साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोगवादको सिंहासनका रसिक शिरोमणिहरू

अनि मुटुमाथि ढुङ्गा राखी भन्ने गरेका छन्- आ-आफ्नो भाग्य हो, चतुरे, चित्त बुझा। यो जुनीमा नभए नि अर्कोमा त कसो नहोला ?

Nepal Telecom ad

डा. नवराज खतिवडा :

केही महिना अघि पद्मकन्या कलेजमा एक ‘पुस्तक समीक्षा’ कार्यक्रमको आयोजना भएको थियो। म मूल पण्डितको भूमिकामा थिएँ।

कार्यक्रम हुने दिनको अघिल्लो दिनै म त्यहाँ पुगेँ। सबैभन्दा पहिला मूल भवनको भुइँतल्लामा गएर त्यहाँको सिँढी हेरेँ। वरिपरि कोही थिएन। मोबाइल निकालेँ र त्यो सिँढीको तस्बिर खिचेँ। एकजना अधबैंसे महिला मतिर आइन्।
“केको तस्बिर लिनुभो सर ?”
“यो सिँढीको।”
“केको लागि लिनुभो त ?”
“भोलि डेनिस हलमा एक प्रस्तुति दिनु छ। त्यसकै लागि हो।”

म आजभन्दा ३८ वर्ष अघि त्यहाँ गएको थिएँ। त्यसबेला त्यो सिँढी चढेर माथि जान मलाई “कमिलालाई के जातिको पहिरो” भएको थियो। किनभने त्यहाँ सिँढीभरि एउटै पोशाकमा सजिएका पद्मकन्याका कन्याहरू थिए। युवतीहरूका दर्जनौँ आँखाले एकै पटक मलाई हेरेको यो मेरो जीवनकै अविस्मरणीय क्षण बनेको थियो। एक किसिमले म भित्र रहेको नवयुवकको तन्नेरी मनको मनोवैज्ञानिक अपहरण भएको थियो। मेरा नजर विपरीत दिशाका प्रत्येक कोणबाट आएका शक्तिशाली र सामूहिक मोहिनी अस्त्रका अघि निरीह बनेका थिए। म बिचरो घोसेमुन्टो लगाएर आफ्ना जुत्ता हेर्दै मुस्किलले पहिलो तल्ला पुगेको थिएँ।
मैले यसैको सार उनलाई सुनाएँ।

“म यही कलेजमा पढेर यहीँको प्राध्यापक हुन पुगेँ। पहिला तपाईँले भनेजस्तो हुन्थ्यो। हामीले त्यो सिँढी संस्कारलाई निरन्तरता दिएनौँ।”

भोलिपल्ट समीक्षा कार्यक्रममा मैले ३८ वर्ष पुरानो सिँढीको कथावस्तुसँग अर्को एक विषय पनि जोडेँ।
एक रसरङ्गको दुनियाँमा बढी रमाउने र यो संसारमा आउनुको कारण “रङ्गिन महफिल” जमाउनु हो भन्ने धारणा भएको व्यक्तिको इहलीला समाप्त भएछ। उसको लाश मलामीहरूले बोकेर डिल्लीबजारको बाटो लैजाँदै रहेछन्। सडकमा विपरीत दिशाबाट आएका एक हुल पद्मकन्याका मोहिनी देवीहरूले बाटो काटेछन्।

यो चुटकिला भन्दै गर्दा मैले एक सादृश्यका माध्यमबाट श्रोता-दर्शकको ध्यान तान्ने उपक्रम गरेँ। मरेको मान्छे वा लाश भनेको मोबाइल फोन ‘साइलेन्ट मोड’ मा हुनु भनेजस्तै हो। तर पद्मकन्याका मोहिनी देवीहरू नजिकै आएको थाहा पाएर त्यो निर्जीव शरीर “भाइब्रेसन” मोडमा आएछ। मलामी नै छक्क परेछन्।
दर्शक-श्रोता दङ्ग परेका थिए।

