नन्दलाल आचार्यमाइती मोहनीमा बेपत्ता श्रीमती
तिमी माइतीको मोहनीमा हराउँदा छोराछोरीका किताबमा धुलोको लोकतन्त्र छाएको छ विद्यालयका घण्टीहरू बजिरहेछन् तर तिनका पाइला मामाघरमै रोकिएका छन्
नन्दलाल आचार्य :
तिमी एक दिन माइत जान्छु भन्छ्यौ
म एक दिनको घाम सम्झेर सहमति जनाउँछु
तर तिमी त दिनको बहाना बनाएर
मेरो घरको सिङ्गो आकाश बोकी जान्छ्यौ
म भने त्यही रित्तिएको आकाशमुनि
आफ्नै छायासँग रात काटिरहन्छु ।
तिमी भन्छ्यौ- केही दिन त आफ्ना लागि बाँचूँ
म भन्छु- अवश्य, तिम्रो पनि जीवन छ
तर ओ मेरी गृहलक्ष्मी !
आफ्नो स्वतन्त्रताको चाबी बोकेर जाँदा
घरको जिम्मेवारीको ताल्चा पनि सँगै खोलिदेऊ
म भने नखुल्ने ढोकाको अगाडि
आफ्नै असहायताको चाबी खोजिरहन्छु ।
मेरा नङहरूमा जङ्गल उम्रिँदै छन्
मेरा कपालमा वनस्पति विभाग खुल्दै छ
मेरा दारीमा चराहरू गुँड बनाउन थालेका छन्
ऐनाले मलाई मान्छे होइन, भालु भन्छ
ओ मेरी प्रिय !
तिमी माइतीको आँगनमा चन्द्रमा गन्दै छ्यौ
म यहाँ आफ्नै अनुहारको वन्यजन्तु गणना गरिरहेछु ।
तिमी हुँदा चुलोमा आगो बोल्थ्यो
तिमी हुँदा भाँडामा भात हाँस्थ्यो
तिमी हुँदा लुगामा सफाइको सुगन्ध आउँथ्यो
तिमी हुँदा घर एउटा घरजस्तो लाग्थ्यो
तिमी गएपछि मात्रै थाहा भयो-
मैले घर ठानेको यो संरचना
तिम्रो अदृश्य पसिनाले उभिएको रहेछ
म भने त्यसको छानामुनि बसेर
आफूलाई घरमूली ठानिरहेछु ।
ओ मेरी घरकी सरकार !
तिम्रा हातमा कति मन्त्रालय रहेछन्
भान्सादेखि बालबालिकासम्म
लुगादेखि मेरो लाचारीसम्म
तिमीले नै बजेट बनाउँथ्यौ, तिमीले नै कर उठाउँथ्यौ
मचाहिँ केवल महिनाको तलब बुझेर
आफ्नो शासन सफल भएको घोषणा गर्थें
आज तिमी अनुपस्थित हुँदा
मेरो सामन्ती सत्ताको मन्त्रिपरिषद् विघटन भएको छ ।
तिमी माइतीको मोहनीमा हराउँदा
छोराछोरीका किताबमा धुलोको लोकतन्त्र छाएको छ
विद्यालयका घण्टीहरू बजिरहेछन्
तर तिनका पाइला मामाघरमै रोकिएका छन्
गृहकार्यले विद्यार्थी खोजिरहेछ
भविष्यले वर्तमान खोजिरहेछ
म भने डेराको भान्सामा
आफ्नै भोकको उपस्थिति टिपिरहेछु ।
ओ मेरी प्रिय !
माइतीको माया तिम्रो अधिकार हो
मामाघरको मिठास छोराछोरीको रहर हो
तर के अधिकारको नाममा
कर्तव्यलाई अनाथ बनाउन मिल्छ ?
के स्वतन्त्रताको नाममा
सन्तानको भविष्यलाई बन्धक राख्न मिल्छ ?
के मायाको नाममा
मजस्तो निरीह
एउटा अपाङ्ग मान्छेको जीवनलाई
अलपत्र छाडेर उत्सव मनाउन मिल्छ ?
मलाई थाहा छ-
तिमी कुनै दासी होइनौ, घरको मेसिन होइनौ
तिम्रा हातहरू मेरा आदेशका औजार होइनन्
तिम्रो जीवन मेरो सुविधाको भान्सा होइन
तर ओ मेरी प्रियतमा !
म पनि तिम्रो श्रमको स्थायी ग्राहक होइन
मेरो अपाङ्ग शरीर तिम्रो आजीवन सजाय होइन
मलाई माया देऊ, तर दासत्व नदेऊ
मलाई साथ देऊ, तर आफ्नो अस्तित्व नहराऊ
मलाई उठ्न सघाऊ, तर आफ्ना पखेटा नकाट ।
मेरा खुट्टामा कमजोरी होला
तर मेरा सपनामा नेल नलगाऊ
मेरा हातमा सीमितता होला
तर मेरो आत्मसम्मानलाई अपाङ्ग नबनाऊ
मलाई सहाराको नाममा निरीह नबनाऊ
मलाई दयाको नाममा परनिर्भर नराख
सहयोग गर, तर मेरो मान्छेपन नखोस
समानताको बाटोमा सँगसँगै हिँडौँ
म भने अब त्यही बाटो रोजिरहेछु ।
ओ मेरी माइती मोहिनी !
