नन्दलाल आचार्यकविता- लोकतन्त्रको पासवर्ड
कुनै नेताको खल्तीमा हुनेछैन- जनताले इन्टर थिच्नेछन्, सत्ताको नक्कली सिस्टम बन्द हुनेछ, र पहिलोपटक देशले जनतालाई लगइन गर्नेछन् !
नन्दलाल आचार्य
देश डिजिटल भयो रे !
भोकले अझै औँठाछाप लगाउँछ,
गरिबीले नागरिकता बोकेर
राहतको लाइनमा उभिन्छ ।
नेताजीको भाषणमा देश उडिसक्यो,
मेरो गाउँमा पुलले खोला तरेको छैन !
स्थानीय चुनाव आयो-
गधालाई बाघको मास्क लगाइयो,
बाघले विकासको घाँस खायो,
बाख्रालाई सिंहदरबारको सपना देखाइयो ।
भोट खसाल्ने औँला मेरो,
देश चलाउने रिमोट अर्कैको !
हिजो राजाले मुकुट देखाउँथे,
आज नेताले लाइभ देखाउँछन् ।
हिजो दरबारमा ऐना महँगो थियो,
आज हरेक मोबाइलमा सिंहासन छ ।
फरक यत्ति हो-
पहिले प्रजा झुक्थे,
अहिले जनता लाइक/कमेन्ट गर्छन् !
सडकमा खाल्डो छ,
संसद्मा शब्दको कुस्ती छ ।
किसानको खेतमा मल छैन,
भाषणमा समृद्धिको बर्सात छ !
युवाको पासपोर्टमा देशको छाप,
नेताको छातीमा राष्ट्रवादको ट्याटु-
देशभक्ति पनि अब
प्रायोजित विज्ञापन भएछ !
भ्रष्टाचारको रूखमा
इमानदारिताको पोस्टर टाँसिएको छ ।
चोरले नैतिकताको तालिम दिन्छ,
लुटेराले सुशासनको शपथ खान्छ ।
वाह रे व्यवस्था !
यहाँ अपराधीको अनुहारभन्दा
उसको कुर्सी सफा देखिन्छ !
तर सुन, सिंहदरबार !
जनता अब निदाएको नदी होइन,
ढुङ्गा फोरेर बाटो निकाल्ने बाढी हो ।
हामीलाई दया होइन, अधिकार चाहिन्छ;
आश्वासन होइन, हिसाब चाहिन्छ ।
हामी ताली बजाउने हात मात्र होइनौँ,
इतिहासको दिशा बदल्ने औजार हौँ !
अब प्रश्नको आगो बालौँ,
अन्धभक्तिको पर्दा उघारौँ,
जातको पर्खाल भत्काऔँ,
श्रमको निधारमा समानताको टीका लगाऔँ ।
क्रान्ति भनेको कुर्सी फेर्नु मात्र होइन,
कुर्सीमाथि बसेको अहङ्कार फेर्नु हो !
मलाई यस्तो नेपाल चाहिन्छ-
जहाँ नेताको उचाइ भाषणले होइन,
जनताको जीवनले नापियोस्;
जहाँ विकासको फोटो होइन,
भान्सामा भात पाकेको प्रमाण भेटियोस् ।
त्यस दिन लोकतन्त्रको पासवर्ड
कुनै नेताको खल्तीमा हुनेछैन-
जनताले इन्टर थिच्नेछन्,
सत्ताको नक्कली सिस्टम बन्द हुनेछ,
र पहिलोपटक
देशले जनतालाई लगइन गर्नेछन् !
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest









































