साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सातामा विदा सात दिन

सरकारी सेवामा छिरेपछि विदाकाे महत्व र गरिमा चुलिएर मनै खाँदाे रहेछ । सकभर धेरै दिन सेवामा नगई तलब पकाउँदाकाे स्वाद नै अलग हुँदाे रहेछ ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

कतिपय विदा घाेषित हुन्छन् । कतिपय आकस्मिक र अघाेषित हुन्छन् । सामान्यत : सरकारले राजपत्र प्रकाशित गर्छ । राजपत्र मार्फत् विदाकाे सूचना छर्छ । यसै सूचनाका आधारमा प्रकाशकले भित्तेपात्राे प्रकाशन गर्छ । विदा दिने अधिकारी र विदा लिने कर्मचारीले विदा सम्बन्धी रेकर्ड हेर्छ । साेही अनुसार याेजना तर्जुमा गर्छ ।

क्यालेन्डर हेरेर याेजना तथा कार्यक्रम तयार पार्ने प्रचलन प्राय : सबैतिर हुन्छ । विदा अवधि कटाएर काम गर्ने सिधा अवधिमा याेजना तथा कार्यक्रम कार्यान्वयन गर्नु उपयुुक्त हाे । कतिपय अवस्थामा यस किसिमका विदाले सकारात्मकभन्दा नकारात्मक असर पारेकाे देखिन्छ । वरिष्ठहरूले विभिन्न बाहना बनाएर विदालाई प्राथमिकताका साथ अगाडि सारेकाे देखिन्छ ।

विदा भनेपछि प्रफुल्ल नहुने काे हाेला र ? स्कुलमा प्रत्येक दिन चार बजेपछि हुने छुट्टीमा त छुट्टी मकै भुट्टी भनेर बुर्कुसी मारिन्थ्याे । यसरी बुर्कुसी मार्नुका पछाडि केही रहस्य रहेकाे मैले पाएँ । एउटा त भाेकले टट्टु भएकाे हरिलठ्ठुलाई भुटेका मकै मिल्ने भयाे । अर्काे विद्यालयकाे कडा अनुशासनबाट केही समयलाई छुट्कारा मिल्ने । त्यसमाथि शनिवार वा अन्य विदा आइलागे त भयङ्कर उपलब्धि हात परिहाल्थ्याे । स्कुल नियमित भए गृहकार्य नगरे बापत उठबस गर्ने, मुर्गा बन्ने, सिस्नाे चाख्ने ,सिप्किनाे खाने लगायतका भाैतिक पुरस्कारकाे ओस्कार मिल्थ्याे । त्यसैले त विदा वा छुट्टी भनेपछि मैले समेत वर्षिका बुटा र बडेमानका कान्ला नाघिन्थ्याे ।

उम्मेर छिप्पिदै जाँदा विदाप्रतिकाे माेह पनि खिप्पिदै जाँदाे रहेछ । सरकारी सेवामा छिरेपछि विदाकाे महत्व र गरिमा चुलिएर मनै खाँदाे रहेछ । सकभर धेरै दिन सेवामा नगई तलब पकाउँदाकाे स्वाद नै अलग हुँदाे रहेछ । त्यसैले साल फेरिदा हत्त न पत्त राजपत्रमा प्रकाशित सार्वजनिक विदामा आँखा जाँदाे रहेछ । राजपत्रमा हेर्ने मेसाे नपरे भित्तामा तुर्लुङ्ग झुन्डिएको भित्ते पात्राेमा लगाएकाे राताेमा ध्यान जाँदाे रहेछ।

