डा. नवराज खतिवडालावण्यदेशका राजाको फुइँ माहात्म्य
सत्सठ्ठी निबन्धको चिरफार गर्दा नेपाली हास्य–व्यङ्ग्यको विविधता र समृद्धि भेटियो । एक सय अन्ठाउन्न पात्रले हाँसो, व्यङ्ग्य र सामाजिक यथार्थलाई जिउँदै राखेका छन् ।
डा. नवराज खतिवडा :
कुमारजी आज्ञा गर्नुहुन्छ— हे अगस्त्यमुनि। तिमी एकचित्त भई सुन।
विक्रमसंवत २०८३ साल मार्ग महिना ५ गतेका दिन नेपाल राष्ट्को संघीय राजधानी काठमाडौंमा हास्यव्यंग्य विधाको एक पुस्तक लोकार्पण हुन गयो । फित्कौली डटकमको सहकार्यमा यसोभानु साहित्य सङ्गीत प्रतिष्ठानले प्रकाशित गरेको “सम्मार्जन” दिदी शीर्षक भएको कृतिको बहिनी शीर्षक “बेथितिको बहीखाता” राखिएको छ । लोकार्पण कार्यक्रमको प्रमुख अतिथि हास्यव्यङ्ग्यका भीष्म पितामह मानिने लौहपुरुष कालु पाँडेसँग वंशवृक्षको नाता भएका लेफ्टिनेन्ट प्रेमजङ्ग पाँडेका सुपुत्र रामकुमार पाँडे थिए ।
उक्त पुस्तकको शल्यक्रिया गर्छु भन्दै उत्तर आधुनिक कालमा पनि आफूलाई फुईँ डाक्टरको उपसर्ग लागेको लावण्य देशको राजा भन्दै फुर्ती लगाउने एक पात्र मन्चमा देखा परे ।
फुडाले सबैभन्दा पहिले पर्दामा सेतो दारी भएको एक जोगी जस्तो रुप भएको व्यक्तिको चित्र देखाएर दर्शक श्रोतालाई सोधे-ल ! भन्नु होस्, यो कसको चित्र हो ?
कसैले भनिदियो यो त विश्वकर्मा बाबाको चित्र हो । फुडाले हाजिरीजवाफमा जस्तो लौ ट्वाक्कै मिल्यो भनी ती उत्तरदिने व्यक्तिलाई पुरस्कार दिलाए ।
त्यसपछि उनले उत्तर आधुनिक विश्वकर्मा बाबा अर्थात कृत्रिम बुद्धिमत्ता जसलाई अंग्रेजीमा एआई भनिन्छ, को चित्र देखाएर फेरि प्रश्नोत्तर र पुरस्कारको सिलसिला जारी राखे ।
लौन यो के हुँदैछ ? पुस्तक लोकार्पणको कार्यक्रम छ, फुडाको शैली भने हाजिरीजवाफ प्रतियोगिताको जस्तो छ भनि त्यहाँ उपस्थित सम्पूंर्ण सहभागीहरु चकित पर्दा भए ।
कार्यक्रम भैरहेको सभा कक्षमा केही श्रोता गफमा अलमलिने संभावना भएकोले कथा वाचन गर्ने शास्त्रीय शैली प्रयोग गर्दै फुडाले ठूलो स्वरमा भने- बोलो उत्तर आधुनिक विश्वकर्मा बाबाकी ……
श्रोताले जयजयकार गरे । अब भने सभाकक्षमा मुर्दा शान्ति छायो ।
फुडाले भने- म भाषा साहित्यको विद्यार्थी परिन । यो पुस्तकको शल्यक्रिया गर्ने काम आईलाग्यो यसैले म अक्षर शिरोमणी अर्थात मदनमणी दिक्षित बा को शरणमा गएँ ।
