खगेन्द्र नेउपानेपहाड
पहाडकै ठेगाना जताएर नक्कली पहाडीया गीत गाएर पहाडकैे नाममा परिचित बन्दैछन् पहाड बिर्सनेहरु पहाडकै नाममा पिठाे हसुर्दैछन् पहाडलाई गाली दिनेहरु...
खगेन्द्र नेउपाने :
पहाड कहाँ सँधै अटल अचल भैरहँदाे रहेछ र !
समय समयमा याे पनि स्खलित हुँदाेरहेछ
हेर्दाहेर्दै पहिराे जाँदाेरहेछ
माथिबाट बगेर आउँने
खाेलाले खाँदाेरहेछ
चर्काेे घामले चिरापार्दाेरहेछ
बर्षातकाे पानीले पछार्दाेरहेछ
पहाड कहाँ सँधै अविचल हुनसक्दाेरहेछ र !
मैले धेरै पाहाडहरु भत्किएकाे देखेकाे छु
अरुले हाँसीरहेकाे ठान्ने
हिमाल पनि राेएकाे देखेकाे छु
चुरेका चुरीफुरी पनि देखेकाे छु
महाभारतकाे मजबुरी पनि देखेकाे छु ।
निधारमा लेक र पाउमा खाेला बाेकेर
काखमा समयका सन्तानहरु हुर्काउँदै
कष्टकर यथार्थ भाेगीरहेकाे पाहाड
पराईहरुका लागि कति सुन्दर देखिन्छ
त्यसैले त क्यामरामा छापेर लान्छन् पहाडका छाया
मनभरि सङ्गालेर लान्छन् पहाडकाे माया
तर पहाड यथार्थमा राेइरहन्छ
आफूलाई सँधै धाेइरहन्छ ।
पहाडका तस्वीरहरु
शहरका गल्लीहरुमा बिक्री हुन्छन्
पहाडकै चित्र बनाएर
शहरीया चित्रकारहरु पुरस्कृत छन्
पहाडकै ठेगाना जताएर
नक्कली पहाडीया गीत गाएर
पहाडकैे नाममा परिचित बन्दैछन् पहाड बिर्सनेहरु
पहाडकै नाममा पिठाे हसुर्दैछन् पहाडलाई गाली दिनेहरु
याे सब पहाडलाई थाहा छैेन
या याे सबकाे पाहाडलाई चाह छैन
तर पनि पहाड किन बिस्तारै भत्कँदैछ ।
०००
गाैरादह, झापा
Subscribe
Login
0 Comments
Oldest










































