दिलीप अर्यालमलमूत्रको कुरो
अहिले हामीलाई नालीद्वारा नदीमा हालेर पवित्र जललाई दूषित बनाएका छन् । मान्छेले आफूले उत्सर्जन गरेर दोष जति मलमूत्रलाई दिएका छन् । हेर्नुस् त विडम्बना !
दिलीप अर्याल :
संस्कृत भाषामा दिसालाई मल, विष्ठा, पुरिष नामले बुझिने रहेछ । नेपाली चलनचल्तीको भाषामा भने विष्ठा, मल, गुहु, आची आदि शब्दले यसको प्रतिनिधित्व गरेका देखिन्छन् । त्यस्तै, पिसाबलाई मूत्र, प्रस्रव: भनिने रहेछ ।
केही नपाएर मलमूत्रको कुरा गर्न यो मान्छे किन तम्सिएको होला? भन्ने यहाँहरूलाई लाग्ला तर यसमा पूर्वीय दर्शनले इंकित गरेको पन्चकर्मेंद्रिय मध्ये दुई कर्मेंद्रिय ‘पायु’ र ‘उपस्थ’ यसैको लागि आरक्षित रहेको कुरा जगजाहेरै भएको कुरो पनि भनि टोपलें ।
अथर्ववेदको काण्ड १, सूक्त ३ लाई ‘मूत्रमोचन सूक्त’ भनिने रहेछ, जसमा यसरी भनिएको रहेछ : –
विद्मा शरस्य पितरं पर्जन्यं शतवृष्ण्यम् ।
तेना ते तन्वे शं करं पृथिव्यां ते निषेचनं बहिष्टे अस्तु बाल् इति ॥
अर्थात् हामी पानी पार्ने मेघ (पर्जन्य) लाई जान्दछौँ । त्यसैले, तिम्रो शरीरलाई सुख दिनेगरी पृथ्वीमा मलमूत्र वा जलको विसर्जन बाहिर सजिलैसित होस् भन्ने कामना गर्दछौँ ।
त्यस्तै, शरीरको मल शुद्ध पार्ने र सरसफाइ गर्ने तरिकाबारे मनुस्मृतिमा यसरी भनिएको रहेछ:
विण्मूत्रोत्सर्गशुद्ध्यर्थं मृद्वार्यादेयमर्थवत् ।
दैहिकानां मलानां च शुद्धिषु द्वादशस्वपि ॥
अर्थात् दिसा र पिसाब गरिसकेपछि शरीरको शुद्धिका लागि आवश्यकताअनुसार माटो र पानीको प्रयोग गर्नुपर्छ । शरीरका बाह्र प्रकारका मलहरूको शुद्धि पनि यसै प्रकारले हुन्छ । यसैले यसको महत्वलाई कम आँकलन गर्न कदापि मिल्दैन भन्ने कुरोमा म अटल रहें ।
‘के आची जस्तो कुरा गरेको ?’, भन्ने भनाइ हुन्छ नि हाम्रा कुराकानी बीच । हो, आज म त्यही सामान्य चलनचल्तीको भाषामा भनिने आची र सुसु अर्थात् अलि माथिल्लो भाषामा भन्दा मलमूत्रको कथा व्यथाबारे चर्चा गर्न गइरहेको छु ।
हरेक जिउँदो मान्छेले खान्छ, पिउँछ अनि मलमूत्र त्याग गर्दछ । यही कुरा मानिस लगायत हरेक जीवित प्राणीमा लागू हुन्छ – जुन कुरो अकाट्य छ । हो, उसो भए हामी यस मल उत्सर्जनका कुरा गर्दा हिजोका हाम्रा दिन भने बिर्सनु हुन्न । दुई-तीन दशक अघि निष्फिक्रीसँग खुल्ला ठाउँमा शौच क्रिया गर्ने नेपाली समाजको आज रूप परिवर्तन भएको छ । हिजोका दिनमा घरभित्र खाएर घर बाहिर शौच गर्ने गर्थे, आज घरबाहिर खाएर घरभित्र शौच गरिन्छ । यो शौचको दुनियाँमा पुरै १८० डिग्रीको टर्न भएकोले यसलाई क्रान्तिकारी भाषामा भन्दा अग्रगामी छलाङ भएको मान्नुपर्छ ।
