझाउने मूलार्थ यही नै हो । फेरि हाम्रो विकास भनेको नेपाली बोलेर वा सुनेर हुँदैन हिन्दीमा त्यसलाई अनुवाद गर्नुपर्छ ।
नेपाली फिल्म मन पर्दैनन् तर हिन्दीका परिवार सबै एकसाथ बसेर हेर्न पनि नसकिने हिन्दी फिल्म हाम्रा प्रिय बन्छन् । त्यसैले देवकोटाको दालभातडुकु कविता कुनै महŒवको लाग्दैन तर चाउचाउको कविता वा परिकार अति प्रिय लाग्छ किनकि त्यसमा पैसा कमिने आकर्षण छ विदेशी पाराको । नेपाल गरिबहरूको वा खान नपाउनेहरूको होइन ज्यादा खाएर पचनोल वा पाचक चाहिने पुँजीपतिहरू वा धनीमानीहरूको हो । विकास पनि तिनै धेरै खानेहरूकै हुन्छ, खान नपाउनेहरूको हुँदैन । पुँजीपतिहरू आफूलाई ठुला उद्योगपति बनाउँछन् जो हिन्दीमा रमाउनेहरूकै हो । हिन्दीमा विज्ञापन घन्काएर र हिन्दीमा बोलेर आफूलाई उच्चा र सभ्य ठान्ने पुँजीपतिहरूकै हो । लेखक त्यसैले प्वाक्कसँग मुक्का हान्छन्, “ज्यादा खाएपछि खानेहरूको खुसी सायद यस्तै हुन्छ ।…हामीहरू नेपालीभन्दा धेरै हिन्दी बुझ्ने र बोल्ने र बोल्न मन पराउने हुनु नै हाम्रो विकास हो ।…हाम्रो विकास यही ‘ज्यादा खा लिया’ कै नापाले नापिन्छ ।” (पृ.२८) समाजमा जसरी भए पनि अत्यधिक धनसम्पत्ति थुपार्नेहरूले ज्यादा शोषणचक्र चलाउन थालेपछि वा ‘ज्यादा खा लियाकै समस्याले पिरोलिँदा मार्क्सको द्वन्द्वात्मक भौतिकवादी दर्शन निस्क्यो ।’ गोर्की आदिले मार्क्सवादी दर्शनचिन्तनको सामाजिक, साहित्यिक र कलासम्बन्धी स्थापनाको व्याख्या गरे । तैपनि धनी र गरिबको समस्या समाधान भएन । बरु यसले विश्वलाई दुई ध्रुवमा बाँड्यो र शक्तिराष्ट्रहरूले वार्साहरू र नाटोहरू बनाएर युद्धकै स्थिति तयार गरे अनि समस्याको समाधान गर्ने भन्दै बन्दुक थुपार्न थाले ।
फलस्वरूप अहिले अमेरिका र रुसका दुई ध्रुव युद्धका लागि व्यापारयुद्धमा पुगी आर्थिक आदि नाकाबन्दीतर्फ धकेलिँदै छन् । संसार जतिसुकै समाधानका लागि युद्धको तयारी गरोस् हामीलाई केही फरक पर्दैन । हाम्रो साह्रै राम्रो समाधानको उपाय त रेडियो नेपालको विज्ञापनले दिन्छ भन्दै लेखक व्यङ्ग्योक्ति प्रकट गर्छन्, “रेडियो नेपाल विज्ञापनसेवाले सुझाउँछ ‘हमदर्द का पचनोल’ दशपैसे गोली । देशको यथार्थ । ज्यादा खाइरहेका छन् । पचनोल खाइरहेका छन् । कुनै समस्या छैन ।” (पृ.२८) यस प्रसङ्गले नेपालमा उच्च वर्गले अत्यधिक शोषण गरिरहेका छन् तर शासनसत्तालाई कुनै मतलब छैन भन्ने मर्मलाई बुझाउँछ । समस्याको समाधान गर्नेभन्दा पचनोल खुवाउने सत्तासीन शैली यहाँ प्रभावी छ ।