कुनै पनि रङ्गिन माहौलको सामीप्यमा पुग्दा रसिकशिरोमणिहरू भाइब्रेसन मोडमा आउन कुनै बेर लगाउँदैनन्। उनीहरूका लागि भाइब्रेसन कित्ता भनेको गाडीको गियर नम्बर ‘एक’ मात्र हो। उनीहरू शिकार गर्न र गियरको नम्बर बढाउन औधी सिपालु हुन्छन्। बकुल्लाले ध्यान गरेर शिकार गरेझैँ मौकाको ताकमा हुन्छन्। परिस्थिति अनुकूल हुनासाथ गियरको कित्ता परिवर्तन गरी त्यसमा खनजोत गरेर बाली समेत लगाउन खप्पिस हुन्छन्।

विगतमा विदेशमा गएर विश्वविद्यालयमा धेरै नेपाली विद्यार्थीहरू छात्रवृत्तिमा स्नातकोत्तर वा विद्यावारिधि गर्थे। यो प्रचलनका अवशेष अहिले पनि बाँकी छन्। नेपालमा विश्वविद्यालयका छात्रावासहरू छात्र र छात्राका लागि अलग अलग हुन्छन्। त्रिभुवन विश्वविद्यालयका ईश्वरी कन्या छात्रावास वा कान्ति पुरुष छात्रावासको दूरी लगभग ५०० मिटर होला। तर विदेशमा कतिपय ठाउँमा एउटै भवनमा पनि छात्र र छात्रा दुवैलाई आवासीय सुविधा दिने गरेको पाइन्छ।
नेपालबाट गएका स्नातकोत्तर तहमा अध्ययन गर्ने एक रसिकशिरोमणि मार्काका विद्यार्थीले आफ्ना विपरीतलिङ्गी सहपाठीलाई पुस्तक, नोट आदि दिने बहानामा आफ्नो कोठामा बोलाएछन्।

उनको सिद्धान्त रहेछ- एकछिन यताउता गरेर अलमल्याउने र त्यसपछि अतिथि बनेर आएको व्यक्तिलाई च्याप्प समात्ने। यो क्रियाका दुईवटा प्रतिक्रिया हुन्छन्। पहिलो, कि त त्यो व्यक्तिले रौद्र रूप धारण गर्छ र सूत्रधारलाई दुई थप्पड हान्न सक्छ वा कडा प्रतिक्रिया दिन्छ ! कि त प्रस्तावको रसरङ्गी आशय बुझ्छ र “मौनं सम्मतिलक्षणम्” को मार्ग प्रशस्त गर्छ।

झिनो पर्दाको फरक भएका एउटै सिक्काका दुई पाटा गाई र त्रिशूल हुन्। सहपाठीलाई आलिङ्गन गर्नेसम्मको हिम्मत गर्ने रसिकराजले यी दुई फरक कित्ताको धरातललाई राम्ररी बुझेका रहेछन्।
“यदि परिस्थिति त्रिशूल कित्तामा गयो भने तुरुन्तै शरणमा पर्ने र क्षमा माग्ने।”
“मैले तिमीलाई गलत बुझेँ। क्षमा गरिदेऊ। म यो कुलतबाट ग्रसित छु। म आइन्दा यस्तो हर्कत गर्ने छैन।”
यसो भनेपछि समस्या किनारा लाग्ने दिशामा जाने रहेछ।

किनभने आफ्नै सहपाठीले गरेको दुर्व्यवहार भए तापनि अनावश्यक झन्झटमा फसिने र लोकलाज हुने डरले प्रायः मामिला “सात खून माफ” को कित्तामा जाने र माहौल सामसुम वा “तँ चुप म चुप” तिर ढल्कँदो रहेछ।

गाईको कित्तामा परिस्थिति गयो भने खुदो भइहाल्यो, आफूले आफूलाई बधाई दिने र भोगवादको चरम आनन्द लिने।
“बधाई छ केटा, यस्तो बहादुरीको काम गरिस्, अब गर मोज।”