हिजो वन, जंगल , खहरे, खोला, पाखा, थुम्का, थुम्की, गल्ली, बाटो, छेउछाउ, कुनाकाप्चामा शौच गरी हिँडिन्थ्यो । प्राकृतिक मनोरम दृश्य अवलोकन गर्दै मान्छे पायु र उपस्थद्वारा मलमूत्र उत्सर्जन क्रियामा सरिक हुन्थे । शौच क्रियामा नेपाली समाजको रूप आज अच्चमले परिवर्तन भएको छ । आज मान्छे शौचालय भित्रको एउटा भित्तो एकोहोरो भई हेर्दै शौच क्रियामा शरीक हुन्छ । कोही मोबाइल हेर्दै बिष्ट्याउँछन् । कोही धुम्रपान गर्दै, कोही गीत संगीत सुन्दै त कोही गीत गाउँदै आफ्नो काम फच्चे गर्छन् ।
अहिले ती मान्छेले शौच गर्ने देशभरका पुराना सार्वजनिक स्थानहरू मासिँदै, भासिँदै, हराउँदै गएका छन् । कहीं केही पत्तोअत्तो छैन, कतिपय त झन्डै बेखवर छन् । राजकुलाका डीलमा बसेर हुन्थ्यो त्यो काम, आज ती राजकुला छैनन्, सार्वजनिक स्थान छैनन्, हिजोका चौर छैनन्, नदीका किनार छैनन्, खहरे खोलाका डील छैनन् । यस्ता असंख्य ठाउँहरू हुनेखाने, सक्ने जतिले विभिन्न कालखण्डमा आ- आफ्ना नाममा लालपुर्जा बनाइसकेका छन् । सन्तोषको कुरा भन्नुपर्दा केही धेर थोर स्थानमा बाटा बनेछन् भने बचेखुचेका केही स्थानमा तारबार लाएर प्रवेश निषेध गरेको पनि रहेछ ।
नदीनालाका छेउछाउ घरैघर, अव्यवस्थित बजार, अनियन्त्रित सहर, साँघुरा र दिक्क लाग्दा साँघुरा गल्लीहरू बग्रेल्ती रहेछन् । अब बिचरा शौच गर्नेको लागि सार्वजनिक शौचालय बन्ने ठाउँ नै कहाँ बाँकी छ र ? शहर बजार जाँदा मान्छेले दिसा पिसाव गर्ने एकाध बाहेक कतै सर्वसुलभ व्यवस्था छैन , निस्सासिदो, उदेकलाग्दो छ । मान्छेले भोक तिर्खा खप्न सक्छ तर दिसा पिसाब रोक्न सक्दैन – यो काम कदापि रोक्नु पनि हुन्न । शहर बजार काम विशेषले जाँदा वित्यास परिहाल्यो भने चिया पसल, मम पसल, हलुवाई पसल ताक्नु बाहेक अर्को उपाय छैन । त्यो क्षमता नभएका तथा बारम्बार दिसा पिसाब लागिरहनेको सन्दर्भमा भने तिनीहरूले डाइपर लाएर हिंड्नु बाहेक अर्को विकल्प छैन ।
मर्निंग वाक जाँदा होस्, कहीं कतै निस्कदा होस् पहिलो समस्या अनि पिरलो नै यही मलमूत्र त्यागको रहेको छ । कहाँ जाने ? पैसो तिर्छु भन्दा पनि छैन । व्यवस्थित बनाउने तर्फ कसैको ध्यान छैन | जुन जोगी आए पनि कानै चिरेका, कसैको त घैंटोमा घाम लागोस ! विदेसी पर्यटक छक्क पर्छन्- कस्तो देश हो यो , शरीरले पाउनुपर्ने नैसर्गिक अधिकारबाट पूर्णरूपमा वन्चित समाज, चेतना विहिन, एउटा विना गन्तव्यको यात्रा ।
