हिरा भट्टलाजै मान्न भुलेँ म त
सुन् सुन् सरस्वती साटूँ सानो सन्देश सूत्रमा कैयौँ लेखक नाच्दैछन् पार्टीका मलमूत्रमा । लेख्ने र लेखिने रुन्छन् हुन्छन् अक्षर आहत नाङ्गा गोरु गधा देख्दा लाजै मान्न भुलेँ म त ।
हिरा भट्ट ‘बदमास नम्बर दुई’ :
राजनीति गरे बाँच्दा रक्सी भात र मासुमा
राजनीति हरे!मर्दा कात्रो लास र आँसुमा १
दे दे अध्यक्ष छोएर क्यामेरासित राहत
नाङ्गा गोरु गधा देख्दा लाजै मान्न भुलेँ म त २
घाइते-घर कड्किन्छ मेरो उद्धार गर् भनी
पड्किन्छन् दलका भान्से गाली दिन्छन् तँ मर् भनी ३
मर्नेका सरि नै मर्छन् बाँच्नेका कति चाहत
नाङ्गा गोरु गधा देख्दा लाजै मान्न भुलेँ म त ४
पत्रकार बनी डुल्ने तित्रा छन् दलका मित
खा खा खा भिडियो भन्छन् खालीपेट हुनेसित ५
माछातुल्य डुबेका छन् मान्छेका-घरका-छत
नाङ्गा गोरु गधा देख्दा लाजै मान्न भुलेँ म त ६
बुर्जुवा एकता भन्दै टुप्पी विज्ञानको कसे
अग्रगामी अरिङ्गाल मौरीका महमा पसे ७
बिर्सियो बटुवा रीति धर्म संस्कारका पथ
नाङ्गा गोरु गधा देख्दा लाजै मान्न भुलेँ म त ८
सुन् सुन् सरस्वती साटूँ सानो सन्देश सूत्रमा
कैयौँ लेखक नाच्दैछन् पार्टीका मलमूत्रमा ९
लेख्ने र लेखिने रुन्छन् हुन्छन् अक्षर आहत
नाङ्गा गोरु गधा देख्दा लाजै मान्न भुलेँ म त । १०
०००
जन्मस्थल: पञ्चेश्वर-६,बैतडी
Subscribe
Login
0 Comments
Oldest






































