फित्काैली डटकम‘बीस कवि : बीस कविता’ च्यारिटी शो सम्पन्न
प्राकृतिक प्रकोपबाट प्रभावित तथा पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै आयोजना गरिएको कार्यक्रममा २० जना कविहरूले आफ्ना कविता वाचन गरेका थिए।
काठमाडौं । यशस्वी प्रज्ञा प्रतिष्ठानको संयोजन तथा शिल्पी थिएटरको समन्वयमा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित ‘२० कवि : २० कविता’ च्यारिटी शो सम्पन्न भएको छ।
प्राकृतिक प्रकोपबाट प्रभावित तथा पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै आयोजना गरिएको कार्यक्रममा २० जना कविहरूले आफ्ना कविता वाचन गरेका थिए। कार्यक्रममा पीडा, संवेदना, प्रश्न र आशालाई केन्द्रमा राखिएका कविताहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पनि कविका रूपमा कविता वाचन गरेका थिए। उनले रसुवाका बाढीपीडितहरूको पीडालाई समेटेर लेखिएको मर्मस्पर्शी कविता प्रस्तुत गरेका थिए।
कार्यक्रमको पृष्ठभूमिबारे कवि, गजलकार तथा साहित्यिक अभियन्ता बाबु त्रिपाठीले जानकारी गराउँदै सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। त्यसपछि शिल्पी थिएटरका संस्थापक तथा कलात्मक निर्देशक घिमिरे युवराजले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।
कार्यक्रममा हेम प्रभास, गीता त्रिपाठी, कृसु क्षेत्री, रुपेश श्रेष्ठ, रिमा केसी, भोजराज न्यौपाने, एस.पी. कोइराला, ज्योति जङ्गल, दीप दाङ्गी, उषा शेरचन, प्रकाश घायल, रीता खत्री, प्रोल्लास सिन्धुलीय, कल्पना काफ्ले, ओम रिजाल, पवन आलोक, भगवती बस्नेत, यात्रीप्रकाश पाण्डे, अमर दीप सुनुवार र विप्लव ढकालले कविता वाचन गरेका थिए।
कार्यक्रमको समापन यशस्वी प्रज्ञा प्रतिष्ठानकी संस्थापक निर्देशक तथा कवि रञ्जना निरौलाको मन्तव्यबाट गरिएको थियो। कार्यक्रम आयोजकका अनुसार ‘२० कवि : २० कविता’ च्यारिटी शो पूर्ण रूपमा सफल भएको छ। कार्यक्रममार्फत विपद्को पीडामा रहेका नागरिकप्रति साहित्यिक क्षेत्रबाट ऐक्यबद्धता जनाउने प्रयास गरिएको बताइएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने उपस्थित दर्शक, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कवि विक्रम तिमिल्सिना, सहभागी २० कवि, शिल्पी थिएटर परिवार तथा निर्देशक घिमिरे युवराज, बद्री केसी, यशस्वी प्रज्ञा प्रतिष्ठान तथा कवि रञ्जना निरौला, साङ्ग्रिला बुक्स तथा कवि कृसु क्षेत्री र भोजराज न्यौपानेलाई आयोजकले आभार व्यक्त गरेको छ।
आयोजकले कार्यक्रमलाई ‘दुःखमा कविता, कवितामा संवेदना र संवेदनामा साथ’ भन्ने मानवीय भावनासँग जोड्दै यसलाई राष्ट्रका लागि गरिएको आफ्नो सानो सहयोगका रूपमा व्याख्या गरेको छ।
०००
Subscribe
Login
0 Comments
Oldest





