एउटा गाउँमा आइएनजिओका केही विदेसीहरू शौचालय निर्माण गर्ने प्रोजेक्ट लिएर आउँदा गाउँवासीले मूलबाटोमै दिसा गरेको देख्दा उनीहरूले भनेछन् रे – जे होस् अरू कुरा जे भएपनि यो गाउँका मान्छेले खान चाहिं राम्रै पाएका रहेछन् । शौचालय निर्माण र अरू विकासका कुरा मात्र गरे पुग्ने भयो अब ! यो सुनी मलमूत्रहरू पनि दङ्ग परेछन् रे – कम्तिमा पनि हाम्रो यो उपस्थितिले मान्छेको इज्जत त धानेकै हो भनेर ।
यसैबीच मलमूत्रको पनि आफ्नै केही गुनासा, कथा-व्यथा रहेछन् । उनीहरू भन्दै थिए रे, “हामी हिजोका दिनमा खुल्ला स्थानमा ओर्लन्थ्यौ, अझ कतिपय स्थानहरूमा त मान्छेहरू लाइनमा बसी हामीलाई सहजै अवतरण गराउंथे । ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने उखान झैँ हामीलाई उत्सर्जन गर्ने केही मान्छेहरु चुरोट, बिंडी सल्काएर फुसफुसी धुवाँ उडाउँदै पानीको लोटा एक छेउमा राखी हामीलाई भुँडीबाट बाहिर निकाल्थे । कोही कोही त एक आपसमा गफ गर्दै पनि हुन्थे! अब त ती दिन कहाँ गए गए ? हामीले नियमित आउने ती शौच गर्ने सबै मान्छेहरुलाई पनि चिन्थ्यौ । कोही गयल हुँदा, ए आज फलानो कहाँ गएछ, पाहुना लाग्न अन्त गयो कि, सायद बिरामी भयो कि ? भन्ने लाग्दथ्यो । फेरि कहिले चाहिं अनुमान हुन्थ्यो – कोहीले खानै नपाएर दुईमुठी अन्न खोज्न भनी कतै मुग्लान पसे कि ? खानै नपाई मलमूत्र के आओस् ?”
हिजो दैनन्दिन जीवनमा त छदैंछ, शौच क्रियामा समेत लाइनमा भेट हुने मान्छे आज कसैको कोहीसँग भेट हुन्न । मान्छे मान्छे बीच हेराहेर हुन्न, कुराकानी त परै जाओस् । नयाँपुस्ता, मध्यम पुस्ता अनि कतै पुराना पुस्तामा समेत घोप्टे युगको वर्चस्व छ । हेरेको हेर्यै लालायित दृष्टिको निरन्तरता सहित, औलाले स्क्रिन सारेको सार्यै टकटकी लगाएर । अहिले मान्छे एक्लै हाँस्छ, मौन हुन्छ, गुरुगम्भीर हुन्छ. एक्लै च्याँठिन्छ, एक्लै बर्बराउँछ, एक्लै कराउँछ, एक्लै गोल भन्छ, कहिले चौका, कहिले छक्का भन्छ, रोष प्रकट गर्छ, फलानो नेता पो नेता भन्छ, अर्को विचारको लाई हेर्न सुन्नै चाहन्न, कमेन्ट, रियाक्सन, लाइक, हेराइ अनुसारको भाष्य निर्माण गर्छ अनि कता हराउँछ हराउँछ । अनि भन्छ सबै कुरा एआईले गर्छ, इन्टरनेट जिन्दावाद !!
