डा. भरतकुमार भट्टराईलक्ष्मण नेवटियाका व्यङ्ग्य कविता
यस्तै प्रकारका उनका व्यङ्ग्य आर्थिक, सामाजिक, प्रशासनिक, सांस्कृतिक, साहित्यिक, साञ्चारिक आदि क्षेत्रमा पनि व्याप्त भएको कुरा उनका अन्य कविताहरू मार्फत थाहा पाउन सकिन्छ ।
डा. भरतकुमार भट्टराई :
लक्ष्मण नेवटिया पिता स्व. रामस्वरूप नेवटिया र माता श्रीमती जयदेवी नेवटियाका सुपुत्रका रूपमा वि.सं. २०११ असोज १९ गते मङ्गलबारका दिन मोरङ जिल्लाको विराटनगरमा जन्मेका हुन् । उनी नेपाली साहित्यका क्षेत्रमा एक चम्किला हास्यव्यङ्ग्यकारका रूपमा सुपरिचित छन् । उनका हास्यव्यङ्ग्यमा केन्द्रित कविताको सङ्ग्रह प्रकाशित छ : लक्ष्मणका कुतकुती (२०३९) । उक्त सङ्ग्रहका अतिरिक्त थुप्रै फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । नेवटियाले उपलब्ध गराएका कविताका सूचीमा ‘लक्ष्मणका ढुकढुकी’मा १७७ र ‘लक्ष्मणका व्यङ्ग्यव्यथामा ८४ गरी जम्मा २६१ व्यङ्ग्य कविताहरू प्रकाशित भइसकेको कुरा खुल्छ भने उनको ‘सङ्क्षिप्त परिचय’मा दिएको जानकारीमा चाहिँ उनका हालसम्म त्यस्ता २७१ कविताहरू प्रकाशित भइसकेको जानकारी मिल्छ । प्रायः छोटा संरचनामा देखिने उनका व्यङ्ग्य कविताहरू सरल भाषामा प्रस्तुत छन् । शीर्षक पनि सरल र स्पष्ट देखिन्छन् ।
प्रस्तुत लेखमा ‘लक्ष्मणको कुनो अन्तर्गतका कविताहरूमा पाइने व्यङ्ग्यको चर्चा गरिएको छ । नेवटियाका व्यङ्ग्य समसामयिक राजनीति, समाज, अर्थतन्त्र, शिक्षा, धर्मसंस्कृति, सञ्चार, प्रशासन आदिका विसङ्गति र विकृतिलाई विषयवस्तु बनाएर व्यक्त भएका छन् । प्रायः सरलतामै चट्ट बुझिनु र चस्स बिझ्नु उनका व्यङ्ग्यमा पाइने विशेषता हो । हल्काफुल्का सन्दर्भबाट विसङ्गतविकृत पक्षमाथि व्यङ्ग्य साध्नु उनको प्रविधि हो । उनका व्यङ्ग्य परिहासमय छन् । चिटिक्क पर्ने नेताहरूको शोषणवृत्तिमाथि हानिएको गुलेली साँच्चै स्वादिलो छ :
नेता र रसगुल्ला 
दुवै सेता सेता
दुवै गोला गोला
फरक यत्ति छ कि
रसगुल्ला स्वयं निचोरिन्छ
नेता निचोर्छ। (नेता र रसगुल्ला)
बन्दले खाएको राजनीतिक परिदृश्य, शिलान्यासमै जनतालाई झुलाउने ढँटुवा नेत्याइँ, भिखारीभन्दा पनि नीच देखिने आदर्शहीन र सिध्दान्तहीन नेताहरूको अवसरवादी चरित्र, समावेशी राजनीतिका असङ्गत पक्ष, क्रान्तिकारीका नाममा हुने चन्दा आतङ्क, विदेशीको आडमा आफ्नै नेपाली दाजुभाइबीच फुट ल्याउने राजनीतिकर्मीको विभाजनकारी मनोवृत्ति आदिप्रति नेवटियाको व्यङ्ग्य केन्द्रित छ । यस क्रममा उनी भन्छन् :
हाम्रै छाता हाम्रै छत, गरेर हामीलाई नै विभक्त
हाम्रै घरमा आई बस्ला, बाँडफाँड गरी हाम्रा मत (खेत छ हाम्रो साँढे ऊ)
देशमा शान्ति स्थापनाका लागि हतियार व्यवस्थापन गर्नुपर्ने तर केवल लिखतमा मात्र त्यसो हुँदा सम्भव नभएकाले कवि व्यङ्ग्य गर्दै भन्छन् :
हतियार व्यवस्थापन
