साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलकत्तामा भीषण गन्डागोल

केटाका बाउआमाले “भिषोण गन्डागोल” गरेका रहेछन् । नेपाली भएर बङ्गालीको ज्वाँई बन्नु र बङ्गाली भएर थापाकी बुहारी बन्नु ठूलै दँगाफसाद हो । मलाई लाग्यो ।

Nepal Telecom ad

डा. नवराज खतिवडा :

बिछ्यौनाको छेउको टेबुलमा राखिएको टेलिफोन एक तमासले बज्यो । म मस्त निद्रामा रहेछु । मोवाईल फोन तानेर समय हेरेँ ।
“रात्रीको दुई बजेको रहेछ ।”

म कलकत्ताको “प्राक प्राईम” होटेलमा बास बसेको थिँए । म त्यहाँ पुग्नुको कारण थियो- मेरा अनन्य मित्र प्राध्यापक सदानन्द घोषको आतिथ्यपूर्ण निमन्त्रणा। पश्चिम बंगालको साना तथा मझौला उद्योग महासंघ को आयोजनामा एक सम्मेलनको आयोजना गरिएको थियो । अन्य केही मुलुकहरु भियतनाम, ईण्डोनेशिया, ताईवान, फिलिपिन्स र सर्बियाका सहभागी पनि थिए ।

कलकत्ता आउनु अघि मैले मेरा साथीभाइलाई सुनाउँदै भनेको थिएँ- सिदा सहितको पण्डित्याईँ गर्नु पर्ने काम आईलागेको छ । साथीभाइले भव्य कोसेलीको अपेक्षा गर्दै विदाई गरेका थिए ।
मैले आश्चर्यचकित हुँदै फोन उठाएँ ।
“तपाईँको कोठामा अर्को साथी पठाउन लागेका छौँ ।”
आगन्तुक कक्षबाट कोही पुरुष आवाजको बोली सुनियो ।

मेरो भन्दा कैयौँ गुणा बढी प्रत्युत्पन्न बुद्धिका धनी मेरा मित्रहरु कुन्दनदास श्रेष्ठ वा सूर्यमान शाक्य भएको भए यस्तो परिस्थितिको सामना गर्ने तरिका अर्कै हुन्थ्यो । उनीहरुले उत्तर दिनु अघि प्रतिप्रश्न गर्थे ।
“मेरो कोठामा आउन लागेको व्यक्ति पुरुष पर्नु भयो कि महिला ?”
संभवत यस्तो प्रतिप्रश्नले समस्याको आधा निकास त्यसै दिन्थ्यो होला ।
तर म भने गाम्भीर्य कित्ताको जिनिस परेँ । मेरो पारो आकाशियो । मैले अर्को व्यक्ति मेरो सहबासी हुन आउने कुरो किमार्थ स्वीकार्य नहुने जिकिर गरेँ ।

कलकत्ता जान लागेको कुरो सुनेपछि महादेवीले भनेकी थिइन्- म अहिलेसम्म नगएको ठाउँ हो त्यो । मलाई पनि लानु ।
मैले यही आशयको सूचना प्राध्यापक घोषलाई पठाएको थिएँ । होटलमा प्रवेश हुँदा आगन्तुक कक्षको गम्भिरमानले मलाई सोधेको थियो- हजुरको कोठामा दुईजना बस्ने प्रावधान छ । अर्को व्यक्ति को हुनु होला ?
“त्यस्तो योजना बनेन । बस्ने म एक्लै हुँ । साथमा अर्को कोही पनि छैन ।”

फोन बज्नुको पृष्टभूमिमा यही कारण हो कि भन्ने मलाई शंका लाग्यो । बस्ने कोठाको आरक्षण आयोजकले गरेका थिए ।
“करेलालाई निमको थाँक्रो” हुन लेखेको रहेछ । पाँच मिनट जति पछि फेरि फोन आयो ।
“मैले आयोजक सँग कुरा गरेँ । हाम्रो होटलमा अरु कोठा खाली छैन । तपाईँहरुकै कार्यक्रमका अर्का सहभागी आईपुग्नु भएको छ । हामीले हजुरको कोठामा वहाँलाई पठाउने पर्ने भयो ।“ आगन्तुक कक्षको कर्मचारी बोल्यो ।