२०८२ सालको जेनजी आन्दोलनपूर्व सत्तामा रहेका एक विशिष्ट व्यक्तिको चालामाला पनि विदेशी विश्वविद्यालयको छात्रावासमा रसरङ्गको रङ्गमञ्च सिर्जना गर्ने रसिकराजकै जस्तो रहेछ अरे। उनी भने कार्यकर्ता, युवा नेता र पत्रकारहरूलाई भेटघाटका लागि आफ्नै निवासमा रात्रिको ११, १२ बजे बोलाउँदा रहेछन्। एक महिलालाई पनि उनले रात्रिकै समयमा भेटघाटमा बोलाएछन्। भेटघाटको स्थान भने नेताजीको शयनकक्ष रहेछ। शयनकक्षको बिछ्यौनामा डराई डराई बसेकी ती अबलालाई रसिकराजले च्याप्प समातेछन्। महिला नआत्तिने कुरा भएन।
तर परिस्थिति प्रतिकूल बनेछ। नेताजीले तुरुन्तै आफ्नो अभीष्टको काँचुली फेरेछन्।

“मैले मानेँ तिमीलाई। मैले यो जाँच गरेको। कहिलेकाहीँ यस्ता समस्या आउँछन्। कसैले यस्तो हर्कत गर्यो भने झापड समेत हान्नुपर्ने हुन सक्छ।”

ती अबलाको सातोपुत्लो उडेछ। त्यो घटनालाई उनले आफ्नो जीवनकै कालो दिनका रूपमा लिएको हुनुपर्छ। शक्ति र सत्ताको आडमा मैमत्ता भएका यस्ता खतरनाक रसिकराजहरूका कथा शास्त्रमा पनि बाक्लै पाइन्छन्।

पृथ्वीलोकमा मात्र होइन, स्वर्गलोकमा पनि सिंहासनमा बसेका एकसे एक रसिकशिरोमणिहरू नभएका होइनन्। स्वर्गका राजा इन्द्रको नाम त अग्रपङ्क्तिमै आउँछ। उनले त “भाइब्रेसन मोड” को एक नम्बर गियर मात्रै चलाएनन्, जबरजस्ती शारीरिक सम्बन्ध राख्ने तहकै उपल्लो गियर दबाएका थिए।

गौतम ऋषिकी पत्नी अहिल्या अत्यन्तै सुन्दर र पतिव्रता स्त्री थिइन्। गौतम ऋषि स्नान गर्न गएको मौका पारेर इन्द्रले भेष बदलेर उनीसँग रतिक्रीडा गरे। गौतम ऋषि फर्केर आउँदा इन्द्रको यो कर्तुत देखेर उनलाई शरीरभरि यौनाङ्ग हुने भनी श्राप दिएका थिए।

यता पृथ्वीलोकमा पनि राजा, महाराजा, राजनीतिक दलका नेता र सत्ताको उपभोग गर्नेले रसरङ्गको उपल्लो तहको उपद्रो गरेका छन्।

संस्मरणात्मक निबन्धका चर्चित लेखक धनुषचन्द्र गोतामेले बेलायत भ्रमणका क्रममा अधिराजकुमार बसुन्धरासँग भेट गरेछन्। उनीबारे आफ्नो अनुभव उनले यसरी लेखेका छन्।
“राजसी भोगवादको लामो संस्कारले गालाका पाटाभरि गिर्खैगिर्खा उठेको, अक्षतयोनिको चरमसुखको चाहनामा सधैँभरि लापलापलिपलिप गरिरहने हन्तकाली अनुहार मैले टाढैबाट चिनिहालेँ।”

गोतामे २०२२ सालमा लण्डन पुगेका थिए। त्यसबेला नेपाली राजदूत नारायण अर्याल रहेछन्। उनले गोतामेलाई अधिराजकुमारका सहस्र रजनी-चरित्र सुनाएका रहेछन्।