बहुजातीय , बहुधार्मिक र बहुसाँस्कृतिक पहिचान बाेकेकाे हाम्राे जस्तो मुलुकमा चाडपर्व लक्षित विदाकाे उच्च महत्व रहेकाे छ । हिन्दू धर्मसँग सम्बन्धित दसैं , तिहार जस्ता लामा विदाले राम्रै बजारभाउ पाएकै छन् । छठ,जनै पूर्णिमा ,तीज ,श्रीकृष्ण जन्माष्टमि, फागु पूर्णिमा, शिवरात्रि जस्ता एक/ दुई दिनका टाकनटुकुन विदाले पनि उत्तिकै माया पाएकै छन् । हिन्दू इतरका साेनाम ल्हाेसार , ग्याल्पाे ल्हाेसार र तमु ल्हाेसार विदाकाे देशैभर ओसारपसार भएकै छ । बकर इदकाे विदामा बाख्राकाे ह्याकुलाे समाइएकै छ । इद उल फित्रकाे विदाले मन , मस्तिष्कभित्र डेरा जमाएकै छ । क्रिसमस डे विदामा मजाले मन रमाएकै छ । बुद्ध पूर्णिकाे विदाका दिन कतै बुद्धलाई सम्झिने त कतै कुलपूजाका बाेकालाई मन्साउने काम भएकै छ । काठमाडौं उपत्यकाभित्रका विदामा गाईजात्रा , इन्द्रजात्रा , घाेडेजात्रा, मत्स्येन्द्रनाथको भाेटाे जात्रा जस्ता जात्राले भाउ पाएकै छन् । माघे सङ्क्रान्तिकाे विदा थारू, मगरका घरमा मात्रै नभएर सारा नेपालीको घरमा भित्रिएकै छ ।

गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस, राष्ट्रिय एकता दिवस , मजदुर दिवस , महिला दिवसहरूमा विदा दिदा अन्य दिवसहरू ओझेल नपरून् भन्नेमा सचेत हुनै पर्छ । जनयुद्ध दिवस, जेन्जी सहिद दिवस, सहिद दिवस जस्ता दिवसका विदाले निर्बाध निरन्तरता पाउनु पर्छ । फाल्गुनन्द जयन्ती , गुरु नानक जयन्ती , माेहम्मद जयन्तीका विदाहरू निश्चित सम्प्रदाय विशेषमा सङ्कुचित गरिनु हुँदैन । अल्पसंख्यक र सीमान्तीकृतका चाडपर्वलाई उपेक्षा नगरी सम्मानपूर्वक विदा थप गरिनु पर्छ ।

राष्ट्रिय जनगणना २०७८ काे तथ्याङ्क यदि मिथ्याङ्क हाेइन भने एकसय बयालीस जातजाति र सबै धर्मावलम्बीहरूका धार्मिक तथा सांस्कृतिक गतिविधिमा समान रूपले देशैभर विदा दिन कन्जुस्याइँ गरिनु हुँदैन ।

तीन सय पैसठ्ठी दिनकाे वर्ष दिनमा कति नै विदा छ र नेपालमा ? शनिबार विदा करिब ५२ दिन , २०८२ चैत्र २३ देखि आइतबार विदा दिन सुरू भएपछि थप ५२ दिन , दसैं विदा ५/७ दिनदेखि १०/ १२ दिन, तिहार विदा ५/ ७ दिन , जन्मजयन्ती , दिवस, जात्रा , क्षेत्रीय तथा समुदाय विशेषका विदा २०/ २२ दिन गरी सबै किसिमका चानचुन विदा जाेड्दा १५०/ १६० दिन जति हाेला । यति थाेरै विदामा कसैले किन आँखा लगाउछन् कुन्नि ?

बैशाख १ काे नेपाली नयाँ वर्षकाे विदामा अब साेच्ने हाे कि ? बरू जनावरी १ काे अंग्रेजी नयाँ वर्षमा विदा दिनु पर्छ । किनकि जनावरी १ लाई नयाँ वर्षकाे रूपमा मनाउने संख्या बढ्दाे छ । त्यसैगरी भूमण्डलीकरणको आजकाे जमानामा अंग्रेजी वर्षलाई लागू गरी अन्तर्राष्ट्रिय जगतमा उभ्याउने नीति अगाडि बढाउनु पर्छ ।

प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डेमा विदा नहुँदा धेरै प्रेमिल जाेडीहरूले सास्ती खेप्नु परेकाे छ । दुई आत्माकाे मिलन गराएर परमात्माप्रति उच्च सम्मानका लागि प्रणय दिवसका दिन विदा थप्नै पर्छ । यस विशेष अवसरका लागि एक , दुई दिन हाेइन साता दिन नै विदा दिनु मनासिब छ । दसैंमा घटस्थापना देखि पूर्णिमा सम्म ( अदालत र शैक्षिक संस्थामा) विदा दिए जस्तै यस महान अवसरमा राेज डे, प्रपाेज डे,चक्लेट डे,टेड्डी डे,प्रमिस डे, हग डे,किस डे र भ्यालेन्टाइन डेकाे समान र सर्वाधिक महत्व रहेकाे छ । तसर्थ याे अवधिभर विदा मात्रै हाेइन भ्रमण र प्रेम प्रकटका लागि सरकारले विशेष सुविधा र अवसर उपलब्ध गराउनु पर्छ ।