मैले अंग्रेजीमा आवाज ठूलो गर्दै भने-
“दि रुम ह्याज अ सिङ्गल बेड । यु क्यान नट सेन्ड ऐनि वान टु माई रुम । इफ यु ईनसिस्ट, आई कन्सिडर इट टु बी अ ह्यारासमेन्ट । इफ यु कल मि अगेन, आई एम गोईन्ग टु कल पुलिस ।”

मेरो आक्रोशयुक्त स्वरमा ओकलिएको गर्जनले गोलाबारुदको काम गर्यो । फेरि फोन आएन । म जिन्दगीमा पहिलो पटक चार दशक अघि दिल्लीको एक होटलमा बसेको थिएँ । यो ४० वर्षमा संसार घुमियो । दशौँ होटलमा बसियो । तर यस्तो परिस्थिति आएको थिएन । राती २ बजे कसैलाई फोन गर्नु भनेको नै एक निकृष्ट काम हो । त्यसमाथि एक सेवाग्राही भएको कोठामा अर्को व्यक्ति पठाउन खोज्नु भनेको आतिथ्य व्यवस्थापनको कसीमा चरम लापरबाही हो । यसैले मैले भन्ने गरेको छु- हामीले नेपालमा होटेल र रेष्टुरेन्ट व्यवसायमा उल्लेखनीय प्रगति गरेका छौँ।

भोलिपल्ट कुरो छर्लङ्ग भयो- सम्मेलनमा सहभागी हुन हावार्ड लो नाम गरेका ताईवानका प्राध्यापक मध्यराती आइपुगेका रहेछन् । संयोगवश होटलमा एउटा पनि कोठा बाँकी रहेनछ । आगन्तुक कक्षको गम्भिरमानले मेरो कोठामा उनलाई थन्क्याउने गरी सहज निकास निकालेको रहेछ । मेरो प्रतिवाद सुनेपछि उसको बुद्धि फिरेछ । उसले विशिष्ट श्रेणीको कोठामा ताईवानी प्राध्यापकलाई राखेछ ।

म सन २००९ देखि हरेक २ वर्ष विराएर बङ्गलादेशको खुलना भन्ने शहरमा पनि सम्मेलनमा सहभागी हुन जाने गरेको छु । एक पटक त्यहाँ गएको वेला शहरमा जुलुस निक्लेको रहेछ । त्यो जुलुसलाई व्यक्त गर्ने शब्द जोडीले मेरो ध्यानाकर्षण गरेको थियो ।
“भिषोण गन्डागोल ।”
यसको नेपाली रुप “भिषण गन्जागोल” र अर्थ “भयङ्कर ठूलो अस्तव्यस्तता” हुन्छ । पार्क प्राईम होटलमा घटेको घटनालाई अर्थ्याउन मैले यहि शब्दजोडीको सहारा लिएँ ।

महादेवी एक्लैलाई मात्र यो अनौठो अनुभव सुनाउन खासै मन लागेन । तर छोरा-बुहारी र छोरी-ज्वाईं सम्मिलित सामूहिक ह्वाट्स अप संवादमा मैले भने- “हिजो राती भिषोण गन्डागोल भयो ।”
पुरै प्रसँग सुनेपछि महादेवीले भनिन्- पुर्पुरो बलियो भएपछि त्यस्तो हुन्छ । भएकी श्रीमतिलाई नलिई गएपछि भगवानले साथी जुराइदिएका ।

महादेवीको प्रतिकृया सुनेर सबै गलल हाँसे । म त हाँस्न पनि सकिन । आफै बलिको बोको भएको घटना भएर होला । तर मलाई समस्या टरेकोमा सुखद अनुभूति भएको पक्कै थियो ।

यस पटक काठमाडौंबाट कलकत्तासम्म सिधा उडानको तारतम्य नमिलेकाले मैले नयाँ दिल्ली हुँदै यात्रा गर्नु परेको थियो । नयाँ दिल्लीमा टर्मिनल ३ बाट कलकत्ता जाने जहाज चढ्न टर्मिनल १ जानु पर्ने रहेछ । अर्थात अन्तराष्ट्रिय यात्रुको अवतारको काँचुली बिसाएर अन्तर्देशिय हुनु पर्ने । अध्यागमनका लेलिनका मूर्तिहरुबाट आफ्नो राहदानीमा छाप लगाउनु पर्ने । अरु मुलुकमा सामान्य हिसाबले हुने काम भारत जस्ता मुलुकमा भने भीमकाय बनेर निस्किन्छ । मैले एक विमानस्थल सहयोगीलाई सोधेर गन्तव्य निश्चित गरेँ । तर भारतमा यात्रा गर्दा धेरै नेपालीले दु:ख पाएका छन् । भारतमा सूचनाको सहज प्राप्ति अझै पनि एक कठिन काम हो ।