“घोर अनिद्राले रुग्ण भएका उनको छायाजस्तै सुरा र सुन्दरीका अखडा, कामातुर धनपतिहरूका क्लब भनाउँदा रमणकेन्द्र र देहव्यापारका मण्डीहरू एकपछि अर्को चहार्दाचहार्दै सिङ्गै रात जान्छ। घोर दरिद्रतामा पिँधको प्रस्तर छिचोल्न पुगेको अभागी देशका अधिराजकुमार प्रत्येक रात अपार धनराशि लुटाएर प्रातःप्रहर इन्तु न चिन्तु ढलेपछि ड्राइभर र गार्डले लर्बराउँदै टेकाएर ल्याउँछन् र सुताइदिन्छन्।”

अनलाइन विश्वकोषका रूपमा लोकप्रिय विकिपिडियाले “महरा प्रकरण” वा “महरा यौन दुर्व्यवहार प्रकरण” वा “रोशनी शाही बलात्कार आरोप प्रकरण” तीन वैकल्पिक शीर्षकमा एक सामग्री लिपिबद्ध गरेको छ। तत्कालीन सभामुख एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता कृष्णबहादुर महरामाथि संसद सचिवालयको स्वास्थ्य सेवा इकाईमा काम गर्ने रोशनी शाहीलाई उनकै घरमा बलात्कार गरेको आरोप लागेको थियो। यही गैरराजनीतिक कारणले सरकारी निवासबाटै पक्राउ पर्ने पदमै रहेका पहिलो उच्चपदस्थ व्यक्ति बनेर महराले नेपालको इतिहास रचेका थिए।

इन्द्रदेव-अहिल्या प्रसंग र महरा प्रकरणका बीचमा के समानता होला भनी सोधिएको एक प्रश्नमा उत्तरआधुनिक विश्वकर्मा बाबा अर्थात् एआईले यस्तो उत्तर दिए- दुवैले शक्ति र पदको दुरुपयोग गरेका छन्, दुवै महिलाको निजी निवासमा बिना बोलाए गएका छन् र दुवैले सामाजिक र नैतिक कलङ्कको सजाय पाएका छन्।

अब प्रश्न उब्जन्छ, किन राजादेखि रङ्कसम्म आफ्नै जीवनसङ्गिनी हुँदाहुँदै परस्त्रीगमनको बाटो रोज्ने रसिकशिरोमणिहरूले आफ्नो पद र प्रतिष्ठा दाउमा लगाउँछन्, र अन्ततः आफ्नै हातले आफ्नो पतन निम्त्याउने भस्मासुर बन्छन् ?

मनोवैज्ञानिकहरूले यसका मुख्य तीन कारण दिएका छन्। पहिलो, नजिकको तीर्थ हेला र टाढाको आकर्षणको आसक्ति। दोस्रो, सत्ताको अहङ्कार र दण्डहीनताको भ्रम। अन्तिम, आफूले आफूलाई बाँध्न नसक्नु अर्थात् यौन संयम कायम नहुनु।
नेपालका मूर्धन्य भाषाविद् शरच्चन्द्र वस्तीले भाषामा अराजकता र भाँडभैलो मच्चाउनेहरूलाई मठाधीशको संज्ञा दिएका छन्। उनका अनुसार मठाधीशहरूले कुनै एक विषयमा नक्कली समस्या खडा गरेर आफ्नो भाउ बढाउने वा त्यसको आडमा नन्दीभृङ्गी बटुलेर सत्ता सञ्चालन गर्ने काम गर्छन्।
नेपालको राजनीतिमा त्यस्ता मठाधीशहरू प्रशस्त छन्।

