माेक्ष खतिवडादसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ
कतै विघ्नबाधा झमेला नआओस् पुकारौँ म दुर्गे धरा जग्मगाओस् जहाँ ज्येष्ठ छन् गेह लाग्नेछ खास दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।
मोक्ष खतिवडा :
सबै नै हट्यो व्योमको मेघमाला
नदी शुभ्र औ शान्त छन् दौडिएका
हँसाऊँ स्वयम् नै बसी वृद्ध माझ
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ (१)
फुले फूल राम्रा खुल्यो बाग हेर
झपक्कै बने फाँट बाला झुलेर
मिलोस् वृद्धको ओत छाया प्रसस्त
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ (२)
रहे झुप्रो के भो सुखी हुन् अझै पो
नहोस् दुःख उस्तो हियामा कसैको
भवानी सदा जप्दछन् ज्येष्ठमात्र
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ (३)
थिए दूरमा जो फिरे यो पलामा
खुबै दङ्ग बन्छन् पुगे जो थलामा
मिठा खोल्दछन् वृद्धका माझ बात
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ (४)
कतै विघ्नबाधा झमेला नआओस्
पुकारौँ म दुर्गे धरा जग्मगाओस्
जहाँ ज्येष्ठ छन् गेह लाग्नेछ खास
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ (५)
०००
शान्तिनगर (झापा)
Subscribe
Login
0 Comments
Oldest





































