साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक

गीतमा चर्चित संगीतकार सन्तोष बिसीको संगीत तथा सन्तोष बिसी, अञ्जु गौतम, जुन प्रसाई र पार्वती भुजेलको स्वर रहेको छ।

Nepal Telecom ad

काठमाडौं ।  नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको रङ समेटिएको तिहार विशेष गीत ‘गाउँघरै घमाइलो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। २०८३ सालको तिहारलाई लक्षित गरी तयार पारिएको यस गीतले नेपाली समाजको सांस्कृतिक परम्परा, चाडपर्वको उल्लास र पारिवारिक आत्मीयतालाई गीत–संगीतमार्फत प्रस्तुत गरेको छ।

पूर्वी नेपालका गीतकार तथा पूर्वन्यायाधीश भीमकुमार ओझाको शब्द र आफ्नै लगानीमा तयार भएको उक्त गीत उहाँकै आधिकारिक युट्युब च्यानल Bhim Kumar Ojha Official मार्फत सार्वजनिक गरिएको हो।

गीतमा चर्चित संगीतकार सन्तोष बिसीको संगीत तथा सन्तोष बिसी, अञ्जु गौतम, जुन प्रसाई र पार्वती भुजेलको स्वर रहेको छ। नारायण दङ्गालले संगीत संयोजन गरेको गीत बागबजारस्थित शङ्करा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको रेकर्डिङमा सागर पुन तथा मिक्सिङ र मास्टरिङमा इन्जिनियर कुमार सानुको प्राविधिक योगदान रहेको छ।

चर्चित कोरियोग्राफर यम गुरुङको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा गीतकार ओझा स्वयं, उहाँकी धर्मपत्नी देवी ओझा, आयुष्मा खत्री, सरिता ओझा, सुधीर श्रेष्ठ, रिना थापा मगर, अनिस क्षेत्री र ज्योति खड्काको अभिनय देख्न सकिन्छ।

गीतकार ओझाका अनुसार ‘गाउँघरै घमाइलो’ मनोरञ्जनमा मात्र सीमित सिर्जना नभई गाउँघरको सम्झना, नेपालीपनको मिठास र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका संस्कार तथा संस्कृतिप्रतिको प्रेम अभिव्यक्त गर्ने प्रयास हो। आधुनिकताको बढ्दो प्रभावसँगै ओझेल पर्दै गएका मौलिक संस्कार र सांस्कृतिक परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउँदै तिनको संरक्षण र निरन्तरतामा योगदान पुर्‍याउनु गीतको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो।

तिहारको झिलिमिली, आँगनमा बल्ने दीप, देउसी–भैलोको गुञ्जन, दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र आफन्तजनको न्यानो मायाजस्ता पक्ष नेपाली जनजीवनका अभिन्न हिस्सा हुन्। गीतले यिनै सांस्कृतिक विम्ब र भावनालाई शब्द, संगीत तथा दृश्यका माध्यमबाट जीवन्त बनाउने प्रयास गरेको छ।

विशेषगरी रोजगारी, अध्ययन तथा विभिन्न कारणले विदेशमा रहेका नेपालीलाई गाउँघर र परिवारको सम्झना गराउने तथा स्वदेशमा रहेकाहरूमा मौलिक संस्कृति र परम्पराप्रतिको गौरव बढाउने अपेक्षा यस गीतबाट गरिएको छ।

गीत सार्वजनिक गर्न पाउँदा आफू हृदयदेखि नै हर्षित भएको उल्लेख गर्दै गीतकार ओझाले आफ्नो सिर्जना दर्शक तथा श्रोतामाझ पुर्‍याउन पाउनु सुखद अनुभूति भएको बताउनुभयो।

आफ्नो माटो, आफ्ना मान्छे र आफ्नै संस्कृतिसँग जोडिएका भावनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको ‘गाउँघरै घमाइलो’ ले तिहारको उल्लाससँगै आत्मीयता, सद्भाव र सांस्कृतिक चेतनाको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ। मौलिक परम्पराको सुगन्ध नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य बोकेको यस गीतले नेपाली मनमा गाउँघरको मिठास घोल्दै सांस्कृतिक संरक्षणमा अर्थपूर्ण योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।
यस्तो छ “गाउँघरै घमाइलो”

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x