सरकारले दिनैपर्ने विदाहरूमा विवाह विदा पनि एक हाे । जुन अति महत्त्वपूर्ण हाे , त्यहीँ हुन सकेकाे छैन । विवाह विदा पनि न्यूनतम् एक साता हुनै पर्छ । भाेजभतेर , घर- ससुराली , भ्रमण, हनिमुन यस्ता महत्त्वपूर्ण कार्यहरूमा विदा नहुँदा विवाह उत्सव फिका भएकाे महसुस सम्बन्धित पक्षले गरेका छन् । सुत्केरी विदा र सुत्केरी स्याहार विदालाई सार्थक बनाउन पनि विवाह विदा अपरिहार्य छ । विवाह विदा नपाएकै कारण प्रजनन दरमा कमी आएकाे छ । जन्मदर घटेकाे छ । जसकाे प्रत्यक्ष असर राष्ट्र निर्माण र आर्थिक विकासमा समेत परेकाे छ ।

नेपाल सरकारकाे नुनपानीवाला राष्ट्र सेवकले आखिर कति नै विदा पाएका छन् र ? करिया विदा , सुत्केरी विदा , सुत्केरी स्याहार विदा , पर्व विदा , भैपरी आउने विदा , अध्ययन विदा, बेतलवी विदा , असाधारण विदा , घरविदा र विरामी विदा करिबकरिब यत्ति न हाे । सरकारले सुत्केरी विदा र सुत्केरी स्याहार विदाकाे वर्तमान दिनहरू अझै बढाउने गाइँगुइँ चलेकाे छ । जुन स्वागतयोग्य छ । त्यसमाथि महिनावारी विदा दिने हल्ला पनि चलेकाे छ । याे त झन अपरिहार्य छ । यस्तो विदा महिनामा चार दिनका दरले वर्षभरिमा अड्चालीस दिन नै दिनु मनासिब छ ।महिनावारीका बेला महिलाहरू शारीरिक र मानसिक रूपमा कमजोर हुने भएकाेले रेखदेख र स्याहारसुसारका लागि पुरूष कर्मचारीका लागि समेत महिनावारी स्याहार विदा दिदा झनै राम्राे । सकेसम्म पुरूषहरूका लागि स्वप्नदाेष विदा पनि थपेकै राम्राे । यसाे गर्दा लैङ्गिक समानता र समता कायम हुन जाने देखिन्छ ।

वर्षे वा हिउँदे विदा दिने निकायले बीच बीचमा छ्यास्स छुस्स यस्ताे विदा दिन छाेडेर विदालाई सिमित गर्नु पर्छ । यसका लागि वर्षायामभरकाे वर्षा, बाढी , पहिराेकाे जाेखिमलाई आधार मानेर मात्रै छ महिना विदा गर्नु पर्छ । हिउँदकाे समयमा हिमपात हुने , अत्यधिक चिसाे बढ्ने र शीत लहर छाउने जस्ता कारणले स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा जम्मा छ महिना विदा दिए पुग्छ । यसरी हेर्दा जम्मा दुईपटक विदा दिए पुग्याे ।

विदा भनेकाे अधिकार हाेइन सहुलियत मात्रै हाे भन्ने सरकारी मान्यता अब फेरिनु पर्छ । विदालाई अधिकारका रूपमा स्थापित गरिनु पर्छ । सरकारी मात्रै हाेइन निजी र सहकारीको क्षेत्रमा समेत विदामा एकरूपता ल्याउनु पर्छ । ओैद्याेगिक क्षेत्रका कामदारका साथै निर्माण व्यवसायका क्षेत्रमा लागेका ज्यालादारले तलब सुविधासहितकाे विदा पाउनु पर्छ । भारी बाेक्ने , हलाे जाेत्ने , घर पाेत्ने आदि अनेकाैं घरेलुु श्रमिकहरूकाे श्रमकाे सम्मान गरिनु पर्छ । भन्नुहाेला मजदुर दिवसका दिन विदा दिएकै छ । यहाँ जिकिर यत्तिले पुग्दैन भन्ने हाे ।

