साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लघुकथा

आजको लामो छलफलको निर्णय सफल गराएपछि हामी खुशियाली मनाउन फेरि जम्मा हुनेछौं । स्थान देउरालीको भट्टीपसल । सायद यति भएपछि लघुकथा तयार भयो ।

Nepal Telecom ad

रामकृष्ण ढकाल

अलिदिन भयो एउटा लघुकथा लेखौं भनेको तर दिमागको बाटो हुँदै मोबाईलको पाटोमा ओर्लन गाह्रो मानी फाटो परेको पात्र झैं परै बसिरह्यो । फेरि सोझो सिधा नदेख्ने बाङ्गोबाहेक नलेख्ने भएपछि शिरको शीर्षकदेखि पाउको पुच्छरसम्म अलि गहिरिएर सोच्नैपर्‍यो । आफू परियो झन्डै अचेतन जड जस्तै । अचेतन भए कसरी यस्तो दर्जनथरी गन्थनको चाङ लाउँथिस् त भन्ने प्रश्न पनि उठ्नसक्छ । आफूले आफैंलाई म चेतन म ज्ञानी भन्न थाल्यो भने तपाइँले त्यो भन्दा मपाइँ अर्को भेट्नुहुन्न । त्यतापटी ध्यान लगाएपछि त पक्का अचेतनको हर्ताकर्तामा विनाशर्त दर्ता भैहालियो । अब त के छ र अचेतन भैसकेपछि त जे लेखे पनि आफ्नै हात जगन्नाथ भैगो । त्यसमा पनि जानेर बुझेर सोचेर सम्झेर पढेर गुनेर देखेर सुनेर सोधेर खोजेर कोतर्ने गरेकोभए पो चेतनमनको साम्राज्य सर्वथा समावेश्य हुन्थ्यो । जतिखेर जे मन लाग्यो त्यही क्वार्र कोर्‍यो अनि कत्ती न गतिलो लेखें भन्यो आफैंमा मख्ख पर्‍यो गर्नेलाई ज्ञान विज्ञानको जरुरत कति नै पर्छ र ।

अर्कोतिर सिर्जनाको गर्भाशय मस्तिष्क हो । वरपरका संसारकै महानतम विद्वान हुँ भन्ने र बूढो गोरुको उखान झैं संस्था ओगटेर, बजेट चाटेर, चाकरी चाप्लुसी झोले झाम्टे जुम्रे जगल्टे भुसे पगल्टे आसन जमाउनेहरूले हुनसम्मको मश्तिष्कबिहिन र पशुहरूभन्दा पनि तुच्छ मानेर व्यवहार गरेकै हुन् । आफ्नै छाला समेत आफैंले काडेकाहरूले कुनै कोठामा पस्नलाग्दा चप्पल फुकालेको देखेको भरमा चोरऔंलो हल्लाइदिएपछि त झन मज्जा पो आउँदोरहेछ को कति कुन तत्त्व भरिएको खाडलमा रहेछ भन्ने बुझेर ।

हुन पनि बरु ढुङ्गो परिवर्तन भएर टुसाउनेमा जाला, उन्यू फुलेर फूलबारी बन्ला, पुराना दलहरूको शासन र तन्त्रले देश बन्ला तर बबुराहरू स्वानोत्पादित भनेर जनमानसमा नाम चलेको सुराको सुर्को लाजै पचाइ मुखमा तुर्को गर्ने बानी भएकालाई असल राम्रो सल्लाह सुझाव पच्ने कुरो पनि त भएन । अझ त्यही प्रवृत्तिको पृष्ठ पोषणका लागि शुभकामना मन्तव्य, भूमिका, विमोचन, शुद्धाशुद्धी लगायतका जाल बिछ्याउन र त्यसैबाट तुर्कोको व्यवस्था गर्दा त साह्रै साह्रै महान भइन्छ कि के हो ?

भूतकालका विभिन्न काण्डका ताण्डवहरूका काला दागहरूलाई साहित्यिक झुलको गाता हालेर छोप्ने कोसिस गर्नुको पनि त छुट्टै मज्जा छ होला । लघुकथाको नामबाट शुरु गरेको गन्थन यत्तिकैमा कहाँ सिद्धिन्छ र ? यसको पनि खोजिपसे ब्यास ऋषिले निगालाको कलमले भोजपत्रका पातमा ख्याँसख्याँस पारेर लेखेको पाण्डवी महाभारत भन्दा अहिलेको ताण्डवी कहानी कम भए पो अहिल्यै सकिने ।