सामान्य जनका लागि कठिन लाग्ने यस्ता काम मेरा मित्र सूर्यमान शाक्य भने बडो फरक शैलीमा गर्ने गर्थे ।
मानौँ, उनी भारतको कुनै विमानस्थलमा छन् र नेपाल आउने विमान चढ्नु पर्ने गेट कुन हो भन्नेमा अनिश्चित छन् ।
यस्तो अवस्थामा कसैलाई खास गरी कुनै वर्दीधारीलाई सोध्ने हो- “नेपाल जाने गेट कुन हो ?” भने शायदै उत्तर आउँछ, वा आए पनि आक्रोशयुक्त शैलीको आउँछ ।
तर सूर्यमानको शैली फरक थियो। उनी परिस्थिति नियाल्दै निषेधात्मक सूचना टाँसिएको ठाउँ खोज्थे— “बिना अनुमति अन्दर आना मना है।”
अनि त्यही “जान नहुने” भनिएको ठाउँतिर नै पस्थे। यसले तुरुन्तै नजिकैको सुरक्षाकर्मीको ध्यान आकर्षित गर्थ्यो।
“कहाँ जा रहे हो ?” ऊ सोध्थ्यो।
“नेपाल।”
“यह रास्ता तो नेपाल नहीं जायेगा।”
“तो कौन सा जायेगा ?”
अनि त्यसपछि मात्र सुरक्षाकर्मीले उनलाई सही बाटो देखाइदिन्थ्यो।

सूर्यमान धेरै पटक जापान गएका थिए । धेरै जापानीहरु अँग्रेजी बोल्न हिचकिचाउँछन । कुनै जापानी भेट भयो उसलाई अंग्रेजी बोल्न आउँछ कि आउँदैन भनेर जान्नु पर्यो भने एक सामान्य व्यक्तिले सोध्ने प्रश्न हो- डु यू स्पीक ईङ्लिश ?
यस्तो वेला कतिपय मौन बस्लान् वा सपाट उत्तर दिन नचाहालान् ।
तर सूर्यमानको प्रश्न अलि फरक हुन्थ्यो । उनी सोद्धथे- डु यु स्पीक जापानिज ?
अब उसले “येस” भन्यो भने सूर्यमानले बुझ्दथे यो व्यक्तिलाई अंग्रेजी बोल्न आउँछ ।

नयाँ ठाउँमा काम चलाउने सूर्यमान सूत्र नयाँ दिल्लीको अध्यागमनमा भने काम लागेन । म तीन चार जना लाम लागेको स्थानमा पुगेँ । मेरो अघि एक नेपाली चेली भेटिइन् । चेलीको चालढाल हेर्दा आधुनिक पारा कि थिइन् ।
उनले लगाएका लुगा जिउमा फेविकोलले टाँसे जसरी टाँसिएका थिए । छोपिएका मांसपेशीहरू ‘हामीलाई बचाऊ’ भन्दै कपडा च्यातेर बाहिर निस्कन धाबा बोलिरहेझैँ लाग्थे। बाहिरबाट हेर्नेलाई त उनको प्रदर्शनमा देखिएका मोड, घुम्ती र सरल रेखाहरुले बान्की परेको भूगोलको नक्सा नै प्रतिविम्बित गर्थे। उनी मेरो अघि उभिएकी थिइन् । घरी घरी पछि फर्केर कुरा गर्थिन् ।
उनको कुरा सुन्न मलाई रोचक लाग्यो । उनी साथीको विवाहमा भोपाल जान लागेकी रहिछन् ।
“सामान संकलन गरेर टर्मिनल १ पुग्नु छ । मेरो प्लेन त छुट्ने हो कि क्या हो ?”