लेखक चुस्स हाँसो पनि पेस गर्छन् र भन्छन्, “ज्यादा खा लिया समस्याको समाधान पाएका भए मार्क्सले सय वर्षअघि नै द्वन्द्वात्मक पचनोलवाद प्रस्तुत गर्दा हुन् । र हाम्रो सामर्थ्य कुण्ठित हुन्थ्यो ।” (पृ.२९) मार्क्स स्वयंले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवाद उनले नै नबुझी मरे तर ‘हामीजस्ता अहम्मानीलाई बुझेको चस्मा ढल्काउने अवसर दिए ।’ अहिले नेपालका वामपन्थीहरू यस्तै मार्क्सवादी सिद्धान्त नबुझी व्याख्याता बन्न कोसिस गर्छन् र कूपमण्डूकपना देखाउँछन् । त्यसैले समस्या जस्ताका तस्तै जब्बर बनेर बसेका छन् र हामीले दुःख पाउनुसम्म पाएका छौँ । लेखक अन्तमा प्रश्नशील बन्दै आफू ज्यादा नखाने वर्गको हुनाले पचनोल खानुनपर्ने नेपालीहरूको अधिकृत प्रतिनिधि हुँ भन्ने गौरवबोध गर्छन् र हामीलाई पनि त्यसैभित्र पर्न प्रेरित गर्छन् । मिठो हाँसोठट्टाले व्यङ्ग्योक्तिलाई टुङ्ग्याउँछन्, “सन्तान पचनोल खानुनपर्नेहरूको । हा…हा…हा ।” (पृ.२९) यसरी यस निबन्धले मूलतः सञ्चारजगत्का विसङ्गति, विकृति र नेपाली समाजका आर्थिक, राजनीतिक अनेक विरोधाभासहरूलाई केलाएर तिनमाथि व्यङ्ग्य गरेको छ ।
‘भ्यागुता महान्’ निबन्धमा भ्यागुतालाई अनेक प्रतीक बनाएर व्यङ्ग्यको निसाना साधिएको छ । शर्माका दृष्टिमा भ्यागुता कोको हुन् र तिनको महानता केकेमा छ त ? यहाँ स्पष्टतः वक्रोक्ति वा व्यङ्ग्योक्ति छ किनकि जुनजुन भ्यागुतालाई उनले महान् भनेका छन् ती कोही महान् छैनन् अति नै नीच र पतित छन् । उभयचर भ्यागुतो प्राचीन जीव तर मानिसद्वारा हेपिएको छ । माछो माछो भ्यागुतो भन्ने उखानमै यसलाई अभाव वा अप्राप्तिको दुःखद अवस्थाको सूचक बनाइएको छ । विषमताका सिकार बनाइए । बालक्रीडामा भ्यागुतो र जीवनदर्शनको निष्कर्षमा भ्यागुतो प्रयोग भो र भ्रमको प्रतीक बन्यो । ‘महर्षि, चिन्तक, दार्शनिक महात्माहरूले संसारलाई ‘माछो माछो भ्यागुतो’ ठाने ।’ बर्खामा भ्यागुताको सङ्गीत बेजोड हुन्छ र सङ्गीतकारहरू प्रभावित हुन्छन् । साहित्यमा भ्यागुताको योगदान विशेष छ । कविशिरोमणि लेखनाथदेखि आख्यानकार बालकृष्ण, किशोर, नगेन्द्रसम्मले भ्यागुताप्रेरित साहित्य रचे । भ्यागुताका खुट्टा नतानी कोही डाक्टर नहुने भएकाले मानिसले खुट्टा तान्ने प्रवृत्ति सिके भनेर मानवीय दोषमाथि मिठो मट्याङ्ग्रो हान्छन्, “यही खुट्टा तान्ने प्रवृत्ति डाक्टर नभएका मानिसले पनि आजीवन अवलम्बन गर्छन् र सुखपूर्वक बाँच्दछन् ।” (पृ.३१) औलेज्वरो रोक्न भ्यागुताको योगदान छ तर उसलाई कुनै उपाधि वा सम्मान नदिई काम गर्ने हनुमान् जस पाउने ढेडु भनेझैँ केही नगरेका मानिसलाई मानार्थ डी.लिट्. दिने चलन संसारमा छ भनेर मपाइँवादी मान्छेको बडप्पनप्रति लेखक व्यङ्ग्योक्ति प्रकट गर्छन् ।