दीक्षित बा उवाच:
“गणित र प्रकृति-विज्ञानमा मात्र निर्द्वन्दता र समीचिनता प्राप्त गर्न सकिँदो हो, चिन्तन र दर्शनमा त्यस्ता निर्द्वन्दता प्राप्त गर्न सकिन्न- मानिस गणित होईन । मेरो चिन्तनमा अस्पष्टता र अन्योल मेरो परिचय हो, जसलाई लुकाउन वा नलेख्न आवश्यक देखिएन ।“
त्यसपछि फुडाले पर्दामा दशवटा किताबको आवरण देखाएर भने- यी पुस्तकहरुको पनि शल्यक्रिया गर्ने काम मैले नै गरेको हुँ ।
“सिके पो” भन्ने निबन्ध सङ्ग्रहको आवरण पनि पर्दामा देखिएको थियो । यो पुस्तकका लेखक ध्रुव नेपाल पनि सभामा उपस्थित भएकाले, “हे लेखक महोदय, उठ्नुहोस् है”, भनियो र उहाँलाई उठ्न लगाई सबै जनाले ताली बजाई आदरपूर्वक सम्मान गर्नू भनियो, अनि सबै सहभागीले हर्षका साथ ताली बजाए ।
तत्पश्चात फुडाले लोकार्पण भएको पुस्तकको आवरण पर्दामा देखाएर भने- यो पुस्तकका बारेमा अब वाचन गरिने गन्थनको खाका कोर्नेदेखि लिएर श्रव्यदृष्य सामग्री तयार पार्ने सबै काम उत्तर आधुनिक विश्वकर्मा बाबाले गरेका हुन् । मैले त कर्ताको मात्र काम गरेको हुँ ।
उनले पुस्तकमा ३ कोरी ७ जना सर्जक भएकोमा दश जनाले आधा आकाशको प्रतिनिधित्व गरेको जानकारी दिई सभा-कक्षमा उपस्थित नारी सर्जकलाई उठ्न लगाई फेरि ठाडो आदेश दिँदा भए- लौ अब सम्पूर्ण सहभागी महोदयहरुले उहाँहरुको सम्मान गर्न ताली बजाउनुहोस् । सभा-कक्ष तालीले गुन्जायमान भयो ।
हे ! मुनिवर ! सुई डाक्टरले मान्छेको अथवा पशुको शल्यक्रिया गरेको त थाहा थियो । तर आधुनिक कालमा पनि लावण्य देशको राजा भनी फुईँ डाक्टरको फुर्ती लगाउने यी चटकी पात्रको यस्तो काइदा थाहा थिएन भनी सबै दर्शक-श्रोताले आश्चर्य माने ।
बाबाले एक चुड्कीमा उधिनेको सर्जकहरुको जन्म जिल्लाको फेरहिस्त समेत फुडाले बताए । ततपश्चात फुडाले हास्यव्यङ्ग्य लेखन तथा वाचन प्रतियोगितामा प्रथम र द्वितीय छुट्याउने उपाय के होला ? भनी उजागर भएको प्रश्नको समाधान गर्नका लागि बाबाको सहयोग लिएको वृतान्त लोकार्पण समारोहका सहभागीलाई सुनाउँदा भए । यस्तो विश्लेषणले हास्यव्यङ्ग्यको कसीमा कसले कति खरो निबन्ध रच्यो भन्ने निर्क्यौल गर्न पनि सहज हुँदो रहेछ ।