मैले उनलाई ढाडस त दिएँ । तर म भने ठूलो भ्रम रहेछु । मैले मेरो सुटकेश सिधै कलकत्ता पुग्ने भन्ने ठानेको थिएँ । यसको बारेमा मलाई काठमान्डौका सामान जाँच गरी बोर्डिङ् पास दिनेले भन्नु पर्थ्यो । मलाई बोर्डिङ् पास भने दिल्ली-कलकत्ताको पनि दिइएको थियो ।
“त्यो नखरमाउलीलाई भेटेँ भने त्यसको खाप्चो कच्याककुचुक पार्ने थिएँ।“
मलाई यो तहकै झोँक चल्यो ।
“मेरो फियान्से फिनल्याण्डमा छ ।”
मेरो अघि उभिएकी आधुनिक मैँयाले भनिन् ।
“कुन मुलुकका नागरिक हुन् त उनी ?”
“फिनल्याण्डकै हुन् ।”
जमानाले बेग हानेको छ । नेपाली त्यसमा पनि जात गोत्र मिलाएर विवाह गर्ने अब उहिले बाजेका पालाको कुरो भयो । मैले सोचेँ ।

तर ती मैयाँले मलाई ठूलो गुन लगाइन् । अध्यागमनको अधिकारीले हामीलाई ई-अराईभल कार्ड भर्न लगायो जसको प्रकृया मलाई थाहा थिएन । उनले मलाई मदत गरिन् । मैले उनीसँगै लागेर भरेँ ।

मेरो सम्मेलन एक दिवसीय थियो । तर मैले एक दिन काली मन्दिरको दर्शन गर्न र बजार भर्नका लागि छुट्याएको थिएँ । यो साइत परेको दिन थियो- शनिवार, जुलाई २५ । मैले उबरको मदत लिएँ । विहान ५ बजे रातो कुर्ता लगाएर तयार भएँ । दक्षिणेश्वर कालीको दर्शनका लागि निस्किएँ । कलकत्तामा जस्तै नेपालमा पनि दक्षिणमै काली यसैले दक्षिणकाली । किन काली माई दक्षिण दिशासँग सरोकार राख्छिन् ? खुल्दुलीको विषय भयो । मैले नेपालमा ख्याती आर्जन गरेका मेरा काकाश्री प्राध्यापक भवानीप्रसाद खतिवडालाई फोन गरेर सोधेँ र मन शान्त पारेँ ।

काली मन्दिर परिसरमा मैले लगभग १ घण्टा लाईनमा लाग्नु पर्यो । मेरा पछि युवा उमेरका तीन देवी थिए । मैले आफू भित्रको फुईँ डाक्टरलाई चुनौति दिएँ ।
“यी षोडशीहरुको ध्यानाकर्षण गरी बोल्न सकिस् भने पुरस्कार पाउँछस् ।”
नभन्दै साइत पर्यो । निकै बेरदेखि उनीहरु मलाई हेर्दै एक आपसमा कुरा गर्दैथिए । उनीहरु भन्दा पछि उभिएका महिलाले समय सोधिन् ।
“एखुन कोटा बजे ?”
“सातटा तीन ।”
म धुरा पसेँ ।
“ह्वाट वाज दि क्वेश्चन ?”
प्रश्न थियो- अहिले कति बज्यो र जवाफ थियो- सात बजेर ३ मिनट गयो ।

फुईँ डाक्टरले पुरस्कार पायो । एउटी जिउडाल खाइलाग्दै भएकी रातो कुर्ता सुरुवालमा सजिएकी देवीले सत्ता सम्हालिन् । लामै कुरा भयो । उनी प्राणीशास्त्र विषय लिएर स्नातक तहको अध्ययन गर्दैरहिछिन् ।
हाम्रो सम्मेलनमा सहभागी भएकी ईन्डोनेशियाकी प्राध्यापक मिज्बा एलिजावेथका साथमा गडियाहाट गएर महादेवीको माग अनुसारका लुगाफाटो र सामान किनियो ।