विदा दिने निकाय र अधिकारीहरूकाे व्यवस्था प्रचलित कानुनहरूमा भएकै छन् । विशेषगरी संघ, प्रदेश र स्थानीय सरकारहरूले विभिन्न अवसरहरूमा विभिन्न प्रकृतिका विदा दिएकै छन् । कर्मचारी वा श्रमजीवीहरूले व्यक्तिगत तवरले विदा लिएकै छन् । कतिपय अवस्था लामाे समय विदा बसेर धेरै पटक आफन्तकाे मृत्यु भएकाे भनेर प्रमाणस्वरूप दारी कपाल गरेर हाजिर हुन आउने प्रचलन पनि नसुनिएकाे हाेइन । पछिल्ला दिनहरूमा जन्म दर्ता वा मृत्युदर्ताकाे प्रमाण पेश गर्नुपर्ने भनी अङ्कुश लगाउन खाेजिएकाे छ । यसले स्वतन्त्रतापूर्वक विदा लिनेहरूमा अप्ठ्यारो पारेकाे छ । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं खाने मुखलाई जुँगाले कहाँ छेक्छ र ? यति भनेपछि कुरा बुझ्नु भएकै हाेला !

संघीय सरकारले दिने प्राय : विदा देशैभर लागू हुन्छ । प्रदेशले दिने सम्बन्धित प्रदेशभर र स्थानीय सरकारले दिने सम्बन्धित स्थानीय तहमा । यसमध्ये सबैभन्दा भाग्यमानी स्थानीय तह देखिन्छ । यहाँ तीनवटै सरकारका विदा कार्यान्वयन हुन्छन् । यसर्थ स्थानीय तहले विदामा विश्व कीर्तिमानीकाे पदक चुम्छन् । स्थानीय तहले विदा दिदा संघ र प्रदेशका साथीहरूले घुटुक्क थुक निल्छन् । स्थानीय तहले दिने विदा त्यस स्थानीय तहकाे इलाकाभित्रका सबै संघीय कार्यालयमा पनि लागू भइदिए कस्तो हुन्थ्यो ? केही अपवाद बाहेक यसाे हुन सकेको देखिदैन । यस्ता केही संघीय सरकारकाे अधिकारभित्रका संस्था छन् तिनले निर्धक्क भएर स्थानीय सरकारले दिने विदामा समेत संस्था बन्द गर्ने गरेका छन् । स्यालुट छ यस्ता संस्थाहरूलाई , जसले विदा दिने संस्कारलाई घनिभूत रूपमा सफल पारेका छन् । नमुनाका रूपमा आफूलाई अगाडि सारेका छन् ।

विदाका विभित्र माेडालिटी मध्ये मनले खाएकाे माेडालिटी यहाँ राख्नु सान्दर्भिक हुने ठानेकाे छु। कारण विदाका सम्बन्धमा अनुसन्धान गरेर कीर्तिमान राख्ने पहिलाे अघाेषित मानार्थ विद्यावारिधि आफैलाई मानेकाे छु । अत : मेराे सुझाव मान्ने हाे भने सातवटा प्रदेश सरकार भएकाे संघीय मुलुक भएकाे नाताले सातामा सात दिन मात्रै विदा गराैं । शनिबार र आइतबार विदा दिनुभन्दा आइतबारदेखि शनिबारसम्म मात्र विदा गर्दा हुन्छ । यसाे गर्दा फजुल विदा लिने प्रवृत्ति घटेर जान्छ । यस्ताे विदाले देशलाई कत्ति पनि नाेक्सानी हुँदैन । बरू देशकाे अर्थतन्त्र मज्जाले धान्छ । जाबाे साताकाे सात दिन मात्रैकाे विदाले कसका बाजेकाे श्रीसम्पत्ती कहाँ जान्छ ? यसरी सातका सातबारलाई आधार बनाएर मात्रै सात दिन विदा दिदा विदा धेरै भयाे भनेर फलाक्नेका मुखमा बुझाे लाग्नेछ । याे नियम लागू भयाे भने दिउँसै सुतेर सपना देख्नेहरूकाे निद्रा भाग्नेछ । अभ्यस्त हुँदै गएपछि साताकाे सात दिन विदा सबैलाई उपयुक्त लाग्नेछ । के थाहा ? विश्वमा विदा सम्बन्धमा नाैलाे विचारकाे आविष्कारकाका रूपमा मलाई नै नाेबल पुरस्कारको उपलब्धि हात लाग्नेछ । अहिलेलाई विदा पुराण इतिश्री गराैं है त ।

०००
२०८३।०६।३०
रेसुङ्गा न पा २ गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x