अझ टोलभित्रको भूगोलको एउटा कोठरीभित्र ठोटरीजत्रो संस्था पाएपछि सिंहदरबार नै पाएको सम्झेर वरपर नोकर चाकर हरूवाचरुवा धुपौरे चम्चे नारदे नन्दी भृङ्गी चण्डमुण्डका उस्तै निर्वस्त्र नर्तन देख्न पाएपछि त तिनैका भरमा नातावाद कृपावाद राजनीतिक आफन्तवाद पक्षपात पूर्वाग्रहका मात्रै त नीति नियम संविधान पालन गर्ने हो नि ।

उता लघुकथाको प्रसङ्ग बिछोडको पीडाले आत्तिइसक्यो होला । अब त्यतैतिर जाउँ यो कुतिको बाटो छोडेर । पहिले शुरुमा विषय चाहियो । अनि त्यसलाई एउटा छेउबाट उठाउने पात्र । त्यतिले नपुग्नसक्छ । त्यो पात्रलाई सघाउने अर्को पात्र चाहियो । स्थान र समय त एउटै हुनुपर्‍यो । हल्का विषय हुन भएन । छोटो छरितो गम्भीर खालको संरचना त बनाउनै पर्‍यो नत्र लघुकथा बन्दैन । अलिअली कोर्ने गरेपछि धेरैजसो विषय त्यतैबाट निस्कन्छन् । आज पनि एउटा पात्र सोचौं । अब उसको ब्यहोरा बहुमुखी प्रकारको भनेर मानौं । मालिकहरूको पाउमुनी मूल शिर थन्क्याएर अन्यत्र चोचोमोचो जोडेझैं अभिनय गरि कुरा थुती मालिकको सेवामा समर्पण गर्ने अनि उनैको नव आदेश पालनका लागि जिउज्यान अर्पन तयार हुने । जस्तै बाहिर बाहिर आफ्नै महान अन्नदाता धाता विधाताको बद्ख्वाइँ गरेजस्तो गर्ने अनि रखौटीलै झैं लुसुक्क तुर्कोवादको महत्त्व देखाउने । आजको पात्र त्यसैमा खप्पिस मानौं ।

नोकरतिरको नालिबेली भन्ने म मालिकलाई भने नगन्ने भनेर कुरो नउठ्ला भन्न पो कहाँ सकिन्छ र । त्यसमाथि पनि एकाबिहानै चण्डमुण्डजस्ता नोकरहरुको झुन्ड डाकी आफ्नै निजि कोठरीमा बैठक बोलाएपछि त झन बिर्सनै मिलेन । नोकर हली हरूवा सबै मालिकको गाथ नजिक आइपुगे । लागेको बानी कहिल्यै नजानी अउखान छँदैछ । त्यही अनुरुप छलफल शुरु भो । अब कुन बालुवा छरेर बजेट खाने । कुन नाता वा झाम्टेलाई पुरस्कृतमा लाने ? कुन सहिसद्देलाई के कसरी हेलाँहोचो पक्षपात गर्ने  ? कुनै नोकर बोल्यो प्रभु फलानोले त हाम्रो भएभरको सबै देशविदेशमा छ्यालब्याल पारिदिन्छ । मुख देखाउनै गाह्रो भो । कृपया जनि होस् ।

मालिकले हप्काए हैन तैंले यो ठाउँ यो जमघटलाई कस्तो देखेकोछस् हँ ? यहाँ यतिका वर्ष तिमीहरू सबैलाई बिरालोले मुसो खेलाए झैं मैले खेलाइरहेको बिर्सिस् । तैंले हाम्रो झुन्डमा कहिले सहि सद्देको बारेमा कुरोसम्म पनि उप्काएको सुनेको छस् । आज त्यसको बारेमा कुरो गर्नु कागको बैठकमा मयुरको डाँफेको कुरो गर्नुजस्तै हो भन्ने आजसम्म पनि बुझिनस् । कारबाहीमा पर्लास् । होश गर ।

बिचरो हरूवा दालभात त के मुखहातसमेतै खोसिने डरले गोप्य तरिकाले लुगा भिजायो । उसको अनुहार देखेर मालिक मख्ख परे । उनले बैठक समापन गर्दै भने- आजको लामो छलफलको निर्णय सफल गराएपछि हामी खुशियाली मनाउन फेरि जम्मा हुनेछौं । स्थान देउरालीको भट्टीपसल । सायद यति भएपछि लघुकथा तयार भयो ।

०००
२०८३ साउन २
चितवन।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
पावर

पावर

सुरेशकुमार पाण्डे
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x