दीनानाथ पाेखरेलअब आसिकले परिपूर्ण भयौँ
मन सुन्दर होस् कर कर्म लिने भवका बहताप हटाइदिने । उर फुल्दछ प्राप्ति टिपी घरमा हित छाउँछ सुन्दर शान्ति दिने ॥ मनका सब दुर्मल फ्याँक्न सकाैँ फल मिष्ट दिने मन कृत्य भरौँ । अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नुछ कर्म गरौँ ॥०६ ।।
दीनानाथ पोख्रेल :
निज अग्रज आसिक प्राप्त गरी मनमा युगसाहस पूर्ण भरी।।
कृत कर्म चिनी सब बढ्न सकौँ हितका पथमा भय त्रास हरी ॥
सुखशान्ति टिपी सब व्योम चढौँ घर यो फलले अब टम्म भरौँ ।
अब आसिकले परिपूर्ण भयाैँ अझ सार्थक बन्नुछ कर्म गरौँ ।।०१।।
बल आसिक थप्दछ चेत भरी मन दुर्मल भाग्दछ दूर डरी।
श्रम ईश्वर हो फल हात दिने उठ जाग सबै शुभ कर्म गरी ॥
सब वृद्ध भनून् पथ योग्य छ यो उनका मनका बह कष्ट हरौँ ।
अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नुछ कर्म गरौँ ।।०२।।
कर कर्म टिपून् मन सौख्य भरून् भवका दिलका बहताप हरून् ।
वन खेत सधैँ हरिया सब हुन् मनका द्विविधा अति दूर रहून् ।।
घरमा वनमा पुरमा सबले सुखमार्ग हिँडी मनदर्द हरौँ ।
अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नुछ कर्म गरौँ ।।०३।।
छलले करले मन दुख्दछ यो कृत कर्म टिपी सब साथ बढौँ ।
उर शान्ति दिने फल प्राप्त गरी सबसाथ उठीकन शैल चढौँ ।।
तन स्वस्थ हुने मन स्वच्छ हुने श्रमका पथमा मन यो म धरौँ ।
अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नुछ कर्म गरौँ ।।०४।।
श्रमका फलले घर पूर्ण बनोस् हितमाफिकको जन मार्ग खनून् ।
लयसाथ बढौँ भव तान्न सकौँ पुरुषार्थ ग-यो जन भव्य गनून् ।।
खुद कर्म गरूँ घर प्राप्ति भरूँ कृत दिव्य छरी भवभाव भरौँ ।
अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नुछ कर्म गरौँ ।।०५।।
मन सुन्दर होस् कर कर्म लिने भवका बहताप हटाइदिने ।
उर फुल्दछ प्राप्ति टिपी घरमा हित छाउँछ सुन्दर शान्ति दिने ॥
मनका सब दुर्मल फ्याँक्न सकाैँ फल मिष्ट दिने मन कृत्य भरौँ ।
अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नुछ कर्म गरौँ ॥०६ ।।
०००
सुम्बेक, इलाम ०२, इलाम
Subscribe
Login
0 Comments
Oldest







































