साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवीचापागाईंको वक्रपुराण: व्यंग्यमा प्रतिबिम्बित समाज, संस्कृति र मनोविज्ञान

'वक्रपुराण' व्यंग्य निबन्ध साहित्यको माध्यमबाट नेपाली समाजको चरित्रभित्र रहेका प्रकाश र छायाँका सबै तहहरूलाई उजागर गर्ने शक्तिशाली कृति हो, जसले हास्यभित्र पीडा, व्यंग्यभित्र सत्य र कथाभित्र जीवनको यथार्थ बोकेको छ ।

Nepal Telecom ad

दिलीप अर्याल :

हास्यव्यङ्ग्यकार देवीप्रसाद चापागाईंको हाँस्यव्यंग्य–निबन्धको चौथो कृति ‘वक्रपुराण’ केही समय अगाडि स्रष्टा मित्र स्वयंको बाहुलीमार्फत मेरो हातमा आइपुग्यो । केही व्यस्तताका कारण यस कृतिलाई छिट्टै पढ्ने अवसर मिलेन । फूर्सद मिलाएर पुस्तक आद्योपान्त पढेपछि आफू पनि यही विधामा यदाकदा कलम चलाउने नाताले कृति सिर्जना गर्दाका बखत एउटा स्रष्टाले व्योहेरेका दु:ख-सुख, हसिन-पसिन, उकुसमुकुस जस्ता लेखकीय मर्मलाई मनन गरेर यो समीक्षा नगरी रहन सकिएन । पढ्दै गर्दा व्यंग्य निबन्ध कृतिमा अभिव्यक्त शब्दगत खेल, व्यङ्ग्यको धार र शैलीगत कौशललाई अवलोकन गर्दै, कतै रोकिँदै, कतै छक्क पर्दै, कतै हाँस्दै, कतै मौन विचारमा डुब्दै त कतै भावविह्व्ल हुँदै अघि बढ्ने क्रम चलिरह्यो । अनि अन्ततः यसबारे केही लेख्न त पर्ला नि! भन्ने विचार बलियो बन्दै गयो । त्यसैले आफ्नो क्षमताले भ्याएसम्म बसिबियाँलो गर्ने प्रयासका रूपमा यो पाठकीय समीक्षा समर्पित छ ।

निबन्ध लेखन आफैँमा कठिन कार्य छँदै छ, त्यसमाथि हास्यव्यङ्ग्य निबन्ध सिर्जना गर्नु त फलामको च्यूरा चपाउनु सरह हो भन्ने अनुभूति यो कृति पढ्दै गर्दा झन् गहिरो भयो । अब यही कृतिको सेरोफेरोमा रहेर मिठा–मसिना, तिता– मलिना केही कुरा गरौँ कि भन्ने जमर्को गरेँ ।

थाङ्गपालधाप–२, सिन्धुपाल्चोक जन्म भई हाल कागेश्वरीमनोहरा–६, काठमाडौंमा बस्दै आउनु भएका देवीप्रसाद चापागाईं समकालीन नेपाली हास्यव्यङ्ग्यका चर्चित नाममध्ये एक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा उहाँको विशेष लगाव निबन्ध विधातर्फ देखिन्छ, यद्यपि उहाँ कविता विधामा समेत कलम चलाउनुहुन्छ । हालसम्म उहाँका पाँच कृति प्रकाशित भएका देखिन्छन् । हास्यव्यङ्ग्य निबन्धमा ‘बुर्कुसी’, ‘उपरखुट्टी’, ‘कुम्भकर्णको डायरी’ र ‘वक्रपुराण’ तथा हास्यव्यङ्ग्य कवितामा ‘बडकौला’ रहेका छन् । साथै उहाँ फित्कौली डटकम तथा विभिन्न पत्रपत्रिकामा नियमित रूपमा निबन्ध र कविता प्रकाशित गरिरहनुहुन्छ । मलाई देवीजीको पहिलो कृति ‘बुर्कुसी’ देखि लिएर हालको ‘वक्रपुराण’ सम्म सबै पढ्ने अवसर जुटेकोले, उहाँको व्यङ्ग्यशिल्प, पेचिलो शैली, हरेक प्रसंगमा अग्राखका काठले झैं टेको दिने शब्दसामर्थ्य र निरीक्षणशक्तिबाट प्रभावित भई लेखिएका विषय माथि केही लेखौँ भन्ने चाहना पलायो ।