भोलिपल्ट मेरो उडान ८ बजेको थियो । फेरि नयाँ दिल्ली हुँदै आउनु पर्ने । मलाई एउटा टर्मिनलबाट सामान संकलन गरी अर्कोमा पुर्याउनु पर्ने कार्य सम्झेर दिक्क लागेको थियो ।
म ईन्डिगोको चेक ईन काउन्टर खोज्दै पुगेँ ।
नेपाली मुलकी जस्ती देखिने एक हवाई सुन्दरी नजिक गएँ ।
“शुभ सोकाल, बैनी ! मलाई काठमान्डौको लागि चेक ईन गर्नु थियो ?”
बंगालीको फुर्को लगाएर सिधै नेपालीमा सोधेँ । जवाफ अंग्रेजीमा आयो ।
“दिस लेन ईज फर फास्ट ट्रयाक वन्ली ।”
दुईवटै निशाना गलत भए । न त ती नानी नेपाली रहिछन् न त त्यो मेरो चेक ईन काउन्टर रहेछ ।
म तिनले संकेत गरेतिर गएँ ।
त्यहाँ अर्की हवाई सुन्दरी थिइन् । उनले मेरो “शुभ सोकाल” त स्वीकारिन् तर मेरो काम भएन ।
म अर्को विशेष काउन्टरमा पुगेँ जहाँ एक युवक थिए ।
“शुभ सोकाल !”
उनले उत्तर नदिए जस्तो लाग्यो ।
“शुभ सोकाल !”
मैले दोहोर्याएँ । उनलाई राहदानी र टिकट बुझाएँ ।
“हजुर नेपाली हो ?”
हे प्रभु ! आज फुईँ डाक्टरको अनुमान उल्टो पल्टेको छ । नेपाली सोचेको व्यक्ति अर्कै हुन्छ । अर्कै सोचेको नेपाली हुन्छ ।
“हो त ! लौ ! गजब भयो । ढुङ्गो खोज्दा देउता मिल्यो भनेको यही हो ।”
उनी मुस्कुराए ।
“तपाईँको नाम त नेपाली जस्तो लाग्दैन त ?”
उनको छातीमा टाँसिएको फुर्कोमा नाम पढेँ- शुभ्र ।
“म थापा हो । बुवा आमाले यस्तै नाम दिनुभो ।”
उनी दार्जिलिङ्तिरका हुन् भन्ने पक्का भो । मेरो थप प्रश्नमा उनले भने- “मेरी आमा बङ्गाली हुनुहुन्छ तर मलाई बङ्गाली खासै बोल्न आउँदैन ।”
लौ ! गजब भएको रहेछ । केटाका बाउआमाले “भिषोण गन्डागोल” गरेका रहेछन् । नेपाली भएर बङ्गालीको ज्वाँई बन्नु र बङ्गाली भएर थापाकी बुहारी बन्नु ठूलै दँगाफसाद हो । मलाई लाग्यो ।
“तपाईँ भाग्यमानी । तपाईँका वुवाआमाले तपाईँलाई दुवै संसारलाई नजिकबाट नियाल्ने र दुवैका सदगुणले भरिपूर्ण हुने अवसर पाउनु भो ।”
आखिर फुईँ डाक्टरको कलाकारिता त देखाउनु नै पर्योै । बङ्गालीका झोलीका देउता दंग परे । उनले मलाई झ्यालतिरको सीट दिए र सामान सिधै काठमाडौंमा नै संकलन गर्ने प्रावधान रहेको बताए । मलाई दशा टरेकै अनुभूति भो ।

काठमाडौंमा पानी परेको अनि बाक्लो कुहिरो लागेको कारण अवतरण अनिश्चित भएको जहाज चालकको सन्देशसँगै म “भिषोण गन्डागोल” को अन्तिम चपेटामा परेँ । तर लगभग १ घण्टाको विना लगानीको आनन्द पश्चात कुहिरो फाट्यो । म काठमाडौँमा सकुशल ओर्लिएँ ।

०००
साउने खिर खाने दिन
फुईँ डाक्टरको ससुराली नगरी
विराटनगर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
bhawana
bhawana
1 month ago

कलकत्तामा भीषण गन्डागोल साह्रै राेमाञ्चक , व्यङ्ग्यपूर्ण र यथार्थपरक लाग्याे ।बङ्गाली भाषामा दारुण अर्थात् एकदम राम्रो । सर्जकका लेखन अझै प्रगतिशील हुँदै जाओस् कामना गर्दछु । बधाई तथा शुभकामना ।

Nepal Telecom ad
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
फ्रान्सिस्काको इमोजी

फ्रान्सिस्काको इमोजी

डा. नवराज खतिवडा
महादेवीको उर्दी

महादेवीको उर्दी

डा. नवराज खतिवडा
मेरो बहर विद्यार्थी

मेरो बहर विद्यार्थी

डा. नवराज खतिवडा
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x