हे ऋषिवर ! जाँच गर्ने जाँचकीहरूका तौरतरिका त अनेक हुन्छन्, तापनि बाबाले भने पाँचवटा अचूक आधार प्रस्तुत गरेका रहेछन् । ती पाँच आधार क्रमैसँग भन्दै छु, चित्त दिएर सुन्नुहोस् ।
पहिलो, विषयवस्तु र सामाजिक सान्दर्भिकता; दोस्रो, हास्य र व्यङ्ग्यको सन्तुलन; तेस्रो, भाषाशैली र संरचना; चौथो, शीर्षक–प्रस्तुति तादात्म्य; अनि अन्तिममा, मौलिकता र सिर्जनात्मकता ।
अब फुडाले बाबाले गरेको विश्लेषणको नतिजा सुनाउन थाले । उनले भने: गायत्री लम्सालद्वारा रचित ‘दाइजात्रा’ ले प्रथम स्थान पाएको छ; डा. टिकाराम पोखरेलद्वारा लिखित ‘अन्तर्राष्ट्रिय दास सम्मेलन’ द्वितीय भएको छ; अनि होम सुवेदीको ‘मर्चा ख्वाएर पनि तताउने नि’ तृतीय स्थानमा विराजमान भएको छ ।
हे मुनिवर ! लुईँमास्टर उर्फ नरनाथ लुइँटेलको ‘विचौलियाको बिगबिगी’ भने तेह्रौँ स्थानमा पर्न गएको रहेछ । अनि अन्तिममा, फुडाले आफ्नै रचना ‘फुडा साहेबको गोलाबारुद’ त त्रिपन्नौँ स्थानमा परेको कुरा पनि यसरी सुनाए, मानौँ गोलाबारुद आफ्नै घरमै पड्किएको होस् !”
आगे फुडा महोदयले आफ्नो वाचन र प्रस्तुतिलाई अघि बढाउँदै हास्यव्यङ्ग्यले भरिएको त्यस पुस्तकभित्र समेटिएका निबन्धहरूतर्फ सबैको ध्यान ताने। ती निबन्धभित्र कस्ता चरित्र भएका पात्रहरू समेटिएका छन र तिनीहरूबीच कस्तो संवाद उल्लेखित छ भन्ने विषयमा सभाका सहभागीको ध्यानाकर्षण गरे ।
त्यस पुस्तकका एक सय अन्ठाउन्न पात्रमध्ये आधाभन्दा बढी, अर्थात् लगभग तीन कोरी वास्तविक मान्छे अर्थात यथार्थपरक र अढाई कोरी व्यङ्ग्यात्मक पात्र छन्, जसले समाजको असली अनुहार देखाउँछन् । दुइ कोरी चानचुन प्रतीकात्मक वा काल्पनिक छन् । पशुपन्छी वा वस्तुका रुप धारण गरेका र पौराणिक र ऐतिहासिक पात्रहरू त भोजभतेरमा भाग लाग्ने गोलभेँडाको अचार जस्तै हुन्, संख्यामा थोरै भए पनि तिनले नै निबन्धको स्वाद बढाएको छ भनि व्याख्या गरियो ।
कुमारजी थप आज्ञा गर्नु हुन्छ- डा. गोविन्दराज भट्टराईद्वारा लिखित “ज्यामिरे जेठो झण्डै ज्यान्जी भाको” शीर्षकको निबन्धमा मिस्टर जे एण्ड जे भन्ने एक अदभूत पात्र रहेछन् । उनको न्वारानको नाम रहेछ- डोकप्रसाद धम्मरकोटी । यसैले नाम फेर्नका लागि पुरेतलाई गुहारेछन् ।
“बाजे मेरो नाम अति नै गएगुज्रेको भयो। म खिसिट्युरीको पात्र भएँ । चिनामा नाम फेरिदिनु पर्योा ।”
“राशीले मान्दैन जेठा । मैले के गरुँ ?”