देवीजीको ‘वक्रपुराण’ व्यंग्योक्ति संग्रह काव्यगत गुण, व्यङ्ग्यगत धार र हाँस्यगत प्राणले ओतप्रोत रहेको देखिन्छ । काव्यशास्त्रअनुसार उत्तमकाव्यका अवयवले गुथिएका मोतीहरू जस्तै प्रत्येक निबन्ध सुन्दर ढंगले उभिएका छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय र ग्रामीण परिवेशका कथा–सन्दर्भलाई समान सहजताका साथ प्रस्तुत गर्न सक्नु उहाँको विशेष क्षमता हो । दुर्गम गाउँका भाका, पीडा, घटनाहरूलाई पनि हास्यव्यङ्ग्यको प्रभावकारी माध्यमबाट बेजोड शैलीमा पस्किनु लेखकको मौलिक प्रतिभा हो । साँचो हास्यव्यङ्ग्यमा आफू र वरपरका कमीकमजोरीहरूलाई नलुकाई निरङ्कुश ढंगले उतार्न सक्नुपर्छ भन्ने धारणा यहाँ पुनः प्रमाणित हुन्छ । देवीजीले समाजका काला कृत्य, विचलन र विकृतिलाई घुमाउरो भाषामा पेचिलो शब्द, चोटिलो व्यङ्ग्य र झट्किने लयका माध्यमबाट अभिव्यक्त गर्नुभएको छ ।

देशका कुनाकाप्चाका मान्छेका हाउभाऊ, समाजका धूर्त साहू–मालिक, घमण्डी पण्डित–पुरोहित, अपहेलितको घाउको मार, सबैलाई ‘वक्रपुराण’ ले एकपछि अर्को गरी पर्दाफाश गरेको छ । मास्टरको छडीदेखि धनीको घडी, बारुले कान्छोले लुकाएको झाडीदेखि नर्तकीको साडी, जीवनका यथार्थ र समाजका विडम्बनालाई चतुरतापूर्वक उद्घाटन गर्ने लेखहरू यस संग्रहमा पाइन्छन् । राजनीतिमा मौलाइरहेका असङ्गति विसंगतिहरूमा यति तीव्र व्यङ्ग्यवाण प्रहार गर्न सक्ने शक्ति देवीजीको लेखनीमा रहेको देखिन्छ । सम्पूर्ण पुस्तकको भाषा सललल खोला बगेजस्तै छ—मिठास, शब्दचयनको चातुर्यता, अनुप्रासको उचित प्रयोग र हास्य–व्यङ्ग्य दुवैलाई सन्तुलित ढंगले पस्कने कौशल यहाँ देखिन्छ । यी सबै मिलेको कृति देख्दा साँच्चै भन्न मन लागेको छ – यो सामान्य लेखकीय क्षमताको परिणाम होइन ।

‘वक्रपुराण’ मा समेटिएका उन्नाइस व्यंग्य–निबन्धहरू नेपाली समाजको संरचना, मानसिकता र मानवीय मूल्यप्रणालीलाई सूक्ष्म अवलोकनबाट व्याख्या गर्ने गहिरो साहित्यिक दस्तावेज हो । यी निबन्धहरू विषयवस्तुका दृष्टिले भिन्न देखिए पनि, समग्र रूपमा भने आधुनिक नेपाली समाजमा व्याप्त अस्थिरता, स्वार्थ, अकर्मण्यता, राजनीतिक अव्यवस्था, सांस्कृतिक ह्रास र मनोवैज्ञानिक जटिलताहरूको एकीकृत चित्रण मान्नु पर्छ । संग्रहको आरम्भ ‘बिर्सने रोग’ बाट हुन्छ, जसले विस्मरणलाई मान्छेको सामान्य कमजोरी नभई एक योजनाबद्ध एवं ‘चयनात्मक विस्मृति’ को रूपमा व्याख्या गरेको छ । मानिसले आफ्ना कर्तव्य, अरूबाट प्राप्त सहयोग, सामाजिक उत्तरदायित्व जस्ता पक्ष चटक्कै बिर्सिन्छ र सट्टामा लाभ र स्वार्थसँग सम्बन्धित क्षणहरू अत्यन्त तीक्ष्णतापूर्वक सम्झन्छ भन्ने तितो सत्य पक्षको उजागर भएको छ यस लेखमा । त्यसपछि आउने ‘कन्जुस्याइँ’ ले भौतिक वस्तु जम्मा गर्न पल्केको मान्छेले आफ्नो र परिवारका खुसीभन्दा पर पुगी कञ्जुस्याइँको प्रवृत्तिलाई मलजल गरेका उदाहरण प्रस्तुत गर्दै, व्यवहार, कृतज्ञता र मानवीय संवेदनामा देखा पर्ने सीमितता प्रस्फुटित गरेको छ । ‘केही याईंहरू’ ले अल्छ्याइँदेखि चतुर्याइँसम्मका विविध सामाजिक र मनोवैज्ञानिक कमजोर पक्षलाई प्रतिरूपका रूपमा देखाउँदै, नेपाली जीवनमा मौलाइरहेका अल्पदर्शिता र मूल्यहीन प्रतिस्पर्धाको तीक्ष्ण आलोचना गरेको छ ।