मलमूत्रहरूले गुनासो गरेछन् कि हिजो कम से कम हामी सीमित स्थानमा थियौं – वनस्पतिका लागि मल बन्थ्यौं, त्यतै हराउँथ्यौं तर अहिले हामीलाई नालीद्वारा नदीमा हालेर पवित्र जललाई दूषित बनाएका छन् । मान्छेले आफूले उत्सर्जन गरेर दोष जति मलमूत्रलाई दिएका छन् । हेर्नुस् त विडम्बना ! सारा संसारले सत्तोसराप गरेको व्यहोर्ने चाहिं मलमूत्र तर त्यसको जन्मदाता चाहिं टिपटप भएर वातावरण संरक्षण, गङ्गा जोगाऊ अभियानको गोष्ठी गर्दै रहेछ – कस्तो विरोधाभाष ! एकै ठाउँमा खसी, बोका, भेडा, च्याङ्ग्रालाई गोठमा थुनेझैँ मलमूत्रलाई पावन गंगामा मिसाएका, एउटा निसासिँदो कहाली लाग्दो विभत्स अवस्था ! गन्तव्य कहाँ हो थाहा छैन, खाली बगाएका बगायै छन् खोला, नदी अनि समुन्द्रमा । जलचर, थलचर, पर्यावरण सबै प्रति अन्याय र अत्याचार । हिजो खोलाछेउका हाम्रा ठाउँ मिचेर आफ्ना घरद्वार जोडे, आज त्यही खोला तिम्रा घरमा पसे – ध्रुब सत्य, हुने कुरै त्यही हो | जे रोप्यो त्यही फल्ने न हो !
एकपटक मल विष्ठाहरूले भनेछन् मान्छेहरू बाँच्नका लागि भन्दा पनि खानका लागि बाँचेको बढी देखियो । हाम्लाई पनि ज्यादै गार्हो छ- घरि दिनमा दुई तीन पटक ओर्लनुपर्ने त, कहिले तीन दिन सम्म गुम्सिएर, कोच्चिएर, गुडुल्किएर पायुलाई रक्ताम्य बनाई पर्दापण हुनुपर्ने । अहिले मलको कुरा गर्दा दुईटा विषय गम्भीर देखिन्छन् – पहिलो कुरा मान्छे खानै नपाएर मल उत्सर्जन गर्न गाह्राे पर्यो भने दोश्रो चाहिं कोहीले ज्यादै खाएर असह्य पीडा अनि कब्जियत भयो ।
यो कुरोमा मल, मूत्र र तिनका द्वारहरू पायु र उपस्थले अन्याय गरेको जस्तो लाग्दैन । थोरै खानेहरूका लागि त उनीहरूले के गर्न सक्छन् र ? यसमा स्पष्टत: आगत-निर्गत सिद्धान्तको नियम लागू हुन्छ, हैन त ? धेरै खानेलाई भने विष्ठाहरूले दुःख दिएको पक्कै हो ।
एकपटक मलहरूले भने रे – ज्यादा खाने र शरीरको हेलत्व गर्ने, अत्याचार गर्नेहरूका लागि आफैंले दु:ख पाएर भए पनि तिनका पेटमा डेरा जमाएर बसिरहेर नै दुःख दिउँ जस्तो लाग्छ । अहिले अधिकांशका पेटमा ग्यास्ट्रिक रूपी सामान्य रोग जन्मिएको छ भने कतिपयलाई अल्सर, पाइल्स, बवासीर आदि गम्भीर रोगहरूले जकडेका भेटिन्छन् । ठिकै छ, यिनले खान हुने नहुने सबै नाना भाँतीका, अगतिला खानेकुरा एवं अरूका भाग खोसी खोसी समेत हसुरेकाले यिनको लागि यही वरदान उचितै हो । सामान्य र सन्तुलित खाना खानेलाई मल, विष्ठाले कहिले पनि बिगार्दैनन् । यो कुरामा ढुक्क भए हुन्छ भनी मलमूत्रहरू भन्दै गए | हामी एक कानले सुन्दै, अर्को कानले उडाउँदै गयौँ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