लिखतले हुँदैन, नियतले हुन्छ (कुचो बेल्ना व्यवस्थापन)
देशको राजधानीमा पिउने पानीको समेत व्यवस्था गर्न नसक्ने बेकम्मा सरकारको धज्जी उडाउन बाँकी राखेका छैनन् व्यङ्ग्यकारले । उनको व्यङ्ग्य यस्तो छ :
विज्ञहरूले आज रातीसम्म थप एक थोपा पानी
खस्न सक्ने आशङ्का गरेका छन्
मिडियाकर्मीहरूले अर्को थोपा खस्न सक्ने सम्भावनालाई ध्यानमा राखी
विशेष क्यामेराहरू जडान गरिसकेका छन्
राजधानीमा पानी वितरणको स्थितिमा निकट भविष्यमै
सुधार हुँदै गएकोमा
मन्त्रीमण्डलले धन्यवाद प्रस्ताव
पारित गरेको छ । (ब्रेकिङ न्युज)
बन्द, चक्काजामले ध्वंस पारेको नेपालको अवस्थालाई व्यङ्ग्यको निसाना बनाउँदै व्यक्त गरेको यो व्याजोक्ति निकै मार्मिक रहेको छ :
बधाई छ
एउटा नयाँ विश्व रिकर्ड थपिँदै छ
वर्षभरिमा सबैभन्दा बढी
बन्द चक्काजाम हुनेमा
हाम्रो देश छिट्टै गनिंदै छ । (विश्व रिकर्ड)
कवि ‘हाम्रो देश हल्लावादीको चर्तिकलाको देश’ भन्दै हल्ला, भाषण, गफमा मात्र रमाउने तर श्रममा र आफ्नो कर्तव्य वहन गर्नमा पटक्कै ध्यान नदिने नेपालीको बिग्रँदो बानीबेहोराप्रति स्वभावोक्तिबाटै व्यङ्ग्य गर्छन् :
अचेल जहाँ पनि फाइदामा हल्लावादी नै हुन्छ
किनकि काम गर्न हात हल्लाउनु पर्छ
पसिना बगाउनु पर्छ
रगत सुकाउनु पर्छ
हल्ला गर्न केही गर्नु पर्दैन । (हल्लै हल्लाको देश)
कवि ‘ए, कता छौ एकता’ भन्दै विखण्डनतिर उन्मुख वर्तमानप्रति तीव्र चिन्ता व्यक्त गर्छन् । राष्ट्रहितका काममा हुनुपर्ने ठोस वार्ताहरू पार्टीहितसँग जोडेर नेताहरूले स्थगित कि स्थगित गरेर ‘टायम पास मात्र गर्दा राष्ट्रप्रेमीहरूको हृदय छियाछिया भएको छ । यसप्रति कविको झटारो यसरी हानिएको छ :
प्रत्येक बिहान अखबारभरि
एउटै समाचार
आज हुन सकेन सहमति
भोलि पुनः वार्ता, पुनः विचार
जसरी पनि टाइम पास (टाइम पास)
दल बदल्ने, दल फोर्ने र नेपालीहरूलाई एकताबध्द भई सबल र समृध्द हुन नदिने टट्टू नेताहरूका कारणले नै देश र जनताले दुःख पाइरहेका छन् । यसप्रति संवेदनशील कवि त्यस्ताहरूमाथि यसरी उपहास व्यक्त गर्छन् :
विदेशी डाक्टरको स्वागतमा
हवाइअड्डा पुग्ने मन्त्रीज्यू
हिजो थिए रमता दलमा
आज भए ममता दलमा
उहाँहरूको आपसमा गराइयो परिचय यसरी
उहाँ डाक्टर दिल-बदलु
उहाँ नेता दल-बदलु । (दिलबदलु र दलबदलु)
कवि नेवटिया छोटाछोटा कविताभित्रै पनि खासखास पात्रको सिर्जना गर्दै अभिव्यक्तिलाई सहज बनाउँछन् र व्यङ्ग्यलाई तिखार्छन् । त्यस्ता पात्रहरू मानवीय र मानवेतर (कुकुर, गधा, गौथली आदि) दुवै हुन्छन् । त्यसैले व्यङ्ग्य प्रकट गर्न मानवेतर पात्रहरूलाई पनि व्यङ्ग्यकार अघि सार्छन् अनि प्रवृत्तिका हिसाबले मान्छे पशुभन्दा तल झरेकोप्रति व्यङ्ग्य गर्दै आफूमाथि भएको अन्यायको विरोध जनाएका छन् । यस्तै एउटा आवाज छ :
भुस्याहा कुकुरको जुलुस
नारा थियो
‘कुकुर मार्न पाइँदैन’