‘नहिँड्ने’ निबन्धले शारीरिक गतिमा मात्र होइन, मानसिक, सामाजिक तथा संस्थागत गतिशीलतामा समेत नेपाली समाजको स्थिरता र जडताले गरेका क्षतिहरू उजागर भएका छन् । ‘मूर्खोपचार’ दार्शनिक गहिराइमा रहेको निबन्ध हो, जसले मूर्खता स्थायी र निश्चित परिभाषा नभई सापेक्ष, परिस्थितिजन्य तथा चेतना–स्तरअनुसार बदलिने चरित्र भएको औँल्याउँछ । अरूलाई मूर्ख ठान्ने मानिस अन्ततः आफ्नो नै अपरिपक्वता प्रकट गर्छ भन्ने लेखकको दृष्टि यहाँ अत्यन्त प्रासंगिक रहेको छ । भाषिक र सांस्कृतिक चेतनासँग सम्बन्धित ‘उखान कि पद्यलय’ मा नेपाली मौखिक परम्पराको मौलिकत्व र सामुदायिक ज्ञानको मर्मभेदी प्रस्तुति भेटिन्छ । आधुनिक पुस्ताले उखान–टुक्का, पद्यलय जस्ता मौलिक अभिव्यक्तिलाई विस्थापित गर्न थालेको चिन्ता यसमा गहिरोसँग व्यक्त गरिएको छ । ‘इतिवृत्त’ निबन्धले इतिहासले नछुने मानिसका आन्तरिक अवस्था, अनुभूति, मनोवृत्ति र आत्मगत घटनालाई जीवनको असल अभिलेखका रूपमा पुनर्स्थापित गरेको छ ।

‘पशुपतिको निर्णय’ संग्रहकै सबैभन्दा सशक्त व्यंग्य हो, जहाँ देवता पशुपतिनाथ स्वयंले शिक्षादेखि प्रशासन, राजनीतिदेखि साहित्यिक क्षेत्र, जंगलदेखि शहरी जीवन, धार्मिक कर्मकाण्डदेखि सामाजिक व्यवहारसम्मका सबै पात्र–घटना निरीक्षण गर्ने जिम्मेवारी पाएका छन् । देवताको आँखाबाट देखिएको आधुनिक समाज वास्तवमा विद्रूप एवं हास्यास्पद र कतिपय ठाउँमा नैतिक पतनको चरम उदाहरण बन्न पुगेको यथार्थ लुकेको छैन । यसपछि आउने ‘दैले द को डुक्र्याइ’ ले दलाली, दादागिरी, दस्तुरखोरी जस्ता ‘द’ ले सुरु हुने शब्दहरूको विस्फोटक वृद्धिलाई समकालीन नेपालको सामाजिक–आर्थिक संरचनासँग जोडेर व्यंग्य गरेको छ । यहाँ रातदिन पसिना बगाउने श्रमिक, माटो कोर्ने अनि ढुंगा फोर्ने वर्ग धतुरो पेले झैं पेलिएर पछाडि धकेलिन्छ र अवसरवादी वर्ग सधैं शीर्षस्थानमा पुग्छ भन्ने अभिव्यक्तिले धराको सत्य ओकलेको भेटिन्छ । ‘गफको बान्की’ मा नेपाली समाजको गफ–संस्कृतिलाई सामाजिक अन्तर्क्रियाको अनौपचारिक तर प्रभावकारी माध्यमको रूपमा चित्रण गर्दै, यसले सूचना–संचार, अफवाह, राजनीतिक प्रचार र सामाजिक मनोविज्ञानसँग यसको घनिष्ठ सम्बन्धको विश्लेषण गरेको छ ।