यस्तो निषेधात्मक स्वर मनमा बिझेकाले नागरिकता लिएपछि एक दिन बुढा पुरेतलाई आफ्नै आँगनमा बोलाएर डोकप्रसादले दुई मुड्की बजाएछन् ।
यस्तो पृष्ठभूमि भएको डोकप्रसाद अर्थात ज्यामिरे जेठो कसरी मिस्टर जे एन्ड जे भयो भन्ने जिज्ञासा जो कोही मनमा पनि पलायो भने डा. भट्टराईद्वारा लिखित निबन्ध पढ्नु भनी फुडाले विन्ति गर्दा भए ।
अर्का अदभुत पात्र नन्दलाल आचार्यको “गाईजात्राको अदालत” शीर्षकको निबन्धमा उदाएका छन् । सर्वोच्च अदालतमा दोस्रो अभियुक्तका रुपमा “रीस” नाम गरेका पात्रलाई न्यायधीश “बुद्धि बाबु” का सामु उभ्याईन्छ । आचार्यको निबन्धमा “रीस” को हिँडाईलाई कन्या कलेजको प्रिन्सिपलको चालसँग तुलना गरिएको छ ।
बुद्धिबाबुले रीसलाई प्रश्न गर्छन- आज कसको मन दु:खाएर आयौ ?
उसको उत्तर हुन्छ- प्रेमिका, बाबुआमा, टोलका साथी, फेसबुक… सबैलाई !”
हे मुनिवर ! लक्ष्मण गाम्नागेको ‘राष्ट्रवादीको हरिबिजोक’ मा देखा परेका एक अद्भुत पात्रको कथा सुन्नुहोस् । ती हुन् चैते नाम गरेका दलाल, जसले ब्ल्याक लेबलको एक गिलास खुवाउँदै ‘हजुर’ बाट ‘तपाइँ’, ‘तपाइँ’ बाट ‘तिमी’, अनि ‘तिमी’ बाट ‘तँ’ सम्म झर्दै राष्ट्रवादी भक्तको कानमा यस्तो मन्त्र फुके, ‘नेपाली नागरिकता च्यातेर खोलामा बगाऊ, भुटानको फर्जी नागरिकता लेऊ, शरणार्थी बन, अनि अमेरिका जाऊ !’ आफू भने ‘बी ग्रेडको दलाल’ हुँदाहुँदै पनि प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री, न्यायाधीशसँग टाउको जोडेर खिचेका फोटो देखाई पत्याउन लगाउने ती चैते, ‘एक करोडको सट्टा पचास प्रतिशत छुट, पचास लाखमै भवसागर तार्छु’ भन्दै बजारमा सेल लगाउने दलाल शिरोमणि रहेछन् । ‘राज्यले नै ठोकेको चुकुल कसरी खुस्किन्छ’ भन्ने उनको अभय वचन सुनी राष्ट्रवादीको भक्ति चट्ट सेलरोटीझैँ गल्यो, घडेरी बिक्यो, अनि अन्त्यमा चैते हवालतमा, भक्त चाहिँ होटलको पाँचौँ तलाको गोप्य कोठामा थरथर, यही हो फलश्रुति ।
नेपाल राष्ट्रको पूर्वको “आली” समेटेको झापा जिल्लाको आयाबारीमा स्थायी बसोबास गर्ने “पस्पते” अर्को अदभूत पात्र हो । डा. चन्द्र गिरीद्वारा लिखित “अमेरिकी वनवास” मा यो पात्रको नेपाल र विदेशको दिनचर्या तथा जीवनशैलीबीचको भिन्नतालाई चित्रण गरिएको छ। श्रीमती सुन्तलीले भरेको अमेरिका बसाईँ सर्ने चिठ्ठा परेकाले उनीहरु दुवै अमेरिका पुग्छन् । अमेरिकामा ‘पस्पते” जागिर जोहो गर्न अन्तर्वार्ता दिन पुग्छ ।
अन्तर्वार्तामा सोधिन्छ- तिमीसँग के विशिष्ट क्षमता छ ?