‘यस्तो अधिकृत चाहिँदैन’ (भुस्याहा कुकुरको ज्ञापन)
हाम्रो समाजमा विडम्बना यति बढेको छ- न यहाँ बेलामा राष्ट्रपति छानिन्छन् न प्रधानमन्त्री । त्यसैले राजनीतिक अस्तव्यस्तताले बढाएका चरम विसङ्गतिहरूले मानव जीवनलाई हुनसम्मको सस्तो बनाएको कुरा व्यङ्ग्यकारले प्रकट गरेका छन् । यही गन्जागोलमाझको सस्तो मान्छेको पोल कवि यसरी खोल्छन् :
गन्जागोल दाइ गन्जागोल,
सहमतिको फाट्यो ढोल ।
दलले दलमा गर्दा झेल,
कूटनीतिको चल्यो गुलेल ।
सस्तो मानिस महँगो तेल,
सपना हाम्रा परे ओझेल । (सस्तो मानिस, महँगो तेल)
हाम्रा समस्यालाई लेनदेनको व्यापारिक माल भनी गरिएको व्यङ्ग्य र देशको अव्यवस्थालाई चुँडिएको चङ्गामा रूपान्तर गरिएको कविको अभिव्यञ्जना नवीन र सशक्त देखिन्छ :
बिक्रीका लागि
हामीसँग ठूलो परिमाणमा
नयाँ-नयाँ ब्रान्डका माल तयार छन्
लोडसेडिङ
‘श्रम समस्या’
‘बन्द हडताल
यसैको राम्रो व्यापार छ
ल भन्नुस्
तपाईंको कुन किन्ने
विचार छ ? (व्यापार छ)
अव्यवस्थित छ व्यवस्था
कतै हुल कतै दङ्गा छ
आँखा चिम्लेर हुने के हो ?
वस्त्रमुनि सबै नङ्गा छ
गर्नुहुन्छ लापरवाही
चाहनुहुन्छ वाहवाही
अवस्था यस्तो कि चुँडिएको चङ्गाजस्तै छ । (चुँडिएको चङ्गा)
दङ्गा-फसाद, हिसामा निसास्सिएको नेपालीहरूको निरीह र लाचार जीवनप्रति पटक्कै ध्यान नदिई कुर्सीको दौडमा रुमल्लिने वर्तमान नेपाली राजनीतिको कुरूप तस्बिरलाई कवि यसरी व्यङ्ग्यात्मक शैलीमा उदाङ्गो पार्छन् :
(৭)
यसलाई जोड
उसलाई तोड
जोडतोडले
दौडम-दौड
(२)
यसलाई छोड
उसलाई मोड
कुर्सी पाउने
एउटै होड
(३)
शहादतको
कस्तो निचोड
फोरम फोर
फोडम-फोड (कुर्सी दौड)
गाउँ-सहर सबैतिर
दङ्गा छ, फसाद छ
प्रतिदिनको हिंसाले
सप्रेको पनि बर्बाद छ
बुझ्न सकेको छुइँन
यो अहिले पनि मैले
मर्ने नेपाली, मार्ने नेपाली
फेरि केको जिन्दावाद छ । (केको जिन्दावाद छ ।)
बेथितिले ग्रस्त नेपालको बेमेल अनुहारलाई कविले यसरी व्यङ्ग्योक्तिमय बनाएर प्रस्तुत गरेका छन् :
समस्या छ देशको
विदेशमा चलखेल छ
कतै हत्या कतै अपहरण
सुरक्षित ठाउँ जेल छ
जसलाई बसाउनुस् छेउमा
झन् उसैले धकेल्छ
जित्नेलाई खुर्सानी ढिंडो
हार्नेलाई ककटेल छ
तालुमा आलु फलाउनेहरूको
जताततै भेल छ (बेमेल)
कवि नेवटिया आर्थिक विसङ्गति केलाउँछन् र व्यङ्ग्य प्रहार गर्छन् ।
यहाँ विशेषतः राजनीतिक क्षेत्रका व्यङ्ग्यमा केन्द्रित भई कवि नेवटियाको व्यङ्ग्यधर्मको चर्चा गरियो । यस्तै प्रकारका उनका व्यङ्ग्य आर्थिक, सामाजिक, प्रशासनिक, सांस्कृतिक, साहित्यिक, साञ्चारिक आदि क्षेत्रमा पनि व्याप्त भएको कुरा उनका अन्य कविताहरू मार्फत थाहा पाउन सकिन्छ । तिनको यथोचित समीक्षा अर्को लेखमा गरिने छ ।
०००
हास्यव्यङ्ग्यमाथिका समालाेचना (२०७३)
Subscribe
Login
0 Comments
Oldest









