एक पत्रकारसँग केही समय अघि पङ्क्तिकारको यस विषयमा केही वार्तालाप भएको थियो। मैले जिकिर गरेको थिएँ।
“न त पढेको छ, न त लेख्न जानेको छ, न त राम्रो भाषण गर्न आउँछ, न कुनै रणनीतिक हिसाबमा सङ्गठन चलाउन आउँछ। तर ऊ नै वरिष्ठ नेता छ, दशकौँदेखि हालिमुहाली गरेर बसेको छ, कारण के होला ?”
उनले बडो सटीक उत्तर दिएका थिए।
“यसको कारण त्रिशङ्कु ‘स’ को भकारीमाथि बसेका मठाधीशहरू हुन्। उनीहरू सोमरस, सम्पत्ति र सुन्दरीको पासा खेलेर सत्ता सञ्चालन गर्छन्।”

उनका अनुसार राजनीतिक मठाधीशहरू तीन “स” को किल्ला बनाउँछन्। नेताजीकहाँ जो यी तीन जादुगरी सामग्रीको कोसेली लिएर जान्छ उसको पदोन्नति हुन्छ वा सांसद बन्ने टिकट पाउँछ।

केही वर्ष अघि भएको सङ्घीय र प्रदेश सरकार चुनावमा कुनै एक राजनीतिक दलबाट टिकट नपाएकी एक सम्भावित प्रत्याशीले यस्तो भनेकी थिइन् अरे- “मलाई प्रदेशको टिकट चाहिने भए ३ करोड लिएर आउन भनियो, सङ्घको चाहिने भए ५ करोड। म त त्यत्रो रकम कसरी दिन सक्छु र?” भन्ने प्रश्न गर्दा “यदि टिकट चाहिने भए के दिन सकिन्छ त्यसकै लागि तयार हुनू” भन्ने जवाफ पाइयो। यसरी महिला नेतृलाई अस्मिता नै दाउमा राख्न लगाउनेसम्मको कार्य हुने गरेको रहेछ।

किन यस्तो भन्ने प्रश्न उब्जाएर एक वरिष्ठ नेतालाई कनिष्ठले सोधेछन्। उनको उत्तर यस्तो रहेछ- “राजनीति भनेकै यही हो। नत्र पार्टी चलाउन पैसा कहाँबाट ल्याउने ? सङ्गठन कसरी चलाउने ? त्यत्रो बर्ष जेल बसेको छ । फल पाएको बेलामा नटिपे कहिले टिप्ने ?”

भोगवादको सिंहासनमा पुरुष मात्र होइन, महिला पनि अग्रपङ्क्तिमा छन्। इन्द्रदेवको पालादेखि नै यो परम्परा कायम छ। स्वर्गकी अप्सरा उर्वशीले पाँच पाण्डवमध्येका एक अर्जुनलाई मन पराइछन्। अर्जुनले उनको प्रेम प्रस्ताव अस्वीकार गरेकाले श्राप पाएछन्।

यता पृथ्वीलोकमा राजनीतिको ‘र’ पनि नआउने महिलाहरू सिधै सांसद पदको वर पाएर ठाडो भर्याङ चढेका छन्। कतिले आफ्ना हाकिमलाई खुसी पारेर पदोन्नति पड्काएका छन्। कति विपस्यना ध्यान जाने निहुँमा नगरकोट गएका छन् ।

हैसियत  त विचरा बबुराहरूको भएको छ। जसको रसिकशिरोमणि बन्ने हुती छैन, तर स्वर्गीय संसार आफ्नै वरिपरि देखेर घुटुक्क थुक निल्न बाध्य छन्। आफ्नै उमेर समूहका साथीभाइले रजगज गरेको टुलुटुल हेरेका छन्। अनि मुटुमाथि ढुङ्गा राखी भन्ने गरेका छन्- आ-आफ्नो भाग्य हो, चतुरे, चित्त बुझा। यो जुनीमा नभए नि अर्कोमा त कसो नहोला ?

००० 
नवरात्र, तृतीया तिथि
२८ असोज, २०८३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
फ्रान्सिस्काको इमोजी

फ्रान्सिस्काको इमोजी

डा. नवराज खतिवडा
महादेवीको उर्दी

महादेवीको उर्दी

डा. नवराज खतिवडा
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
रकमी हस्ताक्षर

रकमी हस्ताक्षर

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x