एमपी पाण्डेम
किनकि हरेक एउटा ‘म’ एउटा पूरा संसार हो म बाट सुरु भएर म मै अन्त्य हुन्छ मेरो संसार। त्यसैले— एकथोक पनि म, सबथोक पनि म।
एमपी अराईटो :
हरेकपटक
यही कुरा सोच्छु म—
आज त एउटा यस्तो विषयमा
यति भयंकर शक्तिशाली कविता लेख्छु,
भरे आफैँलाई लागोस्—
के यो मैले नै लेखेको हो ?
कलम उचाल्छु,
मसी भर्छु,
कागज फिँजाउँछु,
शब्दहरूसँग संवाद गर्छु
र अड्किन्छु—
विषय छनोटमा।
सोच्छु—
ईश्वरलाई लेखूँ ?
तर, कसरी आकार दिऊँ
नदेखेको निराकारलाई ?
ऊ त पूजा–प्रार्थनामै ठीक छ।
देशलाई लेखूँ ?
राष्ट्रिय गान गाउनसमेत
अल्छी गर्ने आजको भिडले
देश पढ्लान् र ?
सत्ता र शक्तिलाई लेखूँ ?
अहँ !
भक्ति मन पर्दैन,
भरोसा थिएन, छैन पनि सत्ता-शक्तिप्रति।
प्रकृतिलाई लेखूँ ?
आफैतिर सोझिन्छ
हिमालको निधारबाट
पग्लिँदै गरेको समय,
नदीको छातीमा
बगिरहेको विष,
वनको घाँटी छिनाउँदै गरेको बन्चरो।
बा–आमालाई लेखूँ ?
एक त
सृष्टिको गर्भ उधिन्ने सामर्थ्य छैन मसँग,
दोस्रो—
पर्याप्त छैनन्
बा–आमाको महिमा थेग्न
यो दुनियाँको कुनै पनि शब्दकोशमा उल्लेखित शब्दहरू।
युद्धलाई लेखूँ ?
शान्तिलाई लेखूँ ?
मान्छेले
मान्छेकै छातीमा
गोलीको व्याकरण लेखेको इतिहास
यति लामो छ—
लेखी साध्य होला र ?
र शान्ति ?
ऊ हराएको त
युगौँ भइसक्यो।
बेला–बेला भेटिएको
अपुष्ट समाचार
सुन्नु र पढ्नुबाहेक।
उफ् !
विषयहरू
समुद्रजस्तै छन्,
र मसँग—
एउटा सानो कलम,
कलमभन्दा कैयौँ गुणा सानो
मस्तिष्क।
अब भएन।
मैले सबैभन्दा जानेको,
बुझेको,
देखेको,
भोगेको—
म आफैँ हुँ ।
त्यसैले आज
संसारलाई होइन,
संसारलाई हेर्ने
आँखालाई लेख्छु।
जस्को
गर्भादान पनि मै गर्छु
अनि न्वारन पनि
कविताको नाम हुनेछ—-
—-“म”—-।
म छु र पो
मेरो आँखामा
यो संसार छ।
म नभएको भए
आकाश त हुन्थ्यो होला—
तर
आकाश थाहा पाउने
को हुन्थ्यो?
पृथ्वी घुमिरहन्थी
सूर्यको वरिपरि,
चन्द्रमा आफ्नै कक्षमा
मौन यात्रा गरिरहन्थ्यो,
समुद्र घरीघरी
छाल उठाइरहन्थ्यो—
तर त्यसलाई हेरेर
“सुन्दर !”
भनिदिने
को हुन्थ्यो ?
वास्तवमा,
ईश्वरलाई पनि त
‘म’ भएर मात्रै
मेरो भित्र
ईश्वरको खोजी भएको हो।
संसार
मैले बनाएको त होइन,
तर मेरो चेतनामा
संसारको अर्थ
जन्मिएको पक्कै हो।
अनि-
मैले रामायणमा पढेको
राम पनि मै हो
कृष्ण, बुद्ध, क्राइष्ट, मोहम्मद—
मानव–चेतनाले कोरेका
ती सबै अनुहारमा
कतै न कतै
म नै छु।
न्युटन,
निल आर्मस्ट्रङ,
हिटलर,
जङ्गबहादुर—
इतिहासका
उज्याला–अँध्यारा अनुहारहरूमा
कतै न कतै
म नै छु।
कर्म त
कर्ताको विवेक न हो—
कसैको विवेकले
मान्छेलाई मान्छेतिर फर्कायो,
कसैको विवेकले
मान्छेलाई मान्छेकै विरुद्ध
भड्कायो।
कसैले मन्दिर बनाए,
कसैले कारागार।
कसैले पुल बनाएर
मान्छे जोडे,
कसैले सीमा बनाएर
मान्छे छुट्याए।
कसैले रकेट बनाएर
आकाश छोयो,
कसैले क्षेप्यास्त्र बनाएर
मान्छेको छाती चिर्यो।
कसैले जीवन बचायो,
कसैले जीवन जलायो।
त्यसैले त—
उज्यालो पनि म,
अँध्यारो पनि म।
सृष्टि पनि म,
संहार पनि म।
संस्कार पनि म,
अहंकार पनि म।
हरेक छाती
एउटा आकाश।
हरेक आँखा
एउटा पृथ्वी।
हरेक मुटु
एउटा अनन्त इतिहास।
प्रत्येक एउटा ‘म’ ले
सिङ्गै ब्रह्माण्ड बोकेर
हिँडिरहेको रहेछ
यहाँ।
वास्तवमा
म ठूलो हुन
अरूलाई सानो बनाउनु पर्दैन।
मेरो सत्य जोगाउन
अर्काको सत्य जलाउन पर्दैन।
मेरो ईश्वर बचाउन
अर्काको ईश्वर मार्न पर्दैन।
किनकि—
म पनि एउटा ‘म’,
अर्को पनि त एउटा ‘म’ नै हो।
फरक यत्ति हो—
ऊ आफ्नो आँखाबाट
संसार हेर्छ,
म आफ्नै आँखाबाट।
तर दुवै आँखाले
खोजिरहेको संसार
एउटै हो।
यदि मैले
म जस्तै अर्को ‘म’ लाई
चिन्न सकेँ भने,
उसको घाउमा
आफ्नै रगत देख्न सकेँ भने,
उसको अस्तित्वलाई
आफ्नो अस्तित्वजत्तिकै
स्वीकार्न सकेँ भने—
त्यस दिन
युद्धभन्दा ठूलो
विजय जन्मिनेछ।
सिमानाभन्दा ठूलो
भूगोल हुनेछ।
धर्मभन्दा ठूलो
धर्म—
मानवता कहलिनेछ।
किनकि
हरेक एउटा ‘म’
एउटा पूरा संसार हो
म बाट सुरु भएर म मै अन्त्य हुन्छ मेरो संसार।
त्यसैले—
एकथोक पनि म,
सबथोक पनि म।
—–म—–।।
०००
अछाम
Subscribe
Login
0 Comments
Oldest





