यो प्रश्नको उत्तर पस्पतेले के दियो त्यो निबन्धमा उल्लेख गरिएको छैन तर उसले मनमनै कल्पेको उत्तर भने यस्तो रहेछ- खैनी मोल्न, चिया पिउन र सरकारको आलोचना गर्न |
यसरी नेपालमा हुँदा आफूलाई “विष्णुको अवतार” ठान्ने पात्र अमेरिका पुगेपछि त्यहाँको विधि-विधान र सामाजिक मूल्य-मान्यताका अगाडि कतिसम्म खुम्चिन्छ भन्ने वृत्तान्त पुरै थाहा पाउनका लागि डा. गिरीको निबन्ध अद्धोपान्त पढ्नुपर्ने हुन्छ ।
धनराज गिरीको निबन्ध “समालोचकको मृत्यु” का लेखक-पात्र “पदमपुरे” अर्थात् “प्रोफेसर दिग्विजयानन्द विवेकी” हुन्। उनी समालोचकहरूको यात्राका साक्षी हुन् र निबन्धको कथन उनै मार्फत अघि बढ्छ । आशुतोष महादेवको कृपा भएछ र उनी सूक्ष्मरूप लिएर, धर्तीमा काज फिर्ता हुने गरी, समालोचकहरूसँगै अदृश्य आत्माका रूपमा यमपुरी पुग्दा भएछन्। त्यहाँ सुनुवाइपछि धर्मराजले उनलाई च्याप्प समातेर आफ्नै निवासमा लैजाँदा भएछन्, उनको मेधा र प्रतिभाको कदर गर्दा भएछन्, र “हे ! वत्स यहाँको बारेमा ढुक्कसित लेख, प्रतिभा खेर नफाल” भनेछन्।
प्रोफेसर दिग्विजयानन्दले यमपुरी जाँदै गरेका समालोचकहरूबीच विभिन्न चरित्र देखेछन्। तीमध्ये एक अहंकारी समालोचकको वर्णनन् यसरी गरिएको रहेछ- ऊ अरूको खिल्ली मज्जाले उडाउँछ तर आफ्नो बारेमा एक शब्द पनि आलोचना सुन्न सक्दैन। ऊ जहाँ बोले पनि पी.एच.डी.लाई उपसर्ग, प्रत्यय वा समास बनाइहाल्छ।
चित्रगुप्तले समालोचकलाई चार वर्गमा बाँडेपछि यमराजले फैसला सुनाएछन्। पहिलो, दोस्रो र चौथो वर्गलाई रौरव नरक, तेस्रो वर्गलाई इज्जतका साथ अलकापुरी र देवीहरू सबैलाई कैलाश पठाउने आदेश दिएछन्। त्यसपछि थपेछन्:
“माता पार्वतीलाई पनि साहित्य पढ्ने रहर छ रे ! माता धेरै राम्री हुनुहुन्छ। पुरुष समालोचक नपठाउनू। गडबड हुन सक्छ।”
यति वृत्तान्त सुनाइसकेपछि फुडाले शल्यक्रियाको रिपोर्ट पस्किए, ‘सत्सठ्ठी निबन्धको चिरफार गर्दा नेपाली हास्य–व्यङ्ग्यको विविधता र समृद्धि भेटियो । एक सय अन्ठाउन्न पात्रले हाँसो, व्यङ्ग्य र सामाजिक यथार्थलाई जिउँदै राखेका छन् । शीर्षक र विषयवस्तुको सान्दर्भिकता प्रभावको मेरुदण्ड हो भने भाषिक खेलकुद, संवाद र चरित्रचित्रण हाँसोका औजार हुन् । अन्तिममा, सबै निबन्धले मनोरञ्जनसँगै सामाजिक विकृति, विसङ्गति र मानवीय कमजोरीमाथि तीक्ष्ण व्यङ्ग्यको बाण हानेका छन्, यही हो शल्यक्रियाको फलश्रुति ।”
ॐ श्री हास्यव्यङ्ग्यपुराणे शल्यक्रिया खण्डे मार्गमाहात्म्ये लावण्यदेशे राज्ञो बेथितिको-वहीखाता-नाम-ग्रन्थवर्णनं नाम सम्पूर्णोऽध्यायः समाप्तः ॥
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest











