यहाँसम्म लेखकले बच्चा, दार्शनिक, साहित्यकार, सङ्गीतकार, षड्यन्त्रकारी खुट्टातानुवा, फोस्रो उपाधि लिने शिक्षित सबैलाई भ्यागुता बनाए र व्यङ्ग्य हाने । “अब नेपाली विकासको मूल भ्यागुताकेन्द्री हुनेछ । सम्पूर्ण विकास आयोजना भ्यागुताले सञ्चालन गर्नेछन् ।” (पृ.३२) भ्यागुता विभाग, भ्यागुता व्यापार प्रवर्धन केन्द्र, भ्यागुता नागरिकता तथा अन्य शाखा खोल्ने र यिनमा लोसे (लोकसेवा) आयोगद्वारा पदपूर्ति गर्ने भनेर देशका प्रशासनिक क्षेत्रमा हुने गरेका तमाम कुसंस्कार र भ्रष्टतामाथि लेखकले व्यङ्ग्य प्रहार गरेका छन् । यसो गर्नेहरू सबै भ्यागुते चरित्रका हुन् र यी बडो महान् छन् भनेर कडा उपहास र चर्को आलोचना गरेका छन् ।
स्वैरकल्पनाको प्रयोग गर्दै भ्यागुताका चेपागाँडाका पुच्छरमा पिएच.डी. गर्नेहरू जन्माउँछन् नेपालमा भन्दै नेपालका निकम्मान पिएच.डी.प्रति आक्रमण गर्छन् । नेपालबाट बौद्धिक प्रतिभाको पलायन भइरहने प्रवृत्तिलाई भ्यागुते प्रवृत्ति भन्ने स्वैरकल्पनात्मक शैलीको व्यङ्ग्य बेजोड छ, “महान् महान् भ्यागुताको यो पलायन (ब्रेन ड्रेन) बारे सोच्नु् देशका बुद्धिजीवीहरूको काम हो ।…विदेश प्रस्थानअघि तिनको टाई लगाएको फोटो गोरखापत्रले मुखपृष्ठमा छाप्नेछ ।” (पृ.३२–३३) यसरी भ्यागुता बुद्धिजीवी, भ्यागुता प्रहरी, भ्यागुता सेना, भ्यागुता साहित्यप्रेमी, भ्यागुता भगौडा, भ्यागुता तस्कर, भ्यागुता सिकारी, भ्यागुता फिल्मनिर्माता, भ्यागुता अस्त्रनिर्माता, भ्यागुता उद्योग आदिलाई भक्कु उडाएका छन्, मोहोरो काढेका छन् । यी सबैलाई देशमा साह्रै ठुलो प्रगति गर्ने हुन् भनेर छेडखानीसाथ व्यङ्ग्योक्ति प्रकट गरेका छन् ।
भ्यागुता मन्त्रालय, मन्त्री, विभाग आदिको लहरमा झुटा विवरणहरूले जनतालाई उल्लु बनाउने नेपालका विभाग र बैङ्कको धज्जी उडाएका छन्, “हाम्रो देशमा कुनै कुराको तथ्याङ्क दुरुस्त रहेको होला झैँ लाग्दैन । राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैङ्क तथ्याङ्कमा सधैँ झगडा गर्छन् । यी दुवै राष्ट्रका भलादमी संस्था न हुन् । तथ्याङ्क–मिथ्याङ्कका जादुगर ।” (पृ.३४) यसै गरी अन्तर्राष्ट्रिय भ्यागुता अनुसन्धान केन्द्र र तिनका विद्वान्हरू भन्दै नेपालका यस्ता केन्द्र र विद्वान्हरूलाई व्यङ्ग्यको निसाना बनाउँछन् । भ्यागुताका वृत्तचित्रहरू, कार्यक्रमहरू उत्पादन गर्ने प्रसङ्गद्वारा सम्बद्ध संस्थान र रेडियोका विकृतिमाथि छासेका छन् । पोषणहीन चाउचाउ उद्योगहरूका वितण्डामाथि पनि नेपालीहरूलाई अल्पायुमा झार्ने भनेर झाँको झारेका छन् ।
