रामकृष्ण ढकालआपतको आँकलन
बम भए दम छ, नहुनेचाहिँ कम छ भनेर सभ्यताको धोती खोलेर भव्यता भत्काउँदै हिँड्नुनै महानता हो भन्ने कुरो व्यवहारिकरुपमै देखाउने हामी महाबुद्धिमान प्राणी नै होइनौं र ?
रामकृष्ण ढकाल :
मरणलोकको जीवनमा मरणासन्न नै पार्ने खालका अनेक दशा महादशा आएभने तिनलाई दैवी प्रकोप वा आपत विपतको नामले न्वारान गरिन्छ । यो आपत बिपत भन्नेले भगवान् विष्णुको दशावतार भनेझैं अनेक खालका महादशावतार नै देखाउँदो रहेछ । मनुवाहरूको धर्ती यात्रा सुहाउनेभन्दा रुवाउनेको जात्रा त्यसै भनिएको होइन रहेछ । बिना निश्चयको बिपत कुनबेला पूर्व कुनबेला पश्चिम कतिखेर उत्तर कतिखेर दक्षिणमा आउँछ । जहिले आएपनी जल जमीन धन जन जफत गरेर जान्छ सकेको लान्छ हान्नसम्म हान्छ ।
कहिले ऊ उताबाट भूकम्प बनेर निस्कन्छ कहिले ऊ त्यताबाट बाढी पहिरो बनेर आउँछ । कुन बेला खडेरी बनेर घडेरी सुकाउँछ , कहिले लेदो भएर खेदो खन्छ, कहिले आगो बनेर वरपरकालाई भागो भन्छ कहिले हुरि बतास बतासिएर अतासिने बनाउँछ । संसारलाई दैवीप्रकोप नामको दुर्घटनाले यति धेरै सताउँछ कि त्यति धेरै अड्डाहरूका घुस्याहा भुस्याहा अडबाङ्गेहरूले पनि सताउँदैन होला ।
हुन त हाम्रो देशका सरकारी नोकरचाकर हरुवाचरुवाहरूले आफ्नो कार्यकक्षमा पस्ने जति सेवाग्राही सबैलाई सकेसम्म डस्ने , अत्याचारी नियमले कस्ने, घुसको घाँडोले रसातलसम्म धस्ने कुरो कुनै स्वैरकाल्पनिक कथाका विषयवस्तु होइन । हुन पनि समाजमा जस्तोलाई ढोग्यो त्यस्तै होस् भनेर आशीर्वाद दिन्छन भन्ने गाइँगुइँछ । यसको गतिलो सार्थकता भेटिने भनेको स्वाभिमान बेचेर जागिरे बनी जीवनको जोहो गर्नेहरू नै हुन् । जो जागिरको बिल्ला भिरेर जिल्ला जिल्लामा गिरेको छ उसको खोपडी कहिले पो थपडी बजाएर प्रशंसा गर्न लायक हुन्छ र उनीहरुले नृशंस भएर सेवाग्राहीहरूलाई नवग्रहको अनुभूति नदिऊन् ।
केहिगरी राष्ट्रिय निर्लज्ज प्रतियोगिता आयोजना हुने हो भने त्यसको मूल उपाधी जित्नेमा नेताहरू त्यसपछि तिनै जागिरेहरू, अनि ठेकेदार हरू, झोलेझाम्टेहरू, कौडेमुन्द्रेहरू, आउरेबाउरेहरू, लुच्चालफङ्गाहरू, आसेपासेहरू, घुस्याहा भुस्याहाहरू, विभिन्न आधुनिक वादका वादीहरू, हाम्सद झ्वाम्सदहरू, अन्यायको ठेक्का सम्हाल्ने अन्यायाधीशहरू, सुलसुले घुसघुसेहरू, अधर्म सापेक्षी अपराधीहरू आदित्यादी नै क्रमश पर्थेहोला । भोटेकोसीले हजारौंको जीवनमा भोटेताल्चा लगाएको यो दर्दनाक माहोलमा कतै शुरुगरेको विषयवस्तु कुतिको बाटो खुरुखुरु लुरुलुरु त भएन ?
बिपनालाई त विपतले बिगारेर घिसारेर अँचेटेर घचेटेर चिमोटेर निमोठेर लग्यो लग्यो सपनाजपना कल्पना तर्कना रहर सबैलाई कहालीलाग्दो कहरको नारकिय स्वाद दिएरै छाड्यो । ज्यान स्थिर पारी ध्यान दिएर झोक्राएर घोत्लिएर सोच्ने होभने यस्ता कैयौं आपत विपत प्रकृतिलाई मनुवाहरूले नै सापट दिएको भन्ने पत्तालाग्छ । अनुपम सुन्दरताले भरिपूर्ण प्रकृतिलाई अनेक जालझेल निहुँ बहाना बनएर जीर्ण चूर्ण पार्ने, आफ्नो यो हर्कतलाई पौरखी बर्कत सम्झेर मख्ख पर्ने, अनि जब प्रकृतिले कुनै प्रकोपमार्फत सबक सिकाउँछ तब अरू नै कसलाई दोषको कस लगाउने भनेर कोकोहोलो मच्चाउनेमा गनुवा त उहीँ मनुवा मात्रै न हो । विचरा अरूप्राणिहरू त मानव रुपले आतंक फैलाउने दानवको कारण यो लोकबाट लोप भैसके अनि हुँदैछन ।
अरू नभए हालसालैको भोटेकोसीले ल्याएको भोटेआपतको बेलामा सुनका नाममा , राहतका नाममा , अनि एक दशक अघिको बारपाक महादशाको बेलाका तृपाल चामल काण्डका ताण्डव मात्रै बुझेपनी पर्याप्त छ । यस्ता व्यवहार देखाएर हामी त ढुङ्गेयुगका बानरबाट सभ्यता शुरु गरि बानरबाट बा झिकी नेतालाई दिई नर बन्दै चन्द्रलोक नै पुगेको भन्ने भएपछि त्यो बिचरो एक्लो प्रकृतिले पनि कतिञ्जेल जेजे पढ्छन मनुवा दानव त्यही त्यही स्वाहा भनेर बसिरहोस् । नरभूपालभन्दा पनि हजारौं वर्ष अघिदेखिका नरलाई पूर्खा नमानेर बानरलाई मान्दै हिँड्नेहरूका अगाडि प्रकृतिले पनि हनुमान शक्ति देखाउनै पर्यो ।
बम भए दम छ, नहुनेचाहिँ कम छ भनेर सभ्यताको धोती खोलेर भव्यता भत्काउँदै हिँड्नुनै महानता हो भन्ने कुरो व्यवहारिकरुपमै देखाउने हामी महाबुद्धिमान प्राणी नै होइनौं र ? नदुखेको टाउको डोरिलाएर दुखाउनु र नआएको आपत बम लाएर निम्त्याउनुमा कालखण्ड दोषभन्दा बाहेक अरू के नै होला र ?
०००
३ असोज २०८३
चितवन ।
Subscribe
Login
0 Comments
Oldest






