तिमीलाई माइतीको मोहनीले तानिरहँदा
मलाई भोकले भान्सातिर तानिरहेछ
तिमीलाई मखमली ओछ्यानले बोलाइरहँदा
मलाई चिसो भुइँले अँगालिरहेछ
तिमीलाई आफन्तको आतिथ्यले स्वागत गरिरहँदा
मलाई खाली भाँडाले व्यङ्ग्य गरिरहेछ
तिमी त्यहाँ मायाको गणतन्त्र मनाऊ
म यहाँ भालुको गणतन्त्र चलाइरहेछु !
तर सुन, मेरी प्रिय !
यो भालुको हाँसोमा पीडा लुकेको छ
यो बढेको दारीमा उपेक्षाको इतिहास छ
यी राक्षसी नङहरूमा निर्भरताको व्यथा छ
यो रित्तो भान्सामा एउटा प्रश्न उभिएको छ-
घर कसको ? श्रम कसको ? अधिकार कसको ?
माया कसको ? जिम्मेवारी कसको ?
जवाफ देऊ, मेरी प्रिय !
म भने प्रश्नहरूको चुलोमा
आत्मसम्मानको आगो बालिरहेछु ।
अब म तिम्रो श्रममाथि सामन्ती हक खोज्नेछैनँ
तिमी पनि स्वतन्त्रताको नाममा
आफ्नो जिम्मेवारीको ढोका थुन्न नआऊ
हामी घरलाई कसैको निजी दरबार बनाउनेछैनौँ
न त भान्सालाई कुनै लिङ्गको जेल बनाउनेछौँ
साझा श्रमको जग बसालौँ
साझा माया र साझा दायित्वको छानो हालौँ
म भने त्यही समानताको घर
निर्माण गरिरहेछु ।
ओ मेरी प्रिय !
तिमी फर्केर आउँदा
मलाई पुरानै मालिक नसम्झनू
मलाई पुरानै आश्रित पनि नठान्नू
हामी दुवैको पसिनाले घर सिँचौँ
हामी दुवैको विवेकले सन्तान हुर्काऔँ
माया गरौँ, तर शोषण नगरौँ
स्वतन्त्र बनौँ, तर गैरजिम्मेवार नबनौँ
म भने त्यही नयाँ सम्बन्धको
पहिलो इँटा राखिरहेछु ।
परनिर्भर जीवन बाँच्न विवश म बबुरोको
एउटा कुरा अझै बाँकी छ, प्रिये !
विचारले भात पाक्दैन
नाराले नङ काटिँदैन
क्रान्तिले आफैँ दारी छाँट्दैन
समानताको भाषणले चुलो बल्दैन
मलाई अझै भोक लागेको छ
मलाई अझै भात खानु छ
मलाई अझै मान्छे भएर बाँच्नु छ !
त्यसैले, ओ मेरी माइती मोहिनी !
तिमी जतिसुकै दिन माइत बस
तर घरलाई अनिश्चितकालीन निर्वासन नबनाऊ
म जतिसुकै अपाङ्ग भए पनि
मेरो आत्मसम्मानलाई अनाथ नबनाऊ
सक्छौ भने मेरो परनिर्भरता हटाउन सघाऊ
सक्छौ भने घरभित्रको सामन्तवाद अन्त्य गर
तर, ओ मेरी प्रिय !
म भने भोकको विरुद्ध
आत्मसम्मानको पक्षमा
समानताको नयाँ भान्सा बनाइरहन्छु ।
र, अन्त्यमा-
भालु हुनु मेरो नियति होइन
दासी हुनु तिम्रो नियति होइन
अनाथ हुनु छोराछोरीको भविष्य होइन
घर कुनै एक जनाको काँधमा बोकिएको पहाड होइन
हामी दुवै मिलेर उभ्याउने साझा आँगन हो
जहाँ अधिकारसँगै कर्तव्य पनि फुलोस्
जहाँ मायासँगै न्याय पनि बाँचोस्
जहाँ स्वतन्त्रताले जिम्मेवारीको हात समाओस् ।
किनकि, प्रिये !
मलाई तिम्रो अनुपस्थिति होइन,
हाम्रो सम्बन्धमा हराएको समानता दुखेको हो
मलाई तिम्रो माइती होइन,
मायाको नाममा बिर्सिएको जिम्मेवारी दुखेको हो
मलाई तिम्रो स्वतन्त्रता होइन,
स्वतन्त्रताको छायामा ओझेल परेको मेरो मान्छेपन दुखेको हो।
तर, यो सबैभन्दा ठूलो क्रान्तिको घोषणापत्र लेखिसक्दा पनि
चुलोमा भाँडो खाली नै छ
पेटले फेरि विद्रोह सुरु गरेको छ
र मेरो अन्तिम नारा यही छ-
पहिले भात, त्यसपछि बहस !
पहिले समानता, त्यसपछि सहवास !
पहिले मान्छेपन, त्यसपछि परिवारको इतिहास !
म भने भालुको अनुहारभित्र
एउटा नयाँ मान्छे खोजिरहेछु ।
०००
२०८३ मङ्सिर ३ गते ।
सिद्धार्थटोल, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest











