यसै क्रममा पोसिलो भ्यागुताको मासु खान सुझाएका छन् । अनेक प्रकारका कुपोषण वा कमजोरी भएका सबै नेपालीहरूलाई नेपालमा जन्मेर भ्यागुता नचाखी मर्नु नेपाली नहुनु हो भनेर भ्यागुते बनाएका छन् । अन्तिममा आदर्शको अभाव रहेका भ्रमका खेलाडी नेपालीहरूलाई व्यङ्ग्यका मुङ्ग्राले टाउकामा हान्दै भनेका छन्, “भ्यागुता महान् छन् । अझै भ्यागुताजीहरू महान् हुनुहुन्छ ।” (पृ.३५) यस निबन्धले चोलेश्वर बौद्धिक व्यङ्ग्यरचनाका महान् हस्ती हुन् भन्ने साबित गरेको छ ।
‘सगरमाथा एक पहाडको नाम होइन’ निबन्धमा व्यङ्ग्यका तरेलीमा अभिव्यक्त भएको महान् राष्ट्रभक्तिको गौरव पाइन्छ । नेपालविरोधी जर्जलाई सङ्केन्द्रित गरी यसमा सगरमाथालाई होच्यायौ, नेपाली जातिसँग खेलाँची गर्यौ भनेर प्रतिरोध गरिएको छ । एक सच्चा देशभक्त नेपाली साहित्यकारको मुटुको धड्कन धकधक गरेको छ यसमा । उनले भनेका छन्, “सगरमाथा नेपालको…एक चुचुरो मात्र होइन । सगरमाथा नेपाल हो । सगरमाथा नेपालीहरू हुन् । यही सर्वोच्चतामा नेपाली आकाङ्क्षा, विश्वास र उमङ्ग निवास गर्छन् । यसैका शुभ्रताभित्र, यसैका छत्रछायामा, यसैका उच्चतालाई लक्ष्य गरी स्वच्छ भावनाले, सरलताले, सहृदयताले, उत्साहले, उत्सर्गले बाँच्छ नेपाल । बाँच्छन् नेपालीहरू । सगरमाथा नेपालीका रगतनलीमा रगत बनेर बगेको छ । नेपाली मुटुमा ढुकढुकिएर जीवन भएको छ । …यो हाम्रा जातीय र सांस्कृतिक उत्सव–पर्वहरूमा सङ्गीत बनेर बगेको छ ।…नेपालका लागि सगरमाथा भूगोल मात्र होइन, इतिहास पनि हो । वर्तमान मात्र होइन, भूत र भविष्यत् पनि हो ।” (पृ.३६) यसैले नेपाल नेपालीको आस्था, नेपालको सर्वस्व, प्रतीक, विश्वको आकर्षणको केन्द्र, करोडौँ मानिसको मुटुको ढुकढुकी हो । नेपाल, नेपाली र विश्वकै धड्कन बनेको सगरमाथालाई होचो भनेर होच्याउने जर्जलाई लेखकले ग्रहण भनी धज्जी उडाएका छन् । लोभी र ईर्ष्यालु भनेर धिक्कारेका छन् । मूर्खताको हँसी उडाएका छन् । सगरमाथाको अर्थ हिउँको थुप्रो होइन । पहाड होइन । उचाइ मात्र होइन ।
