फित्काैली डटकमलेखक तथा अभियन्ता मोहन गोलेका दुई पुस्तक लोकार्पण भए
पूर्वराजदूत गणेश योन्जन, लेखक युग पाठक, उपप्राध्यापक कुमारी लामा, भाषाविद् अमृत योन्जन र लेखक गोलेले उक्त पुस्तकको संयुक्त रूपमा लोकार्पण गर्नुभयो .
काठमाडौँ । लेखक तथा अभियन्ता मोहन गोले तामाङका दुई पुस्तक ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ को लोकार्पण भएको छ ।
तामसालिङ सङ्घर्ष समितिद्वारा राजधानीमा आयोजित कार्यक्रममा जापानका लागि पूर्वराजदूत गणेश योन्जन, लेखक युग पाठक, उपप्राध्यापक कुमारी लामा, भाषाविद् अमृत योन्जन र लेखक गोलेले उक्त पुस्तकको संयुक्त रूपमा लोकार्पण गर्नुभयो ।
सो अवसरमा डा. योन्जनले गोलेका पुस्तकले तामाङ समुदायको चेतना फराकिलो बनाउन र तामाङ संस्कार संस्कृतिलाई योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उपप्राध्यापक एवं निबन्धकार लामाले तामाङ संस्कार संस्कृतिसम्बन्धी पुस्तकको समीक्षा गर्दै तामाङ समुदायमा विगतमा अभ्यास हुँदै आएका प्रथा, चलनलाई लेखक तामाङले पुस्तकमा उल्लेख गर्नुभएको बताउनुभयो ।
भाषाविद् योन्जनले राष्ट्रिय जनगणना अनुसार तामाङको जनसङ्ख्या करिब १६ लाख भए पनि तामाङसम्बन्धी पुस्तक वार्षिक तीन वटा मात्र लेखिने गरेको सन्दर्भमा लेखक तामाङको तामाङ समुदायको सन्दर्भमा लेखिएका एकैपटक दुई वटा पुस्तक लोकार्पण हुनु सकारात्मक कदम भएको बताउनुभयो ।
लेखक पाठकले ‘तामाङ राष्ट्रको राजनीति’ पुस्तकबारे समीक्षा गर्नुहुँदै तामाङले आफ्नो मुद्दा स्थापित गर्न तामाङहरू सङ्गठित भएको छुट्टै ‘पार्टी’ हुनुपर्ने वैचारिक अवधारणा लेखिएको पुस्तकको सार त्यति व्यावहारिक नभएको बताउनुभयो । लेखक गोले तामाङले विगत ३५/३६ वर्षदेखि अभियन्ताका रूपमा देश घुम्दा, थुप्रै आन्दोलनमा सरिक हुँदा र नेपाल तामाङ घेदुङको १० वर्षसम्म नेतृत्व गर्दा बुझेका र मनमा लागेका जिज्ञासालाई अभिलेखीकरण गर्न यी पुस्तक लेखेको बताउनुभयो । सो अवसरमा कवि एवं पत्रकार राजु स्याङ्तानले कविता वाचन गर्नुभएको थियो ।
००
Subscribe
Login
0 Comments
Oldest






