‘प्रयत्न’ शीर्षक निबन्धले नेपाली समाजको प्रगति अवरुद्ध पार्ने कारणहरूको खोजी गर्दै, प्राकृतिक सम्पन्नता हुँदाहुँदै पनि कर्महीनता, जाँगरहीनता र व्यक्तिगत स्वार्थले राष्ट्रलाई जकडिरहेको यथार्थ देखाउँछ । ‘अपवाद’ मा लेखकले नयाँ विचारलाई अस्वीकार गर्ने, रूढिवादी मान्यतामा अडिने र भीडको मानसिकताले चल्ने समाजलाई चुनौती दिँदै, इतिहासमा देखिएका अपवादहरूको महत्व र उनीहरूको योगदानलाई पुनःस्थापित गरेका छन् । ‘नेताको कुरो’ ले नेतृत्वको भ्रम, जनताको अधकल्चोपन, राजनीतिक अस्थिरता र नेताको ठूला–ठूला भाषणमात्र भरिएको व्यवहारिक शून्यतालाई अत्यन्त सजीव उदाहरणसहित व्यंग्य गरिएको छ । यस्तै, ‘उपहरूको अवतार’ मा प्रशासनिक संयन्त्रमा देखिने ‘उप–संस्कृति’ ले कसरी निर्णयको असली शक्ति कब्जा गर्छ र औपचारिक प्रक्रिया केवल नाटक बनिरहन्छ भन्ने स्पष्ट देखाएको छ ।

‘कुरा खेलाउने बानी’ ले कल्पना, बढाइचढाइ र मानसिक पलायनवादको आकर्षक तर भ्रामक संसारलाई नेपाली सामाजिक मनोविज्ञानसँग जोडेर व्याख्या गर्छ, जहाँ मानिस वास्तविक प्रयासभन्दा कल्पनामा राजदरबार निर्माण गर्न सहज ठान्दछ । ‘आज नै’ निबन्धले वर्तमानप्रतिको बेवास्ता र भोलिमुखी मानसिकतालाई समय–व्यवस्थापनका दृष्टिले अत्यन्त हानिकारक देखाउँदै, नेपाली समाज विकसित हुन नसक्नुको मूल कारण वर्तमानप्रतिको उपेक्षा हो भन्ने दृष्टि प्रकट गरेको छ । ‘अंग प्रत्यारोपणको भूकम्प’ ले आधुनिकताको अनुकरण, बाहिरी रूपान्तरणप्रतिको आकर्षण र भित्री चेतना परिवर्तनप्रतिको उदासीनतासँग सम्बद्ध सामाजिक विडम्बनालाई दार्शनिक तहमा कडा प्रहार गरेको कतै लुकेको देखिन्न । अन्ततः ‘खेतीको आद्योपान्त’ निबन्धले राजनीतिक, सामाजिक, अर्थोपार्जन, भावनात्मक, नाटक–केन्द्रित र गफ–केन्द्रित विभिन्न प्रकारका ‘खेती’हरू मार्फत मानवीय क्रियाकलापका विविध पक्षहरूको रूपकात्मक विवेचना गरेको छ । ‘कालको विधान’ को व्यंग्यात्मक संरचनाले मृत्यु जस्तो अनिवार्य सत्यसँग पनि मानिसले खेलवाड गर्न खोज्ने, प्रशासनले यसलाई प्रक्रियागत जटिलतामा बाँध्ने र मानवीय स्वार्थले प्रकृतिका नियममाथि दख्खल जमाउन खोज्ने प्रवृत्तिमा गहिरो प्रहार गरेको छ ।

समग्रमा, यी सबै निबन्धहरू नेपाली समाजको मनोवैज्ञानिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक तहहरूको समग्र चित्रण हुन् भन्नुमा कतै दुई मत छैन । व्यंग्यका माध्यमबाट लेखकले उठाएका मुद्दाहरू सतही हाँसोका लागि होइनन्; ती हाम्रो सामूहिक चेतनालाई उठाउने, अन्तर्मनलाई झस्काउने र समाजलाई पुनर्विचार गर्न बाध्य पार्ने पेचिला, दर्बिला, गतिला उपकरण हुन् । अन्त्यमा, ‘वक्रपुराण’ व्यंग्य निबन्ध साहित्यको माध्यमबाट नेपाली समाजको चरित्रभित्र रहेका प्रकाश र छायाँका सबै तहहरूलाई उजागर गर्ने शक्तिशाली कृति हो, जसले हास्यभित्र पीडा, व्यंग्यभित्र सत्य र कथाभित्र जीवनको यथार्थ बोकेको छ ।

०००
काठमाडाैं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शैली किसिम-किसिमका

शैली किसिम-किसिमका

दिलीप अर्याल
मलमूत्रको कुरो

मलमूत्रको कुरो

दिलीप अर्याल
ट्याटु महिमा

ट्याटु महिमा

दिलीप अर्याल
हल्ला

हल्ला

दिलीप अर्याल
बसिबियाँलो

बसिबियाँलो

दिलीप अर्याल
रोगहरूको बैठक

रोगहरूको बैठक

दिलीप अर्याल
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
रकमी हस्ताक्षर

रकमी हस्ताक्षर

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x