मन, आत्मा, प्राण, अहम्, सत्य, शिव र सुन्दर हो । जर्जलाई पैसामा बिकेर नेपालविरोधी धारणा राख्यौ कि भनेर छास्दै नेपालीहरूको सस्तैमा बिक्ने अति तुच्छ र दरिद्र प्रवृत्तिमाथि व्यङ्ग्य गर्छन्, “कसैको लोभलालचमा त परेनौ ?…नरिसाऊ, हाम्रो वातावरणमा त यस्तो धेरै हुन्छ । दशबिस मात्र नोटले सत्य छोपिन्छ ।” (पृ.३८) नेपाली जाति कहालीलाग्दा भिरपहरामा, बाँदर पनि लड्ने पखेरामा जीवनको गीत खोप्ने र हिमालयका ऐना हेरेर निधारमा टल्केको पसिना पुछ्नु–ओबाउनुको स्वाद थाहा पाउने भएकाले प्रत्येक पहाडको उत्थान–पतनसँगै नेपाली बाँच्नुको अभिन्न सम्बन्ध गाँसिएको हुन्छ । त्यसैले कसैको ललकार नेपालीलाई स्वीकार्य छैन । यहाँका पहाडी, हिमाली प्राकृत सौन्दर्यमा वर्णनातीत आनन्द छ । हिमालय नेपालको समग्र सभ्यता र संस्कृति हो । हिमालहरू देशका छोरीहरू र छोराहरू हुन् । घामका प्रथम किरणहरू हुन् । उज्यालाका मोहनीले आत्मविस्मृत बनाउने बहुमूल्य कला हुन् ।
विश्वभरका पर्यटकहरू लट्ठ्याउने जादुगरी हुन् । त्रिशूलरूपी नुप्त्से–सगरमाथा–ल्होत्से त ब्रह्मा–विष्णु–महेश नै हुन्, मृतसञ्जीवनी हुन्, नेपाली पहिचान र अस्तित्वका अटल, अमर र अजर शक्ति हुन् । तापनि दुर्भाग्य त के हो भने नेपाली र नेपाल आजभोलि सगरमाथाको नाम बेचेर पेट पाल्छन् किनकि खुकुरी, गोर्खा र गोर्खाली वीरता बिक्न छाड्यो अनि सगरमाथाको बजारसमेत मन्द हुँदै छ भनेर लेखक कायर र महाअल्छी नेपालीहरूको सातो लिन्छन् ।
बाहिरबाट होस् वा देशभित्रैबाट होस् नेपालविरोधी गतिविधि गर्नेलाई लेखकले सिस्नुपानी लगाउने काम गरेका छन् । नेपालको गौरवमाथि धब्बा लगाउनेहरूप्रति लेखक कठोर व्यङ्ग्योक्तिद्वारा प्रहार गर्छन् । जर्जलाई चुनौतीका साथ भन्छन्, “जर्ज, सगरमाथा एक पहाडको नाम होइन । जो ठान्छन् सगरमाथा वा हिमालय एक पहाडको नाम हो – ती भुल गर्छन् ।” (पृ.४२) हरेक नेपालीका मुटुमा सगरमाथा सर्वोच्च र अप्रतिम छ किनकि यो एक सांस्कृतिक धरोहर हो, प्राचीन होस् वा आधुनिक दृष्टिमा होस् विष्णुदेवताको निवासस्थल हो । यसरी प्रकृति, संस्कृति, पर्यावरण, सुन्दरता, सर्वोच्चता, सभ्यता, पर्यटन, आरोहण, विश्वकै आकर्षण आदिका दृष्टिले नेपालको सगरमाथा र नेपाली शिरको सानलाई कसैले पनि होच्याउन सक्तैन भन्ने लेखकको सच्चा देशभक्तिको दृढ अभिव्यक्तिलाई यसमा प्रस्तुत गरिएको छ ।
वस्तुतः शर्मा एक बौद्धिक हास्यव्यङ्ग्यकारमा दरिन पुग्छन् । यो हास्यव्यङ्ग्यका प्रायः सबैजसो वाक्यहरू गहन अर्थ, उच्च दृष्टिकोण, विशिष्ट सौन्दर्य र हृदयस्पर्शी भावविचारले भरिपूर्ण छन्, मननीय छन् र त्यस्ता विशेषताले युक्त छन् जसले चोलेश्वर शर्मालाई नेपाली हास्यव्यङ्ग्यलेखनका इतिहासमा अमरता प्रदान गरिरहने छन् भनी ठोकुवा गर्न उत्प्रेरित गरिरहन्छन् । यो नेपाली हास्यव्यङ्ग्यको एउटा मास्टरपिस वा कालजयी अद्वितीय गौरवबोध गराउने सुन्दर रचना हो ।
‘घण्टाकर्णको अर्थशास्त्र’ निबन्धले आर्थिक र सांस्कृतिक क्षेत्रको विसङ्गतिको चिरफारसहित व्यङ्ग्यसन्धान गरेको छ । घण्टाकर्ण एक सांस्कृतिक पर्वविशेष हो तर लेखक यसलाई आर्थिक चाड मानेर व्यङ्ग्यरचना गर्छन् । कौटिल्यको अर्थशास्त्रलाई समेत प्रभावित गर्ने गुरु घण्टाकर्णले मानवसमाजमा करको आधार स्थापित गर्यो । कर तथा वित्तविशेषज्ञ घण्टाकर्ण प्रथम अर्थशास्त्री हो । यस्ता अर्थशास्त्रीलाई नेपालले चिनेन र अनेक आर्थिक विसङ्गति र विकृतिका खाडलमा नेपाली अर्थतन्त्र फस्यो । घण्टाकर्णका आर्थिक बाटामा लागेको भए र कुनै आर्थिक अनियमितता नभएको भए नेपालको आर्थिक स्तर जापानबराबरको हुने थियो । हाम्रो देशका महŒवपूर्ण बैङ्कहरूबाट खरबौँ रकम कुनै विदेशी वा स्वदेशी गल्लाव्यापारी वा ठगले कुम्ल्याएर भागे र हाम्रो अर्थतन्त्र डावाडोल भयो । नेपाल ध्वंस गर्न तम्सेको घण्टाकर्ण राक्षस नै गठेमङ्गल हो । गठेमङ्गलका राम्रा र नराम्रा दुवै पक्षलाई यहाँ उल्लेख गरेर राम्राभन्दा नराम्रा पक्षहरू अँगालेर नेपालीहरू बिग्रेका हुन् भन्ने व्यङ्ग्यात्मक विचार प्रवाहित गर्ने उद्देश्य लेखकको छ ।
घण्टाकर्णको चरित्र नै विसङ्गतिपूर्ण वा विरोधाभासी थियो । घण्टाकर्ण नास्तिक थियो । भाग्यवाद नमानी कर्मवाद मान्थ्यो तर कर्म नगरी मागेर खान्थ्यो । सुनभन्दा फलामलाई महत्व दिन्थ्यो तर कानमा बडेबडे सुनका घण्ट झुन्ड्याउँथ्यो । धनीलाई भन्दा गरिबलाई माया गरेर पक्ष लिन्थ्यो तर चन्दा र कर असुल्दा थोरै दिने गरिबलाई हकार्थ्यो । प्रगतिवादी वा समाजवादी विचारको थियो तर अनीश्वरवादी ऊ सम्पत्तिको धाक प्रदर्शन गर्न कानका घण्ट जोडले हल्लाउँथ्यो । यही सम्पत्तिको धाक दिने घण्टाकर्ण प्रवृत्ति उसका सन्तान नेपालीहरूमा सरेको हो भनी लेखक नेपालीहरूलाई व्यङ्ग्य हान्छन् ।
घण्टाकर्ण बडेमानका सुनका घण्ट झुन्ड्याएर पनि चौबाटामा जगात वा कर मागी उठाएर खान्थ्यो र मागी खानुलाई महान् कर्म ठान्थ्यो अर्थात् चोरी खाँदैनथ्यो अनि सभ्य देखिन्थ्यो । यही परम्परालाई मानेर गठेमङ्गल पर्वमा बाटामा जगात वा करबापत पैसा उठाइन्छ र उठेको भोग गर्नेले मङ्गल वा लाभ पाउँछ । यस दिन माग्नेले नाङ्गो शरीरमा अश्लील कुराहरू लेखेर प्रदर्शन गर्छ । यसरी माग्नु घृणित, नाङ्गिनु र अश्लील कुराको प्रदर्शनी बेइज्जतीपूर्ण हो भन्दै लेखक अहिले नेपालीहरूले सुटटाईमा नै मगन्ते स्वरूप लिएर विश्वभरि माग्नुलाई प्रतिष्ठा बनाएकामा चर्को व्यङ्ग्योक्तिमा उतार्दै धज्जी उडाएर धिक्कार्छन्, “नेपालमा माग्नु र माग्नेलाई दिनु सामाजिक अपराध भए पनि नेपालले देशबाहिर जेट चढेर माग्नु अपराध हुँदैन । माग्नु हाम्रो जन्मसिद्ध अधिकार हो । संसारसँग मागिखानु नै नेपाली कर्मवादी दर्शन हो । महान् । र घण्टाकर्ण हाम्रो साक्खै बुढो बाबु (आजाजु) भएकाले उसको पनि माग्ने अधिकार त्यत्ति छ जति हाम्रो ।” (पृ.४५)
यसै गरी लेखकले नेपालले घण्टाकर्ण आर्थिक प्रणालीले विदेशी सहायता लिएर लाभ लियो भन्दै वक्रोक्तिमूलक व्यङ्ग्यद्वारा नेपालीहरूको सातो लिन्छन् र वैदेशिक सहायता भ्रष्टहरूको आहारा बन्दा देशको बेहाल भएको तितो यथार्थ प्रस्तुत गर्दै त्यस्ता उपहास्यप्रति तीव्र घृणासहित थुक्छन्, “घण्टाकर्ण आर्थिक प्रणाली नेपालका सन्दर्भमा बढी प्रभावकारी र लाभकारी हुन सक्छ । अन्यथा विदेशबाट जतिसुकै ठुलो सहयोग, सहायता, ऋण, अनुदान, भिक्षा पाए पनि नेपालका विकासमा बालुवामा पानी पोखेझैँ हुन्छ । भएकै छ ।” (पृ.४५) नेपालमा सरकारी स्तरबाट भएका अन्वेषण, अनुसन्धान र उन्नत जातका बालीनाली उत्पादनका प्रसङ्ग ल्याएर तिनमा पाइने असङ्गतिमाथि छेडखानी गर्दै व्यङ्ग्योक्ति प्रकट गर्छन्, “जति नै उन्नत जातको खेती गरे पनि सिस्नो, गिठा, भ्याकुर र उपवास नै नेपालीका मुख्य आहार हुन् ।…नेपालीका सुखदुःखको साथी सिस्नै हो ।” (पृ.४५) नेपालीका व्यावसायिक बेकम्मापनप्रति यस्तै वेधक वक्रोक्ति, व्याजस्तुति, उक्तिवैचित्र्य, स्वैरकल्पनाबाट व्यङ्ग्यको वर्षा गरिएको देखिन्छ यस निबन्धमा ।
यसै क्रममा घण्टाकर्ण शैलीका कला र प्राज्ञ घण्टाकर्णजी जन्मिने, गाउँबस्तीमा घण्टाकर्ण बैङ्कका शाखाप्रशाखा खुल्ने अनि बिनाधितो ऋण दिने भन्दै अतिशयोक्तिपूर्ण हास्योत्पादन गर्छन् तथा बैङ्किङ क्षेत्रको ठगी, कमिसनखोरी र लुटाहा प्रवृत्तिमाथि कडा व्यङ्ग्य प्रहार गर्छन्, “घण्टाकर्ण बैङ्कले नेपाली नागरिकलाई बिनाधितो ऋण दिनेछन् । वर्तमानमा जस्तो उद्यमीहरूले ऋण लिँदा वित्तीय संस्थाहरूलाई नै पचहत्तर प्रतिशतसम्म सेवाशुल्क चढाउनुपर्नेछैन ।” (पृ.४६) यसै गरी भ्रष्ट र शोषक प्रबन्धक–महाप्रबन्धकका टाउकामा व्यङ्ग्योक्तिमय घनको प्रहार गर्छन् । लोभी–लालची अर्थशास्त्रीहरूले घण्टाकर्णे बैङ्कका गतिविधिलाई आर्थिक पुनर्जागरण भन्नेछन् भनेर तिनका दुश्चरित्रको धज्जी उडाउँछन् । घण्टाकर्णलाई देशमा बढ्दो मखुन्डोधारी प्रवृत्तिको प्रतीकका रूपमा प्रयोग गर्छन् व्यङ्ग्यकार । नक्कली बन्दै गएको नेपाली चरित्रमाथि हाँसो उडाउँछन् । जताततै मखुन्डोधारी छन् र राजनीतिमा षड्यन्त्रकारी, धोकेबाज र झुट घिनलाग्दो गरी बढेको छ ।
त्यही मखुन्डे प्रवृत्तिमाथि लेखकको चर्को बाघेझप्पु मज्जाले बजारिएको छ, “नेपालीले घण्टाकर्णको मुकुन्डो धारण गर्न रुचि लिएकै छन् । लिनेछन् ।…थपडी बजाउने, नारा लगाउने र जयजयकार गर्ने भाटहरूले वर्षभर काम पाउनेछन् जो चुनाउपछि झन्डै बिकम्मा हुन्छन् ।” (पृ.४७) जनताबाट जगात, कर वा चन्दा उठाएर भट्टीपसलमा रमाइलो गर्ने प्रवृत्ति विकासविरोधी कुकृत्य हो जो दिनप्रतिदिन बढेको छ नेपालमा । बैङ्कमा जम्मा भएको रकम पनि ठग पार्टीले चप्काएर बैङ्क टाट पल्टाउने कुसंस्कारले नेपालको आर्थिक प्रणाली ध्वस्त भएको छ । यसलाई सुधार गर्न घण्टाकर्ण आर्थिक प्रणाली सुरु गर्नुपर्ने योजना लेखक बताउँछन् । दशबिस वर्ष यही प्रणाली प्रयोग गर्नु प्रभावकारी हुन्छ भन्दै लेखक नेपाललाई एक प्रयोगशाला बनाइएकोप्रति कडा व्यङ्ग्य हान्छन्, “हजार कुरा सयौँ वर्षसम्म प्रयोग गरिने ठाउँ हो नेपाल, यो पनि एक प्रयोग नै सही ।” (पृ.४८)
वास्तवमा नेपाल भनेको घण्टाकर्णकै उत्तराधिकारी भएको र उसकै सिको गरेर जनताबाट उठाएको कर देशहितमा होइन आफ्नै व्यक्तिगत मोजमस्तीमा स्वाहा बनाउने प्रवृत्ति यहाँ बढेको छ । यसकै ज्वलन्त नमुना जगात वा कर उठाई त्यसलाई राति भट्टीपसल वा रेस्टुराँ–बारमा पिएर सिध्याउने चलन नियमसरह नै बनेको सन्दर्भबाट देश निरन्तर आर्थिक अधोगतितिर गिर्दो छ भन्ने सङ्केत गर्छन् । घण्टाकर्णको जय भन्दै सबैलाई रेस्टुराँ–बारमा सहभागी हुन आह्वान गर्दै नेपालको आर्थिक प्रणाली वा व्यवस्थाको निकृष्ट पक्षमाथि गम्भीर व्यङ्ग्यद्वारा प्रहार गर्छन्, “…तपाईँ पनि पाल्नुहोला । पाल्नुहोस् महोदय । सबै प्रकारका आर्थिक प्रणालीको निष्कर्ष त उही हो । मह काढ्नेले हात चाट्छ नै ।” (पृ.४८) तर लेखकले गम्भीर रूपमा के सङ्केत गरेका छन् र सचेत बनाउन खोजेका छन् भने जसरी मागेर खाने घण्टाकर्ण व्यर्थैमा मर्यो त्यस्तै मागी खाने बानी परेका हामी नेपालीहरू पनि त्यतिकै सकिन्छौँ है, हाम्रो लास उठाउने पनि कोही हुँदैन किनकि गरिबलाई कसैले वास्ता गर्दैन । तसर्थ घण्टाकर्णे हामपुरे बानी बेलैमा सुधारौँ र आफू पनि बचौँ, देशलाई पनि बचाऔँ ।
क्रमशः
०००
कीर्तिपुर
Subscribe
Login
0 Comments
Oldest







































